१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

यसरी जोगाऔं मृगौला

मानव शरीरको कम्मरको दुवैतिर सिमी आकारका मृगौलाहरू हुन्छन् । वयस्कमा कम्प्युटरको माउस साइजको हुने मृगौलाको तौल १ सय ५० ग्राम जति हुन्छ ।

यसरी जोगाऔं मृगौला

दायाँतर्फको मृगौला थोरै तलतिर हुन्छ । २४ घण्टामा मृगौलाले करिब १ सय ८० लिटर रगत (तरल पदार्थ) फिल्टर गर्छ । त्यसमध्ये रगतमा रहेको विकार वस्तु (हानिकारक र रासायनिक पदार्थ) फिल्टर गरेर १७८.५ लिटर तरल फेरि शरीरमा फर्काउँछ । यस प्रक्रियामा स्वस्थ मानिसको शरीरमा दैनिक करिब डेढ लिटर पिसाब निर्माण हुन्छ । पिसाब थैलीले टयांकीको रूपमा शरीरबाट बाहिर फयाँक्नुअघि भण्डारणको रूपमा पिसाब थैलीमा दुई कप बराबर पिसाब २ देखि ५ घण्टासम्म थेग्न सक्छ ।

मृगौला कसरी बिग्रन्छ ? 
मृगौला तथा पिसाब नलीमा हुने संक्रमण, मृगौलाकै सुजन (नेफ्राइटिस), मृगौलामा पत्थरी, मृगौलामा पानीको फोका (सिस्ट) बन्ने समस्याका कारण मृगौलामा खराबी हुन सक्छ । मृगौलाकै वंशानुगत समस्या तथा टयुमरले पनि खराबी हुन्छ । मृगौलाभित्रको नेफ्रोनको सुजन, लामो समयसम्मको मधुमेह, उच्च रक्तचाप तथा वंशाणुगत कारणले सधंैका लागि मृगौला बिग्रन सक्छ । 


डायलाइसिस के हो ?
मृगौलाले ८५ देखि ९० प्रतिशतसम्म काम गर्न छोडेपछि शरीरमा विकारयुक्त रासायनिक वस्तुहरू थुप्रिन्छन् । यस्तो प्रतिकूल अवस्थामा मेसिनको सहायताले विकारसँगै अनावश्यक लवण र अतिरिक्त पानी शरीरबाट बाहिर फ्याँक्ने प्रक्रियालाई डायलाइसिस भनिन्छ ।


पत्थरी कसरी हुन्छ ?
मृगौलामा पत्थरी हुनुमा विभिन्न कारण हुन सक्छन् । तुलनात्मक रूपमा यसबाट प्रभावित बिरामीका लागि गर्मीको समय अझै बढी घातक हुन्छ । धेरै गर्मीका बेला शरीरबाट पसिनाको रूपमा पानी बाहिर जान्छ । सोही अनुपातमा पानी नपिउनाले शरीरमा पानीको मात्रा कम हुन्छ । जीउ सुक्खा हुन जान्छ । यसले गर्दा पिसाबमा भएका विभिन्न तत्त्वहरूको घनत्व (कन्सेन्ट्रेसन) पनि बढ्छ । त्यसपछि ती तत्त्वहरू एक आपसमा मिलेर ढिक्का बनी पत्थरीको रूप लिन्छ । घरबाहिर चर्को घाममा काम गर्ने र पानीको साथै अन्य तरल पदार्थ नपिउने व्यक्तिहरूलाई यो समस्या लाग्ने बढी सम्भावना हुन्छ ।

पर्याप्त पानी पिऔं

शरीरमा पानीको मात्रा कम हुनु मात्रै मृगौलाको पत्थरीको कारणचाहिँ होइन । यसबाहेक पिसाब नली थुनिनु वा अन्य केही संक्रमण हुनु, हप्तौंसम्म पनि एकै ठाउँमा बसिरहनु, खानामा क्याल्सियम, अक्जालेट, युरिक एसिड, भिटामिन ‘डी’ को मात्रामा बढी हुनु, केही औषधिको गलत प्रयोग र अन्य विभिन्न रोगका कारणले पनि पत्थरीको समस्या हुन सक्छ । अमिलो रसयुक्त फल वा पेयले पत्थरीको समस्या घटाए पनि भिटामिन सी चक्कीको रूपमा बढी लिँदा पत्थरी हुन सक्छ । यी विभिन्न कारण भए पनि पर्याप्त पानी पिउने र स्वस्थ्य जीवन शैली अपनाउने गर्नाले मृगौलाको रोग लाग्ने जोखिम कम हुन्छ ।

 

प्रकाशित : भाद्र २५, २०७४ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?