बालबालिकाको मनो

डा. धनरत्न शाक्य

नेपालमा १८ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका र किशोर–किशोरीले जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ४२ प्रतिशत ओगट्छन् ।

उनीहरूमा पनि रोगकै स्वरूपको मानसिक समस्या अरूमा भन्दा कम हुँदैन । करिब २० प्रतिशतमा कुनै न कुनै खालका मानसिक समस्या हुने गर्छ । कतिपय यस्ता समस्यामा उनीहरूको व्यवहारमा गडबडी, जस्तै– चकचक गर्ने, झगडा गर्ने, तोडफोड गर्ने, भनेको नमान्ने वा नमिल्ने र असामाजिक गतिविधि गर्ने हुँदा तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक लगायतलाई मर्का परेको हुनसक्छ । उनीहरूमा आफैंलाई छट्पटी, पीडा, दु:ख अनुभव हुने अवस्था हुनसक्छ । अरू कतिपय अवस्थामा भने तिनको मानसिक, मनोवैज्ञानिक, सामाजिक, बौद्धिक विकासमा समस्या हुनसक्छ ।

भयावह बन्दै बाल मनोरोग 
एकातिर कतिपय यस्ता मनोगत समस्या यो उमेर समूहका बालबालिका र किशोर–किशोरीमा हुन्छन् भने कतिपयचाहिँ ५० देखि ७५ प्रतिशत वयस्कहरूलाई हुने रोग पनि यही उमेरमा सुरु हुने गर्छ । जीवनको सुरुवाती चरणमा शिक्षा, तालिम, सामाजिक व्यवहार, सदाचार, विवेक सिक्ने र विकास हुने बाल्यावस्था र किशोरी अवस्थामा हुन्छन्, यस अवस्थामा यस्ता रोगबाट ग्रस्त भएमा त्यसको असर शारीरिक रोग वा अस्वस्थताको भन्दा अझ गम्भीर र दूरगामी हुने गर्छ । यस्ता समस्याबाट ग्रसित बालबालिका र किशोर–किशोरी शारीरिक रोगबाट पनि बढी पीडित हुने गरेको पाइन्छ । शारीरिक रोगबाट ग्रसित बालबालिका र किशोर–किशोरी पनि मानसिक समस्याबाट पीडित हुने डर ज्यादा हुने गर्छ । 

बदलिँदो समाज, परिवार संरचना, समयको मूल्य–मान्यता, प्रचलन, अस्वस्थ प्रतिस्पर्धा, ठूला मानिसको उनीहरू माथिको पढाइ वा अरू कुराको अनुपयुक्त दबाब, देखासिकी, खुला, अनियन्त्रित सञ्चार पहुँच, हिंसा र तनाव आदि खतराजन्य तत्त्वहरू आजभोलि एकातिर बढ्दै गएको देखिन्छ भने अर्कोतिर अभिभावक र परिवारजनको साथ–सहयोग, समय, सामाजिक चालचलन आदिजस्ता बचाउका तत्त्वहरूमा गिरावट आएको महसुस गरिन्छ । 

बाल मनोरोगका जटिलता
हामीमध्ये धेरै अभिभावक, परिवार, साथीभाइ, शिक्षक, छरछिमेकलाई तिनलाई पनि यस्तो रोग लाग्न सक्छ, के कस्ता लक्षण वा अवस्थामा मनोरोग भएको बुझेर उपचारतिर लाग्नुपर्छ । 

समयमै समस्या वा रोग नचिन्दा धेरै अस्वस्थ अवस्थामै रहन्छन् । त्यसले गर्दा उनीहरूको पढाइ लगायत सामान्य दैनिकी, खेलकुद, सामाजिक अन्तरक्रिया आदिमा गिरावट आई विकलांगताको स्थितिसम्म आइपर्छ । यस्ता समस्याग्रस्त बालबालिका र किशोर–किशोरीमा शारीरिक अस्वस्थता पनि अधिक हुन्छ । तिनमा मृत्युको प्रमुख कारण आत्महत्या बढ्न सक्छ । यस्तो विषम परिस्थिति बदल्न बालबालिका, किशोर–किशोरी, तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्न जरुरी छ । हाम्रा निर्दिष्ट जिम्मेवारी र भूमिका छन् र सबैबाट तिनको निर्वाह भएमा र उपयुक्त तरिकाले व्यवस्थापन भएमा यी समस्याको पहिचान समयमै हुन सम्भव छ । उपचार र व्यवस्थापन गर्दा अधिकांश जटिलता कम हुन्छन् ।

