के तपाई बोल्दा भक-भकाउनु हुन्छ ? यसो गर्नुस्

डा. ललित कुमार मिश्र

काठमाडौं — बालकको तोते बोलीले घरका सबै सदस्यलाई आफुतिर आकर्षित गर्दछ । हामी पनि उसगं तोतेबोली बोलेर आनन्दित हुन्छौं । तर, केटा-केटीको उमेरको बृद्धि सँगसगैं तोतेबोली वा भक्क भकाउने समस्या आफै समधान हुन्छ । तर, कतिपयमा यो समस्याको रुपमा जीवन भरी नै रहिरहन्छ । यो समस्याबाट पीडितलाई स्कुल, कलेज, सभा-सम्मेलन, समुदाय, आफिस, यात्रामा समेत हाँसी-मजाकको पात्र बन्न पुग्दछ ।

 के तपाई बोल्दा भक-भकाउनु हुन्छ ? यसो गर्नुस्

बोल्दा हाम्रो शरीरको सयभन्दा बढी मान्शपेशीहरुले एकै साथ काम गर्दछन् । यि सबै मांशपेशीहरुको आपसी तालमेल र समन्वय ठिकसँग मिल्यो भने मात्र जिब्रोबाट स्पष्ट रुपमा शब्दको उच्चारण हुन्छ । यदि कुनै प्रकारको मानसिक तनाव, डर, भय, दबाव वा हिनताबोधले बोल्दा शब्दको उच्चारण बिग्रिन जान्छ । बोल्दा या कसैसँग कुरा गर्दा आफुले चाहेको शब्दको उच्चारण सरल र स्पष्ट रुपले गर्न नसक्नु, रोकिइ-रोकिइ बोल्नु, अकमकाउने बानी भएकालाई भक-भकाउने भनिन्छ । अंग्रेजीमा यसलाई 'स्टमरिङ' भनिन्छ । नेपालीमा भक-भकाएर बोल्ने ब्यक्तिलाई भकभके भन्ने गरिन्छ । बिश्वमा भक–भकाउने समस्याबाट पीडित कुल जनसंख्याको एक प्रतिशत वयस्क रहेको अनुमान गरिएको छ ।

भक्क भकाउदा के हुन्छ ?

बोल्ने क्रममा ब्यक्तिले बोल्न खोजेको पहिलो शब्दको उच्चारण गर्दा नै कठिनाइ महशुस हुन्छ भने कोहिलाई बीचको वा अन्ततिरको शब्द पुरा गर्न अप्ठ्यारो हुन्छ । शब्दको उच्चारण पूर्व नै अनुहारको मांशपेशीहरुमा स्वत: संकुचन (खुम्चिनु) आउँछ । जसले गर्दा बोल्नको लागि बल लगाउनु पर्ने हुन्छ । यसले गर्दा ब्यक्तिको अनुहार विकृति हुन पुग्छ । कोहिलाई भने बोल्दा बोल्दै बीचको कुनै एउटै शब्दको उच्चारण बारम्बार दोहोरिन्छ । जस्तै: च शब्द बोल्नु पर्दा – च च्च च्च च बोल्न पुग्छन् । यस अवस्थामा पनि अनुहारको स्वरुप बिग्रिन सक्छ । यो एक किसिमको मानसिक कुण्ठको रोग हो । जसको पीडा स्वयम् यस समस्याबाट पीडित ब्यक्तिले नै सम्झन सक्छ वा सम्बन्धित रोग विशेषज्ञ (स्पिचथिरापिष्ट) ले नै बुझ्दछ । यो समस्या महिला पुरुष दुबैमा देख्न सकिन्छ । तर, महिलाको तुल्नामा पुरुषहरु बढि प्रभाबित हुन्छन् । बोल्दा भक-भकाउने समस्याको कारणले- मानिसको स्वभाव – व्यबहारमा समेत मनोवैज्ञानिक असर पर्दछ । यदपी मानसिक रुपमा यि व्यक्तिहरु सबल नै हुन्छन् । बोल्दा भक–भकाउने ब्यक्तिले लोकगीत , आधुनिक गीतहरु सजिलैसित गाउन सक्छन् । कुनै अप्ठ्यारो हुदैन ।
भक–भकाउनुका कारणहरु
(१) यदि कसैको परिवारमा आमा–बाबु , हजुर आमा, हजुरबा आदि कसैमा यस समस्या भएको ईतिहास छ भने त्यसपरिवारको सदस्यहरुमा पनि भक–भकाउने समस्या हुनसक्छ ।
(२) भक–भकाउने कुनै साथी भाई वा कुनै व्यक्तिको नक्कल गर्दागर्दै पनि बानी बस्न सक्छ ।
(३) छिटो–छिटो बोल्ने बानी, तनाव र घबराहटको अवस्था र आबेगमा पनि हुनसक्छ ।
(४) मस्तिष्कमा रहेको बोल्नका लागि प्रयोग हुने स्नायुहरुको गडवडीको कारणले यो समस्या उत्पन्न हुन सक्छ ।
यसको साथै जिब्रो र ओठ आवश्यकता अनुसार चलाउन नसक्नुका कारणले पनि यस्तो समस्या आउन सक्छ ।

