के हाे मधुमेह ? रोकथाम कसरी गर्ने ?

डा. आनन्द जीसी

काठमाडौं — अमेरिकन डाईबेटिज एसोसियसन (एडीए) र विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) का अनुसार मधुमेह रोग पछिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । सन् १८९५ मा मधुमेह रोगीको सङ्ख्या विश्वमा ३ करोड जति थियो भने त्यो सङ्ख्या बढेर सन् २०१३ सम्म आईपुग्दा ३८ करोड भन्दामाथि आइपुगेको छ । यो सङ्ख्या सन् २०३५ मा बढेर लगभग ६० करोड पुग्ने अनुमान गरिएको छ ।

 
मधुमेह रोगी सबैभन्दा बढी भएको पहिलो देश हाम्रो छिमेकी राष्ट्र चीन हो जहाँ लगभग १० करोड जनसङ्ख्या मधुमेह रोगी छन् भने दोस्रो देश पनि हाम्रो छिमेकी राष्ट्र भारत हो जहाँ करिब ७ करोड मधुमेह रोगी छन् । नेपालमा पनि मधुमेह रोगीको सङ्ख्या दिनानुदिन बढ्ने क्रममा छ । यकिन तथ्याङ्क नभएतापनि नेपालमा लगभग १ लाख जति जनसङ्ख्या मधुमेहका रोगी रहेको अनुमान छ । यसको मुख्य कारण अस्वस्थ्य र अव्यवस्थित जीवनशैली पनि हो ।
 
के हो मधूमेह ?
हाम्रो शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई भधुमेह अथवा डाईबेटिज भनिन्छ ।
 
मधुमेह टाईप वान्, टाईप टु, गर्भाअवस्थामा हुने गेस्टेस्नल डाईबेटिज र मच्युरिटि अन्सेट अफ् डाईबेटिज इन योङ्ग गरी ४ प्रकारको हुन्छ तर प्राय टाईप वान र टाईप टु डाईबेटिज नै धैरै हून्छ । 
 
टाईप वान् डाईबेटिज
बिरामी दूब्ला पातला हून्छन् ।
४० वर्ष भन्दा कम उमेरमा बढी हून्छ ।
यो प्रकारको मधूमेह इन्सूलिनको अभावका कारण हूने हुँदा उपचारका लागि इन्सुलिन नै चाहिन्छ ।
बिरामीमा तुरुन्त लक्षणहरु देखिन्छ ।
यो बशांणुगत हूँदैन ।
 
टाईप टु डाईबेटिज 
बिरामी प्राय मोटा हून्छन् ।
४० वर्षभन्दा बढी उमेरका लागि बढी हून्छ ।
यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिष्टेन्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन नि आवश्यकता पर्न सक्छ ।
बिरामीमा लक्षणहरु ढिलो देखिन्छ ।
यो बशांणुगत हुन्छ ।
 
कारणहरु :
टाईप वान डाईबेटिज साधारणतया अटो इम्युनिटि, प्यानक्रियाजका रोगहरु र कहिलेकाही भाइरसको सङ्क्रमणबाट पनि हुन्छ ।
टाईप टु डाईबेटिज प्राय वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ ।
 
लक्षण तथा चिन्हहरु :
  • पिसाब बढी लाग्ने (एक रातमा तीन वा सोभन्दा बढी पटक) ।
  • तिर्खा बढी लाग्ने ।
  • भोक धेरै लाग्ने ।
  • तौल घट्ने (टाईप वान डाईबेटिज)
  • गुप्ताङ्ग चिलाउने ।
  • केटाकेटीमा रातमा बिस्तारामा बढी पिसाब गर्ने ।
  • थकाई धेरै लाग्ने ।
  • घाउ ढिलो निको हुने ।
  • आाखा धमिलो देख्ने ।
  • हातखुट्टा झम्झमाउने ।
  • रगतमा केटोन बडीज अत्याधिक बढेर रोगी बेहोस हुने र समयमा उपचार नभए रोगीको ज्यान समेत जान सक्छ । (टाईप वान डाईबेटिज)
जाँचहरु :
  •  रगत जाँच :
सामान्यतया रगतमा ग्लुकोजको मात्रा खानाअघि  ७० देखि १०० र खाना पछि ८० देखि १४० र एचबीएवानसी ५.७ भन्दा तल हुन्छ । तर मधुमेहका बिरामीमा ग्लुकोजको मात्रा खाना अघि १२६ वा त्योभन्दा माथि र खानापछि २०० वा त्योभन्दा माथि र एचबीएवानसी ६ दशमलब ५ वा त्योभन्दा माथि हुन्छ ।
  • एचबीएवानसी लामो समयसम्म ग्लुकोजको मात्रा नियन्त्रण छ कि छैन भनेर नाप्ने एक जााच हो । यो हरेक तीन महिनामा गरिन्छ ।
  • पिसाबमा चिनीको जाँच (केटोन बडीज)
  • इसीजी, बोसो र मृगौलाको जाँच
  • आँखाको जाँच
उपचार तथा रोकथाम :
  • खानपान : मधुमेहका रोगीले चिकित्सकको सल्लाहअनुसार दिनमा ६ पटक (३ चोटी खाना र ३ चोटी स्न्याक्स) लिनुपर्छ । यसरी खाँदा हरेकचोटि मात्रा मिलाएर खानुपर्छ ।
  • व्यायाम :  मधुमेहका रोगीले हरेक बिहान कम्तीमा ३० मिनेट ब्यायाम वा मर्निङ्गग वाक गर्नुपर्छ ।
  • चिकित्सकको सल्लाहअनुसार औषधी चक्की वा इन्सुलिन लिनुपर्छ ।
  • बशांणुगत मधुमेह छ भने सन्तानहरुलाई हुने सम्भावना बढी हुने हुादा जीवनशैलीमा विशेष ध्यान दिनुका साथै प्रत्येक वर्ष ग्लूकोजको जााच गर्नुपर्छ ।
  • मधुमेहका रोगीले चोटपटक र घाउबाट बच्नुपर्छ किनभने यी रोगीहरुमा घाउ ढिलो निको हुन्छ ।
  • खोप: इनफ्लूएन्जा भ्याकसिन, न्युमोकोकल र हेपाटाईटिस भ्याकसिनसबै मधुमेहका बिरामीहरुमा दिनुपर्छ ।
  • मदिरा, सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।
  • मानसिक रुपमा स्वस्थ रहनुपर्छ जसको लागि ध्यान गर्न सकिन्छ ।
लेखक वरिष्ठ फिजिसियन हुन् ।