बालबालिका, किशोर–किशोरी हाम्रा भविष्य हुन् । सुखद, प्रगतिगामी र स्वस्थ भविष्यको लागि बालमैत्री भावना, हृदय र पहुँचबारे सोचौं । बालबालिकाको मनो–स्वास्थ्य नभुलौं । बाल मनो–स्वास्थ्य प्रबद्र्धन गर्न अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले यसबारे सरोकार राखौं । यसबारे आवश्यक जानकारी राखौं । आवश्यक सीप र कला, जस्तै– रिस र तनाव व्यवस्थापन गर्न सिकौं । तिनका लागि माया, प्रेम, सद्भाव, अनुशासन, विवेक, समय, साथ र स्वस्थताको जीवनशैली र वातावरण दिने कोसिसमा जुटौं ।

कसैमा कुनै खालका व्यवहार, भावना वा विकास सम्बन्धी कुनै समस्या, लक्षण देखिएको अवस्थामा पनि इज्जतमा दाग लाग्ने, अरूबाट हेय हुने, हेपिने वा अरू धेरै खालका कारणले उपचार व्यवस्थापनतिर लाग्नबाट चुक्ने डर रहन्छ । यथार्थ तथ्य मनन गरेर उपयुक्त उपाय, उपचार र व्यवस्थापनमा लागौं । उदासीनताको डिप्रेसन, छटपटीको एन्जाइटी, पागलपनको साइकोसिस, सुस्त मनस्थिति, अटिजम, अधिक चकचकेपन जस्ता निर्दिष्ट मनोरोग मात्र होइन, हाम्रा बालबालिका र किशोर–किशोरी कतै अरूबाट हेपिएर, त्रसित भएर, यातना पाएर पीडित त भएका छैनन् ? सचेत रहौं । 

समयमै चालिएको उपयुक्त कदम र व्यवस्थापन प्रभावकारी र सुरक्षित हुने गर्छ । यी कार्यक्रम, सेवा, अभियान र कदममात्र अस्पताल वा स्वास्थ्य केन्द्रको चौघेरामा सीमित रहनुहुन्न । समाजका हरेक कुना, हरेक व्यक्ति, परिवार, विद्यालयका कोठा, जागरणका पाटीपौवा, चौतारा, चियापसल वा मन्दिर आदिको जमघट सबैतिर विभिन्न स्वरूपमा पुग्नुपर्छ । यो हाम्रालागि आवश्यक छ र सम्भव छ । भएका सेवाबारे जानकारी राखौं, तिनको अधिकतम र उपयुक्त ढंगले उपभोग गरौं । हाम्रा लागि आवश्यक तर नभएका सेवा, कार्यक्रमका लागि सम्बन्धित ठाउँमा आवाज पनि उठाऔं, पैरवी गरौं । हाम्रा बालबालिका र किशोर–किशोरीलाई सताएर हाम्रो भविष्य धमिल्याउने मानसिक रोगबारे सतर्क बनौं । 
 

प्रकाशित : कार्तिक ३, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कम्युनिस्ट एकता स्वाभाविक कि अस्वाभाविक ?

श्रीकृष्ण अनिरुद्ध गौतम

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल होस् अथवा अन्य दलहरूले निर्वाचनपूर्व गठबन्धन गरुन्, चुनावी अभ्यासका क्रममा यस्ता घटनालाई सामान्य र स्वाभाविक रूपमा लिनु र लिइनुपर्ने हो ।

तर एमाले–माओवादी मिलनलाई त्यसरी लिइएन, किनभने तालमेलको घोषणा गर्दा त्यहाँ फुटेका, टुक्रेका कम्युनिस्टहरूलाई एकजुट बनाएर देशै कम्युनिस्टमय बनाउने उद्घोष गरियो। त्यसो गरिँदैनथ्यो भने निश्चय नै यस तालमेललाई पनि अरू राजनीतिक तालमेलझैं सामान्य रूपमा लिइन्थ्यो। अझ भनौं, यसलाई चुनावले मागेको तालमेलमात्र भनिएको हुन्थ्यो भने कुनै गम्भीर खतराको घन्टीका रूपमा लिइने थिएन। हुन पनि एमाले–माओवादीबीच पटक–पटक संयुक्त सत्ता–अभ्यास भएकै हो। ती सत्ता–अभ्यासलाई दुई कम्युनिस्टबीच एकता नभएर वास्तवमा दुई पार्टी बीचको तदर्थ सहकार्यका रूपमा बुझिएको थियो।

