सेतो दाग

अतुल मिश्र

उनी दिनहुँ गाजल लगाउँछिन् । कतिसम्म भने, झन्डैझन्डै कञ्चटसम्मै तान्ने गर्छिन्, गाजलको धर्को । उनले यसो गर्नुको विशेष कारण छ । अनुहारको त्यो भागमा उनको छाला सेतो छ र उनी त्यही ‘स्पट’ लाई लुकाउन खोज्छिन् सधैँ ।

बोलचालको भाषामा दुबी/चरकसमेत भनिने ल्युकोडर्मा, भिटिलिगोबाट पीडित भएका कारण उनी गाजल लगाउँदै सधैँ बढी नै सचेत हुने गर्छिन् । 

एक समय यस्तै थियो, दुबीको उपचार थिएन । भए पनि हाम्रो मुलुकमा सुलभ थिएन । समय अहिले त्यस्तै छैन र गाजलको भर परिरहनुपर्दैन । दुबीलाई अब सामान्य उपचारबाटै निको पार्न सकिने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् ।

‘यो छालासम्बन्धी सामान्य समस्या हो,’ उनी भन्छन्, ‘जोसुकैलाई हुन सक्छ अनि सरल र सहज उपचार पनि सम्भव छ ।’

हाम्रो मुलुकमा सेतो दागको समस्याबारे बृहत् अध्ययन भएको त छैन, तर २ देखि १० प्रतिशतसम्म जनसंख्यामा यो समस्या रहेको अनुमान छ । 

अमेरिकन एकेडेमी अफ डर्माटोलजी (एएडी) का अनुसार विश्वभरिमा लाखौं व्यक्तिलाई सेतो दागको समस्या छ । तीमध्ये आधाजति २१ वर्ष पुग्नुअघि नै यो समस्याले ग्रस्त हुन्छन् । 
उपचार नगरे दुबी जीवनभर रहिरहन्छ । यस्तो दाग आफैं हराउँदैन । दुबी आफैँ हराउने घटना दुर्लभै छ । यो समस्या सबै प्रकारको छालाको रङ भएका, सबै जातिका व्यक्तिमा उत्तिकै मात्रामा हुन्छ । सेतो दाग हुने महिला र पुरुषको संख्या लगभग उस्तै हुन्छ ।

तपाईंका कुनै परिवार सदस्य, आफन्त वा मित्रलाई दुबी छ भने, तपाईंलाई पनि सर्ने सम्भावना हुन्छ । यस्तै, अटोइम्युन रोग भएको, मुख्य रूपले ‘हासिमोटो डिजिज’ (एक प्रकारको थाइराइड रोग) वा एलोपेसिया एरिएटा (चिन्डोपना) भएका व्यक्तिलाई दुबीले दु:ख दिने सम्भावना बढी हुन्छ । 

दुबी किन हुन्छ भनेर हालसम्म स्पष्ट हुन सकेको छैन । अनुमान के भने शरीरको रोग प्रतिरोधक क्षमताले आवश्यकताभन्दा बढी काम गर्न थाल्यो भने यसले कीटाणुसँगै आफ्नै शरीरको कोषलाई समेत नष्ट गर्न थाल्छ । अनि दुबी हुन्छ ।

‘रोगप्रतिरोधी क्षमताले अति सक्रिय भएर हाम्रो छालालाई रङ प्रदान गर्ने मेलोनोसाइट कोष नष्ट गर्दा अर्थात् त्यो कोष मरेपछि छालामा सेतो दाग विकसित हुन थाल्छ’, डा. कर्ण भन्छन् । 
सेतो दागले कुनै खास शारीरिक समस्या उत्पन्न नगरे पनि यसबाट प्रभावित भएकाहरू डिप्रेसनको सिकार हुने गरेको डा. कर्ण औंल्याउँछन् । यस्तै, समाजमा यसलाई कुष्ठजस्तै देख्ने अवैज्ञानिक सोचले समेत प्रभावितलाई थप मर्का पर्ने गरेको छ । 

‘यो तपाईंको छालामुनि भएको रङ बनाउने कोषले काम गर्न नसकेर भएको समस्या हो’, डा. कर्ण भन्छन्, ‘चिन्ता नलिई यसलाई सामान्य शारीरिक प्रक्रिया ठान्नुस् । यो सौन्दर्यसम्बन्धी समस्या मात्र हो ।’ 