प्रकाशित : आश्विन ११, २०७४ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्ज महानगरमा फोरमका विजय सरावगी विजयी

भूषण यादव

पर्सा — वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी फराकिलो मतान्तरले विजयी भएका छन् ।

गत असोज दुई गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सरावगीले १९ हजार तीन सय ९३ मत हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका अजेय द्धिवेदीले १७ हजार एक सय ९७ मत प्राप्त गरेका छन् । दुई हजार एक सय ९६ मतले द्धिवेदीलाई हराउँदै सरावगी प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिकाको मेयरमा मंगलबार निर्वाचित भएका हुन् । उपमेयरमा कांग्रेसकी शान्ति कार्की बिजयी भइन् । उनले फोरमकी पिन्की यादवलाई एक हजार ७७ मतले पराजित गरिन् । कार्कीले १९ हजार ६ सय ७ मत प्राप्त गरिन् । यादवले १८ हजार पाँच सय तीस मत हासिल गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नवनिर्वाचित मेयर सरावगीले अगामि सत्रदेखि नगरका सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममै अध्यापन गराउने पहिलो निर्णय गर्ने जनाए । उनले महानगरको कामकाजको भाषा भोजपुरी हुने बताए । सञ्चारकर्मीलाई सम्बोधन गर्दै सरावगीले भने, ‘गरिब विद्यार्थी शिक्षामा पछाडि नपरुन भन्ने उद्देश्यले सरकारी स्कुलमा पनि अंग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाउँछु, नगरको सरकारी विद्यालयमा पनि बोर्डिङझै सुविधा उपलब्ध हुनेछन् ।’ उनले तीन महिनामा सहरवासीको आधारभूत आवश्यकता पुरा गर्ने वाचा गरे । महानगरपालिकाबाट आफूले कुनै सुविधा नलिने दाबी पनि सरावगीले गरे । उनले भने, ‘महानगरको तलब भत्ता मलाई चाहिदैन्, त्यो पैसा एकल महिलाको सन्तानको शिक्षामा खर्च गर्छु ।’ आफूसँग नीजि सवारी भएकाले उनले महानगरको गाडी सुविधा पनि लिने घोषणा गरे । वीरगन्ज महानगरपालिकाको प्रत्येक वडामा दुई जना योग प्रशिक्षक राखी निशुल्क योगा सेन्टर सञ्चालन गरिने उनले बताए । 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी गत चैतमा मात्र संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । ट्रेडिङ व्यापार र वित्तीय संस्थाका सञ्चालक रहेका सरावगी मधेसको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताउँछन् । ‘वीरगन्जले जुन विकास ५० वर्षमा पाएन त्यो विकास म ५ वर्षमा गरेर देखाउँछु,’ उनले भने, ‘देशको उत्कृष्ट महानगर बनाउँछु । वीरगन्जलाई गन्तव्यको सहर बनाउने लक्ष्य राखेको छु । व्यवस्थित र समृद्ध वीरगन्ज बनाउँछु ।’ खानेपानी, ढल निकास, सरसफाई लगायतका आधारभूत आवश्यकता तीन महिनामा पुरा गर्ने दाबी गरे । महानगरमा एउटा विश्वविद्यालय निर्माणका लागि पहल गर्ने, नारायणी उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गर्ने लक्ष्यमा आफ्नो राखेको उनले बताए । मुलुकको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र वीरगन्जमा कूल एक लाख आठ हजार पाँच सय एक मतदाता छन् जसमध्ये ८४ हजार एक सय ६४ ले असोज दुईमा मत खसालेका थिए ।

मत खसालेको आठौँ दिनमा मुलुकको कान्छो महानगरले आफ्नो प्रमुख पाएको हो । दशैँको संघारमा सहरवासीले मेयर पाउँदा झनै हर्षित भएका छन् । ३२ वडा रहेको महनगरमा संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राष्ट्रिय जनता पार्टीले ३, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले एकरएक वडामा जीत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । दल र स्वतन्त्र गरी ३५ जनाको मेयरमा मनोनयन दर्ता भएपनि २२ जना मेयरका स्वतन्त्र उम्मेदवारले दोहोरो अंकमा मत प्राप्त गर्न सकेनन् । जसमध्ये ११ जनाले खाता समेत खोलेनन् । प्रमुख दलका उम्मेदवारले गाडी, पोलिङ र काउन्टीङ एजेन्टको सुविधाका लागि स्वतन्त्रका रुपमा डमी उम्मेदवारको मनोनयन दर्ता गराएको जानकार बताउँछन् । 

प्रकाशित : आश्विन ११, २०७४ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्