२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तपाईलाई पसिना धेरै आउँछ ? यस्ता छन्, रोकथामका उपाय

काठमाडौं — शरीरबाट पसिना निस्किनु एक स्वभाविक प्रकृया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्याउछ । पसिनाको माध्यमले शरीरभित्र भएको बिकार बाहिरआउछ । शरीरबाट पसिना निस्केन वा कुनै कारणबस पसिना भित्रै रोकिन गयोभने धेरै प्रकारका शारीरिक रोगहरु उत्पन्न हुन सक्छन् ।

तपाईलाई पसिना धेरै आउँछ ? यस्ता छन्, रोकथामका उपाय

अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । यसैले मानिस अचेल पसिना आउने गरी साईकिलिङ, ब्यायाम, जगिङ, मोर्निड.वाक या जीममा गएर पसिना निकाल्ने गर्दछन् । तर, कहिलेकाहि आवश्यकता भन्दा बढि मात्रामा तथा बिना कारणबस शरीरबाट पसिना आउन थाल्छ । बढि पसिना आउनलाई चिकित्साविज्ञानमा हाईपरहाईड्रोसिस अर्थात अत्यधिक पसिनाआउनु भनिन्छ । एक तथ्याङ अनुसार विश्वको कुल जनसंख्याको करिव दुई प्रतिशत मानिसमा हाईपरहाईड्रोसिस भएकोअनुमान गरिएकोछ । सामान्यतया महिलाहरुको तुलनामा पुरुषहरुलाई धैरै मात्रामा पसिना आउने गर्दछ ।

पसिना के हो ? 
छालाको भित्रिसतहमा अवस्थित श्वेदग्रन्थि (Sweat Glands)बाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्याधिक गर्मिका कारण छालालाई डढ्नबाट जोगाउनको लागि श्वेदग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पादन गर्दछ। जसलाई पसिना भनिएको हो । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।

पसिना कसरी आउछ ? 
शरीरमा पसिना आउनका बिभिन्न कारणहरु छन् ।  वंशानुगत कारणले पनि बढि पसिना आउने हुन्छ । गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा ब्यायाम बढि गर्नु, तेलयुक्त मसालादार खाना बराबर खानु, कब्जियत हुनले पनि पसिना बढिआउछ । यसबाहेक कुनै शारीरिक रोग भएमा जस्तै : मलेरिया, टाईफाईड, डेंगु ज्वरो, छातीको टी.वी. रगत दुषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, घबराहट, डर, भय, आघात र कडा ज्वरोको कारणले पनि बढि पसिना आउछ । अन्य कारणहरुमा तातो पेयपदार्थ पिउनु , खैनी, गुट्खा, काँचो सुपाडी तथा नशालु पदार्थको सेवन गर्नले पनि पसिना धेरै आउछ । यस्तै शरीरिक रुपले अत्याधिक मोटो हुनु तथा शरीरको ईम्युनोसिस्टमको कारण थाइराईड ग्रन्थि बढि सक्रिय भयो भने पनि पसिना धेरै आउछ ।

शरीरमा पसिना आउने स्थानहरु
हुन त पसिना शरीरको जुनसुकै ठाँउमा पनि थोर-बहुत आउन सक्छ । तरपनि पसिना आउने खास ठाउँहरु हाम्रो शरीरमा यस प्रकार छन्: हत्केला, खुट्टाको पैताला, काँखी, काछ । यि भागहरुमा प्रायः पसिना बढि नै आउने गर्छ । यसबाहेक टाउको, निधार, माथिल्लो ओठ, पिठ्यु, पेटमा पनि पसिना आउछ । यसको कारण श्वेदग्रन्थिहरु शरीरको भित्रि भागहरु जस्तै, हत्केला र खुट्टाको पैताला तिर बढि मात्रामा हुन्छन् । ति श्वेदग्रन्थिहरु अतिसक्रिय भएपछि बढि पसिना आउछ ।

पसिनाको गन्ध
शरीरबाट निस्केको पसिना यदि वाष्पिकरण (वाफ) भएर जानसकेन भने पसिना गन्हाउन थाल्छ । शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ, धैरे पसिना आउनाले छालाको पत्रलाई औसिलो बनाउछ । औसिलो ठाउँमा ब्याक्टेरियाहरुले हुर्किने अनुकुल बातावरण पाउने हुँदा त्यहाँ चाँडै दुर्गन्ध उत्पन्न हुन्छ । साथै व्यक्तिले लगाएको लुगामा विभिन्न प्रकारका सेतो, पहेलो, रातो, कालो, टाटेपाटे पसिनाका दागहरु बस्न थाल्छ । कतिपय व्यक्तिको पसिनामा दुर्गंन्ध पनि धैरे हुन्छ । पसिनाको गन्धका कारणसार्वजनिकस्थल, सभा-गोष्ठि र साथीभाईको माझमा बस्दा पनि लज्जित हुनुपर्नेअवस्था हुन्छ । यसैप्रकार गर्मीमा अत्याधिक पसिना निस्किने कारणले कतिपयलाई दैनिक कामकाज गर्नका लागि समेत अप्ठ्यारो हुन्छ । यसर्थ बढि पसिना आउनेले नियमित रुपमा आफ्नो शरिरको सरसफाईमा ध्यान दिएन भने यस्तामा किटाणुहरु हुर्किन पाउछन् र जिउचिलाउनुका साथै घाउखटिरा आउनेहुन्छ । बिषेशगरी पैताला, काखी, काछ र हत्केलामा बढि पसिना आउने भएकाले  शरीरका यि अंगहरुको सरसफाईमा बढि ध्यान दिनुपर्छ ।

