कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कुर्कुच्चामा पीडा

अतुल मिश्र

काठमाडौं — अचेलका पहिलेका झैँ माटो, बालुवा, घाँस भएका सडक हुन छाडे । त्यस्ता नरम सडकको ठाउँ अलकत्रा, ढुंगा, कंक्रिट भएका सडकले लिए । त्यस्तै सतहमा निरन्तर हिँड्नुपर्ने अवस्थामा हामी बाँचिरहेका छौँ ।

कुर्कुच्चामा पीडा

 

परिवर्तित सडक र सतहको अवस्थाले हाम्रो कुर्कुच्चालाई प्रभावित गर्न थालेको छ । त्यसमा पनि अनुपयुक्त, अवैज्ञानिक जुत्ताचप्पल र फेसनको नाउमा हाई हिल आदिको प्रयोगले धेरै मानिसलाई कुर्कुच्चा दुख्ने समस्याले सताउन थालेको छ । हाम्रो समाजका धेरैजसो व्यक्ति यस्तो शारीरिक समस्या (प्लान्टर फेसियाइटिस) बाट आक्रान्त हुन थालेका छन् ।

यो रोगबारे हाम्रो मुलुकमा कुनै खास अध्ययन भएको छैन । तर हाडजोर्नीसम्बन्धी समस्या लिएर चिकित्सक कहाँ पुग्नेहरूमध्ये करिव १५ प्रतिशतमा प्लान्टर फेसियाइटिस अर्थात् कुर्कुच्चा दुख्ने समस्या हुने गरेको छ । यस्ता समस्या भएकाहरू युवा र मध्य आयु अर्थात् ३०–५० वर्ष उमेर समूहका बढी रहेको हाडजोर्नी तथा खेलकुद र जोर्नी प्रतिस्थापन शल्यचिकित्सक डा. चक्रराज पाण्डेको अनुमान छ ।

‘कुर्कुच्चा दुखाइलाई समस्या हाम्रो समाजमा अत्यन्त सामान्य रूपमा लिने गरिएको छ,’ डा. पाण्डे भन्छन्, ‘महिला, दिनहुँ धेरैबेर उभिनुपर्ने व्यक्ति, हिल भएको वा कडा सोल भएका जुत्ता/चप्पल लगाउनेहरूलाई यो समस्या बढी हुने गरेको छ ।’

बिहान उठेर केही पाइला हिँड्दैमा कुर्कुच्चामा तीव्र दुखाइको अनुभूति भए यो प्लान्टर फेसियाइटिसको लक्षण हुन सक्छ । यो तीव्र दुखाइले गर्दा पीडितहरू खुट्टा भुइँमा राख्न सक्दैनन् । 

उसो त थाइराइडको उपयुक्त उपचार नपाएका, हाडको घनत्व (बोन डेन्सिटी) कम भएकाहरूमा समेत यो समस्या भेटिएको छ । पैतालामा बोसोको मात्रा कम हुँदै गए पनि यो समस्याले दु:ख दिन थाल्छ । 

प्लान्टर फेसिया खुट्टाको तल अर्थात् कुर्कुच्चामा बाक्लो तन्तु भएको खण्ड हो । यसले कुर्कुच्चाको हाडलाई खुट्टाका औँला सग जोड्छ र खुट्टाको चाप (आर्क) बनाउँछ । यो एक प्रकारले हाम्रो शरीरको तौललाई सहन गर्नसमेत सहयोगी हुन्छ । 

‘जब यो तन्तु सुन्निन्छ तब यसलाई प्लान्टर फेसियाइटिस भनिन्छ,’ डा. पाण्डे भन्छन्, ‘यो सुन्नाइ त्यतिखेर हुन्छ, जब कुर्कुच्चामा भएको तन्तुको वाक्लो तह (फेसिया) धेरै बढी तन्किन्छ ।’ यस्तो हुँदा निकै दुख्छ, हिँड्नै नसकिने हुन्छ ।

दीर्घकालीन प्लान्टर फेसियाइटिसले गर्दा कुर्कुच्चाको हाडको प्लान्टर फेसिया जोडिने ठाउँमा हाडको निर्माण हुन्छ । यसलाई हिल स्पर सिन्ड्रोमसमेत भनिन्छ । 

अमेरिकन कलेज अफ फुट एन्ड एंकल सर्जन्सका अनुसार, प्लान्टर फेसियाइटिस खेलका लागि डिजाइन नगरिएका जुत्ता लगाउँदा पनि हुन सक्छ । खुट्टाको दोषपूर्ण सरचनासमेत प्लान्टर फेसियाइटिसको समस्या हुने सामान्य कारण हुन सक्छ । यति मात्र नभई, तनाव हुनु, हाड भाँच्चिनु, तन्त्रिकामा चोट लाग्नु जस्ता कारणबाट पनि यो समस्या निम्तिन सक्छ । 

डा. पाण्डेका अनुसार कुर्कुच्चाको दुखाइ सामान्य उपायले नगए हाडजोर्नी विशेषज्ञसँग सल्लाह लिएर नियमित हेरचाह गर्नुपर्छ । चिकित्सकीय सल्लाहमा उपयुक्त हिल प्याड लगाउने गर्दा पनि फाइदा पुग्छ । यो समस्या हटाउन कहिलेकाहीं शल्यक्रियाको समेत आवश्यकता पर्न सक्छ ।

