जनैखटिरा (हर्पसजोस्टर) र यसको उपचार विधि

डा. ललितकुमार मिश्र

काठमाडौं — जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।

जनैखटिरा सबै उमेरका मानिसलाई हुन सक्छ । प्राय:गरी यो रोग त्यस्ता व्यक्तिलाई हुन्छ, जसलाई पहिला ठेउँला (चिकेनपोक्स) भएको वा चिकेनपोक्सको एक्सपोजर भएको होस् । त्यस्ता व्यक्तिलाई हर्पसजोस्टर हुने संभावना प्रबल हुन्छ । कारण के भने भेरीसेला जोस्ट नामक भाईरस शरीरमा एक पटक प्रवेश गरिसके पछि चिकेनपोक्स ठीक भइसकेपश्चात् पनि यो भाइरस नर्वस सिस्टम जान्छ र जीवनपर्यन्त सुषुप्त अवस्थामा शरीरभित्रै रहिरहन्छ । आफ्नो अनुकूल परिस्थतिमा वा शरीरको प्रतिरोधक क्षमता कम भएमा यो पुन: देखापर्ने गर्दछ ।

मधुमेह, मुटुको रोगी, एड्स रोगी, किड्नीको रोगी र क्यान्सरलगायतका पुराना रोगीहरुमा उनीहरुको आन्तरिक शारीरिक क्षमता कमजोर हुन्छ । यसबाहेक लामो समयसम्म उपचारको क्रममा स्टेराएड्स जस्तै-प्रेडनिसोन औषधिको सेवन गर्नेमा पनि हर्पसजोस्टर हुने खतरा बढी रहन्छ ।


# कारण :
यो रोग किन हुन्छ यसको कारण स्पष्ट त छैन, तर चिकित्साविद्हरु (छालारोग विशेषशज्ञ)को भनाइअनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ । जसले गर्दा शरीर कमजोर हुन जान्छ । त्यसबेला यसको भाईरस नर्वस पथ-वे अर्थात् स्नायुमार्गको बाटो हुँदै हाम्रो छालासम्म पुग्छ । सामान्यतया यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा लाग्ने संभावना बढिरहन्छ । यसबाहेक अन्य कारणहरुमा
- रोग प्रतिरोधात्मक क्षमता कम हुनु
- शारीरिक तथा मानसिक तनाव बढी हुनु
- निन्द्राको अभाव आदीलाई लिन सकिन्छ

# लक्षण :

दाना निस्किनुभन्दा अगाडि प्रभावित पाटामा दर्द हुनु यस रोगको प्रमुख लक्षण हो । दर्द भएको केही दिनपश्चात् त्यस ठाउँमा रातो–रातो डाबर आउन सुरु हुन्छ । सुरुमा छालामा मसिनो डाबर आउनु । पछि खटिराको रुपमा विकास हुनु । खटिरा घाउको रुपमा परिणत हुनु । सो घाउ वरिपरिको क्षेत्रको छाला अति नै संवेदनशील हुनु र छुँदा पनि साह्रै दुख्नु । ज्वरो आउनु । खटिरा आउने ठाऊँमा धेरै दुख्ने । चिलाउनु, पोलेकोजस्तो अनुभव हुनु । झस्का हानेको जस्तो दुख्ने । पानीका स-साना फोका आउने । शरीरको कुनै पाटोमा खटिरा आउने । हात, पाखुरा, छाती, पेट, पिठ्युँ, खुट्टा वा कुनै पनि ठाँउमा आउन सक्छ । तर, अधिकांश रुपमा डाबरहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छ । यसको अलावा कसै-कसैलाई ज्वरो आउनुकोसाथै शरीरका जोर्नीहरु दुख्नु, टाउको दुख्नु, बढी लाईट सहन न हुनु, थकान महसुस हुनु आदि जस्ता शिकायतहरु पनि देखिन्छ ।

# जोखिम :

समयमा नै जनैखटिराको औषधोपचार गरिएन भने यसरोबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने । बिरामीको मुख बांगो हुने । ब्रेन हेमरेज भई बिरामीको मृत्यु पनि हुन सक्छ ।

