कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोगोपचारमा मानसिक लक्षणको महत्व !

डा.ललितकुमार मिश्र

काठमाडौँ — आजको हाम्रो समाज एक्काइसौं शताव्दीमा दिन/प्रतिदिन उन्नति, प्रगति तिर अग्रसर भइरहेको छ।दिनहुँ जसो विज्ञानले नयाँनयाँअनुसन्धान तथा खोज गर्दै आइरहेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा पनि बराबर उन्नति भइरहेको छ ।

रोगोपचारमा मानसिक लक्षणको महत्व !

सदा झै नयाँ र जटिल रोगहरुको उपचारको लागि वैज्ञानिकहरुले नित्य नयाँ खोज, अनुसन्धान गरेर नयाँ-नयाँ औषधिहरु उपचारार्थ हामीलाई उपल्ब्ध गराइ नै रहेका छन । र हामीपनि त्यस औषधिको प्रयोगबाट सर्टट्रम भए पनि फाइदा लिइ नै रहेका छौं ।


तर के तपाईंले कहिले विचार गर्नुभएको छ कि विज्ञानले यति उन्नति-प्रगति गरेतापनि केही रोगहरुलाई रोक्नमा असमर्थ भइरहेको छ । जस्तै-उच्च रक्तचाप, थाइराइड, मधुमेह, क्यान्सर, विभिन्न प्रकारका छाला सम्बन्धि रोग, नपुसंकता, बाँझोपन, असमय मै कपाल झर्नु र सेतो हुनु इत्यादी । यस्ता कैयौं रोगहरु छन् जसको लिस्ट बनाउने हो भने लामो सूची तयार हुन्छ । यी उपरोक्त उल्लेखित रोगहरुबाट अचेल प्रत्येक तेस्रो व्यक्ति प्रभावित भएको देख्न पाइन्छ ।


यसको मुलकारण मध्ये एक कारण हामी स्वंय हौं भन्दा अनुपयुक्त नहोला । हाम्रो शरीर ईश्वरद्वारा निर्मित एउटा अति मूल्यवान मेसिनरी हो । यसलाई स्वस्थ्य राख्न हाम्रो दायित्व हुन्छ । जुन किसिमले हामी द्रुतगतिले आधुनिकिकरणको युगमा प्रवेश गर्दै जाँदै छौं । त्यसरी नै यी रोगहरुमा पनि बढोत्तरी हुँदै जाँदैछ। एक सर्भेको मुताविक थाहा पाइएको हो कि अमेरिकामा लगभग ८०% प्रतिशत जनसंख्यालाई निन्द्रा नै लाग्दैन ।


यी मानिसहरु निन्द्राको गोली नखाइकन निदाउन सक्दैनन् । हामी आधुनिक जगतको प्रतिस्पर्धाको खेलमा यति व्यस्त छौं कि हामीलाई आफ्नो शरीर र स्वास्थ्यबारेमा सोच्ने समय नै छैन ।जब हामी आफ्नो पौराणिक समयको बारेमा विचार गर्दछौं तब हामीलाई थाहा हुन्छ कि यी सबै रोगहरु त्यसबेला थिएन, यसको सबैभन्दा ठूलो कारण थियो त्यसबेलाको व्यक्तिको जीवनशैली, सात्विक जीवन, सकारात्मक सोच, उच्चविचार आदी ।


आयुर्वेद र होमियोप्याथी चिकित्सा अनुसार स्वस्थ्य शरीरको लागिः


१). आहारः दिनमा तीनपटक भोजन गर्ने । अन्न, हरियो सागपात, सिजन अनुसारको फलफुलहरु, सलाद, दूध, दहीको अनुपात सही हुनुपर्दछ, आहारको मात्रमा कम से कम, जति शरीरलाई चाहिन्छ र जति सजिलै सित पच्न सक्छ ।


२) विहारः शारीरिक श्रम र निन्द्राको अनुपात सही हुनु पर्दछ । यसको अलावा शारीरिक सरसफाइ मा उचित ध्यान दिनुपर्दछ ।


३) विचारः तपाईंको ब्रेन(मस्तिष्क) को भोजन हो । गलत विचार बाट बच्ने । विचार लै नै हाम्रो भोक, प्यास र निन्द्रा लाई नियन्त्रित गर्दछ । हाम्रो मस्तिष्कलै नै पुरै शरीरलाई नियन्त्रण गर्दछ । यदि यसलाई राम्रो विचार दिने हो भने शरीरमा राम्रो हार्मोन्सको स्तर बढछ, र शरीरको प्रत्येक अगंले सुचारु रुपले काम गर्दछ ।


दुषित विचार शरीरमा स्ट्रेस हार्मोन्सको स्तरलाई बढाइ दिन्छ जसले गर्दा शरीरको हरेक अगंले गडबड तरिकाले काम गर्न थाल्छ । एउटा पुरानो भनाइ छ शायद तपाईंहरुले पनि सुन्नु भएको होला 'मन तन्दुरुस्त यानेतन तन्दुरुस्त' यो भनाइ एकदम सटिक छ । जसले यस कुराको पुष्टि गर्दछ कि हाम्रो सोचले नै यस कुराको निर्धारित गर्दछ कि हामी स्वस्थ्य छौं या अस्वस्थ्य । विचारहरुको हाम्रो स्वास्थ्य माथि सिधा प्रभाव पर्दछ । अत; सधै सकारात्मक सोच राखेर हिँडनु पर्छ ।


होमियोप्याथिको सफलता र विभिन्नताको कारणः विचार नै हाम्रो शरीरमा मानसिक एवं शारीरिक रोग उतपन्न गर्ने मुलभुत कारण हो । यो कुरालाई विज्ञानले पनि स्विकार गर्दछ । अत; यो पनि स्पष्ट छ कि जबसम्म हामी आफ्नो मानसिकस्तरलाई सही राख्दैनौं तबसम्म हामी यी रोगहरुबाट छुटकारा पाउन सक्दैनौं । आधुनिक चिकित्सा एलोप्याथिकको उपचारबाट उपरोक्त रोगहरु निको न हुनुको मुलभुत कारण पनि यही हो ।


किनभने एलोप्याथिक चिकित्सामा रोगीको उपचार गर्दा बिरामीको मानसिक लक्षणलाई महत्व दिइँदैन । लोकालाईज(रोग) भएको ठाउँलाई ध्यानमा राखेर उपचार गरिन्छ । समष्टिगत रुपमा (इन जेनरल) उपचार गरिँदैन ।


डायविटिजको लागि औषधीको सेवन वा इन्सुलिनको इन्जेक्शन जति दिन लगाए पनि मधुमेहबाट कहिलेपनि छुटकारा दिलाउन सक्दैन । यो कुरो त तपाईंलाई पनि राम्ररी थाहा छ । यसको मुलभूत कारण के हो भने सुगरको औषधि वा इन्सुलिन (इन्जेक्शन) ले सुगरलाई नियन्त्रित गर्नसक्छ । तर सुगर बढाउने (स्ट्रेस हार्मोन्स) जुन हाम्रो मस्तिष्कबाट निरन्तर निस्किरहेको छ , त्यसलाई नियन्त्रित गर्न सक्दैन । यो इन्सुलिन हाम्रो मस्तिष्कलाई नियन्त्रित गर्नमा असमर्थ रहन्छ । यहाँ एउटा केशको उल्लेख गर्न सान्दर्भिक होला । रेग्मी थर भएका ३५ वर्षको युवकलाई सरकारी अस्पतालको रिपोर्टअनुसार सुगर देखियो । चिकित्सकले औषधि खानुपर्छ भनेर सिफारिस गरे ।


परिवारमा कसैलाई छैन, शारीरक हिसावले पनि दुबलो/पातलो ठिकैको छु । कसरी सुगर भयो ? भनेर चिन्ता भयो । कसैको सल्लाहमा समय मिलाएर भेटन आए । केश टेकिंगको क्रममा उनको मानसिक अवस्थाबारे बुझ्दा बैंकबाट लिएको ऋण तिर्न ३५ दिने नोटिस आयो । कहाँबाट तिर्ने, घरबार लिलाम हुने भो, आफन्तबाट पनि कुने सहयोग पाइन । यो कुराले गर्दा यिनलाई सप्ताह दिन सम्म निन्द्रा लागेन, कतै हिँडन मनलागेन, काम काज गर्न पनि छोडे । यति मानसिक तनाव भयो कि शरीर दुब्लाउन थाल्यो, हात- खुटा झम–झमाउन थाल्यो । सामान्य काम गर्दा पनि थाकेको अनुभव गर्न थाले । यसै सन्दर्भमा चेकअप गराउँदा सुगर हाइ भएको देखियो । उनको मानसिक लक्षणलाई ध्यानमा राखेर औषधि दिइयो । केही महिनाको उपचार पछि आज रेग्मी स्वस्थ छन्। सुगर टेस्ट गराएर हेर्दा रिपोर्टमा सबै थोक नर्मल देखियो।


यही कारण हो कि होमियोप्याथि चिकित्सामा रोगीलाई एउटा व्याक्तिको रुपमा हेरिन्छ न कि बिरामीको रुपमा । कुनैपनि रोगीको उपचार गर्दा रोगीको मानसिक लक्षणहरुलाई पहिलो प्राथमिकता दिइन्छ । त्यसपछि मात्र शारीरिक एवं अन्य लक्षणहरुलाई महत्व दिने गरीन्छ। रोगीको मानसिकस्तरको आधारमा नै उपयुक्त औषधिको निर्धारण गरिन्छ । यही कारण हो कि होमियोप्याथिमा प्रत्येक रोगीको उसको रोग अनुसार छुट्टाछुट्टै औषधि हुन्छ । रोग एउटै भएता पनि रोग लाग्ने कारण सबैको अलग- अलग हुनसक्छ । जसरी प्रत्येक व्यक्तिको मानसिकस्तर फरक-फरक हुन्छ । त्यसैगरी उसको रोगको औषधि पनि रोग र रोगीको प्रकृति अनुसार छुटै हुनसक्छ ।


होमियोप्याथिमा रोगीको मानसिक अवस्थाको साथ-साथै उसको शारीरक हावभाव( बडिलगंवेज) उसले के भन्छ ? कसरी भन्छ ? बोलाईको, स्बरको टोन,इच्छा- अनिच्छा, भय, उसको प्रकृति(चिसो मनपराउने या तातो) पारिवारिक इतिहास, सामाजिक अवस्था, स्वभाव, निन्द्रा, उसले देखने सपना, पानीको प्यास, उसको खानपान, इत्यादी यथावत कुराहरुमा होमियोप्याथिक चिकित्सकले विशेष ध्यान दिन्छ । यही भएर होला एउटा रोगीलाई हेर्दा एकदेखि डेढ घन्टाको समय लाग्छ । अस्तु ।

प्रकाशित : फाल्गुन १५, २०७४ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?