लक्षण
तपाईंको छालाको रङ हल्का हुन थाल्छ, त्यस ठाउँका रौंसमेत सेता हुन थाल्छन् भने यो दुबीको समस्या हुन सक्छ । दुबी चिलाउने वा दुख्ने गर्दैन । त्यस्तो ठाउँमा संवेदनशीलता पनि अन्यत्रको छालामा जस्तै हुन्छ । 

उपचार 
अचेल दुबीको उपचार जताततै हुने गर्छ । सामान्यतया यसको उपचारका निकै विधि पनि छन् । यस्तो समस्या भए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । 

तथापि दुई प्रकारका उपचार बढी प्रचलित छन्– फोटोथेरापी र मेलानोसाइट प्रत्यारोपण । फोटोथेरापीअन्तर्गत बिरामीले औषधि सेवन गरेर घाममा बस्नुपर्छ । यसकै अर्को प्रक्रियाअन्तर्गत बिरामीले औषधि सेवन गरे पनि नगरे पनि एउटा मेसिनभित्र दिइने विशेष प्रकारको प्रकाशभित्र समेत बस्नुपर्ने हुन सक्छ । 

अचेल मेलानोसाइट प्रत्यारोपणसमेत हुन थालेको छ । यो अति सामान्य प्रत्यारोपण हो । छालालाई लठ्याएर बिरामी होसमा रहँदै यो प्रत्यारोपण गरिन्छ ।

यसअन्तर्गत बिरामीको शरीरमा रहेको सामान्य छालाबाट मेलानोसाइट निकालेर यसको विशेष प्रकारको झोल तयार गरिन्छ र सेतो दाग भएको भागमा लगाइन्छ । तर यसो गर्नुअघि दुबी भएको ठाउँको छालाको माथिल्लो तह लेजर प्रविधिबाट हटाइन्छ ।

यस्तै, उपचारमा विभिन्न प्रकारका औषधिको सेवन र छाला प्रत्यारोपणसमेत प्रचलनमा छ । यसअन्तर्गत सक्सन ब्लिस्टर एपिडर्मल ग्राफ्टिङ, मेलानोसाइट इपिडर्मल सेल सस्पेन्सनलगायत प्रक्रिया उपयोग गरिन्छन् ।

दुबी सर्दैन 
दुबी सरुवा रोग नभएकाले डराउनु पर्दैन । यो एक व्यक्तिबाट अर्कामा सर्दैन । यो छुँदा, सम्पर्कमा रहँदा, चुम्बन लिँदा, शारीरिक सम्पर्क गर्दा सर्दैन । यौन अंगमा सेता दाग भए पनि अन्य स्वस्थ व्यक्तिको जस्तै शारीरिक सन्तुष्टि आदिमा कुनै अन्तर आउँदैन । यो दाग हुनुमा खाद्यपदार्थको कुनै दोष हुन्न । आफूलाई रुच्ने जे खाँदा पनि हुन्छ ।

सेतो दाग/दुबी र कुष्ठमा फरक 
-दुबी भएको छालामा संवेदना हुन्छ, तर कुष्ठ भएको छालामा संवेदना हुँदैन वा निकै कम हुन्छ । 

-दुबी चिलाउन सक्छ, तर कुष्ठ चिलाउँदैन ।

-दुबी भएको छालामा रौं हुन्छ, तर यसले समेत आफ्नो कालो रङ गुमाएर सेतो भएको हुन्छ । कुष्ठ भएको छालामा रौं पनि नष्ट भएको हुन्छ ।
atulmishra7@gmail.com

प्रकाशित : भाद्र २४, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

‘होइन भने पोलिदेऊ’

सजना बराल

काठमाडौं — उनी वृद्ध भइसके । बच्चाबच्चीबारे गफ गर्दा भावुक हुन्छन् । थप कुरा कोट्यायो भने हवाँहवाँ रोइदिन्छन् पनि । १४ महिनाको नातिको त प्रसंगै निकाल्नु हुँदैन, उनी आफूलाई थाम्न सक्दैनन् ।

आँखाबाट बरर आँसु खस्छ । दुई हातले आँखा मिच्दै सम्हालिन खोज्छन् । अनि केहीबेरमा फेरि उनका आँखा रसाइदिन्छन् । उनी उसैगरी आफूलाई रोक्ने यत्न गर्छन् । 

