भारतको एक अस्पतालमा चिकित्सकबीच अप्रेशन थिएटर भित्रै झगडा

अप्रेशन टेबलमा रहेकी महिलाले गुमाइन् नवजात शिशु
एजेन्सी

जाेधपुर(भारत) — अस्पतालमा चिकित्सक र बिरामीका आफन्तबीच विभिन्न विषयलाई लिएर भनाभन हुनु वा झगडा नै हुनु नौलो कुरा होइन । तर मंगलबार राति भारतको जोधपुरस्थित उमैद अस्पतालको अप्रेशन थिएटर भित्रै दुई वरिष्ठ चिकित्सकबीच भनाभन हुँदा नवजात शिशुको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

उक्त अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका साहयक प्राध्यापक डा. अशोक ननिभाल तथा एनेस्थेसीया विभागका प्राध्यापक डा. मथुरालाल ताक अभद्र भाषाको प्रयोग गर्दै भनाभन गरिरहेको भिडियो भारतीय मिडियामा सार्वजनिक भएको हो । 

गम्भिर अवस्थामा गर्भवति महिलालाई अस्पताल ल्याइएसँगै उनको गर्भमा रहेको शिशुको अप्रेशन गरि निकाल्ने काम भइरहँदा दुई चिकित्सकबीच भनाभन भएको अस्पताल प्रशासनले पनि स्विकारेको मिडियाले जनाएको छ । अप्रेशन गरि निकालिएको शिशुको केही समयमा नै मृत्यु भएको थियो ।

उक्त घटना सार्वजनिक भएपछि राज्य सरकार तथा राजेस्थानको उच्च अदालतले जोधपुरको कलेक्टरलाई अनुसन्धान गरि कारवाही गर्न आदेश दिएको छ । यस्तै अस्पताल प्रशासनले दुवै चिकित्सकलाई निलम्बन गरेको जानकारी दिएको छ ।

राज्य सरकारको चिकित्सा शिक्षा विभागले डा. ननिभालको साहयक प्राध्यापकको पद फिर्ता लिएर मेडिकल अफिसरको पदमा घटुवा गरेको बताइएको छ । डा. ताकको हकमा भने उनी वरिष्ठ प्राध्यापक भएकाले थप अनुसन्धान पछि मात्रै केही कारवाही हुने भएको छ ।

प्रकाशित : भाद्र १४, २०७४ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण, मधेसको प्रतिनिधित्व घट्यो

प्रदेशको ३ सय ३० क्षेत्रको पनि सिमा तोकियो
राजेश मिश्र

काठमाडौं — निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय ३० वटा निर्वाचन क्षेत्र निर्धारण गरेको प्रतिवेदन बुधबार सरकारलाई बुझाएको छ ।

प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्र मध्ये ७८ वटा निर्वाचन क्षेत्र तराईका २० जिल्लामा परेका छन् । कुल क्षेत्रको उक्त संख्या ४७ दशमलव २७ प्रतिशत हो । मधेसवादी दलले जनसंख्या अनुपातमा तराईका जिल्लामा ५१ प्रतिशत निर्वाचन क्षेत्र हुनुपर्ने माग गरिरहेको बेला यो क्षेत्र निर्धारणले विगतको तुलनामा एक प्रतिशत कम प्रतिनिधित्व हुने भएको छ । यसअघि २ सय ४० निर्वाचन क्षेत्र हुँदा ४८.३३ प्रतिशत मधेसको २० जिल्लाबाट प्रतिनिधित्व थियो ।

प्रदेश नम्बर १ मा २८, प्रदेश नम्बर २ मा ३२, प्रदेश नम्बर ३ मा ३३, प्रदेश नम्बर ४ मा १८, प्रदेश नम्बर ५ मा २६, प्रदेश नम्बर ६ मा १२ र प्रदेश नम्बर ७ मा १६ वटा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र परेको छ ।

सबैभन्दा बढी काठमाडौंमा १०, विराटनगरमा ६, झापा, रुपन्देही र कैलालीमा ५/५ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रदेश नम्बर २ को ८ जिल्ला सबैमा ४/४ वटा निर्वाचन क्षेत्र छन् ।

संविधान अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व हुने संख्याको दोब्बर प्रदेशसभामा रहने व्यवस्था छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनरायण दासको नेतृत्वमा गठित क्षेत्र निर्धारण आयोगले साउन ११ गतेबाट काम थालेको थियो ।

संविधानमा आयोगले निर्धारण गरेको क्षेत्रलाई फेरवदल गर्न नपाइने तथा आयोगको काममाथि कुनै अदलातमा प्रश्न उठाउन नपाइने प्रावधान रहेकाले आयोगको प्रतिवेदन अनुसार नै क्षेत्रहरु कार्यान्वयनमा आउने छन् ।

प्रकाशित : भाद्र १४, २०७४ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्