के हो कब्जियत ?

डा.ललितकुमार मिश्र

काठमाडौं — कब्जियत रोग एक, समस्या अनेक । कब्जियत अर्थात दिसा खुल्सत न हुनु हो । यस को समस्या बाट आज ९०% प्रतिशत व्यक्तिहरु प्रभावित छन् भन्दा अतियुक्ति न होला ।

कब्जियत हुनु , पेट गडबड हुनु, पेटमा ग्यास बन्नु, पेट सफा नहुनु आदि जस्ता समस्याहरु गाउँको भन्दा सहरी जीवनमा एक आम समस्या भइसकेको छ । भनिन्छ पेट ठीक त सबै ठीक । पेटबाट नै छत्तिस प्रकारको रोगको सुरुवात हुन्छ , जस्तै- पाइल्स (अल्काई) , ग्यास्ट्राइटिस, डायबिटिज , टाउको दुख्ने, मुख गन्हाउने, वाक-वाकी लाग्ने , बान्ता हुने आदि । पेट नै रोग को घर हो । यदि तपाईँको पेट ठीक छ भने अर्थात पाचन प्रणाली सही छ भने तपाईँको स्वास्थ्य ठीक छ ।

 पेटको सम्बन्धमा एउटा भनाइ छ, 'जहाँ बढा पेटका घेरा , वही डाला रोग ने डेरा ' अर्थात सामान्य आयतन भन्दा ठूलोआकारमा पेट बढनु को अर्थ हो रोगले शरीरमा डेरा जमाउनु । तर बिडम्बना हेर्नुस्, हाम्रो समाजमा भुँडी लाग्यो भने यसलाई राम्रो मान्छन् । स्वस्थ्य र सम्पन्नता को प्रतिक ठान्दछन् । साथीभाइहरुले भन्छन्- क्या हो- मोटाइछस् नि यार, भुँडी लागेछ नि ! आदि । तर वास्तवमा भन्ने हो भने पेट बढनुको अर्थ व्यक्तिमा रोगको सुरुआत हुनु हो । 

कब्जियतको प्रकार: कब्जियत खास गरी दुई प्रकारको देखिन्छ ।  स्थायी र अस्थायी । 

स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठिन हुन्छ  र यो कैयौं रोगहरुको कारण पनि बनिरहेको हुन्छ । क्रोनिक कन्स्टिपेसनमा जुलाब ( दिसागराउने) औषधि लिँदा पनि काम गर्दैन । यस्तै डुस ( एनिमा) लिँदा पनि दिसा खुलेर आउँदैन । यस्ता प्रकारका स्थायी कब्जियतको उपचारका लागि सम्बन्धित चिकित्सकसँग बेलैमा परामर्श गरी औषधोपचार गर्दा मात्र सम्भव हुन्छ । अस्थायी कब्जियतमा चाहिँ आफ्नो खानपान, रहनसहन, जीवनशैलीमा परिवर्तन गरेमा हटाउन सकिन्छ ।

कारण: कब्जियत हुनुको यही नै हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । कब्जियत हुनका थुप्रै कारणहरु छन् । जस्तै- अनियमित खानपान, शारीरिक श्रमको कमी, खाएको कुरा नपच्नु , औषधिहरुको बढी सेवन गर्नु , पानी कम पिउनु , तारेको भुटेको र  फास्टफुड, चाउचाउ, मम, पिज्जा, पास्ता, चाउमिन, नान तन्दुरी , जस्ता मैदाबाट बनेको खाद्य पदार्थको बढी प्रयोग गर्नु । राति जागरण बस्नु, चिन्ता तथा तनावपूर्ण जीवन बिताउनु , धुमपान गर्नु, चिया, कफी, कोकाकोला, फेन्टा , इनर्जी ड्रिङ्क्स जस्ता पेय पदार्थको बढी प्रयोग गर्नु । एकै ठाउँमा बसेर घन्टौं काम गरिरहनु आदि कब्जियतका प्रमुख कारणहरु हुन् । 

