के हो ‘सडन कार्डियक अरेस्ट’ ?

अतुल मिश्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको अप्रत्याशित मृत्युपछि अहिले चिकित्सा क्षेत्रमा उपयोग गरिने शब्द ‘सडन कार्डियक अरेस्ट (एससीए)’ गम्भीर गफगाफको विषय भएको छ ।

के हो ‘सडन कार्डियक अरेस्ट’ ?

प्रकाश दाहालका निजी चिकित्सक डा. जेपी जैसवालले उनको मृत्यु सडन कार्डियक अरेस्टले भएको हुन सक्ने आशंका गरेपछि यो स्वास्थ्य अवस्थाप्रति सबैको चासो बढेको हो । एक्कासि हुने मृत्युमा सडन कार्डियक अरेस्टको समस्या बढ्दो छ । एससीए भनेकै एक्कासि मुटुले काम गर्न छोड्नु हो ।

यो यस्तो स्थिति हो, जसमा हाम्रो मुटुको चाल ३००–४०० देखि १००० सम्म पुग्छ, जब कि त्यो सामान्य अवस्थामा करिब ६० देखि १०० सम्म हुने गर्छ । यस्तो अवस्थामा रक्तचाप एक्कासि तल झर्न थाल्नुका साथै मुटुको विद्युतीय तरंगमा अनियमितता आउँछ । मुटुको पम्प गर्ने प्रक्रिया प्रभावित हुँदा रगत अन्य अंगमा जान पाउँदैन र मुटुले काम गर्न छोड्छ ।

‘एससीए र एससीडी (सडन कार्डियक डेथ) हार्ट अटयाकजस्तो होइन,’ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘मुटुसम्बन्धी रोग भएका व्यक्ति एससीएको उच्च जोखिममा हुन्छन् । एससीए स्वस्थ देखिने, मुटुरोग नदेखिएका र एससीएका अन्य जोखिम नभएका व्यक्तिमा समेत हुन सक्छ ।’

हाम्रो मुलुकमा बर्सेनि हुने एससीएको संख्याबारे अध्ययन, अनुमान नरहे पनि अमेरिकास्थित ‘हार्ट रिदम सोसाइटी’ का अनुसार त्यहाँ बर्सेनि ३ लाख ५० हजार मृत्यु यस्तै शारीरिक समस्याले गर्दा हुन्छ । अर्थात्, हरेक डेढ घण्टामा एक अमेरिकीको मृत्यु एससीएले गर्दा हुन्छ । यस्ता समस्या देखिएका ९५ प्रतिशत व्यक्ति केही मिनेटमै चिकित्सा सुविधा नपाएर अमेरिकाजस्तो विकसित मुलुकमा समेत मर्ने गरेका छन् ।

एससीएमा मस्तिष्कतर्फ जाने रगत रोकिँदा व्यक्तिविशेष बेहोस हुन्छ, सास, नाडी र मुटुको चाल बन्द हुन्छ र दुईतीन मिनेटमै उपचार नभए बिरामीको मृत्यु हुन्छ ।

डा. ओममूर्तिका अनुसार सडन कार्डियक एरेस्ट भएपछि तीन मिनेटभित्र बिरामीलाई दिइने कार्डियो पल्मोनरी रेस्युसाइटेसन (सीपीआर) ले ज्यान जोगाउन सकिन्छ । सीपीआर घटनालगत्तै तुरुन्त दिन सुरु गर्नुपर्छ । किनभने मुटुले काम गर्न छोडेको हरेक मिनेटमा बाँच्ने सम्भावना १० प्रतिशत कम हँुदै जान्छ ।

के हो सीपीआर ?
नाडी, मुटुको धडकन र सास नभएको अवस्थामा मात्र सीपीआर गरिन्छ । यो आकस्मिक अवस्थामा दिइने प्राथमिक चिकित्सा हो, जसमा बिरामीको छाती छिटछिटो निरन्तर थिचिन्छ । 

यसअन्तर्गत बिरामीलाई कुनै ठोस स्थानमा पिठ्युँको आडमा सुताइन्छ । सीपीआर दिने अचेत व्यक्तिको छातीको सामुन्ने घुँडा मारेर बसी यो प्रक्रिया सुरु गरिन्छ । यसअन्तर्गत बिरामीको छातीको बीच भाग (स्ट्रर्नम : गर्दनदेखि पेटसम्मको हाड) मा दुवै हातले निरन्तर थिचिन्छ । एउटा हातको पन्जा बिरामीको छातीमा राखेर अर्को हातलाई त्यसमाथि राखेर औंलालाई आपसमा छिराई छातीलाई डेढ–दुई इन्चसम्म थिचिन्छ ।

