स्वास्थ्य : कर्णालीको भरोसा ब्याच नम्बर ११

भिषा काफ्ले

कालिकोटकी ३२ वर्षीया सुपर्णा हमाल गत १९ असारमा सातौं बच्चा जन्माउँदै थिइन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह (३३) उनको ‘केस’ हेर्दै थिए । बच्चा जन्माउने क्रममा हमालको अचानक पाठघर फुटेर रक्तश्राव सुरु भयो ।

यस्तो अवस्थामा आमाको ज्यान उच्च जोखिममा हुन्छ । रक्तश्राव धेरै भएकाले उनलाई तत्काल रगत दिनुपर्ने अवस्था आयो । उनको ज्यान बचाउन अस्पतालकै केही डाक्टर शल्यक्रिया गर्नतिर लागे भने केही रगतको जोहो गर्न । तत्काल अन्यत्रबाट रगत आउने सम्भावना नभएपछि शल्यक्रिया गर्दा बेहोस बनाउनका लागि बसेका डा. रमेश भट्टराई आफैंले पहिलो एक पिन्ट रगत दिए । डा. निराजना कायस्थ, डा मंगल रावल, डा. हरिहर देवकोटा, डा. अनुस्मृति पल, डा. अनुपमंगल समाललगायतका चिकित्सकहरू पनि कोही थप रगत जुटाउन लागे भने कोही डा. राजीवलाई शल्यक्रियामा सहयोग गर्न । डाक्टरहरूको अथक प्रयासमा ५ घण्टाको शल्यक्रिया र १४ पिन्ट रगत दिएपछि हमालले जुम्लाको कर्णालीको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘पुनर्जन्म’ पाइन्, नवजात शिशुको साथमा । 

पूर्वाधार र उपकरणको राम्रो व्यवस्था नहुँदा प्रतिष्ठानमा यस्तो आपतकालीन परिस्थिति मेडिकल टिमले दैनिक झेलिरहेको हुन्छ । तर पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ११ औं ब्याच आफ्नो विशेषज्ञतामार्फत कर्णालीको स्वास्थ्य सेवामा परिवर्तन ल्याउन कस्सिएको छ । चिकित्सा विज्ञानका फरक–फरक विषयमा विशेषज्ञता हासिल गरेका ७ युवा चिकित्सक सीमित उपकरण, व्यवस्थापनका बाबजुद कर्णालीका जनताको ज्यान जोगाउन तल्लीन छन् । विशेषज्ञ (पीजी) डाक्टरी हासिल गरेर दुर्गमको सेवामा खटिएको ब्याच नं. ११ सुगम मात्र रोज्नेहरूको यो भीडमा प्रेरणादायी हुन सक्छ । 
कर्णालीवासीको स्वास्थ्य सेवामा तल्लीन यही ब्याच नं. ११ का एक सदस्य हुन्, हाडजोर्नी विशेषज्ञ डा. मंगल रावल, ३३ । हुम्लाका उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस पूरा गरे । दुई वर्ष मेडिकल अधिकृतको रूपमा काम गरिसकेपछि पुन: धरानमै जनरल मेडिसिनमा विशेषज्ञ चिकित्सक पढ्नका लागि छात्रवृत्ति पाए । पढ्दै गर्दा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि न्याम्समा हाडजोर्नी तथा ट्रमा शल्य चिकित्सकको छात्रवृत्ति खोल्यो । ‘कर्णालीमै जन्मेको त्यो अवसर मेरा लागि महत्त्वपूर्ण थियो,’ हालैको एक भलाकुसारीमा मंगलले भने, ‘त्यसमाथि कर्णालीको प्रमुख समस्या भनेकै हाडजोर्नी र ट्रमा उपचारको व्यवस्था नहुँदा अकालमा ज्यान गरेको आफैंले देखेको थिएँ ।’ डा. रावललाई यिनै कुराले कर्णाली तान्यो ।

