बढ्दो मस्तिष्काघात

अतुल मिश्र

काठमाडौं — जाडो बढ्ने क्रमसँगै मस्तिष्काघात (ब्रेन स्ट्रोक) को समस्यामा समेत वृद्घि भएको छ । वर्षेनी जाडो याममा मस्तिष्का– घात/पक्षाघात/ लकवा बढ्ने गरेको छ । यो शारीरिक समस्या जाडो याममा करिब २० प्रतिशतसम्म बढ्ने गरेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्त बताउँछन् ।

जाडो याममा चिसोले गर्दा रगतको नसा खुम्चिन्छ । रगतको नसामा अवरोध आउने सम्भावना बढ्छ । यस्तै, यो मौसममा रगत बाक्लो हुने गरेकोले समेत स्ट्रोकले पीडितहरूको संख्या बढ्ने गरेको छ । जाडो याममा रगतमा भएको प्लेटलेट्स आपसमा टाँसिने भएर अवरोधको सम्भावना बढ्ने गरेको हो ।

जुन व्यक्तिको मस्तिष्कको बायाँ भाग (हेमिस्फियर) मा समस्या देखिन्छ, उनीहरूको दायाँ अंगले काम गर्न छोड्छ । यस्तै, मस्तिष्कको दायाँ हेमिस्फेयरमा समस्या हुँदा बायाँ अंगले काम गर्न छोड्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा ब्रेन अटयाकबाट मृत्यु हुने दोस्रो र अपंगता हुने तेस्रो प्रमुख कारण हो । विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोकसम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।

अध्ययनहरूका अनुसार गत चार दशकयता स्ट्रोक निम्न र मध्यम आय भएका मुलुकमा दोब्बरभन्दा बढी रहेको छ भने चार दशकमै उच्च आय भएका मुलुकमा स्ट्रोक हुने घटना ४२ प्रतिशतले कम भएको छ ।सामान्यत: स्ट्रोकले शरीरको एक भागलाई प्रभावित गर्छ । उमेर बढ्नुका साथै स्ट्रोकको जोखिम बढ्छ तर अस्वस्थकर जीवनशैली र खानपान, व्यायामको कमी आदिले गर्दा यो समस्या युवालाई पनि भइरहेको छ ।

हार्ट अटयाक र ब्रेन अटयाक मुटु र मस्तिष्कका लागि एउटै किसिमको प्रक्रिया भए पनि समाजमा मस्तिष्काघातलाई त्यति गम्भीरताका साथ नलिने गरिएको डा. पन्त औंल्याउँछन् । हृदयाघातमा व्यक्ति मर्ने वा बाँच्ने भए पनि मस्तिष्काघातमा व्यक्तिविशेष बाँचे पनि धेरैजसो विकलांगताको समस्याले ग्रस्त हुन्छन् ।

प्रमुख लक्षण
  • मुख बाङ्गिनु
  • एक्कासि एउटा हात लुलो हुनु
  • बोली लरबराउनु वा स्वरै गुम्नु
  • दृष्टिमा अचानक समस्या उब्जिनु
  • एक्कासि कुरा बुझ्न अप्ठयारो हुनु
किन हुन्छ ?
  • रक्तचाप बढ्नाले
  • मुटु रोग हुनाले
  • मधुमेह देखिनाले
  • व्यायामको अभाव हुनाले
  • धूमपान/तमाखु सेवन गर्नाले
  • मोटापन हुनाले
  • बढी कोलेस्ट्रोल हुनाले
  • बढी मद्यपान गर्नाले

के हो स्ट्रोक ?
हाम्रो मुटुदेखि मस्तिष्कमा विभिन्न रक्तनलीका माध्यमले निरन्तर रगतको आपूर्ति भइरहन्छ । यसले गर्दा मस्तिष्कका लाखौं कोषिकाको आवश्यकता पूर्ति हुन्छ । मस्तिष्कसम्म रगत पुर्‍याउन अवरोध उत्पन्न हुँदा ब्रेन अटयाक हुन्छ ।