तर स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एमाले र माओवादी केन्द्रले छापामार शैलीमा चुनावी तालमेलको घोषणामात्र गरेनन्, प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनपछि पार्टी एकता नै गर्ने समझदारी भइसकेको सार्वजनिक गरे। माथि पनि भनियो, चुनावी तालमेललाई कदाचित् अन्यथा लिन मिल्दैन र दुई पार्टीबीच एकता हुनु पनि कुनै उदेकै मानिहाल्नुपर्ने र तर्सिहाल्नुपर्ने विषय होइन। तर समस्या कहाँ छ भने उनीहरूले जसरी कम्युनिस्ट एक हुने उद्घोष गरे, त्यसमा उनीहरूमा दबेर रहेको साम्यवादी अधिनायकवादको युटोपियाको उद्बोधन भइरहेको पाइयो। त्यतिमात्र होइन, एकातिर कम्युनिस्ट एकताको उद्बोधन भइरहँदा अर्कोतर्फ सिद्धिएका दरबारियाहरूका चिहानमा हलचल हुनथाल्यो।

सिद्धिएको दरबारिया चिहानमा हलचलसँगै नयाँ आशंका जन्मिए। कम्युनिस्ट के हुन् भन्ने चिनेका पुस्ता तर्सिए। नयाँ पुस्ता अलमलियो।

कम्युनिस्टहरू आफैंलाई भने कम्युनिस्ट भनेको बडो विचित्र प्राणी हो भन्ने पक्कै थाहा नहोला। हुन पनि आफ्ना बारेमा धेरै कमलाई मात्र थाहा हुन्छ। अधिकांशलाई त विलकुल थाहै हुँदैन। त्यसैले उनीहरूलाई कम्युनिस्ट विचित्र हुन्छ, अन्यले आफूलाई कसरी हेर्छन् भन्ने थाहा नहुनु स्वाभाविक हो। कम्युनिस्ट भनेका के हुन्, कस्ता हुन्छन्, अरूले उनीहरूलाई कसरी हेर्छन्, यसबारे यहाँ म संक्षेपमा भन्ने अनुमति चाहन्छु। ईश्वर नमान्ने, धर्मलाई अफिम भन्ने, आफूमा समस्या कहिल्यै नदेख्ने, दोषजति सबै अरूमा मात्रै देख्ने अधिकांश भट्किएका आत्माहरू कम्युनिस्ट चोलामा जन्मेका हुन्छन्। नयाँ जन्ममा पनि उनीहरूमा रत्तिभर आध्यात्मिकता हुँदैन। विरलै मात्र भाग्यमानी हुन्छन्, जो यस्तो विचित्र अवस्थाबाट मुक्त भएर उज्ज्वल नक्षत्रझैं चम्किन्छन्।

मेरा मनमा कम्युनिस्ट चोला पाएर जन्मनेहरूप्रति विशेष सहानुभूति छ। किनभने कम्युनिस्टहरू एक प्रकारले अभिशप्त प्राणीहरू हुन्, जसमा सौन्दर्यबोध विलकुलै हुँदैन। सौन्दर्यबोधलाई उनीहरू बुर्जुवा विलासिता भन्छन्। प्रेमलाई आत्मिक मिलन मान्दैनन्, विचराहरू जैविक, शारीरिक क्रीडामात्र ठान्छन्। हरेक देहमा अदृश्य सञ्चालक हुन्छ, त्यसैबाट यो सृष्टि व्याप्त छ भन्यो यदि कसैले भने यो कुरा उनीहरूको समझभन्दा पर हुन्छ। त्यसैले यस्ता तत्त्वबोधी विचारलाई बुर्जुवा बुद्धिविलास भनेर पानीखेदो गर्ने गर्छन्। जे घोकिएको, घोकाइएको छ, त्यही मान्छन्। असहमति, विरोध, प्रतिविचार, शास्त्रार्थ, वाद–प्रतिवादलाई उनीहरू बुर्जुवाहरूको मनोविनोद, सर्वहारालाई अलमल्याउने चाल ठान्छन्।

