कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुनावले बढाउँदै ‘चिन्ते’ रोग

अतुल मिश्र

काठमाडौं — मुलुकमा भइरहेको निर्वाचन केही व्यक्तिका लागि मानसिक तनाव/चिन्ते रोग (एन्जाइटी) को कारण बनेको छ । यति मात्र नभएर उपचारपछि निको भएका तथा उपचाररतहरूमा पुन: मानसिक समस्या देखिने सम्भावना पनि विज्ञहरूले औंल्याएका छन् ।

चुनावले बढाउँदै ‘चिन्ते’ रोग

यसले मानसिक समस्याका रोगीसमेत थपिन सक्ने जोखिम देखिएको छ । विशेषज्ञका अनुसार चुनावअघि, चुनावताका मात्र नभएर चुनावको परिणामपछि समेत निर्वाचनले गर्दा तनावमा अत्यधिक वृद्घि हुने गरेको छ । 

हालको चुनावी प्रक्रियामा संलग्न थुप्रै व्यक्तिले मानसिक तनावको सामना गरिरहनुपरेको छ । उम्मेदवार, निजका आफन्त, साथी, समर्थकलगायतमा निर्वाचन चिन्ते रोगको कारण बनिरहेको वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. विद्यादेव शर्माले बताए । चुनावले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे विकसित मुलुकमा अध्ययनहरू भए पनि नेपालमा हालसम्म यस्तो अध्ययन भएको छैन । ‘अन्य मुलुकमा गरिएको अध्ययन र हाम्रो अनुभवका आधारमा भन्ने हो भने हालको निर्वाचनले मानसिक असन्तुलन बढाइरहेको छ,’ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठले भने, ‘मकहाँ समेत चुनावी तनावले गर्दा उपचारात्मक सल्लाह, सुझावका लागि नेताहरू आउने क्रम हाल बढेको छ ।’ नेता मात्र नभएर कार्यकर्तामा समेत चुनावी माहोलले तनाव बढेको जनाउँदै उनले भने, ‘कति जना त औषधिको मात्रा बढाउनका लागि समेत आउने गरेका छन् ।’ 

हाल निर्वाचनमा होमिएका उम्मेदवार, पार्टीका नेता(कार्यकर्ताले दबाब र तनावका कारण पर्याप्त निद्रा लिन पाउँदैनन् । यस्तो अवस्थामा निद्राका लागि समेत मदिराको उपयोग हुन थाल्ने देखिएको छ । एक प्रमुख दलका नेताले कान्तिपुरसँग कुरा गर्दै चुनावी तनावलाई कम गर्न र निद्राका लागि राति सुत्ने बेलामा मदिरा सेवन गर्नुपर्ने अवस्था रहेको स्वीकार गरे । ‘एकाबिहानैदेखि तारन्तार फोन आउने, सबैका कुरा सुन्नुपर्ने, जितका लागि रणनीति बनाउनुपर्ने र मथिंगल खियानुपर्ने बाध्यता छ । न खाने टुंगो छ, न सुत्ने,’ उनले भने, ‘राति १२/१ बजेसम्म फुर्सदै हुँदैन ।’ उनले थपे, ‘म मात्र होइन, हाल सबैजसो दलका नेताकार्यकर्ताको दिनचर्या यस्तै छ ।’ 

विज्ञका अनुसार दिनहँु मदिरा सेवनले तनाव र डिप्रेसनको सम्भावना बढाउँछ । मदिरा सेवन गर्दाताका मानसिक रोगको औषधिले समेत काम गर्दैन । ‘निर्वाचनमा प्रत्यक्ष रूपमा सरिक भएकामा न्यूनतम ६ घण्टाको निद्रा नपुग्नु र मदिरा सेवन बढ्नुले थप मानसिक समस्या निम्त्याइरहेको छ,’ डा.शर्माले भने । उनका अनुसार चुनावी युद्घमा जितको सपना बोकेका उम्मेदवार र उनका समर्थकको उच्च आकांक्षासँगै तनावपूर्ण दिनचर्याले शारीरिक मात्र नभएर मानसिक प्रणालीसमेत गडबड हुने गरेको छ । 

विशेषज्ञका अनुसार तनावको प्रभाव व्यक्ति विशेषमा फरकफरक देखिन्छ । कोही सामान्य दबाबमा समेत धेरै तनाव लिने हुन्छन् । चुनावले गर्दा मानसिक तनाव बढ्ने गरेको अवस्थामा यसको सामना गर्न नसक्दा यसले रोगको स्वरूप लिन सक्ने औंल्याउँदै डा. श्रेष्ठ भन्छन्, ‘तनावको सामना गर्ने क्षमता हरेक व्यक्तिमा फरक(फरक हुन्छ, कोही सानो कुराले पनि विचलित हुन्छन् भने कसैले जस्तोसुकै ठूलो कुराको समेत सामना गर्छन् ।’ निर्वाचनले पार्न सक्ने नकारात्मक मानसिक प्रभाव कम गर्न विज्ञहरूले चुनावलाई सहज रूपमा एउटा स्वस्थकर खेल जस्तै लिनुपर्ने बताएका छन् । 

आफूले सक्दो प्रयास गर्ने तर जस्तोसुकै परिणामलाई सहज रूपमा स्वीकार गर्न तयार भएर यो खेलमा उत्रिनुपर्ने उनीहरूको सुझाव छ । विज्ञहरूले चुनावी अभियानमा सरिक नेतादेखि कार्यकर्तासम्मलाई सकेसम्म मदिरा सेवन नगर्न, राति न्यूनतम ६ घण्टा सुत्न, ढिलो राति गरिने गतिविधि नगर्न, राति फोन आफू नजिक नराख्न, चुनावी अभियानमा हिँड्दा पनि पानीको बोतल साथै राख्न र पर्याप्त पानी पिउन, ठीक समयमा स्वस्थ खाना/खाजा खान सुझाव दिएका छन् । बिहानबेलुका योग, ध्यान आदिले समेत मानसिक स्वास्थ्यलाई सबल बनाउने र चुनावी तनावलाई कम गर्ने विज्ञहरूको भनाइ छ । 

प्रकाशित : कार्तिक २४, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?