यसबाट हुने समस्या: कब्जियतको समस्याबाट पीडित व्यक्तिलाई भोक नलाग्ने, मुख गन्हाउने, पेटफूल्ने, ग्यासभरिने, मुटुको ढुक-ढुकी बढने, टाउको दुख्ने, वाक-वाक्कि लाग्ने तथा बान्ताहुने , दिसा बाख्राको बड्कौंला जस्तो गोटा- गोटा हुने , दिसागर्दा निकै कन्नु पर्ने , जसलेगर्दा मलद्वार बाहिर निस्किने हुन्छ, साथै हर्निया समेत हुने सम्भावना बढी हुन्छ । अल्काइ( पाइल्स) आदि जस्ता समस्या कब्जियतले ल्याउँछ । साथै पेटको आकार बढनुको साथै शरीरको तौलपनि बढन गई समस्या हुनसक्छ ।

कब्जियतबाट कसरी बच्ने : कब्जियतको समस्या हुनेहरुले बोक्रासहित को गाजर, चना, भटमास, काक्रो, मुला, अम्बा जस्ता फलफुलहरु खानु पर्छ त्यसै गरी गहुँको पिठो , कोदो, बोक्रासहितको आलु, फापर, गेडागुडी पर्याप्त मात्रामा लिनुपर्छ । हरियो सागपात, रेसादार ( फाइबर) युक्त सिजन अनुसारको सागसब्जीहरु प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । 

यसको साथै नियमित रुपले आफ्नो शरीरको क्षमताअनुसार व्यायाम गर्नुपर्दछ । व्यायाम मुटुको चालको लागि मात्र हैन, शरीरको आन्द्राको चालको लागि पनि चाहिन्छ । व्यायामले पाचन शक्ति बढाउन मद्दत गर्दछ । अन्य व्यायाम गर्न सकिँदैन भने हिँडाइ त जसले पनि, जहाँपनि गर्नसक्छ । यसको लागि पैसा खर्च गर्नुपर्दैन । हरेक दिन बिहान र बेलुकी आफ्नो समय मिलाएर तीस मिनट जति छिटो-छिटो हिँडाइ एउटा राम्रो व्यायाम हो । यसले शरीरको तौल ठीक राख्नको साथै कब्जियत हटाउनमा पनि मद्दत गर्दछ । विभिन्न कारणवश कतिपय व्यक्तिहरु बिहान उठने बित्तिकै नित्यक्रिया गर्दैनन् । कामको चाप, अफिस या पसल जान हतार, ढिलो उठने बानी आदिले गर्दा अफिस वा काममा दौडिन्छ । दिसा लाग्दालाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन् ।  

यसले गर्दा पनि कब्जियत हुन्छ । अत; बिहान उठने बितिक्कै दिसा आएपनि वा न लागेपनि शौचालय जाने बानि बसाल्नु पर्छ । यसले कब्जियतबाट बचाउँछ, खानेकुरा र व्यायामको अभावले मात्र होइन लगातारको मानसिक चिन्ता र डर पनि कब्जिययत को कारण बन्न सक्छ । चिन्ता, तनाव, भय हटाउन मेडिटेशन ( ध्यान) योगाभ्यास गर्नु लाभदाय हुन्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्छ , सकारात्मक सोच राख्नु पर्छ । मानसिक चिन्ता हटाउन, आनन्दपूर्वक को हिँडाइ, दौडाइ र हसाइँपनि एउटा राम्रो माध्यम हो । पेट मिची- मिची हाँस्नु , जसले आन्द्राको मालिस हुन्छ । 

सल्लाह: कब्जियत हटाउनका लागि विभिन्न प्रकारका सञ्चारमाध्यमबाट विज्ञापनमा देखाइएका औषधि (चुर्ण ) जुलाबको प्रयोग सकेसम्म गर्नु हुँदैन । जुलाबले एकचोटी त आराम दिन्छ । तर बारम्बार यसको प्रयोगले  आन्द्रालाई कमजोर बानाउँछ र साथै बानी बस्छ । दिसा गराउने औषधि जुनदिन खानुहुन्छ, त्यसको भोलिपल्ट पेट कटक्क दुखेर दिसा लाग्छ । जुनदिन सेवन गरिएन भने दिसा नै लाग्दैन । यस प्रकार कब्जियत झन् बढेर आउँछ । 

यसै प्रकार केही एलोप्याथिक औषधिहरुको नियमित सेवनले पनि कब्जियत गराउँछ । जस्तै –एन्टासिड, क्याल्सियम, निद्रे लागाउने औषधि, ब्लड प्रेसरको औषधिका साथै मानसिक रोगका लागि प्रयोग गरिने औषधि आदि हुन् ।