यो समस्या आफैं नियन्त्रित हुन पनि सक्छ र निको हुन ६ महिनादेखि डेढ वर्षसम्म लाग्न 

पनि सक्छ । 

टार्सन टनेल अर्थात् पैतालामा जाने नसाको बाटो साँघुरो हुँदा पनि प्लान्टर फेसियाइटिससँग मिल्दोजुल्दो लक्षण देखिन्छ, पैताला झमझाउने र दुख्ने हुन्छ ।

बालुवामा हिँड्दा पैतालाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउँछ । मधेस वा पहाडका नदीको बगरमा नांगा खुट्टा आधा घण्टासम्म हिँड्ने गरे यो समस्याबाट चाँडै मुक्ति पाउन सकिन्छ । 

स्ट्रेचिङ व्यायाम उपयोगी

कुर्कुच्चा दुख्ने समस्याबाट पीडितहरूका लागि पैताला तन्काउने (स्ट्रेचिङ) व्यायाम फाइदाजनक हुन्छ । तर यो व्यायाम विशेषज्ञको सल्लाह लिएर मात्रै गर्नुपर्छ । प्रारम्भिक सुन्नाइ कम नहुन्जेल खुट्टामा पर्ने दबाबलाई यो व्यायामले रोक्न सघाउँछ । 

तातो पानीले सेक्नु हुन्न

यो समस्या भएकाहरूले सामान्यत: तातो पानीले पैताला सेक्नु हन्न, बरफले सेक्नुपर्छ । तातोले सुन्नाइ बढाउँछ, चिसोले भने घटाउँछ । तर मधुमेह भएकाहरूले बढी बरफको उपयोग गर्नु हुन्न । 

तेल मालिस राम्रो

सुत्ने बेला पैतालामा गरिने तेल मालिसले यो समस्याबाट उन्मुक्ति दिन्छ । हल्का हातले बिस्तारै पैताला मिच्दै मालिस गर्दा फाइदा पुग्छ । 

गहनामा हैन, जुत्तामा लगानी गरौँ

जन्मदेखि मरणसम्म नभई नहुने र अत्यावश्यक प्रक्रिया हो– हिँडाइ । यो प्रक्रियामा तपाईंले हिँडने सतह र लगाउने जुत्ता–चप्पलले प्रभाव पारिरहेका हुन्छन् । कुर्कुच्चको पीडा मात्रै नभई खुट्टासम्बन्धी थुप्रै समस्या र जटिलताका लागि तपाईंले लगाउने अनुपयुक्त र अवैज्ञानिक जुत्ता–चप्पलसमेत जिम्मेवार हुन्छन् । 

उपयुक्त र वैज्ञानिक जुत्ता–चप्पल उपयोग गरेर प्लान्टर फेसियाइटिसजस्ता खुट्टासम्बन्धी थुप्रै समस्याबाट बच्न सकिने औंल्याउँदै डा. पाण्डे भन्छन्, ‘गरगहना र लुगाफाटामा मात्र हैन स्वस्थ रहन जुत्ता–चप्पलमा पनि लगानी गर्नुस् ।’ जुत्ता–चप्पल हेर्नमा हमात्र हैन, लगाउनमा समेत राम्रो, अनुकूल हुनुपर्छ । हाल वाकिङ अन एयर प्रविधि अन्तर्गत बनेका, पैतालामा बढी भार नपर्ने खालका जुत्ता–चप्पलसमेत पाइन्छन् । शरीरको भार पैतालामा नभई खुट्टाको बीचभागमा लिने जुत्ता–चप्पल लगाउनु उपयुक्त हुने डा. पाण्डे सुझाउँछन् । 

तलुवा नरम भएको, खुट्टालाई न बढी खुकुलो न बढी टाइट हुने जुत्ता उपयोग गर्नुपर्छ । यस्तै, निश्चित समयमा जुत्ता–चप्पललाई फेर्दै गर्नुपर्छ ।

 

लक्षण

  • कुर्कुच्चाको तल्लो खण्डमा दुख्नु

  • खुट्टातल पोल्नु र दुख्नु 

  • खुट्टा हल्का सुन्निनु वा रातो हुनु 

  • पैतालामा कडापन हुनु

  • पैतालाको पीडा कुर्कुच्चाभन्दा बाहिर निस्किरहेको अनुभव हुनु

 

किन दुख्छ ?

  • खुट्टामा दबाब बढी हुँदा 

  • लामो दूरीसम्म ओरालो झर्दा

  • उबडखाबड सतहमा दौडिँदा 

  • अचानक शरीरको तौल बढ्दा 

  • पिँडौलाको जोर्नी निर्माणमा भाग लिने बलियो नशा कडा हुँदा

  • पैताला र खुट्टाको आकार–प्रकारसँग मिल्दो जुत्ता नलगाउँदा

  • दिनहु घण्टौँ उभिनुपर्दा 

  • हाई हिल लगाउने व्यक्तिले एक्कासि हिल नभएको जुत्ता लगाउन थाल्दा

 

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?