बढि पसिना आउन नदिन के गर्ने ? 
शरीरमा बढि पसिना आउन न दिनका लागि सबभन्दा राम्रो उपाय हो, शरीरलाई शितल राख्नु । यसको लागि घाम चर्किएको बेला घाममा ननिस्किने, दौडधुप र ब्यायाम कम गर्ने, शितलमा बस्ने, नियमित नुहाउने, पानी प्रशस्त मात्रामा पिउने, आफनो खानामा हरियो साग-सब्जिका साथै दही, मोही तथा सिजनअनुसारको पानीयुक्त फलफुलहरु तरबुज, खरबुज, काक्रो बढि मात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफि, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धैरे बेर भोको नरहने, बढि मसालादार (गरिष्ठभोजन) नगर्ने, खानामा लसुन, अदुबा, गोल मरिचको प्रयोग कम गर्ने र प्याजको मात्रा बढाउने गरियो भने अत्याधिक पसिना आउने क्रमलाई घटाउन सकिन्छ । केहि मानिसहरु बढि पसिना आउने डरले पानी कम पिउने गर्दछन् ।  यो राम्रो होईन, पानीको मात्रा शरीरमा कमभयो भने डिहाईड्रेशन हुनसक्छ । यि सबै उपायहरुलाई मनन गरी अपनाईयो भने केहि हदसम्म बढि पसिना आउने समस्यालाई घटाउन सकिन्छ । उपरोक्त बिधिबाट पनि पसिनाको मात्रा कम भएन भने चिकित्सकको सल्लाहमा औषधिको सेवन गर्नुपर्छ ।

औषधि उपचार
बढि पसिना आउने समस्यालाई कम गर्न भनि एलोप्याथिकमा एल्युमिनियम क्लोराईडयुक्त-एन्टिपर्सपाईरेन्ट नामक औषधि चिकित्सकद्वारा बिरामीलाई  सिफरिस गरिन्छ भने होमियोप्याथिक चिकित्सा विधिमा आवश्यकता भन्दा बढि मात्रामा तथा कुनै कारण बिना नै शरीरबाट पसिना आउछ भने रोगीलाई निकोपार्नको लागि लक्षण अनुसार प्रयोग गरिने केहि औषधिहरु निम्न लिखत छन् ।

१) यदि आँखा बन्द गर्ने बित्तिकै पसिनआउछ भने, ब्रायोनिया, कोनियमको प्रयोग लाभकारी हुन्छ ।  
२) यदि जाडो भएर शरीरमा पसिना आयो भने, नक्सभोमिकाको प्रयोग गर्नुपर्छ ।
३) टाउको बाहेक शरीरको अन्य खुल्ला भएको भागमा पसिना आउछ भने, यस्तो लक्षणमा रोगी लाई थुजा नामक औषधिको सेवन गराउनु पर्छ । 
४) यदि कुनै कारणबिना नै अनुहारमा पसिना बढि आउछ भने, रस टक्स या सिकेलिकोर औषधिको प्रयोग गर्नु लाभदायक हुन्छ । 
५) यदि रोगीलाई ब्युँझेको अवस्थामा मात्र पसिना आउछ भने, सेम्बुकस नामक औषधिको सेवन हितकारी हुन्छ । 
६) यदि शरीरमा लुगाले ढाकेको भागमा मात्र पसिना आउछ भने, एकोनाईट, बेलाडोना, चायना आदि औषधिको सेवन गर्नुपर्नेहुन्छ । 
७)  यदि पसिना शरीरको देब्रेभागतिर मात्र बढिआउछ भने, पल्साटिला, पेट्रोलियमको प्रयोग गर्दा लाभदायक हुन्छ । 
८)  शरीरको जुन भाग पट्टि फर्केरसुत्दा त्यहि त्यकी साईडमा बढि पसिना आउछ भने, ब्रायोनिया, नक्सभोमिका, जिकंम आदि औषधिहरुको प्रयोग बढि फाईदाजनक हुन्छ । 
९) यस्तै जतापट्टि फर्केर रोगी सुत्छ त्यस भागमा पसिना नआउने बरु त्यसको बिपरित भागमा पसिना आउछभने बेन्जोईक एसिड, थुजा, सेनिकुल्ला नामक औषधिहरु मध्ये लक्षण अनुसार कुनै एकऔषधिको प्रयोग गर्नुपर्ने हुन्छ । 
१०) यदि निदाएको बेला मात्र पसिना आउछ र ब्युँझिएपछि हराउछ भने, कोनियम नामक औषधिको प्रयोग हितकारी हुन्छ । उ
परोक्त होमियोप्याथिक औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकसंग परामर्श लिई गरेमा लाभदयक हुनेछ । 
अस्तु ।
[email protected]

प्रकाशित : असार ७, २०७४ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?