सप्तरीका राजीव साहचाहिँ किन तानिए त दुर्गम कर्णालीमा ? ‘पत्रपत्रिकामा दैनिकजसो आउने उपचार नपाएर कर्णालीमा सुत्केरी महिलाको मृत्युका खबरले मलाई निकै पिरोल्थ्यो,’ ३३ वर्षीय उनले सुनाए, ‘कर्णाली आउनुको यही प्रमुख कारण हो । यहाँको स्वास्थ्य सूचाकंक पनि एकदमै कमजोर छ । हामीजस्ता युवाको योगदानले कर्णालीको स्वास्थ्यमा योगदान गर्नुपर्छ भन्ने लागेर आएँ ।’ 

डेढ वर्षअघि बाल रोग विशेषज्ञ भएर डा. निराजना कायस्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्दा दैनिक मुस्किलले १० देखि १५ जना बालबालिका बहिरंग सेवा लिन आइपुग्थे, भर्ना भन्ने कुरा त गाह्रो थियो । तर यो डेढ वर्षमा पूरै फरक भएको छ । दैनिक ५० देखि ६० बच्चा बहिरंगमा उपचार हुन्छन् भने १५ देखि २० जना इमर्जेन्सीमा आइपुग्छन् । १२/१३ जना त प्रत्येक दिन भर्ना नै भएका हुन्छन् । ‘अलि–अलि बिरामी धामी–झाँक्रीकोमा लान्थे, गाह्रो भए नेपालगन्ज लैजान्थे,’ बनेपाकी ३१ वर्षीया यी डाक्टरले सुनाइन्, ‘अहिले त एक छिन बस्ने फुर्सद नै हुँदैन ।’ निराजनाको विशेषज्ञताले यो डेढ वर्षमा कर्णालीका धेरै बच्चाको ज्यान जोगिएको छ । ‘एउटा गाउँको कुनै बच्चा राम्रो भएपछि उनीहरूले नै विज्ञापन गर्दा रहेछन्,’ उनले थपिन्, ‘पहिलेभन्दा प्रतिष्ठानप्रति धेरैको विश्वास जागेको छ ।’ 

चिकित्सक बुवाआमाकी छोरी उनले नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस सकेपछि दुई वर्ष पाटन अस्पताल र सिभिल अस्पतालमा मेडिकल अफिसरको रूपमा काम गरिन् । सिभिलमा काम गर्दैगर्दा दुर्गमबाट ढिलो गरी उपचारका लागि आइपुग्ने बालबालिकाहरूलाई बचाउन नसक्दा उनको मुटु पोल्थ्यो । त्यही थकथकीकै कारण उनी दुर्गममा सेवाका लागि तयार भइन् । ‘मैले दुर्गममा गएर काम गर्ने सोच राख्दाराख्दै सरकारले त्यही बेला कर्णालीका लागि बालरोग विशेषज्ञ पढ्न छात्रवृत्ति खुलायो,’ उनले कर्णाली किस्सा सुनाउन थालिन्, ‘तँ सोच म पुर्‍याउँछु भन्ने उखानजस्तै छात्रवृत्तिमा पढ्न पाएँ, अहिले यहाँ आएर सेवा गर्ने मौका पाएकी छु ।’ 

अछामका डा. हरिहर देवकोटालाई कर्णाली पुर्‍याउने कारण पनि न्याम्सको ब्याच नं. ११ नै हो । शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा एमबीबीएस पढेका उनले सेती अञ्चल अस्पताल र कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरे । त्यसपछि त्रिवि शिक्षण अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दुवै ठाउँबाट विशेषज्ञ चिकित्सा शिक्षा अध्ययनका लागि दिएको परीक्षामा उनको नाम निस्कियो । तर, त्योभन्दा कर्णालीका लागि निस्किएको न्याम्सको छात्रवृत्ति उनलाई बढी प्यारो लाग्यो । धरान र आईओएमबाट पढेर सुविधासम्पन्न सहरका अस्पतालमा काम गरेका भए सहरका सुविधासम्पन्न अस्पतालहरूमै शल्यक्रिया गर्नलाई उनलाई भ्याइनभ्याई हुन्थ्यो होला ? तर, ३४ वर्षीय यी डाक्टर कर्णाली पुगेका छन् । ‘कर्णाली मेरा लागि चुनौतीसँगै ठूलो अवसर पनि हो,’ उनी भन्छन्, ‘सेवा सुविधा भएको ठाउँमा त जसले पनि गरिहाल्छ नि, केही नभएको ठाउँमा गरेर देखाउन सक्नुमा पो आनन्द छ ।’ जनरल सर्जनको रूपमा विशेषज्ञता हासिल गरेका उनको टिमले महिनामा ५० देखि ६० वटा साना–ठूला शल्यक्रिया गर्छ । 