रक्तनलीमा रगत जमेर अवरोध वा रक्तनली फुटेर मस्तिष्कमा अक्सिजन र पोषणको कमीले गर्दा मस्तिष्कको केही कोषको एक्कासि मृत्यु हुनु नै ब्रेन अटयाक हो । ब्रेन अटयाक हँुदा एक मिनेटमा २० लाखसम्म मस्तिष्कका कोष मर्न थाल्ने डा. पन्त बताउँछन् ।

तीन किसिमका स्ट्रोक
स्ट्रोक मुख्यत: इस्किमिक, हेमोरेजिक र ट्रान्सिएन्ट इस्किमिक अटयाक गरी तीन प्रकारका हुन्छन् । इस्किमिक स्ट्रोकमा मस्तिस्कमा रगत जाने नसामा अवरोध उत्पन्न भएर रगत जान पाउँदैन । यसले गर्दा रगत जम्ने गर्छ । तर नेपालमा यस्तो अवस्थाको स्ट्रोक भएर चिकित्सककहाँ पुग्ने करिब ४० प्रतिशत रहेको डा. पन्तको आकलन छ ।

हेमोरेजिक स्ट्रोकमा भने मस्तिष्कको रगतको नली फुटेर रगत चुहिन थाल्छ । यसले मस्तिष्कको कोषिकामा धेरै दबाब पर्छ । मुलुकमा स्ट्रोकको उपचारका लागि आउने करिब ६० प्रतिशत केस यस्तै प्रकृतिका हुने गरेको अनुमान डा. पन्तको छ ।

ट्रान्सिएन्ट इस्किमिक अटयाकलाई मिनी स्ट्रोकसमेत भनिन्छ । करिब एकतिहाइ बिरामीलाई ठूलो स्ट्रोक हुनुभन्दा अघि हल्का स्ट्रोक हुन सक्छ । यो समस्या अस्थायी हुन्छ । यो समस्या रगतको सञ्चारमा अल्पकालीन अवरोधले गर्दा हुन्छ । यो सानो स्ट्रोक आएपछि भविष्यमा हुन सक्ने ठूलो स्ट्रोकप्रति सचेत हुनुपर्छ ।

‘हल्का स्ट्रोक आउनुलाई संकेतको रूपमा लिएर तुरुन्त स्नायु चिकित्सकसँग उपचार गराउनुपर्छ,’ डा. पन्त भन्छन्, ‘यो स्ट्रोक एमआरआई, सिटी स्क्यान गर्दासमेत नदेखिन सक्छ ।’

छिटो उपचारले सफलता
स्ट्रोक भएपछि चिकित्सककहाँ जति ढिलो लगिन्छ, त्यति नै समस्या बढ्छ । स्ट्रोक भएको तीन घण्टाभित्रको समयलाई ‘गोल्डेन पिरियड’ भनिन्छ । जमेको रगतलाई समयमै उपचार प्रक्रियाद्वारा हटाउन सकिन्छ । यस्ता बिरामीलाई जमेको रगतको गलाउने (टिस्यु प्लाज्मिनोजेन एक्टिभेटर) सुई दिएर कोषिकाको रक्तआपूर्ति बहाल गरिन्छ । तर यो स्ट्रोक भएको साढे तीन घण्टाभित्र दिइसक्नुपर्छ ।

धेरै बढी संख्यामा रक्तकोषिका अवरुद्घ भएकाहरूलाई न्युरो इन्टरभेन्सन प्रविधिद्वारा जमेको रगतलाई निकालिन्छ । उपचारमा ढिलाइले गर्दा मस्तिष्कमा भएको न्युरोन समाप्त हुन्छ । वयस्क
व्यक्ति न्युरोन पुन: उमार्न नसक्ने भएकोले सधैंका लागि विकलांगताको सिकार हुन्छन् ।

atulmishra7@gmail.com

प्रकाशित : कार्तिक १८, २०७४ ०८:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘कविहरू अलिक सनकी हुन्छन्’

