२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बाढी प्रभावित क्षेत्रमा पानी र किटजन्य महामारी फैलिने सम्भावना, सजग हुन बिज्ञको अपील

करिव ६० लाख जनसंख्या बाढी प्रभावित
अतुल मिश्र

काठमाडौं — जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकको बाढी प्रभावित तराई क्षेत्रमा पानी र किटजन्य महामारी फैलिन सक्ने चेतावनी दिएका छन् । यस पटकको बाढीमा धेरै मात्रामा तराईका शहरी र ग्रामिण जनसंख्या प्रभावित रहेकाले प्रकोपको जोखिमसमेत उच्च रहेको बताइएको छ । उनीहरुले करिव ६० लाख प्रभावित भएको अनुमान गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा पानी र किटजन्य महामारी फैलिने सम्भावना, सजग हुन बिज्ञको अपील

उनीहरूले सरकारले तुरन्त सम्भावित महामारीको सम्बोधनका लागि तयारी शुरु गर्नुपर्ने औल्याएका छन् । पानी र खाद्यजन्य महामारी २४ घन्टा मै फैलिन सक्ने सम्भावना रहने उल्लेख गर्दै स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. विडी चटौतले भने, 'सम्भावित महामारीको लागि तम्तयार रहनु पर्ने अवस्था छ ।'

हाल बाढी प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, टाइफाइड, जण्डिस (हेपाराइटिस) लगायतका खाना र पानी जन्य रोग देखिने सम्भावना छ भने केहि दिनपछि औलो, डेगी, चिकनगुनियालगायतका किट जन्य रोग देखिने सम्भावना रहेको विज्ञहरू औल्याउँछन् ।

यस्तै आँखा पाक्ने रोग (कंजंक्टिवाइटिस), लेप्टोस्पोरोसिस र छाला सम्बन्धी रोग देखिने सम्भावना छ । 'बाढी प्रभावित क्षेत्रमा २४ घन्टा भित्र देखि नै पानी जन्य रोग देखिन सक्ने सम्भावना रहन्छ' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जीडी ठाकुर भन्छन, 'प्रभावित क्षेत्रमा शुद्ध पौष्टिक खाना र पानीको आपुर्ति सुनिश्चित हुनुको साथै शिविरमा दिशा पिसावको उचित व्यवस्थापन हुनु पर्छ।'

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढी प्रभावित जनतालाई तत्काल शुद्ध खानेपानीको सुनिश्चितता गर्नुपर्छ । यसले पानी जन्य रोगको प्रकोप फैलिनबाट जोगाउँछ । यस्तै हेपाटाइटिस ए विरूद्धको खोप र औलो रोगबाट बचाउने उपाय बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्‍याइनु पर्दछ ।

हाल सरकारले बाढी प्रभावित क्षेत्रको ठाउँ ठाउँमा स्वास्थ्य शिविर राख्नुको साथै तुरुन्त औषधि उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकता डा. चटौतले औल्याए ।

हालसम्म बाढीले गर्दा कुनै रोगको प्रकोप नदेखिएको उल्लेख गर्दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्य भन्छन्, 'त्यस्तो अस्तव्यस्त भएको जानकारी आएको छैन, आएको जानकारी अनुसार आत्तिनु पर्ने अवस्था छैन ।'

गृह मन्त्रालयको तथ्यांक अनुसार तराईका १८ जिल्ला बाढीको प्रकोप देखिएको औल्याउदै डा. आचार्यले भने, 'हाम्रो प्रारम्भिक अनुमान अनुसार ६० लाख भन्दा बदी जनसंख्या बाढीले प्रभावित छन् ।'

बाढी प्रभावित क्षेत्रमा झाडा पखाला र औलो फैलिने क्रम विगतमा देखिएको थियो । करिव तीन वर्ष अघि बाँके, बर्दिया र सुर्खेतका बाढी पीडितमा झाडा पखालाको समस्या देखिएको थियो । यस्तै करिव एक दशकअघि बाढीको ६ सातापछि बाँकेको राप्ती पारीको क्षेत्रमा देखिएको औलोले ३३ जनाको मृत्यु भएको विज्ञहरू बताउँछन् ।

प्रकाशित : श्रावण २९, २०७४ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?