विशेषज्ञताको उपाधि हासिल गर्न कर्णाली छात्रवृत्ति कोटा काठमाडौंका डा. अनुप मंगल समाललाई अवसर थियो । तीन वर्षको पढाइपछि जब उनी कर्णाली पुगे त्यसपछि त्यहाँको स्वास्थ्य क्षेत्र सुधारका लागि केही गर्नैपर्छ भन्ने लाग्यो । ३४ वर्षीय यी तन्नेरी डाक्टर अहिले कर्णालीमा जनरल फिजिसियनका रूपमा दैनिक ५० बढी बिरामीको स्वास्थ्य निरीक्षण गरिरहेका छन् । ‘देश के रहेछ भनेर यहाँ आएर थाहा पाएँ,’ उनले भने, ‘नेपाल काठमाडौं उपत्यका मात्रै रहेनछ ।’ 

देवदह मेडिकल कलेज भैरहवा र नेपाल मेडिकल कलेज काठमाडौंमा दुई वर्ष काम गरेका बुटवलका डा. रमेश भट्टराई एनेस्थेसिया विशेषज्ञका रूपमा कर्णाली पुगेका हुन् । एनेस्थेसिया (शल्यक्रिया गराउँदा बेहोस बनाउने प्रक्रिया) पढेका उनलाई आफूले पढेको ज्ञान भरपूर उपयोग गर्न नपाउँदा सुरुका दिनमा केही खिन्नता हुन्थ्यो । ब्याच नं. ११ को कर्णाली यात्रा उनका लागि त्यो खिन्नता मेट्ने कारण माध्यम बन्यो । ‘एक्लै आएको भए उहिल्यै छोडिसक्थे होला,’ ३४ वर्षीय यी तन्नेरी अनुभव सुनाउँछन्, ‘सँगै पढेका एउटै ब्याचका सबै किसिमको विशेषज्ञता भएका साथी एकै ठाउँमा रहँदा निकै रमाइलो भइरहेको छ ।’ 

उमेरले ब्याच नं. ११ की सिनियर हुन्, अनुस्मृति पल । ३६ वर्षीया उनी इन्टरनल मेडिसिनकी विशेषज्ञ हुन् । पुरानो घर अछाम भए तापनि काठमाडौंकै बासिन्दा भइसकेकी पलको माइती पश्चिम नेपाल हो । त्यही पश्चिमको लिगेसीले उनलाई कर्णाली नजिक लाग्यो । ‘पश्चिमको स्वास्थ्य सूचकांक कमजोर नै छ,’ उनले भनिन्, ‘त्यो सूचकांक देखेर मलाई केही गरौं भन्ने भावना जाग्यो र कर्णाली आएँ ।’ 

न्याम्सको २०१२ को ८५ जनाको ब्याचमध्ये यी ७ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि छानिएका विद्यार्थी थिए । जसले कर्णालीको स्वास्थ्यमा सुधारका लागि मिलेर सामूहिक पहल गरिरहेका छन् । त्यसमा डा. रावल एक जना मात्र कर्णालीका बासिन्दा हुन् भने अरू सबै देशका फरक क्षेत्र र भूगोलका हुन् । 

आफ्नो क्षेत्रमा टिमसहित नै जाने भएपछि रावलले अरूलाई त्यस क्षेत्रको बारेमा जानकारी गराउनु सामान्य नै हो । ‘म एक्लै आएको भए केही हुने थिएन,’ डा. रावलले भने । उनको कुरा बीचमै काट्दै डा. साहले थपे ‘आउनुअगाडि कर्णालीको बारेमा जुन डरलाग्दो कल्पना गरिएको थियो, त्यो गलत रहेछ ।’ 