# ऊपचार :

हर्पसजोस्टरको बारेमा गाउँघरमा एकप्रकारको अन्धविश्वास वा भ्रम रहेको देखिन्छ । के भने, जनैखटिरा भएपछि यो रोग निको हुँदैन । ब्यक्तिको मृत्यु हुन्छ । जुन एकदमै गलत कुरा हो । जनैखटिरा आएपछि कसैलाई दुई-तीन हप्तामा ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एक/दुई वर्षसम्म यसले दु:ख दिइरहन्छ । यसकारण बेलामै संबन्धित (छालारोग विशेषज्ञ)लाई कन्सलट गरी यस रोगको उपचार गराउनु पर्दछ ।

# होमियोप्याथिक उपचार : होमियोप्याथिक चिकित्सामा रोगीको शारीरिक एवं मानसिक अवस्थालाई ध्यानमा राखेर ऊपचार गर्ने गरिन्छ । हर्पसजोस्टर (जनै खटिरा)को उपचारमा रोगीको लक्षणअनुसार प्रयोग हुने केही होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग आफ्नो नजिक कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग परामर्श लिई प्रयोग गर्नु उचित हुन्छ ।

# औषधिहरु :
(१) रेनन्क्युलस (२) रसटक्स (३) टरेन्टुलाक्युबेन्स (४) मेजेरियम (५) आर्सेनिकएल्ब (६) सिकोटा विरोसा (७) थुजा (८) आईरिस भर्स (९) डल्कामारा (१०) केन्थरिस (११) परुनस स्पाईनोसा (१२) सोरिनम आदी ।

# सल्लाह :

संक्रमण अवस्थामा भएको रोगीको ऊचित हेरविचार र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका साथै बिरामीको लुगा, बेडसिट, तौलिया, रुमाल, काँइयो आदिलाई तातोपानीले धोएर जीवाणुरहीत बनाउने । डाबर चिल्लाएको अवस्थामा नङले वा कुनै प्वाईन्टेट वस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको छ भने सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुमसुम्याने गर्नाले पनि चिलाउनमा राहत मिल्छ । आवश्यकता अनुसार पर्याप्त मात्रामा निदाउनु पर्छ । चर्को घाममा लामो समय बस्नु हुँदैन । शारीरिक एवं मानसिक तनाव सकभर कम गर्नु पर्छ ।

# खानपान :

यस रोगको उपचारको क्रममा बिरामीले आफ्नो खानपानमा समेत ध्यान दिनुपर्छ । उचित खानपानले पनि रोगलाई निको पार्नमा मद्दत गर्दछ । यस रोगबाट पीडित बिरामीले आफ्नो खानामा माछा, मासु, गेडागुडी, दूध, चिज, मुंगको दाल, लसुन, हरियो सागपात समावेश गर्नु पर्छ । बदाम, पेश्ता, काजू, ओख्खर, चक्लेट, मिठाई, जौ, गहुँबाट बनेका परिकार भटमास आदि जस्ता खाद्य पदार्थहरुको सेवनले भाईरसलाई वृद्धि गर्ने हुँदा यसलाई नखानु नै वेश हुन्छ । अस्तु ।

प्रकाशित : भाद्र २२, २०७४ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्

यूएईमा जस्तै कानुन बोल्ने दिन कहिले आउला ?

काठमाडौं — नेपालमा भने यस्ता फुली र जौं बालाहरु लगाउनेहरु साइरन बजाउँदै हिँडेको प्रशस्तै भेटिन्छन् । उनीहरुलाई सर्वसाधारणले बाटो छोडिदिनुपर्छ । सर्वसाधारणका सानातिना विषयमा उनीहरुको ध्यान त्यति जाँदैन । कतिपय अवस्थामा प्रहरीलाई निजी काममा प्रयोग गरेको बारम्बार सुनिन्छ ।