कान्तिपुर संवाददाता

काठमाडौं — विशेषत: लामा कविता लेखेर र कवितामा प्रयोग गर्न रुचाएर अलग पहिचान बनाएकी कवि तोया गुरुङको स्वभाव एकदमैं एकान्तिक र अन्तर्मुखी छ । मीनभवनभित्रको निवासबाट फलफूल वा तरकारी किन्न मात्रै बाहिर निस्कने तोया अक्सर घरभित्रै अध्ययन–मनन अथवा लेखनमै हराइरहन्छिन् ।

उपकुलपति मोहन कोइरालाको कार्यकाल (२०५६) मा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ बनेकी तोयाका ‘देवल घुमेपछि’, ‘धुपी’, ‘सूर्यदह’, ‘पुनरावती’, ‘तोया गुरुङका लामा कविता’ लगायतका कविता–कृति प्रकाशित छन् । तोयाको हालै ‘अस्पृश्य’ (संस्मरण) कृति आएको छ जहाँ जीवन–जगत्का अमूर्तजस्तै, अदृश्यजस्तै र दुर्लभ लाग्ने भोगाइहरूलाई उनले लेखेकी छन् । ७० वर्षीया तोयाको ‘अस्पृश्य’ जीवन–जगत्का बारे गरिएको कुराकानी :

पद्यबाट एकैचोटि गद्यतिर लाग्नुभएको देखियो, यस्तो अवस्था किन आइपर्‍यो ?
यस्तो आकस्मिक र बाध्यकारी अवस्था आएरै संस्मरण लेखेकी होइन । फेरि मैले यसलाई ‘अवधि संस्मरण’ भनेकी छु । मसँग स्कुले विद्यार्थी छँदै डायरी लेख्ने बानी थियो, नियमित होइन तर कुनै विषय वा घटनाले छोएका बेला । ‘इन्ट्यान्जिवल’ अर्थमा महसुस गर्न सकिने तर नदेखिने (अदृश्य), कतिपय अर्थमा अमूर्तजस्तै भोगाइहरूको सिलसिलालाई ‘अस्पृश्य’ मा समेटेकी छु । 

पुस्तक लेखन र प्रकाशनको भीडमा नयाँ पुस्ताको आगमन बढ्दो छ । तपाईंको संस्मरण कृति कति सहजै र कति समयमा छापिएको हो ?
खोइ, यसरी नयाँ र पुरानो भनेर तुलना गर्न म सक्तिनँ । तर, रत्न पुस्तक भण्डारमा पाण्डुलिपि बुझाएको ६ वर्षपछि छापिएको हो । अरू असहज अथवा कठिनाइको अनुभव त्यति छैन । म कतै आग्रह वा पूर्वाग्रह राखेर बस्ने लेखक होइन । एक्लै, एकान्तमा बसेर साधना गरिरहने स्वभाव मसँग छ । कविता लेखनपछि अलग धारमा उभिएर र आफूलाई पनि चित्त बुझ्ने गरी संस्मरण ‘अस्पृश्य’ लेखेकी हुँ, पाठक प्रतिक्रिया पाउन बाँकी छ । 

‘अस्पृश्य’ पुस्तकका विभिन्न सन्दर्भमा मुलुकको राजनीतिक परिदृश्य र परिवर्तनमा असन्तुष्टि जनाएको भान पर्छ नि ? 
होइन, यसरी असन्तुष्टि अथवा विरोध जनाउन खोजेको होइन । एउटै खट्केको कुरा के हो भने हरेक मुलुकमा, हरेक व्यवस्थामा परिवर्तन वा हेरफेरको कुरा गर्दा जनताको स्पष्ट राय (जनमतसंग्रह) लिने गरिन्छ । तर, हामीकहाँ भने ३/४ जना नेताहरू नै मुलुकको, सम्पूर्ण जनताको ‘निर्णायक’ झैं देखिने गरेका छन् । राजतन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि हामी साधारण जनताको राय/अभिमत कहाँ छ (?) भनेर सन्दर्भ परेका बेला सरोकार उठाएकी मात्रै हुँ । ‘अस्पृश्य’ मेरो आफ्नोभन्दा पनि मैले भोगेको पछिल्लो समय र समाजको बायोग्राफी हो । यो संस्मरणमा सन्दर्भ र स्थान हेरेर आफ्ना पछिल्ला ३६ वटा नयाँ कवितालाई पनि समेटेकी छु ।