विशेषज्ञ डाक्टर अभाव झेलिरहेको कर्णालीमा ब्याच नंंं. ११ को उपस्थिति स्वास्थ्य सेवामा कायाकल्प ल्याउन थालेको छ । उपचारका लागि अस्पताल जानेहरू बढेका छन् भने विशेषज्ञ डाक्टर उपस्थितिको परिणाम पनि बिरामीमा देखिने थालेको छ । अर्कोतर्फ पैसा हुनेहरू नेपालगन्ज र काठमाडौं धाउने परिपाटी कर्णालीमा बिस्तारै रोकिँदै गएको डा. देवकोटाको बुझाइ छ । ‘यहाँ १० देखि १५ हजारमा हुने शल्यक्रिया गर्न लाखौं तिरेर नेपाल र भारतका विभिन्न ठाउँमा जाने अवस्था बिस्तारै कम हँुदै गएको छ,’ उनले भने । 

५ वर्षका लागि कर्णाली पुगेको यो ब्याचले के त्यहाँको स्वास्थ्य अवस्थामा आमूल परिर्वतन नै ल्याउला त ? ‘आमूल परिर्वतनभन्दा पनि धेरै हदसम्म यो टिमले जनतालाई सुविधा दिन्छ,’ डा. कायस्थ थप्छिन् ‘तर राज्यले स्रोत साधनमा भने सहयोग गर्नैपर्छ ।’ 

ब्याच नं. ११ लाई सघाउन ब्याच नं. १२ का डा. मणिक न्यौपाने र डा. सुनानन्द पौडेल पनि कर्णाली पुगेका छन् । त्यसो त पुराना विशेषज्ञहरू डा. सूर्यमान म्याङबो, डा. प्रवीणकुमार गिरी र डा. विनोद अर्यालले उनीहरूलाई सुरुका दिनमा कर्णालीको परिवेशमा घुलमिल गराएका थिए । 
कर्णालीको स्वास्थ्य मात्र हैन यो ब्याचलाई प्रतिष्ठानलाई चाँडोभन्दा चाँडो एमबीबीएस चिकित्सक उत्पादन गर्न सक्ने बनाउने जिम्मेवारी पनि छ । किनकि सरकारले यो प्रतिष्ठानलाई एउटा चिकित्सक उत्पादन गर्ने विश्वविद्यालयको मान्यतासमेत दिएको छ । 

७ जना विशेषज्ञ चिकित्सकको टोली कर्णाली पुगेपछि त्यहाँबाट बाहिर उपचार गर्न जानेको संख्या प्राय: शून्यमा झरेको कणली जिल्लाका पूर्वसभासद नरेश भण्डारी बताउँछन् । ‘यसअघि पनि केही सीमित विशेषज्ञ हुनुहुन्थ्यो, तर अहिले भने प्राय: सवै रोगका विशेषज्ञ चिकित्सक पाइएको छ,’ उनी भन्छन्, ‘सेवा नियमित भएको छ, यो क्षेत्रका जनतामा त्यहाँ गएपछि उपचार पाइन्छ भन्ने मनोवैज्ञानिक छाप पार्न उहाँहरू सफल हुनुभएको छ ।’

प्रकाशित : आश्विन २२, २०७४ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

अनुभूति : यसपालि यस्तै भयो–२

नवराज पराजुली

आफूलाई सधैंभरिलाई सँगै राख्ने मान्छेलाई छोडेर टाढा जाँदा, उसको हातमा आफूले छोडेर जाने उपयुक्त उपहार के हुन्छ ? छोडेर जानु भनेको त बस्नेलाई सजाय दिएर जानु हो ! त्यसो भए सजाय दिएर जानेले उपहार दिन मिल्छ कि मिल्दैन ?