वर्तमान विश्वमा यस प्रकारका प्राणीहरू झन्डै–झन्डै लोप भइसकेका छन्। यस प्रकारका प्राणी इसाको अठारौं शताब्दीको युरोपमा पहिलोचोटी देखापरेका र बीसौं शताब्दीको अन्तिम दशकसम्म तिनको संख्या निरन्तर वृद्धि भइरहेको देखिएको थियो। वृद्धि हुनाका कारण थिए र ती कारणहरू आर्थिक थिए। विज्ञानले गरेका एकपछि अर्को चमत्कारका कारण, त्यसबखतको युरोपमा, उत्पादनका क्षेत्रमा वाष्पचालित यन्त्रको प्रवेश भएको थियो। पुँजी अरू क्षेत्रबाट यन्त्रचालित उद्योगहरूमा केन्द्रित हुनथाल्यो। फलस्वरूप, परम्परागत व्यवसाय तथा हस्तचालित घरेलु उत्पादनका क्षेत्रबाट धेरैजसो मानिस औद्योगिक केन्द्रतर्फ स्थानान्तरित हुन बाध्य र आकर्षित दुबै भए। त्यो काल बेलालाई औद्योगिक क्रान्तिको युग भनिएको छ।

औद्योगिक क्रान्तिसँगै उत्पादनको प्रवृत्ति र शैली बदलियो। मानिस रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरमा थुप्रिने क्रममा तीव्रता आयो एकतिर भने अर्कातिर कामदारको बढ्दो मागका चल्ते सस्तो अथवा सित्तै श्रमशोषण गर्न ग्रामीण क्षेत्रका निमुखा समुदाय र युरोपीय उपनिवेशहरूबाट बलपूर्वक दासका रूपमा ल्याइएकालाई विभिन्न उद्योगमा श्रमिकका रूपमा राखियो। त्यो काल बेलामा वास्तवमा विगतका सबै अवधारणा र कथ्यहरू विस्थापित र नयाँ मानकहरू स्थापित हुँदै थिए। वाष्प इञ्जिनको आविष्कारका कारण एकातिर उद्योगमा क्रान्ति र अर्कातिर यातायातमा नयाँ प्रविधि भित्रिँदै थियो। उन्नाइसौं शताब्दीमा त झन् घोडागाडीलाई लिकमा तानेर गुड्ने वाष्पचालित रेलगाडीले विस्थापित गर्दै थियो। पानीजहाजमा इञ्जिन जडान गरिँदै थियो।

नयाँ प्रविधिका कारण उत्पादन र यातायातमा युगान्तकारी बदलाव आइरहँदा पनि ठूलो मानव समूह भने यस लाभबाट बञ्चित थियो। जबकि यसै समूहको श्रमका बलमा युगको यन्त्र चलिरहेको थियो। उत्पादन र उत्पादित वस्तुको बिक्रीका कारण पुँजीको आकार बढिरहेको तर त्यो पुँजी सीमित व्यक्तिमा केन्द्रित र तिनैमाझ आदान–प्रदान भइरहेको थियो। अंगणित मजदुरहरूको श्रमको चरम शोषण भइरहेको, तिनलाई मानवोचित व्यवहार त परै, जीवन धान्न नै मुस्किल परिरहेको तैपनि तिनीहरू कहिल्यै उन्मुक्ति प्राप्त नहुने शोषण चक्रमा पिसिइरहेका थिए।

एकातिर दुर्दान्त शोषण चलिरहेको तर साथसाथै युरोपको त्यो र त्योभन्दा पूर्वको समय विज्ञानका क्षेत्रमा चामत्कारिक आविष्कार र जीवनका यावत पक्षमा बौद्धिक चेतका हिसाबले लोभलाग्दो थियो। जिन ज्याँ रूसोको सामाजिक करारको सिद्धान्त (सोसल कन्ट्राक्ट थियरी), इम्मानुयल कान्टको सार्वजनीन चेतना, फ्रेड्रिक हेगेलको उदारचेता वैचारिक मानवको परिकल्पना र तिनै हेगेलका चेला कार्लमाक्र्सको शोषणमुक्त समाजको आधारशिला राख्ने चिन्तन त्यस युगका उदात्त प्रतिनिधि विचारहरू थिए। रूसो फ्रान्सिसी क्रान्तिका उत्प्रेरकका रूपमा चिनिन्छन् भने माक्र्ससँगै इतिहासलाई हेर्ने एउटा नयाँ दृष्टिकोण जन्मिएको थियो।