हालैको बिहान साढे ८ बजे म अफिसतिर हुँईकिँदै थिएँ । रसअलखैममा पुग्नु थियो । यो संयुक्त अरब इमिरेट्सको सातौं राज्यमध्येको एक ।  रसअलखैमहको बिन मजिद होटल सामुन्ने पुग्दा बाँया लेनबाट आइरहेको एउटा गाडीले हर्न बजायो । हल्का कालो सिसा लगाएको सेतो रङको त्यो गाडी भित्रबाटै एक जनाले गाडी रोक्न भने । अगाडि ओभर ब्रिज थियो । मैले गाडी रोक्न सकिनँ । त्यो गाडी अगाडि पुगेपछि ‘डबल ईन्डीकेटर’बालेर रोक्न ईसारा गरेँ । म अलमलमा परिरहेको थिएँ । गाडी साईड लगाएँ । गाडी रोकेर बाहिर निस्केँ ।  उनी पनि बाहिर निस्किए । प्रहरी रहेछ । काँधमा चारवटा फुली रहेछ । ठुलै प्रहरीका हाकिम रहेछन् । एकछिन त डर पनि लाग्यो । ऊ सीधै मेरो गाडीको अगाडि भागमा आए । मेरो गाडी मुनीपट्टि ईन्जिननिर प्लास्टिक गुजुमुज्ज परेर बेरिएको रहेछ । त्यो देखाउँदै भने,‘यो प्लास्टिक ईन्जिनको फितामा बेरियो भने आगो लाग्न सक्छ ।’ मैले प्लास्टिक निकालेँ । सम्भावित दुर्घटनाबाट जोगाइदिएकोप्रति धन्यवाद दिएँ । ऊ मुस्कुराउँदै आफ्नो बाटो लागे । 

यूएईका धेरै सरकारी कर्मचारीको व्यवहारलाई नजिकबाट नियाल्ने मौका पाएको छु । उनीहरु जोसुकै र जुनसुकै पदका किन नहुन् ड्युटी समयबाहेक सरकारी गाडी प्रयोग गर्दैनन् । घरबाट अफिस जान र अफिसबाट घर आउन आफ्नै गाडी चढ्ने गर्दछन् । त्यही भएर होला, ती फुलीधारी प्रहरी पनि आफ्नै निजी गाडीमा सवार थिए ।
  
मे महिनाको पहिलो हप्ता । अफिसबाट घरतर्फ फर्कंदै थिए । बाटोमा  ‘हम्प’राखिएको थियो । सुस्तरी अगाडि बढिरहेका बेला सामुन्ने ट्राफिक प्रहरीले हात हल्लाउँदै अगाडि बढ्न ईसारा दिए । उनी निहुरिएर गाडीभित्र चिहाए । सिटबेल्ट बाँधे नबाँधेको जाँच गरेका रहेछन् । नबाँधेकालाई हाँसी हाँसी ईसाराले सिटबेल्ट बाँध्नु भन्थे । बाँधेकालाई मुस्कुराउँदै ‘थम्प अप’गर्थे । सामान्य अवस्थामा प्रहरीले जरिवाना गर्ने ठाँउमा पनि गलत भो भन्दै मुस्कुराउँथे । यस्तो काम यूएईमा भाईरल छ ।
 
त्यसो त, नेपाल प्रहरीका इन्स्पेक्टर सीताराम हाछेथुको पनि प्रशंसा हुन्छ । एकजनाले मात्रै राम्रो काम गरिदिदाँ जनमानसमा राम्रो प्रभाव जाँदोरहेछ । यूएईका आममानिसलाई प्रहरीको भूमिका र न्यायप्रति उत्तिकै विश्वास छ । प्रहरीले जानीजानी नियोजित रुपमा कसैलाई फसाउँदैन र दु:ख दिँदैन भन्ने विश्वास जनतासँग छ । यूएईमा ट्राफिक प्रहरीले चालकलाई अपमान गरेको र चालकहरुले ट्राफिक प्रहरीलाई अटेर गरेको अहिलेसम्म कहिल्यै सुन्नु परेको छैन । केही दिनअघि मात्र रिसको झ्वाँकमा आफ्नो ट्याक्सी ब्याक गरेर अर्को गाडीलाई धक्का दिने पाकिस्तानी ड्राइभरलाई यूएई सरकारले उसको लाइसेन्स रद्द गरी मुलुक पठाइदियो । नेपालमा त ब्याक गरेर मान्छेको ज्यान लिने पुरानो चलन छ । त्यस्ता चालकलाई नेपाल सरकारले दुर्घटना भन्दै उन्मुक्ति दिएको घटनाहरु प्रशस्तै सुनिन्छ । चालकका लापरबाहीले नेपालमा यसरी वर्षेनी कयौंले ज्यान गुमाएका छन् । आफन्त, नातागोता, अभिभावक र छोराछोरी गुमाएका छन् । हत्यारा चालक भने केही दिन जेल बसेर तिनै आफन्तका अगाडि छाती फुलाएर बाहिर निस्कन्छन् ।    