म्युनिख, जर्मनी
‘...एउटा चियाकपको पछाडि आफू बसी
अर्को चियाकपको पछाडि तिमीलाई राखेर
तिमीसँग आधा कप जति गफ गरौँ न त भन्दा
उसले र मैले पिएका जुठा कपहरू
तँछाडमछाड गर्दै टेबलमा उभिन्छन्

ती कपको पिँधमा रहेको अलिकति चिया
त्यो चियामा बाँकी रहेको अलिकति चिनी
जो अहिले तीतो भएको छ
त्यो म हुँ !

बिर्सिएर सबै पुराना बाटाहरू
र यो नयाँ बाटोबाट कहाँ पुग्ने भन्ने पनि बिर्सिएर तिमीसँग
दुई परेली जति बाटो सँगै हिँडौं न त भन्दा
बाटोभरि देख्छु
वर्षौंदेखि बाटो बिर्सिएर
मलाई नै बाटो सोध्न
मेरै बाटो पर्खिरहेका
उसका र मेरा पैतालाका केही जोडी डोबहरू
धूलोमा श्वास फेरिरहेका
ती जोडी पैतालाका डोबमध्ये
बुट्टा बिग्रिएको जुन पैताला छ
त्यो मेरो हो...’

‘आफ्नो स्कुलको किताबमा भएका कविता पढ्नेबाहेक कहिल्यै कविता नसुनेका भाइहरू कविता सुन्न आएका छन्, नवराजजी,’ म्युनिखमा कविता कन्सर्टका आयोजक सुवासजीले म स्टेजमा चढ्नुअघि भने । मैले ती कविता नसुनेका कुमारी कानहरूलाई हेरें । मनमनै लाग्यो— यी भर्जिन कानहरू हुन्, आज मज्जा आउने भो ।
म : उहाँहरू अरू के गर्नुहुन्छ ?
सुवासजी : क्लब छ, फुटबल खेल्छन् ।
म : कस्तो छ खेल ?
सुवासजी : खतरा । फुटबलका लागि जहाँ पनि पुग्छन्, जे पनि गर्छन् । ‘कविता बुझ्नै सकिन्न, मजै आउँदैन’ भन्दै थिए, मैले ‘आज सुन, बुझेनौ र मजा आएन भने म फेरि कहिल्यै बोलाउँदिनँ’ भनेको छु । ठीक भनें ?
म : मज्जाचाहिं म भन्न सक्दिनँ, तर जो फूटबल राम्रो खेल्छ, उसले कविता मज्जाले बुझ्छ । खेलाडीले जति राम्ररी कविता कमैले बुझ्लान् । खेल पनि त सम्बन्धहरूको कविता हो । कविता पनि त सम्बन्धहरूको खेल हो ।
मैले ‘च्याउ’ कविता सुनाएपछि ती सबै खेलाडीहरूले कुर्सीबाट उठेर ‘वान्स मोर ! वान्स मोर !!’ भन्दै चिच्याउन थाले । मभित्रको एउटा म ‘स्ट्यान्डिङ ओवेसनसहितको वान्स मोर’ मै मख्ख थियो, तर मभित्रको अर्को म सोचिरहेथ्यो, ‘छाला र मासुको गणितले नापिएर हेपिएकी त्रिचालीस वर्षकी अविवाहित नारीको कथामा लेखिएको यो कवितामा, यी तेह्रदेखि तेइस वर्षभित्रका कलिला केटाहरू आफूलाई कहाँ पाइरहेछन् ? आफूलाई नभेट्टाएको कवितासँग पनि दोहोर्‍याएर बाँचिरहन मन लाग्छ र ? आफूलाई नभेट्टाएको मान्छेसँग पनि दोहोर्‍याएर बाँचिरहन मन लाग्छ र ? आफूलाई नभेट्टाएको संसारमा दोहोर्‍याएर बाँचिरहन मन लाग्छ र ?’
त्यसपछि जे भयो, त्यो जादु थियो, डिभाइन म्याजिक । म ‘खोया’ कविता सुनाउन लागेको थिएँ । मैले सुवासजीले भनेको सम्झें, ‘आफ्नो स्कुलको कितावमा भएका कविता पढ्नेबाहेक कहिल्यै कविता नसुनेका भाइहरू कविता सुन्न आएका छन्, नवराजजी ।’ म अल्मलिएँ, ‘खोया’ कविता सुनाऊँ कि नसुनाऊँ ? यो कविता मलाई खुब अल्मल्याउने कविता हो । मलाई आफ्ना सबै कविता कैले कहाँ कसरी लेखिए भन्ने याद छ, तर ‘खोया’ कहाँ र कसरी लेखें याद छैन । यसको सबैभन्दा पुरानो याद भनेको पहिलोपल्ट सुनाएको याद हो, लगातार दुईचोटि, उही भाव र प्रभावमा । यो कविता किताबमा पनि नराख्ने र कसैलाई कहिल्यै नसुनाउने कि भन्ने पनि सोचेको थिएँ !
किन किन मलाई ‘खोया’ सुनाउन मन लाग्यो, मानौं यहाँ कोही छ जसलाई सुनाउँदा म ‘त्यही भाव’ मा पुग्छु र उसमा ‘त्यही प्रभाव’ पुग्छ । तर जादु भयो, डिभाइन म्याजिक ।
मैले कविता सुनाउन सुरु गरें, फुटबल सुरु भयो । एउटा टिममा म र ‘खोया’ छौं, अर्को टिममा मेरो आँखाअगाडिका फुटबल खेलाडीहरू छन्, किन–किन लागिरहेथ्यो फरक टिमबाट भए पनि हामी एउटै पोस्टमा गोल गर्न खोज्दै छौं । उनीहरूका आँखामा लाम्चा खोयाहरू गोला फुटबल बनेर दौडिरहेको देख्दै थिएँ । त्यहाँ एक जना खेलाडी थिए, करिब सत्र वर्षका, जो मैले फुटबल जता लग्यो त्यतै–त्यतै मेरै चालमा मैजस्तै मैसँगै थिए । उनले अनौठो गरी मलाई हेरिरहेका थिए, मानौं उनी केही माग्न चाहन्थे । मैले भनें :
एउटा चियाकपको पछाडि आफू बसी
अर्को चियाकपको पछाडि तिमीलाई राखेर
तिमीसँग आधा कप जति गफ गरौँ न त भन्दा
उसले र मैले पिएका जुठा कपहरू

