१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नसारोगको सचेतनाबाट दीर्घायु

डा. रागेश कर्ण

संसारभरि नै नसारोगीको संख्या धेरै छ र यो दिनानुदिन बढ्दो छ । हामी नेपाली पनि यो समस्याबाट अत्यधिक प्रभावित छौं । नसारोगका विभिन्न घातक परिणाम हुन्छन् । जस्तै– मस्तिष्कघात मृत्यु गराउने रोगहरूमा पहिलो तीनभित्र पर्छ र मृत्युबाट बाँच्ने बिरामीको जीवन पनि अति नै कष्टकर भएर जान्छ ।

नसारोगको सचेतनाबाट दीर्घायु

छारेरोगले अकाल मृत्यु गराउन सक्छ । दुर्घटनाको जोखिम अधिक हुन्छ, बिरामीको बौद्धिकतामा कमी आउँछ । मस्तिष्क ज्वरो (मेनिन्जाइटिस/इन्सेफलाइटिस) र ब्रेन ट्युमरले अत्यधिक मृत्यु गराउँछ । 

नेपालमा ‘नसा’ भन्ने शब्दले स्नायुतन्त्रका लागिमात्रै नभई शरीरको अन्य भागका लागि पनि प्रयोग भएको पाइन्छ । रक्तनली, लिगामेन्ट, मांसपेशी, जोर्नी इत्यादिको समस्याका लागि पनि बिरामीबाट ‘नसाको समस्या लागेको छ’ भन्ने गरेको सऽन्ने गरिन्छ । यसकारण स्नायऽतन्त्रको समस्या भए पनि अन्य संकायका चिकित्सकहरूसंँग नसारोगीहरू पुग्ने गरेको प्रशस्तै पाइन्छ । स्नायुतन्त्र मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण प्रणाली हो । मस्तिष्क, मेरुदण्ड र बिभिन्न नसाहरू यस प्रणालीभित्र पर्छन् । मस्तिष्क र मेरुदण्डलाई केन्द्रीय स्नायुतन्त्र भनिन्छ । यसको अरू अंगसँगको प्रत्यक्ष सम्पर्क बिभिन्न नसाद्वारा स्थापित हुन्छ । स्नायुतन्त्रले बिभिन्न अंगका बीचमा समन्वय स्थापित गरी हामीलाई विषम परिस्थितिमा पनि जीवित राख्न मद्दत गर्छ । 

स्नायुतन्त्रको विकृति वा क्षतिले गर्दा लाग्ने रोगलाई नसारोग भनिन्छ । यसका लक्षणहरू, स्नायुतन्त्रमा कहाँ विकृति छ भन्ने कुरामा भर पर्छ । स्नायुतन्त्रको प्रत्यक्ष सम्पर्क अरू अंगसंँग भएकोले अरू अंगसंँग सम्बन्धित लक्षणहरू पनि नसा रोगले गर्दा देखिन सक्छन् । जस्तै– मुटु धड्किनु, सास फेर्न गाह्रो हुनु । तसर्थ यी लक्षणको सही विश्लेषण हुनु र सही रोग (नसारोग वा अन्य अंगसम्बन्धी रोग) पत्ता लाग्न अत्यन्त जरुरी हुन्छ । 

नसारोगसम्बन्धी भ्रम
मस्तिष्कघात खराब हावा चलेर वा चिसो लागेर लाग्छ भन्ने अन्धविश्वासका कारण यी बिरामीलाई घरमै झ्याल—ढोका बन्द गरी राख्ने चलन छ, जसले गर्दा बिरामीको समयमा उपचार नपाई मृत्यु हुने सम्भावना बढ्छ । त्यस्तै छारेरोग दैवीप्रकोप वा भूतप्रेतको असरले हुन्छ, यो पूर्वजन्मको फल हो, यस्ता बिरामीसँग बस्नाले वा सँगै खानाले अरू मान्छेलाई सर्छ जस्ता भ्रम पाइन्छ । फलस्वरूप यस्ता बिरामी आफ्नै परिवार वा समाजबाट अपहेलित हुन्छन्, रोगलाई उपचार नगराई लुकाइराख्ने पनि गरिन्छ । 