वासुदेव मुनाललाई बच्चाबच्चीसँग गहिरो लगाव छ । यस्तो हुनु स्वाभाविक हो । उनले जीवनका ३४ वर्ष केटाकेटीलाई नै समर्पण गरे । तिनकै सेरोफेरोमा रहे । उनीहरूसँग हाँसे, खेले, रमाए । रेडियो नेपालको ३१ वर्षे जागिरे जीवनभर वासुदेव मुनालले बाल कार्यक्रम मात्र सञ्चालन गरे । ‘आओ, मेरा प्याराप्यारा भाइबहिनीहरू हो, रेडियो नजिक आओ...’ भन्दै केटाकेटीलाई आफ्नो समीपमा ल्याए । उनी आफ्नो क्षेत्रका लिजेन्ड हुन् । 

वासुदेवको कार्यक्रम सुन्न बच्चाबच्ची झुम्मिन्थे । रेडियो नेपालबाहिर भुराभुरीको भीड लाग्थ्यो । स्टुडियोमा चित्र, निबन्ध, कविता, कार्टुन आदि समेटिएका पत्रहरूको चाङ थुप्रिन्थ्यो । ‘म सबै जम्मा पारेर पढ्थेँ,’ अस्पष्ट बोलीमा उनले कुरा सुरु गरे, ‘घर पनि ल्याउँथेँ । श्रीमती र छोराछोरीलाई पढ्न दिन्थेँ । रमाइलो हुन्थ्यो ।’

वासुदेवले बालगीत, नाटक, कथा, कविता थुप्रै लेखे । उनका नाटक अझै पनि रेडियो नेपालमा प्रसारण हुन्छन् । उनी चर्चित गायकसमेत हुन् । वि.सं. २०३० को देशव्यापी लोकगीत प्रतियोगितामा उनी पहिलो भएका थिए । ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला...’, ‘तिम्रो घर चाँचरी...’, ‘भए पनि ठीकै नभए पनि ठीकै...’, ‘हाय मेरी मलमल जुनकीरी...’ लगायत थुप्रै गीतमा वासुदेवको शब्द, संगीत र आवाज सुन्न पाइन्छ ।

‘म उहाँलाई नै सुनेर हुर्किएको हुँ,’ वासुदेवका छोरा मोहित मुनालले भने, ‘बुबाका चेलाचेली थुप्रै छन् ।’

वासुदेव मुनालका लोकप्रिय केही गीत :
-पानी खाने निहुँले तिम्रो घरमा आउँला...
-तिम्रो घर चाँचरी त्यैँ तल हैन र...
-भए पनि ठीकै नभए पनि ठीकै...
-हाय मेरी मलमल जुनकीरी...
-सक्यौ नानी सक्यौ नानी..

यी वरिष्ठ व्यक्ति अहिले रोगले थला परेका छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । केमोथेरापी गर्न सक्ने अवस्थामा छैनन् । ज्यान औधी कमजोर भएकाले केमोको सट्टा रेडिएसन दिएर जोगाइएको छ । कुनै बेला आवाजले नै सबैको मन जितेका मुनाल अहिले प्रस्ट बोल्न सक्दैनन् । गायक एवं कार्यक्रम प्रस्तोताका लागि योभन्दा ठूलो व्यथा के होला ? उनले यो दिनको कल्पना गरेका थिएनन् । तर, सत्य यही हो । त्यसैले दह्रो मुटु बनाएर भिड्दै छन् परिस्थितिसँग । 

कार्यक्रमको सिलसिलामा देशविदेश डुलेका वासुदेव अहिले गतिलोसँग हिँड्न सक्दैनन् । जे खाए पनि सर्किन्छ । ‘पहिले ब्रेन हयामरेज भएको थियो,’ ससुराको रेखदेखमा खटिएका उनका ज्वाइँले भने, ‘त्यसले गर्दा राम्ररी हिँड्न सक्नुहुन्न ।’ मस्तिष्क पक्षाघात हुनु उनका लागि कतिसम्म दिक्कलाग्दो भइदियो भने उनले जागिरबाट पेन्सनसमेत थाप्न पाएनन् । ‘अहिले पेन्सन आइदिने भए उपचारमा राहत हुने थियो,’ ६८ वर्षे वासुदेवले भने, ‘तर, ब्रेन हयामरेज भएपछि मैले त्यो बेला नै उपदान लिनुपर्‍यो । बाँच्नका लागि उपदान लिएपछि पेन्सन पाइनँ ।’

