बालबालिकालाई प्रविधि वरदान कि श्राप ?

डा. मेरिना श्रेष्ठ

प्रविधिलाई एकपटक धन्यवाद दिनैपर्छ होला । आफ्नी किशोरी छोरीको धेरै जिज्ञासा यसले समाधान गरिदिएको छ । ओटोमन साम्राज्यको समाप्ति होस् या जर्मन निरंकुश नाजीको विज्ञानको नाममा कुख्यात जुम्ल्याह अनुसन्धान ।

बालबालिकालाई प्रविधि वरदान कि श्राप ?

संसार प्रसिद्ध माट स्टेफिनिनीको ‘अर्वान डान्स मुभ’को चाल होस् वा एड सेरिनको ‘सेप अफ यु’को गितार कर्ड । मुखमा नै पग्लिने चकलेट लाभाको रेसिपी होस् वा शरीरलाई चुस्त पार्न विभिन्न कसरतको टेक्निक । फोटोग्राफी सम्बन्धी कोर्सिरा कोर्स होस् वा केमेस्ट्रिका फर्मुलाबारे ‘खान एकेडेमी’का फ्री कोर्स ।

यी सबै प्रविधिका माध्यम र इन्टरनेटको सहज उपलब्धिका कारण सजिलै घरमा नै बसीबसी मेरो छोरीले सजिलै सिकेको देखेर आफू दंग नपर्ने त कुरै भएन । यति हुँदाहुँदै पनि हरेक क्षण यस प्रविधिमाथि शंका गर्न भने छाडेकी छैन । एक सजक अभिभावकको हैसियत हरेक पल सजिलै उपलब्ध हुने विभिन्न किसिमका इन्टरनेट साइटसँग भने डराइरहेकी हुन्छु । यसै क्रममा सधैं देखिएको, अनुभव गरेका कुरा र यसबाट पर्नजाने नकारात्मक असर यहाँ केलाउन कोसिस गरेकी छु । इन्टरनेटले दिएको सहजतासाथै यसले निम्त्याएका जटिलतालाई पनि अलि बढी सोच्ने बेला आइसकेको छ । कतै धेरै ढिलो हुने त हैन ? तलका बुँदालाई ध्यान दिउँ ।

३ वर्षीया छोरीसँग गाडीमा पोखरा हिंँडेको परिवार : अनि आधा बाटो नपुग्दै छोरी बेस्सरी फकाउनै नसक्नेगरी रुनथाली । कारण थियो, उनले हेरिरहेको मोबाइलको ब्याट्री सिद्धिनु । यो रुवाबासी झन्डै २ घन्टा चल्यो । रमाइलो गाडीको यात्रामा श्रीमान/श्रीमतीको झगडा (कसले मोबाइल दिएको, किन मोबाइल चार्ज नगरेको इत्यादि) मा सिद्धियो । नत आमा–बाबु, न बच्चाले प्राकृतिक दृश्यको मजा लिनसके । बच्चाले प्रकृतिसँग रमाउने एउटा सुगम अवसर गुमायो ।
 

१४ महिनाको बाबु खाना नै खाँदैन : यो आजकल आमा–बुबाको मुखबाट सुनिरहने साधारण वाक्य हो । बच्चा कार्टुन नहेरी खाना नै खाँदैन । अहिले त बत्ती छ, फेरि लोडसेडिङ भयो भने के गर्ने ? के साँच्चिकै कार्टुनको कारणले बच्चाले खाना खाएको हो त ? खाना खुवाउने र खाने आमा–बुबा र बच्चाका लागि चुनौती नै भएको देखिन्छ । खाना खानु भनेको केवल खाना निल्नु होइन । खाना खाँदा हाम्रा विभिन्न इन्द्रिय जस्तै– वास्ना, स्वाद, हेराइ, छुवाइ टाठो हुन्छ र इन्द्रियहरूको समन्वयले गर्दा खाना खाँदा बेग्लै किसिमको अनुभव हुन्छ । स–साना बालबालिकाको दिमागलाई चुस्त बनाउन यस्ता विभिन्न किसिमका अनुभवले निकै ठूलो भूमिका खेलेको हुन्छ । कार्टुन/ट्याब हेरेर खाना खाँदा सबै ध्यान कार्टुन/ट्याबमा मात्र निहित हुनपुग्छ ।

यसका कारणले खाना खाँदा/खुवाउँदा गरिने अन्तरक्रिया, कथा हाल्दा बच्चाले गर्ने कल्पना अनि कलिलो दिमागको वृद्धि विकासलाई चाहिने विभिन्न किसिमका साधारण उत्तेजनाबाट बच्चा बञ्चित हुनपुग्छ । साथै खानाको स्वाद, वास्ना आदिको राम्रो ज्ञान नहुँदा बच्चाहरूमा ठूलो भएसम्म पनि खाना रुचाउन समस्या हुनसक्छ ।
स्कुले विद्यार्थीलाई मनपर्ने खेल : तिम्रो मनपर्ने खेल के हो भनी सोध्यो भने पाइने उत्तर–क्रिकेट, फुटबल आदि । आहा, कस्तो राम्रो । तर कता खेल्छौ भनी सोध्दा कोठामा/ट्याबमा र यस्ता खेल बच्चाहरू २–३ घन्टासम्म र एक्लै खेल्ने गरेको देखिन्छ । यस्ता किसिमका खेल साथै अरू अनलाइन गेमका कारण बच्चाहरूलाई आवश्यक पर्ने शारीरिक व्यायाम कम हुन जान्छ । विभिन्न किसिमका खासगरी काल्पनिक खेल खेल्दा बच्चाहरूमा उत्तेजना कम हुनुका साथै एकाग्रता र स्वनियन्त्रण अनि व्यावहारिक ज्ञान बढाउन मद्दत गर्छ ।
 

एकदम साधारण खेल जस्तै ‘टिचर–टिचर’ खेल्दाखेरि पनि बच्चाहरू बदमासी गर्न नहुने, अनुशासनमा कसरी बस्ने भन्ने उपाय आफै अपनाउन सक्छन् । यस्ता विभिन्न किसिमका खेलले सामूहिक भावना जागरण गर्न पनि मद्दत गर्छ । अहिले देखिएको एकलकाँटे स्वार्थी भावनालाई कम गर्नका लागि अदृश्य तरिकाले बालबालिकालाई समूहमा खेल्ने खेलहरूले मद्दत गरिरहेको हुन्छ ।
 

साथै बाहिर उज्यालो चौरमा उफ्रने, दौडने गर्दा शरीर चुस्त हुनुका साथै दिमाग पनि स्फुर्त हुन्छ । व्यायाम त दिमागको खाना नै भन्दा फरक नपर्ला । यस्ता किसिमका कसरतले बच्चाहरूमा डिप्रेसन तथा चिन्ता पनि कम गर्छ । प्रत्येक दिन कम्तीमा पनि १ घन्टा विभिन्न किसिमका कसरत/खेल बच्चाहरूको उच्चतम विकासका लागि अपरिहार्य हो ।
 

अर्को आजकल देखिरहने/सुनिरहने शब्द ‘पासओर्ड’ । कुनै पनि जमघटका पहिलो वाक्य नै भइसकेको छ, ‘यहाँको पासओर्ड के हो ?’ मेरो घरको जमघटमा पनि यो एकदम सुनिन्छ । ‘खै थाहा भएन वा वाइ–फाइ चल्दैन ?’ भन्यो भने बच्चाहरू भन्छन्, ‘क्या छुच्ची आन्टी’ अनि साथीहरू भन्छन्, ‘लोभी, धेरै डाटा चलाउँदिन के ।’ यस्ता छुच्ची, लोभीको संज्ञा मलाई सहर्ष स्वीकार्य छ ।
 

वस्तवमा यी मोबाइल/ट्याबलेटले गर्दा जमघटमा गफसफ नै कम हुने गर्छ । एउटा कुनामा बच्चाहरू अनि अर्को कुनामा आमा–बुबा, सबैको टाउको निहुरेको निहुरै । पसल जाँदा मोबाइलमा व्यस्त साहुजीले उत्तर नदिँंदा जसरी रिस उठ्छ, त्यस्तै उत्तर नपाउँदा सामुन्ने बस्नेलाई त्यस्तै अनुभव नभएको होइन । यस्ता प्रविधिका सरल तथा अनुचित प्रयोगले गर्दा बालबालिकामा सहानुभूति कम हुनपुग्छ ।

साथै साथीभाइ, नातेदारहरूसँग कम अन्तरक्रिया गर्नाले बच्चाहरूमा अरूको भावना बुझ्ने अथवा अनुहारको हाउभाउ हेरेर आंँकलन गर्न सक्ने क्षमतासमेत कम हुनगएको देखिएको छ । खासगरी किशोर/किशोरीको फेसबुकसँग गहिरो नाता पर्नजाँदा उनीहरूमा अरूको भावना बुझ्ने/आमने–सामने हुँदा सहन गाह्रोसमेत देखिएको छ । साथै कतिपय हिंस्रक मोबाइल गेमका कारणले गर्दा बालबालिका अरूको दु:खमा संवेदनशील नभएको देखिएको छ । भोलि, पर्सि गएर के हामी यस्तो समाज चाहन्छौं त ? यस्ता कुरा बच्चाहरूमा मात्र निहित नभएर आमाबुबा/ठूलाबडाहरूमा पनि त्यत्तिकै लागू हुन्छ ।
 

अभिभावकमा पनि असर : परिवारमा भइरहने घटनामध्ये यसलाई एउटा उदाहरणको रूपमा नै लिऔं । आमा/बुबा कुनै मोबाइलमा गेम खेलिरहँदा वा टिभीमा सिरियल हेरिरहँदा बच्चाले बोलायो वा सहयोग माग्यो भने झर्को मान्ने, गाली गर्ने र कहिलेकाहीं त कुट्नेसमेत गरेको देखिन्छ । यस्ता किसिमका व्यवहारले गर्दा परिवारको सौहार्दताको वातावरण नै खलबलिन पुग्छ र विस्तारै–विस्तारै आमाबुबाबाट बच्चाहरू टाढिँंदै जान्छन् । झन् किशोर अवस्थासम्म आइपुग्दा बच्चाहरू कोठामा नै थुनिएर बस्न खोज्छन् । ‘रुखको फल त रुखमुनि नै झर्छ’ । आमाबुबाको बानी–व्यवहार छोराछोरीमा नै सर्छ । कहीं एक उत्तरदायी अभिभावकको भूमिकाबाट थाहा नपाइकन चिप्लने त होइन ?
 

यी माथिका बुँदा केवल अनगिन्तीमध्ये केही प्रविधिले ल्याएका जटिलता मात्र हुन् । यसको मतलब यी प्रविधि/उपकरणलाई चट्टै त्यागिहाल्नु भन्नेचाहिँं होइन । बरु यसको उचित प्रयोग गर्नु भन्ने हो । विभिन्न किसिमका गेम, प्रोग्रामबारे छलफल गर्दा साथीहरूसँग सामिप्य बढाउने, विभिन्न विषयको ज्ञान बढाउने गर्छ ।

 

उपाय

  • स–साना बालबालिकाका लागि तपाईं नै तिनका ‘गुगल’ हुनुहुन्छ । बच्चाहरूको प्रश्नलाई गम्भीरतासाथ लिइदिनुहोला र सकेसम्म हल गर्ने कोसिस पनि । ‘छ्या थाहा छैन, फलानोलाई सोध, ढिस्कानालाई सोध’ वा ‘अहिले फुर्सद छैन’, ‘वाहियात प्रश्न’जस्ता उत्तरले बच्चाहरूलाई निरुत्साहित गर्छ र बच्चाले विस्तारै जिज्ञासा नै राख्न छोड्छ । कुनै पनि बच्चाको जिज्ञासा नयाँ कुरा थाहा पाउने, इच्छा नै भोलि–पर्सि गएर सफलताको सिंँढी बन्न पुग्छ ।
     
  • च्चाहरूलाई ट्याबमा अन्तरक्रियात्मक गेम खेलाउन सकिन्छ । जस्तै– स–सानाका लागि कलर, नम्बर गेम भने ठूलाका लागि शब्द गेमहरू राम्रो हुन्छ । हिंस्रक गेमभन्दा निसाना लगाउने, भेट्टाउने किसिमको गेमले छिटोभन्दा छिटो निर्णय गर्ने, छलाउनेसँग क्षमता बढाउनुका साथै प्रत्यासित चालहरू पत्ता लगाई निर्णय गर्नसमेत मद्दत गर्छ ।
     
  • बच्चाहरूसँग बसेर कथाका किताबहरू पढ्ने/पढाउने बानी कलिलो उमेरदेखि नै सुरु गर्नुपर्छ । कलिलै हुँदा बसेको बानी ठूलो भएसम्म रहिरहन्छ ।
     
  • वाइफाइबाट टाढा राख्ने अर्को उपाय हुनसक्छ, आमा–बुबा पनि बच्चाजस्तै भएर बच्चासँग खेल्ने जस्तै– लुकामारी, भेट्टाइ, गट्टी, घ्वाँइ, अन्ताक्षरी गाना गाउने, सबैजना बसेर कथा हाल्ने जस्ता साधारण क्रियाकलाप पनि राम्रो उपाय हुनसक्छ । अन्तिम पटक आफ्नो बच्चासँग बसेर गाना गाएको वा खेल खेलेको याद छ ? छैन भने अहिले नै गरिहाल्नुहोला ।
     
  • किशोर–किशोरीको मामिलामा उनीहरूलाई पनि केही स्वतन्त्रता चाहिने बेला भइसकेको हुन्छ । त्यसकारण धेरै ट्याब हेर्‍यो भनेर गाली गर्नु सट्टा बसेर उनीहरूले हेरेको प्रोग्रामबारे छलफल गर्ने र राम्रो प्रोग्राम आफैले पनि देखाउने गर्दा अभिभावकसँग अफ्ना प्रश्न राख्न सक्छन् । विशेषगरी यस्ता किशोर–किशोरी अवस्थामा उनीहरूले कस्ता किसिमका प्रोग्राम हेर्दारहेछन् भन्नेबारे चनाखो भने हुनुपर्छ । विभिन्न ‘एप’को सहायताले पनि नचाहिँदो इन्टरनेट साइट ब्लक पनि गर्न सकिन्छ ।
     
  • ट्याब/मोबाइलबाट टाढा राख्ने अर्को उपाय हुनसक्छ, कुनै न कुनै वाद्यवादनसँग परिचय गराउने ।
     
  • बच्चाको लागि र साथ बसेर जति बढी समय खर्चनुहुन्छ, त्यो पछि भविष्यमा गएर सबभन्दा राम्रो लगानी भने पक्कै हुनेछ ।
     
  • ठूलाबडाले पनि दिइएको समय बाहेक अरू समयमा वाइफाइ नै बन्द गर्ने हो कि ?

डा. श्रेष्ठ त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ हुन् ।

प्रकाशित : मंसिर ८, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?