केही नसारोगका लक्षण
मस्तिष्कघात/पक्षाघात : अचानक शरीरको एक भाग नचल्नु अर्थात कमजोरी हुनु, अनुहार बांगिनु वा आवाज परिवर्तित हुनु ।
छारेरोग/मिर्गी : अचानक बेहोस हुनु, हातखुट्टा कडा भई १–२ मिनेट हल्लिनु, मुखबाट फिँज आउनु ।
टाउको दुखाइ : टाउको दुख्नु, पोल्नु, भारी हुनु ।
न्युरोपेथी : शरीरका कुनै भागमा वा चारैवटा हातखुट्टा दुख्नु, पोल्नु, झमझम गर्नु वा लाटो हुनु । 
पारकिन्सोनिजम : हातखुट्टा कडा हुनु, बिरामी शिथिल हुँदै जानु, हातखुट्टा हल्लिराख्नु ।
एटेक्सिया : हुत्तिनु, हिँड्दा सन्तुलन नहुनु । 
मेनिन्जाइटिस : ज्वरो आउनु, टाउको दुख्नु, वान्ता आउनु, बेहोस हुनु, होस हराउँदै जानु । 
ब्रेन ट्युमर : टाउको दुख्नु, मस्तिष्कघातजस्तै शरीरको एक भाग नचल्नु, छोप्ने व्यथा हुनु, बोलीमा परिवर्तन आउनु इत्यादि ।

बच्ने उपाय
जीवनशैली परिवर्तन वा अन्य केही कारक पहिचान गरी त्यसको समयोचित उपचारबाट धेरैजसो नसारोग लाग्नबाट सजिलै बँच्न सकिन्छ वा त्यसको दुष्परिणामलाई न्युनीकरण गर्न सकिन्छ । जस्तै– चुरोट, सुर्ती र अत्यधिक मदिरा सेवन बन्द, नियमित व्यायाम, फास्टफुट र जंकफुडको सेवन कम, स्वस्थ र सन्तुलित आहार सेवन गर्नाले साथै उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलको सही पहिचान र उपचारले मस्तिष्कघातबाट बँच्न सकिन्छ । त्यस्तै छारेरोगका बिरामीले यी परिस्थिति (जस्तै– अनिद्रा, धेरै बेर भोको पेट, तनाव, अत्यधिक चम्किने प्रकाश र मदिरा सेवन इत्यादि) बाट जोगिनाले छारेको व्यथा दोहोरिने सम्भावना घटेर जान्छ । त्यस्तै छारे व्यथा भए यी प्राथमिक उपचारमा ध्यान दिए बिरामीको ज्यान बचाउन सकिन्छ । बिरामीको नाक थुनिदिने, मुखमा पानी हाल्ने, जुत्ता सुंँघाउने, मुखमा चम्चा वा औंला हाल्ने इत्यादि गर्नु हुँदैन । बरु वरिपरिको दुर्घटना गराउने सामान हटाइदिनुपर्छ, घाँटी वरिपरि कसिने खालको लुगा छ भने हटाउनु वा खुकुलो पार्नुपर्छ । हल्लिन छाडेपछि बिरामीलाई कोल्टो फर्काएर राख्नुपर्छ ।

नसारोग उपचारका बाधा
नसारोगसम्बन्धी जनचेतनाको कमी हुनु, समाजमा यसका सम्बन्धमा प्रचुर मात्रामा भ्रम वा अन्धविश्वास रहिरहनु, मुलुकमा नसारोग विशेषज्ञको अति न्युन संख्या हुनु र यसका उपचार विधि वा विशेषज्ञहरू केन्द्रीकृत वा सहरीकृत मात्रै हुनु नसारोग उपचारका बाधा हुन् । जनचेतना जगाउने खालका कार्यक्रम, यसको उपचार जुन स्तरको स्वास्थ्यकर्मी वा चिकित्सकबाट सुरु भए पनि विशेषज्ञसँंगको परामर्शको लागि उचित तथा सन्तुलित पठाइदिने प्रणाली नसारोगीहरूको सम्पूर्ण तथा सफल उपचारका लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो । नसारोगमा गैरऔषधीय उपचार पनि त्यतिकै आवश्यक हुन्छ, जस्तै– जीवनशैली परिवर्तन, फिजियोथेरापी, ध्यान इत्यादि । यी सबै कुराको सचेतनाले मात्र यो समस्याको भारलाई कम गर्न सकिन्छ । 

डा. कर्ण नसारोग विशेषज्ञ हुन् । 


 

प्रकाशित : जेष्ठ ६, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?