मेरा एकजना मित्र जागिरको सिलसिलामा नेपालबाट अफ्रिकाको एउटा सानो टापु सेइशेल्ज जाँदै थिए । उनको ट्रान्जिट अबुधाबी एयरपोर्ट थियो । एयरपोर्टमा समातिए । कुनै समय यूएईमा रहँदा बैंकबाट लिएको ऋण नतिरेको भन्ने आरोप उनलाई लगाइयो । उनी समातिएको ३ दिनपश्चात् सकुशल सोही विमानबाट सेइशेल्ज गए । प्रहरीले समातेपछि कुट्छ, पिट्छ र अपराध कबुल गराउँछ भन्ने डर र मानसिकता बोकेका उनी प्रहरीको व्यवहार देखेपछि तीनछक्क नै परे । उनी भन्छन्,‘अपराधी नै हो भने पनि प्रहरीलाई भेटेपछि उनीहरुको व्यवहारले अपराधी पनि सुध्रिन्छ ।’  

नेपाल सरकारले केही महिना पहिले काठमाडौं उपत्यकालाई ‘नो हर्न’ क्षेत्र घोषणा गर्‍यो । ‘गाडीले हर्न बजाउन नपाइने ?’ भन्दै आलोचना गरियो । तथापि यो कार्य सफलतापूर्वक लागू भएको छ । केही समय पहिले बाटो काट्ने पैदाल यात्रुलाई जेब्राक्रसिङबाट अनिवार्य बाटो काट्नु पर्ने नत्र २०० रुपैयाँ जरिवाना गर्ने नियम बनाइयो । यसको पनि सर्वत्र विरोध गरियो । विरोध हुनुका कारणहरु थिए, अव्यवस्थित साँघुरा बाटा, सवारी साधनको भीड, ठाउँ ठाउँमा जेब्राक्रसिङको अभाव आदि । ती कारणहरु भन्दा पनि अझै ठुलो कारणचाँहि के हो भने सर्वसाधरणलाई नियमको परिधीभित्र बाँधिन गार्‍हो हुनु हो । त्यसो त, केही वर्ष अगाडि एमाले नेता वामदेव गौतमले पनि डोरी नाघ्दै बाटो काटेको देखिएकै हो ।
 
हिजोसम्म जहाँ पायो त्यहीबाट उफ्रँदै बाटो काट्न पाइने ठाउँमा आजदेखि अलिक पर गएर जेब्राक्रसिङबाट बाटो काट्नु निकै असजिलो भयो । नेतादेखि जनतासम्म जनचेतनाको अभाव अझै व्याप्त देखियो । त्यसमाथि २०० रुपैयाँ जरिवाना ठोक्नु त सर्वसाधारणको लागि कम आक्रोशपूर्ण थिएन । सरकार आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य भयो । 

ट्राफिक प्रहरीले यो नियम लागू गर्नुपूर्व जनचेतनाका विभिन्न अभियान चलाउनु आवश्यक थियो । ठाउँ ठाउँमा जेब्राक्रसिङ र ट्राफिक सिग्नल बनाउन जरुरी थियो । झ्याप्प समातेर २०० रुपैयाँ जरिवाना तिराउनुअघि उनीहरुलाई अभ्यस्त बनाउन जरुरी थियो । यसको लागि विभिन्न अनलाइन र सामाजिक सञ्जालमा तीव्र प्रचारप्रसार गर्न जरुरी थियो । यहाँ त के देखियो भने सर्वसाधारणले कतिखेर बाटो काट्छन् झ्याप्प २०० रुपैयाँको रसिद काटौंला भनेर गौंडा ढुक्ने काम भयो । जनतालाई राज गर्ने मानसिकतायुक्त शासकको व्यवहार प्रहरीले देखाए । जसको कारण ट्राफिक प्रहरी असफल भएको छ ।
 