***
उनी मेरो नजिक आएझैं लाग्यो । मेरै खुट्टाको छेउमा उभिएजस्तो । म भन्दै थिएँ :
बिर्सिएर सबै पुराना बाटाहरू
र यो नयाँ बाटोबाट कहाँ पुग्ने भन्ने पनि बिर्सिएर तिमीसँग
दुई परेलीजति बाटो सँगै हिँडौं न त भन्दा
बाटोभरि देख्छु
वर्षौंदेखि बाटो बिर्सिएर
मलाई नै बाटो सोध्न
मेरै बाटो पर्खिरहेका
उसका र मेरा पैतालाका केही जोडी डोबहरू
धूलोमा श्वास फेरिरहेका
ती जोडी पैतालाका डोबमध्ये
बुट्टा बिग्रिएको जुन पैताला छ...

यति बोलिसक्दा नसक्दै मैले देखें कि मेरो अगाडिका ती भाइ केही बोल्न खोज्दै थिए, मुखबाट बोली निस्कने लागेको देखें, फुटबल पास मागेजस्तै गरी । आफू रोकिएर मैले उनलाई बोल्न दिएँ, फुटबल पास दिएँ । उनले बोले :
...त्यो मेरो हो ।’
म डराएँ । म रमाएँ । म डरलाग्दो गरि रमाएँ । म फेरि अलमलिएँ, ‘कहिल्यै कविता नसुनेको उसले कसरी मेरो कविताको बाँकी वाक्य पूरा गर्‍यो ? उसका आँखामा यस्तो आनन्द थियो जस्तो एउटा कविले कुनै नयाँ कविता लेखिसक्नेबित्तिकै हुन्छ । उसमा त्यो आनन्द कसरी आयो ? ऊ यो कविता पहिलोचोटि ‘सुन्दै छ’ कि उसलाई यो कविता पहिलोपल्ट ‘फुर्दै छ’ ? के उसलाई थाहा थियो कि म उसलाई त्यो पलमा फुटबल पास दिनेछु र उसले सुट गर्नेछ अनि गोल लाग्नेछ ? के हामीले यो खेल पहिल्यै खेलिसकेका थियौं ? उसले जो ‘...त्यो मेरो हो’ भन्यो, त्यो उसको मेरो हो कि मेरो मेरो हो ?’
कविता सुनाइरहेको पलमा थिएँ । अझ कविताको बीचमा थिएँ । मैले यसरी अल्मल्लिरहन मिल्दैनथ्यो । कविताको बाँकी भाग सुनाउनुपथ्र्यो । तर मलाई त्यहीं अल्मलिरहन मन लाग्यो, त्यही पलमा, तिनै सेकेन्डहरूमा । मेरा लागि कविताले सबैभन्दा सुन्दर गरी गोल गरेको थियो, त्यो पल । त्यो सानो भाइ त्यहाँ पुगेको थियो जहाँ यो कविता लेखिँदा सायद म पुगेको थिएँ, जुन (अघि मैले भनें नि) याद छैन । आहा ! त्यो भाइले मलाई याद नभएको यादको याद दिलाइदियो ।
केही मान्छेहरू आफूले बिर्सेको आफ्नो याद दिलाइदिन्छन् । सायद हामी त्यस्तै मान्छे भेट्नलाई बाँचेका हुन्छौं । सायद भेटेर पनि कहिलेकाहीं चिन्दैनौं । सायद चिनेर पनि साथै राख्दैनौं । सायद राख्न सक्दैनौं । सायद राख्ने आँट गर्दैनौं । सायद हामीले पर्खिनुपर्छ, समयले बनाइदिएको लुँडोको भर्‍याङ उक्लिनलाई, किनकि सीधा बाटो त यो जिन्दगीमा एक्लै लुँडोको सयसम्म पुग्न सकिन्न । सायद पुगे पनि आफ्नो मान्छे अन्तै देख्दा आफूलाई तल झर्न मन लाग्ला । तर सयमा तल झार्ने पुच्छर भएको सर्पको मुख हुन्न । सायद यो अनुभूति ठीक हो भन्न पनि हामीलाई कोही चाहिन्छ । जस्तै कि म यतिखेर ‘सायद’ लेखिरहेको छु । मलाई पनि पक्का यो अनुभूति यही हो भन्न ऊ चाहिन्छ ।
छोडेर त्यो पललाई त्यहीं, बढें म कविताको बाँकी बाटोमा जसको अन्त्यमा चाहिं म अल्मलिन्नँ :
‘... तिमी यस्तो बेलामा आएकी छ्यौ कि
तिमीलाई ‘बस न’ भन्न ओठ डराउँछ
तिमी गएको हेर्न आँखा डराउँछन्