हातलाई माथि नउठाउँदै यो प्रक्रियालाई एक मिनेटमा १०० पटकको गतिले गरिन्छ । सीपीआर चिकित्सकीय सहायता नपाएसम्म वा व्यक्ति होसमा नआउन्जेल गरिराख्नुपर्छ ।

छातीलाई निरन्तर थिच्नाले मुटु, स्ट्रर्नम र पछाडिको हाडको बीचमा दबाब उत्पन्न हुन्छ र अक्सिजन भएको रगत मस्तिष्कतर्फ बगिराख्छ । यसो गर्नाले बिरामीको मस्तिष्क जीवितै रहन्छ । 

हार्ट अटयाक र एमसीएमा फरक
हार्ट अटयाक मुटुको रक्त सञ्चारसम्बन्धी समस्या हो तर एससीआर मुटुको विद्युत् प्रवाह (इलेक्ट्रिक कन्डक्सन) को गडबडी हो । हार्ट अटयाकमा रगतको नलीमा अवरोध (ब्लक) ले गर्दा मुटुमा रगतको आपूर्ति हुन पाउँदैन भने कार्डियक अरेस्टमा विद्युतीय असन्तुलनले गर्दा मुटुको धडकन बन्द हुन्छ । 

तर दुवै रोगको लक्षण र यसले शरीरमा पर्ने असर फरकफरक हुन्छ । मुटुको रक्त सञ्चारमा अवरोध (ब्लकेज) हुँदा हार्ट अटयाक हुन्छ । मुटुको विद्युत्सम्बन्धी गडबडीले कार्डियक अरेस्ट हुन्छ । दुवै समस्या ज्यान लिने खालका हुन्छन् । छातीमा गाह्रो हुनु, सास रोकिन थाल्नु, वान्ता आदि हुनु हार्ट अटयाक र एक्कासि बेहोस हुनु, नाडी/सास रोकिनु कार्डियक अरेस्टका लक्षण हुन् । बिनाकुनै संकेतले हुने कार्डियक अरेस्टमा केही मिनेटमै मृत्यु हुन सक्छ । 

हार्ट अटयाकको समय पनि मुटु शरीरको बाँकी भागमा रगतको सञ्चार हुँदै गर्छ, तर कार्डियक अरेस्टमा मुटुले रगतको सञ्चार बन्द गर्छ । हार्ट अटयाकताका प्रभावित व्यक्ति होसमै हुन्छ, तर कार्डियक अरेस्टमा सास नचले बिरामी कोमामा जाने सम्भावना बढी हुन्छ । 

हार्ट अटयाकपछि कार्डियक अरेस्टको खतरा बढ्न सक्छ । कार्डियक अरेस्टको सबैभन्दा प्रमुख कारण हार्ट अटयाक हो । मुटुको रक्तनली बन्द हुँदा अक्सिजनको आपूर्ति हुँदैन । यसबाट रासायनिक अस्थिरता हुन्छ र मुटुको चालमा गडबडी उत्पन्न हुन्छ,। जसले कार्डियक अरेस्ट हुन सक्छ । ‘हार्ट अटयाक भएको समयदेखि नै मुटुको चालमा गडबडी हुने जोखिम उच्च हुन्छ,’ डा. ओममूर्ति भन्छन्, ‘र, यो प्राय: हार्ट अटयाक भएको पहिलो एक घण्टामा देखिन्छ ।’ कार्डियक अरेस्ट भएका बिरामीलाई सीपीआर गरेर अस्पताल लग्दा बाँच्ने सम्भावना बढ्छ । यस्ता रोगीलाई सीपीआर, समयमै डिफिब्रिलेटरद्वारा दिइने विद्युतीय सक, पेसमेकर आदि उपयोग गरेर जोगाउन सकिन्छ ।

कार्डियक अरेस्ट भए ?
यस्तो स्थितिमा तुरुन्त सीपीआर सुरु गरेर बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ । कार्डियक अरेस्ट हँुदा एकएक सेकेन्ड मूल्यवान् हुने भएकाले अलिकति पनि समय खेर फाल्नु हुँदैन । सीपीआरले गर्दा चिकित्सकीय सहयोग नपाएसम्मको अवस्थामा शरीरमा रगत र अक्सिजनको सञ्चार भइरहन्छ । 

अस्पतालमा मुटुलाई विद्युतीय झडका दिएर नियन्त्रित गरिन्छ । यस्तै, एससीएको बढी जोखिम भएकाहरूलाई बचाउनका लागि इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) लगाइन्छ । आईसीडीले दोस्रोपटक हुने सडन कार्डियक अरेस्टबाट मृत्यु हुने जोखिमलाई समेत कम गर्ने डा. ओममूर्ति बताउँछन् । 
निष्क्रिय धातु (इनर्ट मेटल) ले बनाइएको यो सानो यन्त्र छाती वा पेटको छालामुनि लगाइन्छ । यसको तारलाई मुटुसँग जोडिन्छ । यो यन्त्रमा भएको चिप (विद्युत्को एकीकृत परिपथ) ले मुटुको ढुकढुकीलाई अनुगमन गर्छ । 
मुटुको धडकन असामान्य हुन लाग्दा यो यन्त्रका माध्यमले मुटुलाई सामान्यत: ४० जुलको विद्युतीय 
झड्का दिएर सामान्य पारिन्छ । 

एससीए कसरी चिन्ने ?
सडन कार्डियक अरेस्टको सामान्यत: कुनै लक्षण वा चेतावनी हुँदैन । तर यसको मुख्य रूपमा तीन वटा संकेतमा हामीले ख्याल पुर्‍यायौं भने एमसीआर भएको हुन सक्ने सम्भावना पहिचान गर्न सकिन्छ । यसको पहिलो संकेत हो– कुनै व्यक्तिले एक्कासि होस गुमाउनु । प्रभावित व्यक्ति यसै कारणले लड्छ र तपाईंले हल्लाउँदा पनि कुनै प्रतिक्रिया दिँदैन । नाडी र रक्तचाप बन्द हुन्छ अनि शरीर र मस्तिष्कका अन्य भागमा रगतको आपूर्ति हुँदैन । प्रभावित व्यक्तिले सामान्य तरिकाले सास फेर्न सक्दैन । मुटु एक्कासि तीव्र गतिले धड्किन सुरु हुन्छ । 

एससीएको कारण
अमेरिकास्थित नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार भेन्ट्रिकुलर फिब्रिलेसन (भी–फिब) धेरैजसो एक्कासि हुने कार्डियक अरेस्टको कारण हो । भी–फिब इरिदमिया अर्थात् मुटुको असामान्य र अनियमित चालको एक प्रकार हो । भी–फिबमा मुटुको तल्लो कोठा सामान्य रूपमा धड्किँदैन । यो धेरै तीव्र गतिले र अनियमित रूपले कम्पन्न हुन थाल्छ । यस्तो हुँदा मुटुले अलिकति रगत पनि शरीरमा पम्प गर्न सक्दैन । भी–फिबमा केही मिनेटभित्रै उपचार नगर्दा प्राणघातक हुन्छ ।

यस्तै, मुटुको विद्युतीय प्रणालीमा आएको गडबडीले समेत एससीए उत्पन्न गर्न सक्छ । एससीए मुटुको विद्युतीय संकेत रोकिँदा वा धेरै कम हुँदासमेत हुन्छ । मुटुको मांसपेशीले मुटुको विद्युतीय संकेतप्रति प्रतिक्रिया नदिँदासमेत एससीए हुन सक्छ । केही रोग र अवस्थाले समेत एससीए हुन सक्ने विद्युतीय समस्या मुटुमा उत्पन्न गर्न सक्छ । उदाहरणका लागि, कोरोनरी हार्ट डिजिज, गम्भीर शारीरिक तनाव, केही वंशानुगत विकार र मुटुको संरचनात्मक परिवर्तनले समेत एससीए उत्पन्न हुन सक्छ । 

जोखिममा को ?
सडन कार्डियक अरेस्ट (एससीए) को जोखिम उमेर बढेसँगै वृद्घि हुन्छ । महिलाको दाँजोमा पुरुषलाई एससीए हुने जोखिम बढी हुन्छ । यस्तै उच्च रक्तचाप, दीर्घकालीन मृगौला रोग, मधुमेह, हार्टफेल लगायतका स्थितिमा एससीए हुने जोखिम बढी हुने गरेको डा. ओममूर्ति औंल्याउँछन् । कोरोनरी मुटु रोग एससीए हुने मुख्य जोखिम हो । मुटुको चालमा गडबडी (इरिदमिया) को चिकित्सकीय इतिहास भएकाहरू, परिवारमा कसैलाई एससीए भएकाहरू, हार्ट अटयाक, हार्टफेल भएकाहरूमा एससीए हुने जोखिम बढ्छ । ड्रग र मदिराको अत्यधिक उपयोग गर्नेहरूमा समेत एससीए हुने जोखिम बढ्छ । 
[email protected]

प्रकाशित : मंसिर ९, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?