तिनै देशका युवा युवतीले यूएईमा जेब्राक्रसिङ नभएको गलत स्थानबाट बाटो काट्दा २०० दिर्हाम्स (झण्डै ६ हजार रुपैयाँ) जरिवाना भने चुपचाप तिर्छन् । एक जना नेपालीले त प्रहरीलाई मलाई यो नियम थाहा थिएन भनेर भनेछन् । प्रहरीले पनि नम्र भएर जवाफ फर्काएछन्, ‘कानुन, मौजुद कानुन ।’ अर्थात् कानुन कानुन हो ।  मलाई यो नियम थाहा थिएन भनेर यूएईमा धरै हुन्न । कानुनले कसलाई नियम थाहा छ कसलाई थाहा छैन भन्दैन । बरु यो देशमा आउनुअघि यस्ता नियम थाहा हुनु पर्छ भन्छ ।

हामीले यहाँ भोग्ने गरेका यस्ता सुखद् अनुभूतीहरु नेपालमा बिरलै भोग्न पाइन्छ । यसको कारण नेपालका प्रहरी सेवामा मात्रै हैन कि निजामती सेवाका समग्र सरकारी कर्मचारीहरुलाई पनि हामी जनताको सेवक हौं भन्ने भावना पलाउन नसक्नु । जनताको सेवा गर्न बिरलैले पाउने मौका मैले पाएको छु र भाग्यमानी भएको छु भन्ने भावना उनीहरुमा देखिन्न । सरकारी कर्मचारी भएपछि अब हामी जनताको नोकर भयौं, जनताले तिरेको करले पेट पाल्छौं, छोराछोरी पढाउनेदेखि घरखर्च चलाउनेसम्म गरिब जनताकै पैसा हुन् । यिनीहरुलाई सम्मान गर्नु पर्छ भन्ने भावना न हिजो थियो न आज नै देखिन्छ । किनकि नेपाल सरकारका ती सेवकहरुलाई राज गर्न सिकाइन्छ न कि जनताको सेवा । 

मैले यूएईमा गाडी चलाएको ८ वर्ष भएछ । यो ८ वर्षमा दुईपटक जरिवाना तिरेको छु । ती जरिवानाहरु मैले तिर्नै पर्ने थिए । एउटा ओभर स्पीड थियो भने एउटा सामान्य दुर्घटना अर्थात् गाडी कतै पर्खालमा ठोक्किएर कुच्चिएको थियो । मैले त्यो जरिवाना तिर्न कहिल्यै बाग्रेनिङ गरिनँ । न त प्रहरीले जरिवाना बढाएर मलाई अन्याय नै गर्‍यो । ट्राफिक प्रहरीले लागू गरेको नियमलाई पालना गरेको छु । म जस्ता प्रायले पालना गरेका छन् । अर्थात् देश सिस्टममा चलेको छ ।

बेला बेला सोच्ने गर्दछु, यूएई प्रहरीका ती हाकिमलाई मेरो गाडी रोकेर मलाई बचाउन के आवश्यकता थियो होला र ? मुस्कानसहितको सेवा दिन के आवश्यक थियो होला र ? बैंकबाट लिएको ऋण नतिर्नेलाई राम्रो व्यवहार गर्न किन परेको थियो ? उत्तर सजिलो छ, ‘किनकि उनीहरु त आमजनताको सेवक हुन् ।’गलत गर्नेलाई सजाय दिने त कानुन छँदैछ नि ! ‘कानुन, मौजुद कानुन ।’नेपालमा पनि यूएईमा जस्तै कानुन बोल्ने दिन कहिलेदेखि आउला र ? खै !

प्रकाशित : भाद्र २२, २०७४ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्