२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

साइक्लिङ: मुटुको स्वास्थ्यका लागि लाभदायक

‘हामी सबैका लागि शारीरिक सक्रियता, व्यायाम अत्यावश्यक छ । दैनिक आवश्यकताका लागि सुरक्षित पमा साइकल चढ्नु सबैभन्दा उपयुक्त प्रक्रिया हो ।’
अतुल मिश्र

काठमाडौँ — मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल आफूकहाँ मुटु रोग उपचारका लागि आउने धेरैजसो बिरामीलाई नियमित साइकल चलाउने सल्लाह दिन्छन् । उनी साइकल चलाउनुलाई ‘काममै व्यायाम’ बताउँछन् । 

साइक्लिङ: मुटुको स्वास्थ्यका लागि लाभदायक

शारीरिक रूपमा आफूलाई सक्रिय राख्न मर्निङवाक, जगिङ, दौड, पौडी, पैदल हिँडाइ, ट्रेड मिलमा हिँडाइलगायत जुनसुकै तरिका अपनाउन सकिन्छ । तर साइक्लिङको विशेष महत्त्व के छ भने, यो सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादनसमेत हुन्छ । यसले तपाईंको शक्ति, सन्तुलन र समन्वय बढाउँछ ।


साइकल चलाउँदा मुटु सामान्यभन्दा बढी धड्किन्छ । यसले रक्त सञ्चार राम्रो हुनुको साथै हाम्रो मांसपेशीलाई सही आकारसमेत दिन्छ । साइक्लिङले हाम्रो काम गर्ने स्टामिना (सहनशीलता) बढाउन समेत सघाउँछ । साइकल चलाउँदा मुटुलगायतका रोगमा देखिने लाभबारे भने अहिलेसम्म देशमा कुनै खास अध्ययन भएको भने छैन ।


डा. ओममूर्तिले आफूकहाँ उपचार र सल्लाहका लागि आउने अधिकांश साइकल यात्रीमा मुटु रोग र यसको जोखिम अन्य व्यक्तिको दाँजोमा कम पाएको बताउँछन् । ‘मेरो अनुभव र अवलोकनमा साइकल चलाउनेहरूको मुटु बढी स्वस्थ रहनुको साथै मुटुसम्बन्धी रोगहरूको जोखिम पनि कम देखिन्छ,’ डा. ओममूर्ति भन्छन्, ‘मेरो प्रत्यक्ष अनुभवमा उमेरले छ दशक नाघिसकेका भए पनि साइकल चलाइरहेकाहरू अन्यको दाँजोमा बढी स्वस्थ छन् ।’ साइकल चलाउनु जीवन्त व्यायाम हो । यसमा बारम्बार एउटै स्थलमा उस्ताउस्तै प्रक्रिया दोहर्‍याएर झर्को लाग्ने हुँदैन । शरीरको विभिन्न अवयवको व्यायाम हुनुका साथै हरेक पल एकाग्र रहनुको साथै मन र मस्तिष्कसमेत सक्रिय रहन्छ ।


‘हामी सबैका लागि शारीरिक सक्रियता, व्यायाम अत्यावश्यक छ । दैनिक आवश्यकताका लागि सुरक्षित रूपमा साइकल चढ्नु सबैभन्दा उपयुक्त प्रक्रिया हो,’ डा. ओममूर्ति भन्छन्, ‘शारीरिक रूपले सक्रिय वयस्कहरूमा असामयिक मृत्यु हुने सम्भावना ३० प्रतिशतसम्म कम हुन्छ भने मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने सम्भावना आधाभन्दा कम हुन्छ ।’ शारीरिक सक्रियता नभएकाहरूलाई सक्रिय व्यक्तिको दाँजोमा हार्ट अटयाक हुने सम्भावना दोब्बर हुने आंैल्याउँदै डा. ओममूर्ति थप्छन्, ‘शारीरिक सक्रियताको कमीले उत्पन्न हुने जोखिम र दिनहुँ २० खिल्ली चुरोट खाएर हुने जोखिम उस्ताउस्तै हो भन्नेचाहिँ नसोच्नुस् ।’


ब्रिटिस हार्ट फाउन्डेसन (बीएचएफ) का अनुसार पनि साइक्लिङ स्वस्थ मुटुका लागि धेरै लाभदायक छ । साइक्लिङ सहज, सुलभ र सस्तो यात्रा साधन र वातावरणमैत्री मात्रै नभई यसलाई आफ्नो जीवनमा अंगिकार गर्दा मुटुका साथै समग्र स्वास्थ्यमै सकारात्मक प्रभाव पार्छ । साइकल चलाउँदा हामीले राम्रो अनुभव गर्ने न्युरो ट्रान्समिटर ‘इन्डोर्फिन’ शरीरमा निस्किन्छ । दिनहुँ दुई पटक कम्तीमा आधा घन्टाकै भए पनि साइकल चढेर छोटो दूरीको यात्रामा निस्कँदा पनि मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै मुटु तथा रगतका नलीहरू (कार्डियो भास्कुलर) सम्बन्धी प्रणालीलाई पनि धेरै फाइदा पुर्‍याउँछ । साइकलको सिटले तपाईंको शरीरको करिब ७० प्रतिशत तौल सम्हाल्ने भएकोले तपाईंको जोर्नीमा दबाब धेरै कम पर्छ ।