रूसोले स्वतन्त्रता तथा माक्र्सले समानताको आन्दोलनको शिलान्यास गरेको मान्नैपर्छ। रूसो र माक्र्स वास्तवमा एकअर्का विरुद्ध रोजिने पात्र होइनन्, परिपुरक हुन्। तर स्वघोषित माक्र्सका अनुयायीहरूले रूसोलाई छाडे, जहाँ–जहाँ आफूलाई चाहियो, त्यहाँ–त्यहाँ माक्र्सलाई बोके। माक्र्स बोक्दा, हेगेललाई छाडे, कान्ट त तिनीहरू चिन्दै चिन्दैनथे। तिनीहरू नै प्रकारान्तरमा कम्युनिस्टका रूपमा चिनिए। माक्र्सका चिन्तनका आधारमा पछि आएर भ्लादिमिर लेनिनले रूसमा तथा माओ–जे–दुङले चीनमा प्रयोग गरे, तर एकांगी। उनीहरूले रूसो लगायतका स्वतन्त्रता पक्षधर विचारक र चिन्तकहरूलाई एक प्रकारले बहिष्कारै गरे। मूलभूत अन्तरविरोध यहींबाट प्रारम्भ भयो। किनभने स्वतन्त्रताप्रति वैरभाव राखेर समानताको लक्ष्य प्राप्ति सम्भव थिएन र भएन। तिनै लेनिन र माओको कोरा नक्कलका रूपमा भारतमा कम्युनिस्ट विचारलाई पछ्याउने समूहहरू देखिए। तिनको नक्कल र तिनैले हिन्दीमा अनुवाद गरेका किताब पढेर नेपालमा कम्युनिस्ट कथा वाचन प्रारम्भ गरियो। यो कथाका नेपाली वाचकहरूमा, मदककुमार भण्डारीलाई अपवाद मान्ने हो भने पदार्थवादी विचार प्रक्रियामै पनि मौलिक र उपल्लो चेत कहिल्यै देखिएन। किनभने यिनीहरूले माक्र्सले उसबेला तात्कालिक वर्गचरित्र अनुसार ठम्याएको वर्ग संघर्षका उपकरणहरू, वर्गचरित्र नै नितान्त भिन्न भएको नेपालमा हुबहु उतार्न खोजे। अर्कातिर तिनै मध्येको एउटा समूहले, लेनिनले नितान्त भिन्न सन्दर्भमा भनेको जातीय स्वायत्ततालाई नेपालजस्तो अन्तरजातीय अन्तरक्रियाद्वारा निर्मित घुलनशील समाजमा जातीय संघर्षका रूपमा प्रयोग गर्न खोज्यो। मैले माथि इंगित गरेका कम्युनिस्ट यिनै दुईथरी हुन्।

वर्ग संघर्षवाला धार बोकेको पक्ष, २०४६ साल अर्थात् सन् १९९० मा आएर लोकतान्त्रिक आन्दोलनमा समावेश भयो र क्रमिक रूपमा लोकतन्त्रको मूलप्रवाहमा मिसियो। त्यही समूह वर्तमान एमाले हो। यसले आफ्नो आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै गयो र यस्तो प्रतीत भइरहेको थियो कि यो नै नेपाली कांग्रेसकै हाराहारी नेपालको लोकतान्त्रिक मूलधार हो। तर पछिल्लो प्रकरणले उसको वर्ग संघर्षीय युटोपिया अझै जीवितै रहेको दृष्टिगोचर हुनपुगेको छ।

धेरै नेपालीका मनबाट एमालेको पुरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) हो भन्ने झन्डै विस्मृत भइसकेको थियो। धेरैले बिर्सिसकेका थिए, यो पनि एउटा कम्युनिस्ट पार्टी हो। माथि भनिएझैं, यसलाई नेपाली कांग्रेसको सशक्त विकल्पका रूपमा हेरिँदै थियो। लोकतन्त्रको मियो, एउटा लोकतान्त्रिक पार्टीका रूपमा स्वीकार्ने क्रम तीव्र थियो। तर पछिल्ला घटनाक्रमले, विशेष गरेर माओवादी केन्द्रसँग तालमेल र एकताको उद्घोष गरिरहँदा दुबैका भावभंगिमाका कारण, जसको नामैमा कम्युनिस्ट छ, त्यसमाथि यो माक्र्सवादी र लेनिनवादी एकैसाथ दुबै हो, यसलाई कम्युनिस्ट रहेन, लोकतान्त्रिक भइसक्यो भन्न हतारिनु हुँदैन भन्ने सन्देश दिएको छ।

प्रकाशित : कार्तिक ३, २०७४ ०८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT