तपाईंको बालबालिकामा कुपोषण त छैन?

अतुल मिश्र

काठमाडौं — तपाईंको घरमा भएका पाँच वर्षमुनिका बालबालिकाले गर्ने भोजन सन्तुलित र उमेरअनुसारको छ ? तपाईं वा जोसुकैले आफ्नो उमेरअनुसार आवश्यक पर्ने खानेकुरा सेवन नगरे थुप्रै शारीरिक समस्या निम्तिन सक्छन् । कुपोषणले बालबालिकाको मानसिक विकासमा समेत असर पार्छ, मस्तिष्कको तीक्ष्णता प्रभावित हुन्छ ।

सरकारी तथ्यांकअनुसार खानपानमा असन्तुलन वा उपयुक्त आहार पुर्‍याउन नसकेर हाम्रो मुलुकमा पाँच वर्षमुनिका एकतिहाइभन्दा बढी अर्थात् ३६ प्रतिशत बालबालिकामा पुड्कोपन छ । उमेरअनुरूप उचाइ नपुगेर उनीहरूमा पुडकोपन देखिएको हो । 

२७ प्रतिशत बालबालिका उमेरको तुलनामा कम तौलका छन् । १० प्रतिशत त ख्याउटेपनको सिकार छन् । यसै साता सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा यस्तै भनिएको छ । हाम्रो मुलुकको सहरी क्षेत्रमा ३२ प्रतिशत यस्तो समस्या छ भने, ग्रामीण क्षेत्रमा ४० प्रतिशत । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा पाँच वर्षमुनिका १५ करोड ५० लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन् । यस्तै ५ करोड २० लाख बालबालिका उचाइअनुसार तौल नपुगी ख्याउटे छन् भने १ करोड ७० लाखमा कडा ख्याउटेपन देखिएको छ । 

शरीरमा मात्र नभई मस्तिष्कको विकासमा समेत असर पार्ने पोषण सामान्य रूपमा भन्ने हो भने, खाना खाने, पचाउने, चपाउने, शोषिने तथा शरीरका विभिन्न भागमा भण्डारण हुने प्रक्रिया हो । 

कुपोषण भनेको हाम्रो शरीरमा पोषक तत्त्वको आवश्यकता र हाम्रो आहाराबीचको असन्तुलन हो । अर्थात्, शरीरको वृद्घि विकास र अन्य विशेष कामका लागि हाम्रो शरीरमा भएका कोषहरूलाई चाहिने पोषक तत्त्व र शक्तिबीचको असन्तुलन नै कुपोषण हो । 

शारीरिक र मानसिक विकासका लागि शिशुदेखि वयस्क हुँदासम्मको विकासका लागि, रोगमुक्त रहनका लागि सही अनुपातमा उचित भोजनको आवश्यकता हुन्छ । सन्तुलित भोजनमा कमीले कुपोषण तथा रक्तअल्पतालाई निम्त्याउँछ । यी दुवै स्थितिमा शरीरको रोग प्रतिरोधक शक्ति कम हुन्छ, अनि रोग लाग्न सक्छ । 

यसैले हामीले गर्ने भोजन हाम्रा लागि उपयुक्त हुनुपर्छ । सामान्यत: एकैनासको खानामा हामीलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्व उचित मात्रामा हुँदैनन् । हामी सबैले सन्तुलित भोजन गर्नुपर्छ । यसअन्तर्गत कम्तीमा दिनहुँ चार खाद्य समूह भोजनमा समावेश हुनैपर्छ ।

पहिलो हो– अन्न/कन्दमूल । यो समूहअन्तर्गत चामल, गहुँ, मकै, कोदो र फापर तथा आलु, सखरखण्ड, तरुल, पिँडालु आदि पर्छन् । दोस्रो समूहमा गेडागुडी पर्छन् । दालहरू, चना, भटमास, सिमी, केराउ, तिल, फर्सीको बिया आदि यसमा पर्छन् । तेस्रो हो भिटामिन तथा खनिजयुक्त फलफूल तथा तरकारी । यो समूहमा मेवा, पाकेको आँप, हरियो सागपात, पाकेको फर्सी, गाजर, पहेंलो सखरखण्ड, खरबुजा, कटहर, सिस्नु, कर्कलो, मूलाको साग, गोलभेडा, सुन्तला, कागती, अमला, केरा, बन्दाकोपी भान्टालगायत पर्छन् । चौथो समूह हो– पशुपक्षीजन्य खानेकुरा, जसमा दूध, दूधबाट बनेका पदार्थ, अन्डा, माछा, मासु आदि पर्छन् । 

‘हरेक बार खाना चारको सुत्र उपयोग गर्नुस्,’ बाल स्वास्थ्य महाशाखाअन्तर्गत पोषण विभागका प्रमुख एवं वरिष्ठ पोषणविद् राजकुमार पोखरेल भन्छन्, ‘तपाईंले खाना खाँदा यी चारै समूहबाट सन्तुलित रूपमा खाना उपयोग गर्नुस् ।’

