३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पाठेघरको मुख, स्तन, प्रोस्टेट, आन्द्राको क्यान्सरको नि:शुल्क स्क्रिनिङ

अतुल मिश्र

काठमाडौँ — वीर अस्पतालले केही खास जोखिम समूहमा रहेकाहरुको लागि नि:शुल्क क्यान्सर स्क्रिनिङ सेवा सुरु गरेको छ ।  

पाठेघरको मुख, स्तन, प्रोस्टेट, आन्द्राको क्यान्सरको नि:शुल्क स्क्रिनिङ

यस अन्तर्गत हाल पाठेघरको मुख, स्तन, प्रोस्टेट एवं कोलोरेक्टल(आन्द्रा) क्यान्सर भए नभएको किटान गरिन्छ । तीन महिनापछि फोक्सो, टाउको र घाँटीको क्यान्सरको समेत स्क्रिनिङ गरिने छ । भविष्यमा अन्य क्यान्सर को समेत स्क्रिनिङ गर्ने लक्ष्य अस्पतालको छ ।


कुनै रोगको संकेत वा लक्षण नभएका व्यक्तिमा रोगको सम्भावित उपस्थितिको पहिचान गर्नको लागि उपयोग गर्ने रणनीति स्क्रिनिङ रहेको जनाउँदै अस्पतालको क्लिनिकल ओकोलजी विभागका प्रमुख डा.विवेक आचार्यले भने, 'हाल हामी यी क्यान्सरको जोखिम समूहमा रहेका व्यक्तिहरुको नि:शुल्क परिक्षण गरिरहेका छौं।’


दुई दिनयता अस्पतालमा १ सय १० जनाको स्क्रिनिङ भइसकेको छ । यो संख्या विस्तारै अझै बढ्न सक्छ । हाल क्यान्सरको लक्षण नदेखिएका तर जोखिम समूहमा रहेका व्यक्तिको स्क्रिनिङ गरिन्छ ।


स्तन क्यान्सर परीक्षण अन्तर्गत मेमोग्राम गराउन बाहिर १७ सय देखि २५ सय, पाठेघर मुखको क्यान्सरबारेमा जान्न गरिने प्याप स्मेयर परीक्षणको १२ सय सम्म, प्रोष्टेट क्यान्सरबारे जान्न गरिने पिएसए परीक्षणको ६ सयसम्म र कोलोरेक्टल क्यान्सरबारे जान्न गरिने कोलोनोस्कोपीको अन्त ४ हजार रुपैयाँसम्म पर्ने गरेपनि हाल स्क्रिनिङ अन्तर्गत कुनै शुल्क नलाग्ने डा.आचार्य बताउँछन् ।


यो प्रकृयाको लागि हुने खर्च स्वास्थ्य कर कोषबाट सरकारले उपलब्ध गराउने अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले बताए ।


‘स्क्रिनिङ प्रक्रियाले क्यान्सर रोग लाग्न थाल्दा कै अवस्था वा सफलतापूर्वक उपचार गर्न सकिने अवस्थामा रोग पहिचान गर्ने स्थिति आउँछ,' डा.आचार्य भन्छन् ।


स्क्रिनिङ प्रक्रियासँग जोखिम समूहमा रहेकाहरु सहज रुपमा जोडिए क्यान्सर रोगबाट मर्नै पर्ने अवस्थामा केही हद भएपनि कमी आउन सक्ने समेत उनले औंल्याए ।


स्क्रिनिङबाट प्रि क्यान्सर स्टेज(क्यान्सर हुनु भन्दा अगावैको अवस्था) वा सुरुवाती अवस्थाको क्यान्सरको बिरामी पहिचान भए उचित उपचारद्वारा प्रि–क्यान्सर स्टेजमा करिव शत प्रतिशत र सुरुवाती अवस्थाको क्यान्सर देखिए ८० देखि ९० प्रतिसतसम्म निको पार्न सक्ने समेत डा.आचार्य बताउँछन् ।


स्क्रिनिङले करिव २० प्रतिसशसम्म क्यान्सर रोग हुनबाट जोगाउन सक्छ भने यसले उपचार पछिको जीवन अवधि समेत बढाउँछ ।


मुलुकमा बर्सेनि ३० देखि ४० हजार नयाँ क्यान्सर रोगी देखा पर्ने आँकलन गरिन्छ । महिलामा हाल सबैभन्दा बढी पाठेघर मुखको र त्यसपछि स्तन क्यान्सर देखिएको छ । पुरुषमा भने फोक्सो एवं टाउको र घाँटीको क्यान्सर बढीदेखि राखिएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७४ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?