क्यानबेरा, अस्ट्रेलिया
तपाईं आफूलाई मन परेको एउटा गीत कतिपटकसम्म लगातार सुन्न सक्नुहुन्छ ? मेरो उत्तर सजिलो छ : जतिचोटि पनि । मेरो लागि मन परेको गीत मन परेको मान्छेजस्तै हो । मन परेको मान्छेले मनैदेखि गरेको मन छुने गनगन कतिपटकसम्म लगातार सुन्न सक्नुहुन्छ ? मेरो उत्तर सजिलो छ : जतिचोटि पनि । मेरो लागि मन परेको मान्छे आफंैजस्तै हो । तपाईं आफ्नो कुरा कतिपटकसम्म लगातार सुन्न सक्नुहुन्छ ? उत्तर सजिलो छ ... । सिड्नीबाट क्यानबेरासम्मको ३०० किलोमिटरको मोटरयात्रामा सम्यक भाइ र मैले सानु घिमिरेजीको मोबाइलको डाटाको काँटा तल पुगुन्जेल दुइटा गीत दोहोर्‍याएर सुनिरह्यौं : ‘कतियाँ करूं’ (‘रकस्टार’ फिल्मबाट) र ‘हवाएँ’ (‘जब ह्यारी मेट सेजल’ फिल्मबाट) । सिड्नीबाट मेरो हिरो साथी अन्जित (जो बिहान–बेलुकी आधा खाना र आधा गीत खान्छ) ले ‘हवाएँ’ कतिऔं चोटि सुन्दै छु भन्ने खबर मोबाइलमा पठाउँदै थियो । मैले म्यासेज गरें, ‘म फर्केपछि
सिड्नीको हावासँगै चबाउनुपर्छ ।’ गीतकार इर्साद कामिलले यो ‘हवाएँ’ भन्ने गीतमा लेखेका छन् : ‘...मै जो तेरा ना हुवा, किसिका नहीं...’ (या त म तिम्रो हुँ, या कसैको पनि हैन) । सिड्नीबाट क्यानबेरा जानु मेरा लागि काठमाडौँबाट झापातिर जानु, वालमजुंगतिर जानु, या हेटौंडातिर जानु या सुर्खेततिर जानुजस्तै थियो । काठमाडौँ सुन्दर सहर हो, तर सहर हो । सिड्नी सुन्दर सहर थियो तर सहर थियो । गाउँको मान्छे सहरमा बस्दा ऊभित्र एउटा खाली ठाउँ बाँकी भैरहन्छ, गाउँका लागि राखेको खाली ठाउँ, छोडेर गएको मान्छेको ठाउँजस्तै । त्यहाँ बेला–बेला ऊ गइरहन चाहन्छ । हामी गाउँबाट आएकाहरूलाई बेला–बेला खुला चाहिँदो रहेछ, कम्तीमा त्यति खुला कि हावा ट्राफिक जाममा नपरोस् । खुलाले गाउँको तिर्खा मेटाउँछ । कम्तीमा त्यति खुला कि मान्छे जोडिएका हुन् घर हैन । घरहरूलाई पनि आफ्नो काखीमा हावा छिर्ने ठाउँ होस् । हावाले गाउँको तिर्खा मेटाउँछ । हावा । ‘हवाएँ’ । ‘...मै जो तेरा ना हुवा, किसिका नहीं... ।’ मलाई थाहा हुँदै थियो कि क्यानबेरामा केही त्यस्तो छ, जसले मलाई उसको नजिक पुर्‍याउनेछ जसको म हुन चाहन्छु । नभन्दै विनायकजीले हामीलाई एउटा यस्तो टावरमा लिएर गए जहाँबाट मैले एक अद्भुत दृश्य देखें : केही यस्ता साना पहाडहरू जसको खुट्टामा जल चढाउन भनेर समुद्रको एउटा औंला आइपुगेको छ । रूखमा फल फलेजसरी ती पहाडमा रूखहरू फलेका थिए । पहाडको अनुहार थियो, अनौठो आकारको । पर्खाइको आकार कस्तो हुन्छ ? त्यस्तै आकारको । त्यो अनुहारको एउटा सानो नाक थियो, जो सायद पहाडलाई मन पर्दैनथ्यो । म पहाडको त्यो पुन्टे नाकलाई मेरा बुढीऔंला र चोरऔंलाले चेपिदिन चाहन्थें । तर पहाड टाढा थियो, मेरा औंलाभन्दा टाढा, म छुन सक्थें, आफूले लगाएको लुगालाई जस्तै गरी । हामी टावरमा उभिएर तातो कफी पिउँदै पहाडलाई हेर्दै थियौं । बाहिर निस्किँदा त सहन नसक्ने गरी चिसो सिरेटो चल्दै थियो । चिसोले उडाउलाजस्तो ! म डराएँ ‘पहाडलाई चिसो लाग्दैन ? चिसोले मेरोजस्तै पहाडको हड्डी दुखायो कि !’ एउटा जादुले छोएको त्यो पलमा, मभित्र पहाड मिस्सिएजस्तै भयो, यसपालि यस्तै भयो ।
ऐले सोच्दै छु— मिल्यो भने पहाडले यो लेख पहाडमै बसेर पढ्ला ।

प्रकाशित : आश्विन २२, २०७४ ११:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्