१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रोस्टेटसम्बन्धी समस्यामा उपचार

प्रा. अर्जुनदेव भट्ट

प्रोस्टेट ग्रन्थिका कोशिकाहरूको अति वृद्धि प्राय: ४० वर्षपछि हुने गर्छ । त्यसपछि मूत्रथैलीको मुख्य कार्य मूत्र सञ्चय र निष्कासन गर्नेमा व्यवधान उत्पन्न हुनसक्छ । एकथरीका पुरुषमा पिसाब फेरिसकेको केही समयपछि नै पिसाब फेर्ने मन लागेजस्तो हुने र बारबार पिसाब फेरिराख्नुपर्ने, राति पिसाब फेर्न उठिराख्नुपर्ने, पेटको तल्लो भागतिर सम्पूर्ण ध्यान केन्द्रित हुने र सूची नगरुन्जेल मन अशान्त भइरहने जस्ता लक्षण देखापर्न सक्छन् ।

प्रोस्टेटसम्बन्धी समस्यामा उपचार

पिसाब लागेपछि रोक्नै मुस्किल हुने र जाँदाजाँदै पिसाब चुहिने पनि हुनसक्छ । 

अर्काथरी पुरुषमा अवरोधको लक्षण जस्तै– पिसाब फेर्न गएपछि केही समय कुरेर कनेपछि मात्र पिसाब आउने गर्छ । एकै पल्टमा सरर सबै पिसाब नआएर रोकिइ–रोकिइ पिसाब आउने र पिसाब निखार्न लामो समय लाग्ने, पिसाबको धारा लुलो तथा मसिनो हुने, अन्त्यमा पिसाबको थोपा–थोपा खस्ने र पिसाब पूरा ननिख्रेको अनुभव हुने गर्छ । यी लक्षणहरू प्रोस्टेटका साथै उमेर सम्बद्ध मूत्रथैली मांसपेशी दुष्क्रियाले गर्दा बढी आक्रमणशील हुन्छन् । 

प्रोस्टेटको तौल र मूत्र लक्षण

पिसाब सम्बन्धी समस्या देखापरे चिकित्सकलाई देखाउनुपर्छ । प्राय: ४० वर्षपछि यी लक्षण प्रोस्टेट ग्रन्थि ‘हाइपरप्लेजिआ’ सम्बन्धित हुन्छन् । तर मूत्रथैलीको बाहिरिने बाटो जुनसुकै कारणबाट अवरोध भए पनि समस्या उत्पन्न हुनसक्छ । प्रोस्टेट ग्रन्थि सामान्य अवस्थामा १० देखि २० (२५) ग्रामको हुन्छ । यकिन भन्न नमिले पनि ग्रन्थि ३० देखि ४० ग्राम भएपछि समस्याका लक्षण देखिन्छ । तर त्यसो भन्दैमा ३० ग्रामभन्दा सानो प्रोस्टेट ग्रन्थिले कुनै लक्षण दिनै सक्दैन भन्ने होइन । ३० ग्रामभन्दा सानो वा सामान्य मापन (साइज) वा त्योभन्दा पनि सानो ग्रन्थि जसले आफ्नो लचकता गुमाएको छ, त्यसले प्रमुखत: (अधिकांश) मूत्रथैलीको बाहिरिने बाटो अवरोधका लक्षण देखाउँछ । पिसाब गर्न गएपछि केही बेर कुरेर कनेपछि मात्र पिसाब हुने, पिसाब एकैपल्ट सबै नआएर रोकिइ–रोकिइ आउने, पिसाबको धारा लुलो, कमजोर तथा मसिनो हुने आदि त्यसका लक्षण हुन् । 