निषेध : दिसा बस्दा दिसा आएन भने कतिपय व्यक्तिहरु बल निकालेर कन्छन् । यसले गुद्दद्वारमा दबाव पर्न जान्छ र मलद्वारमा घाउ (फिसर) हुन सक्छ। मलद्वार बाहिर निस्किने ( परोल्याप्स एनो) हुनसक्छ । त्यस अर्थ दिसा बस्दा कन्नु हुँदैन । कन्नुको सट्टा दैनिक जीवनको भोजन, व्यायाम, पूर्ण निन्द्रा आदिबाट नै कब्जियतबाट मुक्ति पाउन उचित हुन्छ । कब्जियत हुनेले राति सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ । 

होमियोप्याथिक उपचार : कब्जियतको उपचारमा रोगीको मानसिक एवं शारीरिक लक्षणको आधारमा प्रयोग हुने केही औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग स्थायी/अस्थायी दुबै प्रकारको कब्जियतमा सफलतापूर्वक गर्न सकिन्छ । # औषधिहरु : ब्रायोनिया, एलुमिना, औपियम, लाइकोपोडियम, कल्केरियाकार्ब, ग्रेफाईटीस, सल्फर, सिपिया, नक्स भोमिका, नेट्रम म्युर, साइलिसिया, कास्टिकम, आदि ।

Mishradr.lk@gmail.com

प्रकाशित : भाद्र १३, २०७४ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा उत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौं — पहिलो पटक अमेरिकाको न्यूयोर्कमा 'नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव' सम्पन्न भएको छ । २३ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले उक्त महोत्सवको आयोजना गरेको हो ।

हालै तीन दिनसम्म चलेको उक्त महोत्सवमा मगर भाषाको चलचित्र लोम्बाले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । लोम्बाले उत्कृष्ट चलचित्रको उपाधीसहित एक लाख रुपैयाँ नगद पुरस्कार पनि पाएको छ । उत्कृष्ट चलचित्रका लागि नोमिनेशनमा लोम्बा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही परेको थियो ।

महोत्सवमा नेपालका विभिन्न मातृभाषामा बनाइएका ११ वटा चलचित्र प्रदर्शन गरिएको थियो । विभिन्न ११ वटै विधामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो । महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषाको ‘सेम ताबा म्ही, लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी चलचित्र ‘कृषा गौतमी’, राई भाषाको ‘सुम्निमा' र मुस्ताङी भाषाको ‘शेरढाक’ प्रर्दशन गरिएको थियो । त्यसैगरी लघु चलचित्रहरु नेवारी भाषाको ‘कल्ली’, राई भाषको पुवालो र मुगालको ‘फेके’ को पनि महोत्सवमा प्रर्दशन गरिएको थियो ।

महोत्सवमा उत्कृष्ट नायकको उपाधी शेरढाकका नायक छेवाङ रिञ्जिङ गुरुङले, उत्कृष्ट नायिकाको उपाधी मैरिमोकी नायिका सपना गुरुङ, उत्कृष्ट कथाकारको उपाधी सुम्निमाका प्रविण पुमा र उत्कृष्ट संगीत निर्देशनको उपाधी 'सेम तावा म्ही' का राजकुमार मोक्तानले पाएका छन् ।

त्यसैगरी छायांकनमा 'सेम तावा म्ही', सम्पादनमा 'कृष्णा गौतमी'का बालकृष्ण बंशी, निर्देशक र भेषभुषामा लोम्बाका अनिल बुढा मगर र पब्लिक च्याईसमा 'सेम तावा म्ही' उत्कृष्ट ठहरिएका छन् । त्यसैगरी छोटो चलिचत्रतर्फ पुवालो उत्कृष्ट ठहरिएको छ ।

नेपाली राज्य र मुलधारबाट सिमान्तकृत भाषा र समुदायका चलचित्रहरुमार्फत आदिवासी जनजातिको कला, भाषा, संस्कृति, परम्परालाई सम्वर्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको प्रेस संयोजक मच्छे गुरुङले जानकारी दिइन् । फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले नेपालमा पहिचानको मुद्दालाई स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुर्याउने हेतुले महोत्सवको आयोजना गरिएको र भविश्यमा पनि निरन्तरता दिइने बताए ।

महोत्सवको आदिवासी चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक थियो भने बिशेष सहयोगीका रुपमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड रहेको थियो ।

प्रकाशित : भाद्र १३, २०७४ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT