१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

क्यान्सर

जीवनशैलीमा सामान्य सुधार गरे रोग नलाग्ने सम्भावना ६० प्रतिशत
अतुल मिश्र

काठमाडौँ — जीवनशैलीमा सामान्य सकारात्मक सुधार गरेर हाम्रो मुलुकमा बर्सेनि करिब २१ हजार व्यक्तिलाई क्यान्सर हुनबाट जोगाउन सकिन्छ। हाल वर्ष दिनमा करिब ३५ हजार नयाँ क्यान्सर रोगी देखिने गर्छन्।

क्यान्सर

सकारात्मक जीवनशैली, सुर्ती र मदिराको त्याग, उचित सरसफाइ, स्वस्थकर खानपान, समयअगावै यौन प्रक्रियामा सरिक नभएर वा सुरक्षित यौन क्रियाकलाप अँगालेर आफूलाई सम्भावित क्यान्सर रोगबाट बचाउ गर्न सकिन्छ। यदि बर्सेनि स्वास्थ्य जाँच गर्ने गरे यो प्रतिशतमा झन् वृद्घि हुन्छ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, विश्वव्यापी रूपमा क्यान्सरको सम्भावनालाई ३० देखि ५० प्रतिशतसम्म कम गर्न सकिन्छ। विदेशको दाँजोमा नेपालको क्यान्सरसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्ने हो भने, यहाँ अझ बढी प्रतिशत क्यान्सर रोगबाट बचाउ गर्न सकिने अवस्था छ।


‘हाम्रो मुलुकमा भने ६० प्रतिशतभन्दा बढी क्यान्सरबाट आम जनतालाई बचाउन सकिन्छ,’ बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल (बीपीकेएमसीएच), भरतपुरका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटी बताउँछन्, ‘यो तथ्यांक मुलुकमा देखिने विभिन्न प्रकारका क्यान्सर र विदेशमा देखिने गरिएको क्यान्सरलाई विश्लेषण गर्दा आएको हो।’


अमेरिकास्थित नेसनल क्यान्सर इन्स्टिच्युट (एनसीआई) का अनुसार तमाखुको उपयोग, खानपान, जीवनशैली, केही प्रकारको यौन व्यवहार, वातावरणमा भएको क्यान्सर उत्पन्न गर्न सक्ने जोखिमको कारक तत्त्वहरूबाट बचाउ गरेर यो रोगबाट जोगिन सकिन्छ।


‘५ देखि १० प्रतिशतसम्म जिनका कारणले हुने वंशानुगत र प्रदूषणले गर्दा हुने क्यान्सरबाहेक मुलुकमा अन्य धेरैजसो क्यान्सरबाट बचाउ गर्न सकिने उल्लेख गर्दै क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ भन्छन्, ‘क्यान्सरको लक्षणलाई कुर्ने हैन, बर्सेनि एकपटक नियमित सामान्य स्वास्थ्य जाँच गराए मात्रै पनि क्यान्सरलगायत धेरै रोगबाट बाँच्न सकिन्छ।’


पहिले जनचेतनाका लागि आमव्यक्तिलाई क्यान्सरको लक्षणबारे जानकारी दिने गरिए पनि हाल नेपालजस्तो मुलुकमा यो रणनीतिले त्यति फाइदा पुग्न नसकेको देखिएको छ। लक्षण देखिने स्थिति आउँदा क्यान्सर उन्नत अवस्थामा पुग्ने र त्यसताका उपचार गर्दा खासै फाइदा नहुने भएकाले अब लक्षणलाई नकुरीकन नियमित स्वास्थ्य जाँचलाई प्राथमिकता दिन थालिएको हो।


कुनै पनि प्रकारले सुर्तीजन्य पदार्थ उपयोग गर्नु क्यान्सरलाई निम्त्याउनु रहेको औंल्याउँदै बीपीकेएमसीएच, नाक, कान, घाँटी युनिटका प्रमुख डा.डेजकुमार गौतम भन्छन्, ‘यति मात्र नभई हामी सहज रूपमै ठानेर खाइरहेका हुन्छौं तर सुपारी सेवनले समेत क्यान्सरको समस्या बढाउने गरेको छ।’