भक्तपुर अस्पताल धाइरहेका उनी क्यान्सरको चौथो स्टेजमा रहेको मोहितले बताए । यो थाहा पाएयता वासुदेव पिरोलिएका छन् । उनलाई लाग्छ, आफूले गर्न बाँकी काम धेरै छन् । लेख्न बाँकी विषय मनग्गे छन् । गाउन बाँकी गीत प्रशस्त छन् डायरीभरि । मुख्य कुरा त उनी बालबालिकाका लागि अझै केही गर्न चाहन्छन् । कमसेकम बालबगैंचा बनाउन पाए राम्रो हुन्थ्यो भन्ने लागेको रहेछ । ‘केटाकेटीहरू भगवान् हुन्,’ उनले भने, ‘तिनीहरूसँग माया बसेको छ । नसा(नसामा तिनकै माया छ । केही गर्न चाहन्छु ।’

आफूले बाल कार्यक्रम चलाउँदा नेपालमा जम्मा सातवटा बालगीत भएको उनले बताए । पछि बाल कार्यक्रम र बालगीतको संख्या बढ्दै जाँदा वासुदेव नरमाउने कुरै भएन । अहिले चाहिँ विकल्प धेरै भएकाले नेपाली बाल कार्यक्रमको आकर्षण घटेको उनको मूल्यांकन छ ।

‘म विराटनगरबाट काठमाडौं आएर सिधै रेडियो नेपाल गएँ,’ लिटोजस्तो खानेकुरा खाँदै उनले भने, ‘त्यो बेला रामराजा पौडेल निर्देशक हुनुहुन्थ्यो । उहाँले मलाई कार्यक्रम चलाउन दिनुभयो ।’
घरमा मनग्गे भाइबहिनी भएकाले उनले रेडियोमा बाल कार्यक्रम रोजेका थिए । तिनीहरूले रमाइलो गरून्, केही सिकून् भनेर अन्य कार्यक्रमको सट्टा बालबालिका लक्षित कार्यक्रम गरेको उनले बताए । ‘मलाई अनाउन्स गर्न चाहिँ पाण्डव सुनुवारले सिकाएको हो,’ उनी सम्झिन्छन्, ‘ऊ मेरो बेस्ट फ्रेन्ड थियो । हामीले सँगै गीत पनि गायौं ।’ पाण्डवले आफूलाई ‘के बाल कार्यक्रम चलाइरहेको ?’ भनेर गिज्याउने गरेको वासुदेवलाई हिजो झैं लाग्छ । ‘केटाकेटीको माया पाएको छस् गोरे ?’ भन्दै वासुदेव पाण्डवलाई थर्काउँथे रे ।

आफू अप्ठ्यारामा पर्दा सरकारले पटक्कै वास्ता नगरेको ठानेर वासुदेव रिसाएका छन् । त्यत्तिका वर्ष सरकारी सेवा गरेको, संगीतकर्मीका रूपमा पनि सकेजति योगदान गरेको उनी बताउँछन् । तर, आर्थिक, मानसिक र शारीरिक समस्या आइलागेको यो बेला सरकारी तवरबाट कुनै आश्वासनसमेत नपाएको भन्दै उनी केहीबेर पिलपिलाए । ‘मलाई भाँचिदेऊ, मलाई बोली देऊ, होइन भने पोलिदेऊ,’ उनले लयात्मक शैलीमा भने, ‘मलाई बाँच्न जोस दिने त नाति मात्रै छ ।’ 

मुनाललाई सहयोग
गायक वासुदेव मुनालको उपचारार्थ संगीतकर्मी तथा विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्न थालेका छन् । पत्रकार विजयकुमार पाण्डेले ‘गुरुको स्वास्थ्य सप्रियोस्’ भन्दै आफूलाई २५ हजार रुपैयाँ दिएको मुनालले बताए । अधिवक्ता परशुराम कोइरालाले २१ हजार दिएका छन् भने कलाकार एवं फिल्म निर्देशक दीपाश्री निरौलाले १० हजार रुपैयाँ प्रदान गरेकी छन् । प्रस्तोता समाज नेपालले १० हजार पाँच रुपैयाँ, गायिका अञ्जु पन्त र मञ्जु पौडेलले जनही १० हजार रुपैयाँ, १९७४ एडी ब्यान्डले ५ हजार ७ सय ८५ रुपैयाँ सहयोग गरेका थिए । गायिका आस्था राउतलगायतले पनि सहयोगको वचन दिएको मुनालले बताए ।

‘आस्थाहरू मेरो कार्यक्रममा आउँथे,’ उनले भने, ‘उनीहरूले राम्रो गरेको देख्दा खुसी लाग्छ ।’ उनको योगदानको कदर गर्दै भक्तपुर क्यान्सर अस्पतालले पनि नि:शुल्क उपचार गराइदिने बताएको छ ।

प्रकाशित : भाद्र २४, २०७४ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्