हामीले चारै खाद्य समूहबाट मिलाएर सन्तुलित रूपमा दिनमा कम्तीमा चार पटक खानुपर्छ । यसअन्तर्गत बिहान, दिउँसो, साँझ र राति गरी कम्तीमा चार पटक खाना खानु उपयुक्त हुन्छ । 

किशोरावस्था आउनुभन्दा अघिसमेत पोषणयुक्त खाना बालबालिकाका लागि धेरै आवश्यक हुन्छ । जन्मदेखि ६ महिनासम्म शिशुहरूका लागि आमाको दूध मात्र उपयुक्त हुन्छ भने ६ महिनापछि दुई वर्षभन्दा बढी समयसम्म आमाको दूध सँगै बिस्तारै ठोस आहारासमेत दिनुपर्छ । ठोस आहारामा उमेरअनुसार चारै खाद्य समूहको सन्तुलित उपयोग गर्नुपर्ने पोखरेल सुझाउँछन् । 

पोषणयुक्त खाना बालबालिकाको मस्तिष्कको विकासका लागि आवश्यक छ । पाँच वर्षको उमेरसम्म बालबालिकाको मस्तिष्क र उनीहरूको ‘नर्भस सिस्टम’ तीव्र गतिले वृद्घि हुन्छ । 

करेसाबारीमा पाइने विभिन्न सागसब्जी, आलु, सखरखण्ड, पिँडालु, तरुल इत्यादि अत्यन्त पोषक तत्त्वयुक्त खाद्यपदार्थ हुन् । हामी भातलाई बढी महत्त्व दिन्छौं । तर गहुँ, फापर, जौ, कोदो आदिको दाँजोमा हरेक हिसाबले चामलको पोषकतत्त्व कम हुन्छ । अत्यन्त फाइदाजनक, उच्च पोषक तत्त्वयुक्त कोदो हाल हाम्रो गाउँघरमा खानै छोडिएको छ । 

हामीलाई गहँु, मकै, जौ अर्थात् एकै वस्तुको पीठो खाने बानी छ । तर हाल विभिन्न वर्गका पीठो (मल्टी ग्रेन) मिसाएर खाने चलन छ । यो अत्यन्त पोषक र फाइदाजनक रहेको औंल्याउँदै पोखरेल भन्छन्, ‘मकै, गहँु, कोदो, फापर, जौ, भटमास आदि मिसाएर सातु बनाएर खानुस् । यसको पौष्टिकता र फाइदाको जवाफ छैन ।’

यस्तै, खानामा कुनै पनि पशु स्रोतको खाद्यपदार्थ पोषणको हिसाबले राम्रो हो । केही नभए अण्डा त सहजै पाइन्छ । 

अचेल हाम्रो मुलुकमा पनि चाउचाउ, चिजबल लगायत फास्टफुडको प्रचलन बढी छन् । तपाईंहरू पनि खाजामा एक प्याकेट चाउचाउ बोकेर जान रुचाउनुहुन्छ । तर यस्ता जंकफुड स्वास्थ्यका लागि राम्रो मानिँदैन । यस्ता प्याकेटमा भएका खाद्यपदार्थको पोषक गुण बढी नहुने जनाउँदै पोखरेल भन्छन्, ‘परम्परागत रूपमा खाजामा खाइने चिउरा, गेडागुडी, सागपात, अण्डा आदिमा पोषक गुण धेरै बढी हुन्छ ।’ 

पोषणको मामिलामा समेत प्रकृतिले हामीलाई सबै थोक दिएको छ । हाम्रो वातावरणमा आफैं उत्पन्न हुने खाद्य पदार्थसमेत छन्, जो पोषणको कमीलाई पूरा गर्न सहयोगी हुन्छन् । यसले हामीलाई आवश्यक पर्ने सबै कुराको व्यवस्था स्थानीय रूपले नै गरेको हुन्छ । तर ज्ञान अभावमा हामीले यसबाट उच्चतम फाइदा उठाउन सकिरहेको हुँदैनौं । 

उपयुक्त पोषणको लागि सामान्य र ग्रामीण नेपालीको घरमा जे छ, बारीमा जे उब्जेको छ, त्यसलाई राम्ररी मिलाएर खाँदा नै पर्याप्त रूपमा पोषकतत्त्व पाइने पोखरेल बताउँछन् । 

मानसिक क्षमतासमेत प्रभावित

कुपोषणले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक क्षमतालाई समेत प्रभावित गर्छ । यसले गर्दा बालबालिका बुद्घिले भविष्यमा पाउन सक्ने उचाइ पाइरहेका हुँदैनन् । 

मानव मस्तिष्कको विकास मुख्य रूपमा पाँच वर्षको उमेरसम्म हुने औंल्याउँदै वरिष्ठ स्नायु शल्य चिकित्सक डा. वसन्त पन्त भन्छन्, ‘कुपोषणले गर्दा बालबालिकामा पुडकोपना मात्र नभएर मानसिक क्षमतालाई समेत जीवनभर प्रभावित हुन्छ ।’

हाम्रो मस्तिष्कको करिब ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्म हुने भएकाले यो समयमा शरीरले उचित पोषण नपाउँदा मस्तिष्कको विकासमा असर पुग्छ । शारीरिक र मानसिक विकासका लागि बाल्यकालमा चाहिने उपयुक्त पोषणको अभावले मुलुकमा पुडको र औसत मानसिक क्षमताका हुनेको संख्या ठूलो छ । 

बच्चामा कुपोषण जीवनको प्रारम्भिक समयमा मस्तिष्कको विकास र बौद्घिक क्षमतालाई प्रभावित गर्न अर्थात् रोक्न सक्छ । कुपोषणले गर्दा मस्तिष्कको विकासमा परेको असरलाई पछि जतिसुकै पोषकतत्त्व खुवाउँदासमेत जीवनभर पूरा गर्न नसकिने जनाउँदै डा. पन्त नेपालीहरू वंशानुगत रूपमा पुडको नरहेको समेत बताउँछन् ।  

      atulmishra7@gmail.com

प्रकाशित : मंसिर २, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

आलुमा छ औषधीय गुण

कान्तिपुर संवाददाता

काठमाडौं — आलुलाई तरकारीको राजा मानिन्छ । विश्वभरि तरकारीको रूपमा जति आलुको उपयोग हुने गर्छ त्यति सायदै कुनै अर्को तरकारीको हुन्छ । आलुलाई सदावहार तरकारीकै मात्र दर्जा प्राप्त छैन, यसमा विलक्षण औषधीय गुणसमेत छ ।

आलुको प्रकृति शुष्क र न्यानो हुन्छ । यसमा थुप्रै पौष्टिक तत्त्व पाइन्छन्, जो हाम्रो शरीरको लागि आवश्यक हुन्छन् । आलुमा क्याल्सियम, फलाम, भिटामिन बी र फस्फोरस धेरै मात्रामा हुन्छ । यसैले आलुलाई पूर्ण आहारा भनिन्छ ।

स्वास्थ्यका दृष्टिले आलु अति उपयोगी हुन्छ । आलु खाइरहे रक्तवाहिनीहरू धेरै उमेर सम्म लचिलो बनिरहन्छन् । यसैले भनिन्छ— आलु नियमित खाए दीर्घायु पाउन सकिन्छ ।

स्पेनका अनुसन्धानकर्ताहरूको अनुसार, आलु खाने व्यक्तिहरू रोगव्याधिसँग भिड्ने सामथ्र्य बढ्छ । आलुलाई अनाजमा पुरक आहाराको स्थान प्राप्त छ । आलु जुन किसिमको भए पनि त्यसलाई शीतल, मलरोधक,मधुर, गरिष्ठ, मलमूत्र उत्पन्न गराउने, रुक्ष र रक्तपित्त हटाउने मानिन्छ ।

आलु कफ र वायु गर्ने, बलप्रद्, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक समेत छ । अति परिश्रमका कारण निर्बल भएका रक्तपित्तले पीडित, अधिक मद्यपान गर्ने, तीव्र जठराग्नि भएकाहरूको लागि आलु अत्यन्त पोषक हुन्छ । आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्बोहाइड्रेट, ७४.७ प्रतिशत पानी, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । प्रति सय ग्राम आलुमा भिटामिन ए ४० आईयू र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार, आलुको बोक्रा ताछ्दा केही पोषक तत्वसमेत वाहिरिन्छ । आलुलाई उमाले पछि बाँकी रहेको पानीमा पनि भिटामिन हुने भएकोले त्यसलाई फयाँक्नुको सट्टा साग–तरकारी वा दालमा मिसाएर खानुपर्छ ।

आलुको नियमित प्रयोगले रोग प्रतिरोधक शक्तिमा वृद्घि हुन्छ । स्तनपान गराउने आमाले आलु खाइरहे दूधको मात्रा बढ्दै जान्छ ।

आलुका थुप्रै औषधीय प्रयोगसमेत छन् । आयुर्वेदिक प्रयोगहरूका अनुसार आखाको तल भएको कालो घेरा हटाउन आलुलाई पिँधेर आँखाको चारैतिर लगाउनुपर्छ ।

आलुमा पाइने पोटेसियम साल्टले अम्लपित्त रोक्न काम गर्छ । यसले अम्लियतालाई रोक्छ ।

मृगौलाको पत्थरी हुँदा आलुको सेवन गर्नाले थुप्रैलाभ पाइन्छ । पत्थरीका रोगीको लागि आलु सेवन लाभकारी मानिन्छ ।

कतिपय समय चोटका कारण रगत जमी नीलो हुने गरेको छ । यस्तोमा काँचो आलु पिँधेर लगाउनाले फाइदा पुग्छ ।

चर्को घाम वा लूले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी आदिमा आलुको रस लगाउँदा फाइदा पुग्छ ।

प्रकाशित : मंसिर २, २०७४ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्