यसका लक्षणहरु
एउटै शब्दलाई बारम्बार दोहोर्याइ रहनु वा पुरै वाक्यांस दोहोर्याउनु ।
कुनै अक्षर वा शब्द उच्चारण गर्न गाह्रो हुनु ।
बोल्न खोजेको कुनै शब्दांसलाई उच्चारण गर्नमा लामो समय लगाउनु ।
सामान्य बोल्ने प्रवाहको बीच लामो समयसम्म अकमकाउनु वा विराम लगाउनु ।
अरुले नबुझ्ने गरी पुरै वाक्यलाई छिटो-छिटो बोल्नु ।
बोल्दा ब्यक्तिको अनुहारको हाउभाउ बिचित्र किसिम को ( हास्यस्पद) बनाउनु आदि ।

चिकित्सकलाई कहिले भेटने ?
यदि तपाई बारम्बार तथा लामोसमयसम्म भक–भकाउनु हुन्छ । बोल्दा अकमकिने लगातार केहि मिनट वा अधिकांश समयसम्म रहन्छ । केटाकेटीहरु हकमा भने ५ बर्ष भन्दा बढि उमेर भई सक्दापनि भक-भकाउने समस्या भईरहेमा चिकित्सकलाई भेट्नु पर्दछ । त्यसैगरेर बोल्न अप्ठ्यारो महशुस भईरहेको छ भने, बोल्दा भक–भकाउने कारणले अरुको अगाडि बोल्न घबराहट हुन्छभने, यही कारण हिनताबोध भएर कुरा गर्नु पर्ने ठाउँमा बहाना गरि बच्ने प्रयास गर्दछ, क्लिष्ट शब्दको साथै सामान्य शब्दको उच्चारणमा समस्या भइरहेको छ भने । कुनै प्रकारको औषधिको साइड-ई फेक्टको कारण भक–भकाउने समस्या देखिएमा, कुनै किसिमको सर्जरी / अपरेशन गरेपश्चात बोलिमा समस्या देखिन गएको अवस्थामा चिकित्सक लाई भेटनु पर्ने हुन्छ ।

रोगको निदान

हुनत तोते बोली/भक–भकाउने, बोल्दा शब्दको उच्चारण गर्न अपठयारो हुने ब्यक्तिको पहिचान सजिलैसित गर्नसकिन्छ । तर, बास्तविक बोलीसँग सम्बन्धित रोगभएको ब्यक्तिको परिक्षण सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा नै गराउनु पर्छ । यदि तपाईमा पनि यस किसिमको समस्या भएको जस्तो लाग्छ भने यस कुराको पुष्टी गर्नको लागि चिकित्सकसँग सम्पर्क गर्नुस् ।

सल्लाह
बोल्नमा समस्या भएका ब्यक्तिले–बिस्तारै बोल्ने अभ्यास गर्ने ।
शब्दको उच्चारणमा ध्यान दिने
कुन शब्दको उच्चारणमा कठिनाइ महशुस हुन्छ, त्यस्ता शब्दहरुलाई नोट गर्ने र उच्चारण गर्ने अभ्यास गर्ने । साथै सिंहासन, हलासन, धनुरासन, मत्सयासन आदि योगाभ्यासहरु गर्ने । यि आसनहरु लाभदायक मानिन्छ ।

के नगर्ने
यो समस्याबाट पीडित भएका ब्याक्तिहरुले- चिया, कफी, खैनी, पानपराग, गुटखा, धुम्रपान, मधपान तथा डिब्बा बन्द खाद्य पदार्थको सेवन गर्नु हुँदैन ।

उपचार
सामान्य भक–भकाउने बानीलाई केहि दिन वा महिनाको स्पिचथिरापिको नियमित अभ्यास तथा प्रशिक्षणद्वारा समाधान गर्न सकिन्छ । तर, मानिस पूर्णरुपमा बोल्न नसक्ने गरि कुन्ठित हुने गरी समस्या बढ्दै गयो भने सम्बन्धित चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । उपचारमा कतिसमय लाग्छ भन्ने कुरा बिरामीको उमेर, शारीरिक अवस्था र बिरामीले गर्ने अभ्यासमा भर पर्छ । यसमा बिरामीको आमा-बाबु तथा आफ्न्तहरुको पनि भावनात्मक सहयोग महत्वपूर्ण हुन्छ ।

होमियोप्याथिक औषधि
होमियोप्याथिमा कुनै पनि रोगीको उपचार गर्दा उसको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको कारण समेतलाई मध्ये नजर राखेर उपचार गर्ने गरिन्छ । भक–भकाउने समस्याको उपचारमा प्रयोग हुने केहि औषधिहरु निम्नलिखत छन्: स्ट्रामोनियम, बोबिस्टा, कालिब्रोम, कस्टिकम, कल्केरिया कार्ब , सिक्युटा भिर, नेट्रम कार्ब, हायोसायमस, लेकेसिस, सिड्रोन, ब्युफोराना आदि । उपरोक्त औषधिहरु चिकित्सकसँग परामर्श लिइ प्रयोग गर्दा उचित हुन्छ ।
अस्तु
[email protected]

प्रकाशित : जेष्ठ २५, २०७४ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?