रोग निदान

प्रोस्टेट ग्रन्थिको हाइपरप्लेजिआ हुनु आफैंमा चिकित्सकलाई देखाउनुपर्ने वा उपचार गर्नुपर्ने अवस्था होइन । मूत्र पद्धति तल्लो भाग संलक्षण तथा मूत्रथैली निर्गम (निस्कने) मार्ग अवरोधको लक्षणले गर्दा नै पुरुषले चिकित्सकको सल्लाह लिनुपर्ने र आवश्यक परे उपचार पद्धति अपनाउनुपर्ने हुन्छ । सामान्य कुराकानी, शारीरिक जाँच, रक्त तथा मूत्र परीक्षण, अल्ट्रासोनोग्राफी, युरोफ्लोमेट्री इत्यादि विभिन्न जाँचबाट रोगको निदान हुन्छ । प्रोस्टेट ग्रन्थिको साइज मापनसाथै ग्रन्थि थैलीभित्र कति घुसेको छ र त्यस्ले मूत्रथैलीमा पिसाब फेरिसकेपछि कति पिसाब निख्रन दिँदैन, विज्ञको निर्णयका लागि धेरै महत्त्वपूर्ण हुन्छ । प्रोस्टेट क्यान्सर छैन भन्ने निर्णयमा पुग्न प्रारम्भिक सोधपुछ तथा जाँच गर्नु । जस अन्तर्गत निम्न विधि अपनाउन सकिन्छ–

  • पुरुषको आनुवंशिक सोधपुछ । बाजे, बुबा, काका, दाजुभाइ तथा मामामध्ये कसैमा प्रोस्टेट क्यान्सर थियो कि ? जानकारी लिने । 
  • प्रोस्टेट ग्रन्थिलाई औंलाले जाँचेर त्यसको साह्रोपन तथा कडा गिर्खा भए त्यो पत्ता लगाउने ।
  • अल्ट्रासाउन्डबाट पनि केही मात्रामा ग्रन्थिको साह्रोपन र गिर्खा भए–नभएको र साह्रोपनको एकरुपताबारे सूचना पाइन्छ । 
  • शङ्कास्पद अवस्थामा ‘ट्रान्सरेक्टल अल्ट्रासाउन्ड’ भन्ने जाँच मलद्वारबाट यन्त्र पठाएर गरिन्छ । 
  • रक्त परीक्षणमा पीएसए भन्ने जाँच गर्दा त्यसको स्तर ४ भन्दा बढी देखापरे अरू थप जाँच तथा अनुसन्धान गर्नुपर्ने हुन्छ । तर मूत्र संक्रमण वा प्रोस्टेट ग्रन्थि सुन्निएको अवस्थामा पीएसएको स्तर बढ्ने हुँदा त्यस्तो स्थितिमा लामो समय प्रतिजीवाणु (एन्टिबायोटिक) उपचार गरेर परीक्षण दोहोर्‍याउनुपर्छ । तर पीएसए परीक्षणको भरमा मात्र प्रोस्टेट ग्रन्थिको क्यान्सर छ वा छैन भनेर कहिले पनि ढुक्क हुन सकिँदैन । किनकि झन्डै एक तिहाइ प्रोस्टेट क्यान्सरमा पीएसएको परिणाम उच्च देखिँदैन । 

आनुवंशिक जानकारी, अनुभवी चिकित्सकबाट प्रोस्टेट ग्रन्थिको औंला जाँच, अल्ट्रासोनोग्राफी तथा ट्रस, पीएसए परिणाम इत्यादि समग्रमा अध्ययन गरेर मात्र केही निचोडमा आउनुपर्छ । तर पनि प्रोस्टेट ग्रन्थिको बायप्सी (ग्रन्थिबाट निकालिएका तन्तुको परीक्षण) बिना प्रोस्टेट क्यान्सरको निदान हँुदैन । 

व्यवस्थापन

प्रोस्टेट हाइपरप्लेजिआको उपचार भन्नु नै मूत्र पद्धति तल्लो भाग संलक्षण तथा मूत्रथैली निर्गम मार्ग अवरोध लक्षणबाट उत्पन्न असुविधा र कष्टप्रद अनुभवबाट पुरुषलाई उन्मुक्ति दिलाउनु हो । 

सुरुको अवस्थामा तरल पदार्थको प्रयोगमा तर्कसङ्गत कटौती गरेर केही फाइदा उपलब्ध गर्न सकिन्छ । खास गरेर बेलुका पानी तथा तरल खानाको मात्रा घटाएर राति उठ्नुपर्ने पटकमा कमी ल्याउन सकिन्छ । २४ घन्टाको तरल पदार्थको प्रयोग दुई लिटरमा सीमित राख्ने, लामो यात्रा र सुत्नु अगाडि तरल पदार्थमा प्रतिबन्ध गर्ने । कफी तथा रक्सी (खास गरेर बियर) प्रयोग नगर्ने । पिसाब फेर्ने समयमा नहडबडाएर पूरा पिसाब निखार्ने । दिसा कब्जियत अवस्था कुनै हालतमा नराख्ने । 

औषधी उपचार

  • मूत्र संक्रमण भइरहने, पिसाबमा रक्तस्राव हुने र मूत्रथैलीमा पत्थरी भएका पुरुषले औषधी उपचारबाट दिगो फाइदा पाउँदैनन् ।
  • लामो समय लगाएर कनेर मात्र पिसाब फेर्ने तर पनि उल्लेखनीय मात्रामा मूत्रथैलीमा पिसाब बाँकी रहने पुरुषलाई औषधी उपचार उपयुक्त हँुदैन ।
  • छिनछिनमै पिसाब गर्नुपर्ने, राति पिसाबले गर्दा कष्ट अनुभव गर्ने, सुतेको बेला थाहै नपाएर पिसाब चुहिने तथा पुरै पिसाब रोकिएको बिरामीलाई औषधी उपचारको सट्टा शल्यक्रिया अपनाउनुपर्छ । 

माथि उल्लेखित अवस्था नभएका पुरुषले औषधी उपचारबाट फाइदा पाउन सक्छन् । सामान्यतया प्रोस्टेट हाइपरप्लेजिआ संलग्न लक्षण हल्का पार्न दुई प्रकारका औषधी प्रयोग गरिन्छ–

१. प्रोस्टेट ग्रन्थिको मांसपेशी खुकुलो पार्ने 

ग्रन्थि जति बढी कस्सिएको हुन्छ, त्यति नै यी औषधी प्रभावकारी हुन्छन् । तर ग्रन्थिको बीच भाग बढेर पिसाबको थैलीभित्र छिरेको अवस्थामा यी औषधी त्यति प्रभावकारी हुँदैनन् । यस्ता औषधी कम प्रभावकारी हुने अरू कारण हुन्–

  • खुम्चिएको सानो प्रोस्टेट ग्रन्थि जसले लचकता गुमाएको हुन्छ । 
  • रक्तनसामा आएको समस्याले मूत्रथैलीको जैविक गतिविधि कमजोर भएको अवस्था । 
  • मूत्रथैली खुम्चिँदा पिसाब निष्कासन गर्न आवश्यक शक्ति उत्पादन गर्न सक्दैन । 

सामान्यतया प्रोस्टेट खुकुलो पार्ने औषधी ज्यादै प्रभावकारी हुन्छ । तर यस्ता औषधी नकारात्मक पक्षबाट बञ्चित छैनन् । जस्तै– पहिलो मात्राको नराम्रो असर बिरामीलाई रिङटा लाग्ने तथा बेहोश हुने हुन्छ । यस्तो औषधी सुरु गर्दा केही दिन ज्यादै चनाखो हुनुपर्छ– बसेको वा सुतेको अवस्थाबाट उठ्नपर्दा ह्वात्त नउठ्ने, भरसक बसेर मूत्र त्याग गर्ने र त्यसपछि पनि विस्तारै उठ्ने । यस्तो नराम्रो असर देखापरे औषध िखानुहुन्न । वीर्यस्खलन नहुने, यौन चाहनामा कमी आउने र लिङ्ग उत्तेजनामा शिथिलता देखापर्ने हुन्छ । यस्तै कमजोरी महसुस हुने, नाकबाट रुघा लाग्दा पातलो सिँगान बग्ने पनि हुन्छ । 