 
तपाईं आफूलाई एकान्तिक भन्न रुचाउनुहुन्छ । एकान्तमा बसेर पढ्ने रोज्जा सामग्री के हुने गरेका छन् ? 
एकान्त भनेर कुनै भिन्न विरक्ति वा आसक्तिका खुराक पढ्ने होइन । म अंग्रेजी, हिन्दी वा नेपाली कविताहरू असाध्यै पढ्छु । पछिल्लो कुरा गर्नुहुन्छ भने अरुन्धती रोयको ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ भर्खरै पढिसकें, रामचन्द्र गुहाको ‘इन्डिया आफ्टर गान्धी’ पढ्दै छु । अरुन्धतीकै ‘वाकिङ विथ द कमरेड्स’ मा एउटी लेखिकाले जंगलमै गएर माओवादी लडाकु भेटेर लेखेको अनुभव छ, जसले जोकोही लेखकको ऊर्जा र स्रोतलाई नवीकरण गराउन सक्छ । त्यो पढिसक्दा लाग्यो— भारतमा माओवादीहरू जंगलमै छन्, हाम्रा माओवादी कहाँबाट कहाँ पुगिसके । एउटा रमाइलो अनुभव भनौं न । म अक्सर किताब किनेरै पढ्छु । आफूलाई मन परेको पुस्तक पसलमा किताब छान्न दिनभर हराउँछु, कहिले पुस्तकालयहरूमा रमाइरहन्छु । मेरो यो स्वभाव धेरैलाई थाहा छैन । अर्कातिर, नेपाली लेखकका हकमा म साहित्यकार ध्रुवचन्द्र गौतमका कृति अथवा फुटकर रचना खोजेरै पढ्छु । तर, गौतमका फिल्मी टिप्पणी वा सन्दर्भका आलेख भने पढ्न चाहन्नँ । किनभने फिल्मी दुनियाँका बारे म त्यत्तिकै जानकार छु, जति उहाँ हुनुहुन्छ । 

नेपाली पुस्तकमा अथवा लेखाइमा नयाँपन पाउन नसकेको र पुनरोक्ति रहेको धारणा तपाईं दोहोर्‍याइरहनुहुन्छ नि ? 
यसरी ‘जनरलाइज’ गर्न त मिल्दैन, तर यथार्थ यही हो । नेपालमा इतिहासका कुरा, परम्पराजनित विषयमा लेखाइ एकदमै बढी भएको छ । जीवनका कुरा एकदमै कम लेखिएका छन् भन्ने लाग्छ । यसपटक मदन पुरस्कार पाएको लेखक घनश्याम कँडेलको ‘धृतराष्ट्र’ कृतिकै कुरा गरौं न । कृतिको नाम ‘धृतराष्ट्र’ नराखेर अरू केही राखेको भए हुन्थ्यो, मलाई भने सही लागेन । महेशविक्रम शाहको ‘छापामारको छोरा’ पछि त्यही नाम, शैली र निचोडमा अरू पनि भटाभट लेखिन थाल्यो । नयाँपन केही पनि छैन । 

तपाईं आफैं प्रज्ञा प्रतिष्ठानमा बसेर प्रज्ञा र प्राज्ञका बारेमा भिन्न तहमा बोध गर्नुभयो । अहिले भने प्रज्ञा प्रतिष्ठानले के काम गरिरहेजस्तो लाग्छ ? 
एउटा यथार्थ के हो भने प्रज्ञा प्रतिष्ठानजस्तो प्राज्ञिक निकायमा बस्ने हो भने तन–मन–धनको त्याग गर्नैपर्ने हुन्छ । अहिले पनि प्रज्ञा प्रतिष्ठानमा काम भइरहेकै हुनुपर्छ, धेरै थाहा छैन अथवा देखिएको छैन । प्रतिष्ठानमा अहिले बढी ‘प्रशासन’ हावी भएजस्तो लाग्छ, प्रज्ञाभन्दा बढी । प्रतिष्ठानमा कवि/लेखक आउन–जान समय लिने अथवा ‘अपोइन्टमेन्ट’ लिने पद्धति ठीक होइनजस्तो लाग्छ । प्रतिष्ठान त हार्दिक हुनुपर्छ, त्यहाँ सधैं स्वागतयोग्य माहोल हुनुपर्छ । त्यसमाथि साधन–स्रोतको कठिनाइ रहेको स्थितिमा कला, साहित्य र संगीतका तीनवटा प्रतिष्ठान हाम्रो मुलुकमा तत्कालै आवश्यक थिएन भन्ने मलाई लाग्छ । यसकारण पनि काम नदेखिएको हुन सक्छ ।