अझ मदिरा र सुर्तीजन्य पदार्थको संयुक्त रूपमा उपयोग गर्दा क्यान्सरको जोखिममा समेत अत्यन्त बढी वृद्घि हुने आंैल्याउँदै डा.गौतम मात्र सुर्तीजन्य पदार्थको उपयोग बन्द गरिए मुलुकमा देखिने क्यान्सरको समस्यामा अत्यन्त उल्लेख्य कमी आउने दाबी गर्छन्।


सकारात्मक जीवनशैली प्रभावकारी रूपमा लागू गरेर अमेरिकामा समग्र रूपमा देखिने क्यान्सरमा कमी आएको दाबीलाई आंैल्याउँदै शिवाकोटी भन्छन्, ‘एनसीआईले सन् २०१७ को मार्चमा प्रकाशित गरेको प्रतिवेदनअनुसार त्यहाँ क्यान्सरको उपचार गराइरहेकाहरूको बाँच्ने समयावधिमा समेत वृद्घि भएको देखिएको छ।’


जीवनशैलीमा सकारात्मक परिवर्तनले क्यान्सर मात्र नभई अन्य नसर्ने रोगको जोखिमसमेत कम हुन्छ।

‘तपाईं के खानुहुन्छ, के पिउनुहुन्छ, कसरी रहनुहुन्छ, काम कसरी गर्नुहुन्छ यो सबै कुराले क्यान्सरसँग जोडिएको जोखिम प्रभावित हुन्छ,’ स्त्रीरोग क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार क्यान्सरबाट बाँच्न सकारात्मक र स्वस्थकर जीवनशैली अंगाल्दै आफ्नो शरीरका बारेमा जान्नुपर्छ। यसअन्तर्गत शरीरमा कुनै परिवर्तन वा असहजता देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।


तमाखु

सुर्तीजन्य पदार्थलाई चपाएर वा धूमपानको रूपमा उपयोग गर्दा यसबाट फोक्सो, मुख, स्वरयन्त्र, घाँटी, अन्ननली, पेट, पाचनथैली, मृगौला, मूत्राशय, पाठेघरको मुखलगायत धेरै प्रकारका क्यान्सर हुन सक्छन्।

डब्लूएचओको तथ्यांकअनुसार सुर्तीजन्य पदार्थले बर्सेनि ६० लाख व्यक्तिलाई क्यान्सर वा अन्य रोग उत्पन्न गरेर मार्ने गरेको छ।


हामीले सुर्तीजन्य पदार्थलाई चुरोटका रूपमा, चपाएर, नश लिएर वा दाँत माझेर कुनै पनि रूपमा उपयोग गर्न बन्द गर्‍यौँ भने थुप्रै प्रकारका क्यान्सरबाट बाँच्न सक्छौं। सुर्तीजन्य पदार्थ मात्रै पनि सबै खाले क्यान्सरले हुने २२ प्रतिशत मृत्युका लागि जिम्मेवार हुन्छ।


हाम्रो मुलुकमा केही दशकयता गुटखासमेत खाने चलन अत्यन्त बढेको छ। गुटखा जर्दा होस् कि सादा, दुइटै अत्यन्त हानिकारक मानिएको छ। उसो त सुर्तीजन्य पदार्थसहितको गुटखा बढी हानिकारक हुन्छ। कुनै पनि रूपमा सुर्तीजन्य पदार्थ चपाउने चलनले नेपाल, भारत, पाकिस्तान, बंगलादेश आदिमा मुखको क्यान्सर बढी मात्रामा देखिन्छ।


फोक्सोको क्यान्सर हुने जोखिम धूमपान नगर्नेको दाँजोमा धूमपान गर्नेहरूमा २५ गुणसम्म बढी हुन्छ। हाम्रो मुलुकमा यसबारे खासै अध्ययन नभए पनि युरोपमा धूमपानलाई करिब ८२ प्रतिशत फोक्सोको क्यान्सरका लागि जिम्मेवार ठानिन्छ। चुरोट, बिडी, कंकड, सुल्फा, हुक्का आदि गरेर तमाखुको धुवाँमा करिब ७ हजार प्रकारका रसायन हुन्छन्। यीमध्ये न्यूनतम अढाइ सयलाई हानिकारक मानिएको छ भने ५० वटा त क्यान्सर हुने कारक नै ठानिन्छन्। अझ धूमपान नगर्नेहरूलाई समेत अरूले खाएको चुरोटको धुवाँ तान्ने बाध्यतामा पर्नाले फोक्सोको क्यान्सर हुन सक्छ।


मद्यपान

मदिरा मुख, अन्ननली, घाँटी र नाकबीचको कण्ठनलीभन्दा माथिको भाग, घोक्रो, कलेजो, मलद्वार, ठूलो आन्द्रा आदिमा क्यान्सर हुने जोखिमको कारक हो। मद्यपानको मात्रामा क्यान्सर हुने जोखिम निर्भर गर्छ। मदिराको मात्रामा वृद्घिसँगै क्यान्सरको जोखिम बढ्छ। अत्यधिक मदिरा र तमाखु खानाले क्यान्सरको जोखिममा अत्यधिक वृद्घि हुन्छ। सन् २०१० मा मदिराले गर्दा क्यान्सरका कारण ३ लाख ३७ हजार ४ सय व्यक्तिको मृत्यु भएको डब्लूएचओको आकलन छ।


संक्रमण

डब्लूएचओको आकलनअनुसार सन् २०१२ मा सबै प्रकारका क्यान्सरको १५ प्रतिशत कारक हेपाटाइटिस ‘बी’ र ‘सी’, हेलिको ब्याक्टर पाइलोरी, एपस्टिन वार भाइरस, हयुमन पापिलोमा भाइरस (एचपीभी) जस्ता संक्रमण भएको पाइएको थियो। हयुमन पापिलोमा भाइरसले पाठेघरको मुख र हेपाटाइटिस ‘बी’ भाइरसले कलेजोको क्यान्सर उत्पन्न गर्छ। यी दुइटै भाइरसविरुद्घको खोप लगाउने गरे बर्सेनि क्यान्सरका ११ लाख व्यक्तिलाई बचाउन सकिन्छ।


सरसफाइको कमी

हाम्रो मुलुकमा महिला वा पुरुषले आफ्नो यौनांगको उचित सरसफाइ गर्दैनन्, जसका कारण उनीहरू यौनांगको क्यान्सरको समस्यामा पर्ने गरेका छन्। यौनांग फोहोर राख्ने महिलालाई पाठेघर र योनिको बाहिरी भागको क्यान्सर हुने गर्छ। यौनांग फोहोर राख्ने पुरुषमा लिंगको टुप्पोको क्यान्सर देखिन्छ। उचित सरसफाइको कमीले यौनांग क्यान्सरको समस्या लिएरसमेत पुरुष–महिला अस्पताल आउने गरेको डा. श्रेष्ठ बताउँछन्।


वातावरणीय प्रदूषण

हावा, पानी र माटो क्यान्सर उत्पन्न गर्ने सक्ने रसायनबाट प्रदूषित हुनुले समेत जोखिम बढाउँदै छ। घरबाहिरको वायु प्रदूषणलाई क्यान्सर उत्पन्न गर्न सक्ने कारकसमेत मानिएको छ। डब्लूएचओको आकलनअनुसार वायु प्रदूषणका कारण बर्सेनि ३२ लाख व्यक्तिको मृत्यु भइरहेको छ।

प्रकाशित : माघ २७, २०७४ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?