२. पुरुष विशिष्टता उत्पन्न वा प्रोत्साहित गर्ने हर्मोनको दमन

भ्रूण अवस्थामै टेष्टास्टरन भन्ने पुरुष हर्मोन इन्जाइमको सहयोगले डिहाइड्रोटेष्टास्टरनमा परिणत हुन्छ । यस्तो नभए भ्रूणको प्रोस्टेट ग्रन्थि प्रारम्भिक अवस्थामा विकसित नभएर रहन्छ र पुरुष बाहिरिया अङ्ग पनि स्त्रीको जस्तै रहन्छ । यही यथार्थलाई ध्यानमा राखेर आविष्कार गरिएका औषधीले प्रोस्टेट ग्रन्थिको एपिथिलियमलाई दमन गछन् र बढ्न दिँदैनन् । प्राय: ६ महिना यस्ता औषधी खाएपछि प्रोस्टेट ग्रन्थि करिब २० प्रतिशत घट्छ । प्रोस्टेट ग्रन्थिको कारण मूत्रथैलीमा फुलेका नसा फुटेर रक्तस्राव हुने पुरुषमा यी औषधीको प्रयोगले रक्तस्राव रोक्न सहयोग मिल्छ । 

प्रोस्टेट ग्रन्थि बढ्न नदिने र बढेको पनि घटाउने औषधीका नकारात्मक असर यस्ता छन्– यौन इच्छा घटाउनु (लिङ्ग शिथिल तथा सानो पार्नु), वीर्यको मात्रा घटाउनु र वीर्य स्खलनमा फरक ल्याउनु र स्तन वृद्धि गराउनु । 

प्रोस्टेट ग्रन्थि वृद्धि दमन गर्ने औषधी र ग्रन्थिको मांसपेशी खुकुलो पार्ने औषधी एकसाथ प्रयोग गर्दा पुरुषले बढी फाइदा पाउने तथा एक्कासी पिसाब रोकिने खतरा कम हुन्छ । ३० ग्रामभन्दा बढी परिमाण भएको प्रोस्टेटको उपचार दुबै थरीका औषधीबाट गर्दा मूत्रथैलीले पिसाब बढी जम्मा गर्नसक्ने र निखार्ने क्षमता पनि बढी हासिल गर्छ । तर यी औषधीको नकारात्मक असरलाई ध्यानमा राखेर मात्र निर्णय लिनुपर्छ । 

निचोड

प्रोस्टेटसँग सम्बन्धित मूत्र लक्षण प्राय: ४० वर्षपछि देखापर्छन् । यी लक्षण ग्रन्थिको साइज ठूलो भएर वा मूत्रनलीको सुरुको प्रोस्टेटले घेरिएको भागको लचकतामा कमी भएर पनि हुन सक्छन् । पिसाब फेर्न गएपछि कुरेर मात्र हुने, पिसाबको धारा लुलो तथा मसिनो हुने, एकैपल्ट सरर सबै पिसाब नहुने, पिसाब फेरेपछि निख्रेको अनुभव नहुने, राति पिसाब फेर्न उठिराख्नुपर्ने जस्ता लक्षणले पुरुषलाई चिन्तित पारेका खण्डमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । यही सिलसिलामा प्रोस्टेट ग्रन्थिको क्यान्सर भए–नभएको प्रारम्भिक जाँच पनि गर्ने गरिन्छ । तरल पदार्थ प्रयोगको समय तथा मात्रामा फरक पारेर पनि धेरै फाइदा उपलब्ध गर्न सकिन्छ । औषधी उपचारको मुख्य उद्देश्य मूत्रथैलीको घाँटी तथा मूत्रनलीको सुरुको भाग खुकुलो पार्ने हुन्छ । दोस्रो उद्देश्य हो, ठूलो प्रोस्टेट बढ्न नदिने तथा सुकाउने । यी दुबै थरीका औषधीले यौन गतिविधिमा केही शिथिलता तथा वीर्य स्खलनमा असर पार्न सक्छन् । औषधी उपचारबाट सन्तोषप्रद फाइदा नपाए शल्यक्रियाको सहयोग लिनुपर्छ । 

भट्ट वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् । 

प्रकाशित : आश्विन २१, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?