साइकल चलाउँदा शरीरका सबै मांसपेशीहरू सक्रिय मात्र नभएर यसको उपयोगसमेत हुन्छ । यसअन्तर्गत हामीले प्याडल चलाउने भएकोले खुट्टाको मांसपेशी सबैभन्दा बढी सक्रिय हुन्छ । यति मात्र नभई पेट, पिठ्युँ, हात लगायतका मांसपेशीहरूसमेत सक्रिय हुन्छन् । बीएचएफका अनुसार साइकल चलाउनुले हाम्रो सम्पूर्ण शरीरलाई शक्ति प्रदान गर्छ ।


के भन्छ अध्ययनले ?

एउटा अध्ययनको दाबीअनुसार नियमित साइकल चलाइरहेका वा चलाउन सुरु गरेकाहरूमा साइकल नचलाउनेको दाँजोमा उच्च रक्तचाप, मधुमेह, उच्च ट्राइग्लिसराइड र मोटोपनाको जोखिम धेरै कम हुन्छ । ४३ वर्ष औसत उमेर भएका करिब २४ हजार स्विडिसमा एक दशकसम्म गरिएको यो अध्ययन अमेरिकन हार्ट जर्नलमा प्रकाशित छ । यस्तै, जर्नल सर्कुलेसनमा प्रकाशित र ५०–६५ वर्ष उमेर समूहका करिब ४५ हजार डेनिसमा गरिएको अध्ययनअनुसार सातामा आधा घण्टादेखि एक घण्टासम्म साइकल चलाउनेहरूमा साइकल नचलाउनेको तुलनामा धेरै कम मात्रामा हार्ट अटयाक हुने सम्भावना हुन्छ । दुई दशकसम्म गरिएको यो अध्ययनले साइक्लिङलाई कोरोनरी मुटु रोगबाट बचावटका लागि सबैभन्दा राम्रो उपाय रहेको सुझाएको छ ।


नियमित चलाउँदा

– मुटु र रक्त नलीसम्बन्धी स्वास्थ्य राम्रो हुन्छ ।

– शरीरको बोसोको स्तर कम गर्छ ।

– जोर्नीको गतिशीलता बढाउँछ ।

– चिन्ता र उदासीपना कम गर्छ ।

– शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउँछ ।

– मांसपेशीको शक्ति र लचिलोपन बढाउँछ ।

– मोटोपना घटाउनुका साथै तौल नियन्त्रण गर्छ ।

– तनावको स्तर घटाउँछ ।

– हाड बलियो बनाउँछ ।

– धेरै रोगबाट जोगाउँछ ।


कसले साइकल चलाउने ?

जोर्नीको समस्या भएकाहरू, शारीरिक सन्तुलनको समस्या वा अति वृद्घबाहेक हरेक व्यक्तिले साइकल चलाउन सक्छन् । डा. ओममूर्तिका अनुसार, मुटु रोगी, उच्च रक्तचाप भएकाहरू, मधुमेहका रोगी, हृदयाघात भइसकेकाहरू लगायत सबै खाले व्यक्तिले सुरक्षित तरिकाले साइकल चलाउन सक्छन् । मुटु रोगी वा हार्ट अटयाक भइसकेकाले समेत व्यायाम गर्न बन्द गर्नु हँुदैन । तर अति व्यायामबाट पनि बच्नुपर्छ । जोर्नीको दुखाइ भएकाहरूले विशेषज्ञको सल्लाहमा साइकल चलाउन सक्छन् ।


धेरै गर्मी वा धेरै जाडोमा साइकल चलाउनबाट बच्नुस् । यसले रक्तसञ्चारलाई प्रभावित गर्न सक्छ । साइकल चलाउँदा सास फेर्नमा समस्या भए वा धेरै बढी थकाइ लागे चिकित्सकसँग सल्लाह लिनुपर्छ ।


साइकल चलाउँदा

– हेल्मेट मात्र नभई घुँडा र कुहिनोको गार्डसमेत लगाउनुस् ।

– मौसमअनुसारको उपयुक्त लुगा लगाउनुस् ।

– उमेर र क्षमताअनुसार आफ्नो लक्ष्य निर्धारण गर्नुस् ।

– पर्याप्त मात्रामा पानी पिउनुस् ।

– साइकल चलाउनुअघि मांसपेशीलाई तताउन (वार्म अप) र तन्काउन (स्ट्रेच) नबिर्सनुस् ।

[email protected]

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?