नेपालमा कवि/लेखकको हालतलाई लिएर सहानुभूतिको स्वरमा बोल्ने गरिन्छ । ‘कविता लेखेरै के हुन्छ’ जस्तो लाग्छ तपाईंलाई ?
त्यसो होइन, लेखेरै सबथोक हुन्छ भन्ने मलाई लाग्छ । २०१९ सालमा पहिलो कविता छपाएकी एउटी सिकारु कविले नाम–काम देखाउने गरी कवितासंग्रह निकालेकी छ, खारिँदै गएर प्राज्ञिक निकायको सर्वोच्च स्थान प्रज्ञा प्रतिष्ठानमा पुगेकी छ, योभन्दा ठूलो उपलब्धि मैले के खोज्ने र ? अझ भनौं, म आफूलाई यो देशकै भाग्यमानी कवि/लेखक हुँ भन्ने ठान्छु । केही नबोलीकन र कहीं कतै केही नमागीकनै मैंले उच्च पददेखि विशिष्ट सम्मानसम्म पाएकी छु । यो सबै कविताकै कारण त हो ।
तपाईंले हाम्रो समाजमा कविलाई हेरिने सहानुभूतिको दृष्टिकोणबारे सोध्नुभयो । यो हो पनि । केहीअघि लेखक पिटर जे. कार्थकले मलाई सोध्नुभएको थियो— नेपालमा कविहरू किन पागलजस्तै हुन्छन् ? मसँग तत्काल जवाफ थिएन । सायद हरिभक्त कटुवाल वा गुमानसिंह चाम्लिङजस्ता कविको इमेजको कारण पो हो कि ? वास्तवमा कविहरू अलिक सनकी (र, लापरबाह पनि) हुन्छन् नै । 

कविता लेखेरै वा होलटाइम लेखक बनेर भएको कमाइको हिसाब राख्नुभएको छ ?
त्यसरी हिसाबै राखेकी छैन । फेरि मेरो श्रीमान्को आर्थिक भरथेग र अरू पृष्ठभूमि राम्रै भएकाले हिसाबै राख्ने अवस्था पनि आएन । तर, यहाँ आफैं लेखक, आफैं प्रकाशक बन्ने र आफैं बेहिसाब बन्ने अवस्था भने निकैतिर छ भन्ने थाहा पाएकी छु । मैले ‘तोया गुरुङका लामा कविता’ का लागि प्रज्ञा प्रतिष्ठानबाट एकपटक ३० हजार रुपैयाँ पाएकी थिएँ, त्यही टड्कारो सम्झना छ । ‘धुपी’ संग्रहको बिक्रीबाट हिमालयन बुक सेन्टरले १५ सय रुपैयाँ दिएको थियो । ‘देवल घुमेपछि’ बाट ३ हजार रुपैयाँ पाएकी थिएँ । पाएको सम्झना यत्ति हो । साझा प्रकाशनमा लेखक कृष्णचन्द्रसिंह प्रधान रहनुभएका बेला २०४२ सालमा हुनुपर्छ, उहाँको आग्रहमा मैले ‘सूर्यदह’ कवितासंग्रह ६ सय प्रति लगेर साझामा बुझाएकी थिएँ । तर, आजसम्मै न पैसा पाएकी छु, न किताब फिर्ता भएको छ । यस्तो अवस्था आइरहने रहेछ— कवि/लेखकका जीवनमा । जीवन भन्नु नै यही नमिलेको हिसाबकिताब हो रहेछ भन्ने लाग्छ । 

प्रकाशित : कार्तिक १८, २०७४ ०८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT