२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कपालको स्याहार

‘मानसिक तनाव, चिन्ता, पाचन प्रणालीको समस्या, अपर्याप्त पोषण, औषधिको साइड इफेक्ट, प्रदूषित वातावरण, खाद्यपदार्थमा विषादी–रसायन आदिको अधिकतम प्रयोगले गर्दा कपाल पनि प्रभावित हुन थालेको छ ।’ 
अतुल मिश्र

काठमाडौँ — नरदेवी आयुर्वेदिक चिकित्सालयमा दिनहुँ ४०(५० व्यक्ति कपाल झर्ने समस्या लिएर पुग्ने गरेका छन् । तिनमा २५–३५ वर्ष उमेर समूहको अधिकता छ र युवतीको संख्या बढी छ । आयुर्वेदिक विशेषज्ञहरूका अनुसार, एक/दुई दशकअघि यस्तो स्थिति थिएन । 

कपालको स्याहार

अचेल तीस नकटी युवायुवती कपाल झर्ने समस्याले पीडित हुन थालेका छन् । यसैले होला, कपाल झर्न रोक्ने दाबी गर्ने सौन्दर्य उत्पादनको बिक्रीसमेत हाम्रो मुलुकमा दिनहुँ बढ्दो छ ।

‘केही दशकअघिसम्म यस्तो अवस्था थिएन,’ नरदेवीका निर्देशक डा. रामदेव यादव भन्छन्, ‘अचेल मानसिक तनाव, चिन्ता, पाचन प्रणालीको समस्या, अपर्याप्त पोषण, औषधिको साइड इफेक्ट, प्रदूषित वातावरण, खाद्यपदार्थमा विषादी(रसायन आदिको अधिकतम प्रयोग र प्रकृतिबाट टाढिने प्रक्रियाले गर्दा शरीरका विभिन्न अंगसँगै कपाललाई पनि प्रभावित गर्न थालेको छ ।’

अस्पतालमा पुग्ने धेरैजसोमा कपाल रंगाउने रासायनिक रंग (केमिकल हेयर डाई) को प्रयोगपछि समेत कपाल झर्ने समस्या बढ्दो देखिएको छ । किशोरवयदेखि नै कपाललाई विभिन्न रंगले रंग्याउने चलनले कपाल झर्ने समस्या बढ्दो छ ।

रासायनिक डाईले कपाल कालो गर्नु केश झर्ने प्रमुख कारण रहेको विज्ञहरूको ठम्याइ छ । कपाल झर्नबाट रोक्न केश रंग्याउने रासायनिक डाईको उपयोगको सट्टा प्राकृतिक मेहन्दीको उपयोग गर्नुपर्ने सल्लाहसमेत उनीहरूको छ ।

विज्ञहरूका अनुसार रिट्ठा, माटो आदि प्राकृतिक वस्तुले कपाल धुने जमानामा यो समस्या त्यति साह्रो देखिँदैनथ्यो । अझै गाउँघरमा बूढापाकाको कपाल राम्रै पाउन सकिन्छ ।

आयुर्वेदले कपाल झर्नमा पित्तदोषलाई जिम्मेवार मान्छ । हाडको गठनका लागि जिम्मेवार तन्तु नै कपालको विकासमा सहायक मानिन्छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका डा. शंकर गौतम भन्छन्, ‘हाम्रै घरगाउँ, जंगल, बारीमा पाइने वस्तुका माध्यमले आयुर्वेद पद्धति उपयोग गरेर कपाल झर्न

रोक्न सकिन्छ ।’

झरिरहेको कपाल नियन्त्रणका लागि मन र शरीरको स्थिरता आवश्यक मानिन्छ । कपाल झर्ने थुप्रै कारण हुन सक्छन् । यसैले यसलाई रोक्न सबैभन्दा पहिले कपाल झर्ने कारण खोजेर त्यसको उपचार गर्नु आवश्यक मानिन्छ । घरेलु उपचारले कपाल झर्न रोक्न सकिएन भने चिकित्सकीय सल्लाह लिनुपर्छ ।

रिट्ठाले कपाल धुँदा यसले कपाल उमार्नेसँगै यसलाई मोटो र कालोसमेत बनाउने जनाउँदै डा. गौतम भन्छन्, ‘नेवार समुदायमा अझै रिट्ठाको प्रयोग हुन्छ ।’ कपालको राम्ररी रेखदेख, सफा नगर्दा चायाको समस्या देखिएरसमेत कपाल झर्ने गरेको छ ।


कपाल झर्न रोक्न

कागतीको रसमा अमलाचूर्ण र पानी मिसाएर लेदो बनाएर टाउकोमा लगाएर एक–डेढ घण्टापछि धुँदा कपाल झर्न रोकिनुका साथै चायासमेत कम हुन्छ । सातामा दुई पटक यस्तो गर्नुपर्ने औंल्याउँदै डा. यादव भन्छन्, ‘कपाललाई स्वस्थ र निरोगी राख्न झर्ने समस्या नभएकाहरूले समेत यो प्रक्रिया अपनाउँदा यसले भविष्यमा हुन सक्ने सम्भावित कपाल झर्ने प्रक्रियाबाट बचाउ हुन्छ ।’

तर कपाल झर्ने समस्या भएकाहरूले अमलाचूर्ण र कागतीको रस लगाउनुका साथै कम्तीमा एक महिनासम्म एउटा आयुर्वेदिक औषधिसमेत बनाएर खानुपर्ने डा. यादव औंल्याउँछन् । उदरामृत पाउडर २ ग्राम, प्रवाल पिष्टि २५० मिलिग्राम, काम दुधारस २५० मिलिग्राम, लघुसुत शेखर रस २५० मिलिग्राम मिसाएर एक चम्चा बिहान र बेलुका खानाअघि मनतातो पानीसँग कम्तीमा एक महिना सेवन गर्दा कपाल झर्न रोकिन्छ ।

अश्वगन्धा, ब्राह्मी तेल, सिकाकाई, भृंगराज आदिको उपयोगले कपाल झर्न रोक्ने मात्र नभई यसले कपाल उमार्ने डा. गौतमको दाबी छ ।

अझ भृंगराजले त फुलेको कपाललाई कालोसमेत बनाउन छ । भृंगराजको १५(२० वटा पातको पेस्ट बनाएर २० मिनेटसम्म टाउकोमा लगाएर राख्ने र यसपछि स्याम्पु लगाएर धुँदा धेरै फाइदा पुग्छ । पात नभए भृंगराजको धुलोमा पानी मिसाएर पेस्ट बनाएर लगाउँदासमेत हुन्छ । यो प्रक्रिया टाउकोमा साताको दुईदेखि तीन पटकसम्म गर्नुपर्छ ।

जटामसीसमेत कपालका लागि अत्यन्त लाभकारी मानिन्छ । यसले छालाहरूको खराबी हटाउनुका साथै रगतलाई शुद्घीकरणसमेत गर्छ । जटामसीले तालुमा रक्तसञ्चार राम्रो गराउँदा त्यहाँ पोषकतत्त्व आदि पुग्छ र कपाल झर्नबाट रोकिने मात्र नभई झरेको कपालसमेत पलाउँछ । जटामसीको ५(६ थोपा तेललाई हामीले लगाउने नरिवल वा अन्य तेलमा मिसाएर टाउकोमा १५ मिनेटसम्म मालिस गरेर आधा घण्टापछि टाउको धुँदा फाइदा पुग्छ ।

हाम्रो भान्सामा उपयोग हुने मेथी कपाल झर्नबाट रोक्ने राम्रो उपाय हो । यसका लागि दुई चम्चाजति मेथी भुटेर पिँधी थोरै पानी राखेर पेस्ट बनाएर २० मिनेट कपालमा राखेर त्यसपछि धुनुपर्छ । यसले कपाल झर्नबाट रोकिनुका साथै चायालाई पनि हटाउँछ र छालाको स्वास्थ्य राम्रो पार्छ ।

नरिवल, महाभृंगराज, अमला, सिसिम विज, बदाम, ब्राह्मी तेलमध्ये कुनै एकले ४५ मिनेटसम्म टाउकोमा मालिस गर्दासमेत कपाल झर्न रोक्न धेरै प्रभावकारी रहेको जनाउँदै डा. गौतम तेल मालिसले टाउकोको रक्तसञ्चार बढाउनुका साथै जरा उत्पन्न हुने वा कपाल झरेको ठाउँमा फेरि कपाल पलाउने बताउँछन् ।

यस्तै पिप्पली, मरिच, दूध, कागतीको बीउको पेस्ट बनाएर रांै झरेको ठाउँठाउँमा बेलुका लगाएर बिहान धँुदासमेत धेरै फाइदा पुग्छ ।

आधा कप घ्यूकुमारीमा तीन चिया चम्चा नरिवलको तेल मिसाएर २० मिनेटसम्म

तालु र कपालमा लगाएर मनतातो पानीले पखाल्दासमेत फाइदा पुग्छ ।

यस्तै भृंगराज, अमला, सिकाकाई, ब्राह्मी सबैको मात्रा मिलाएर पेस्ट बनाई सकेसम्म दिनहँु, नभए साताको तीन पटक तालुमा लगाउँदासमेत कपाल झर्न रोकिन्छ ।

१५ दिनदेखि डेढ महिनासम्म बिहानबेलुका एक–एक चम्चा अश्वगन्धा चूर्ण सेवन गर्नाले समेत फाइदा पुग्ने डा. गौतम बताउँछन् ।


खानपान र आहारविहार

कपाल राम्रो बनाउन, नझरोस् भन्न खानपान, जीवनशैलीमा

समेत विशेष ध्यान दिनुपर्छ । कब्जियतले कपालमा असर गर्छ । यसैले कब्जियत हटाउन सलादलगायत फाइबरयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ ।

त्रिफला सेवनले समेत कब्जियतलाई हटाउँछ ।

दिनहुँ शरीरलाई चाहिएजति उपयुक्त पानीको खानुसमेत महत्त्वपूर्ण मानिन्छ । कपाल झर्न रोक्न अमला सबैभन्दा राम्रो उपचार हो । प्रचूर मात्रामा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त अमला कपाल झर्नबाट रोक्ने सबै भन्दा राम्रो उपचार हो । अमलाको नियमित सेवनले कपाल राम्रो हुनुका साथै अन्य शारीरिक फाइदासमेत हुन्छ । पौष्टिक आहार सेवन गर्नुपर्छ ।

बढी तारेको, भुटेको मसालेदार खाना कम गर्नुपर्छ । प्रोटिन, जिंक, भिटामिन ‘बी’, आइरन भएका खानेकुरा खानुपर्छ ।

नियमित योग, व्यायाम, मालिस, टाउकाको सरसफाइसमेत कपालको स्वास्थ्यका लागि राम्रो मानिन्छ । नियमित प्राणायामले रक्तसञ्चारमा वृद्घि भएर कपाल बलियो हुन्छ । धूमपानले समेत कपाल झर्ने समस्या हुन सक्छ । तनावमुक्त हुनुपर्छ । तनाव बढी लिँदा कपाल झर्ने समस्या देखिन्छ ।

[email protected]

प्रकाशित : माघ ६, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?