कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मृगौला रोग

आफूलाई स्वस्थ ठानिरहेकाहरूमध्ये धेरैजसो हुन सक्छन् मृगौला रोगी
अतुल मिश्र

काठमाडौँ — हाम्रो मुलुकमा तपाईं–हामी जस्ता स्वस्थ भनाउँदाहरूमध्ये १० प्रतिशतजति मृगौलाका रोगी हुन्छौँ । तर, खासमा को चाहिँ मृगौला रोगी हौँ भन्ने कुरो सम्बन्धित परीक्षण नगराई थाहा हुँदैन । स्वस्थ भनाउने रोगी व्यक्तिहरूमा लक्षण देखिन थाल्दा मृगौला ६०(७० प्रतिशत क्षतिग्रस्त भइसकेको हुन्छ । 

मृगौला रोग

आफ्नो शरीरको रगत शुद्घ पार्ने प्रमुख अंग मृगौला काम नलाग्ने हुँदै गएको यथार्थ न व्यक्तिविशेषलाई हेक्का हुन्छ, न त उसको परिवारका सदस्यलाई । मृगौला रोगबारे सुरुआती अवस्थामा थाहा पाइन्न । धेरैपछि यसका लक्षण र अन्य समस्या देखिन थालेपछि यसबारे जानकारी हुन थाल्छ, तर त्यतिन्जेल धेरै ढिलो भइसकेको हुन्छ ।

‘हाम्रो मुलुकमा धेरैजसो बिरामीले मृगौला खराब भएको थाहा रोग धेरै बढेपछि मात्र पाउँछन्,’ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले भन्छन्, ‘मृगौला बिगिँ्रदा प्रारम्भिक चरणमा कुनै लक्षण देखिँदैन तर यही त्यो अवस्था हो जसमा रोगबारे थाहा पाइए बिरामीको पूर्ण उपचार सम्भव छ ।’

समयमै उपचार नभए अगाडि गएर यस्तै बिरामीको मृगौला फेल हुन्छ । सबैभन्दा नराम्रो पक्ष के छ भने, आफूलाई स्वस्थ ठानिरहेका मात्र नभई अनुभव गरिरहेकाहरूसमेत मृगौला रोगले प्रभावित हुन सक्छन् ।

‘तपाईं आफूलाई स्वस्थ ठान्नुहुन्छ वा कुनै अप्ठयारो अनुभव भएको छैन भने पनि तपार्इंलाई मृगौला रोग भएको हुन सक्छ,’ मृगौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह भन्छिन्, ‘यसैले नियमित अन्तरालमा मृगौला परीक्षणको माध्यमले आफू स्वस्थ भएको सुनिश्चित गर्नुस् ।’


मुलुकमा करिब ३० लाख व्यक्ति मृगौला रोगको जोखिममा छन् । तीमध्ये ३० हजार व्यक्तिको हाराहारीमा मृगौला नराम्ररी बिग्रने गरेकामा बर्सेनि ३ हजार जना राम्ररी, उपयुक्त रूपले डायलासिस सेवा पाए बाँच्छन्, नत्र तिनको मृत्युको विकल्प हुँदैन ।


किन बिग्रँदै छ मृगौला ?

आम नेपालीको जीवनशैली, आहारविहार, कार्यव्यवहार केही दशकयता बिग्रँदै छ । अस्वस्थकर जीवनशैलीबीच हाल खानपानमा अशुद्घता बढ्दै गएको छ । त्यसमाथि शारीरिक सक्रियतामा समेत कमी आएको छ । हामी आफैँ वातावरण ध्वस्त पारिरहेका छाँै र त्यसैमा सास फेर्न बाँच्न बाध्य छौँ । विज्ञहरूका अनुसार, हालसम्म यसबारे खासै अध्ययन नभए पनि यो रोगको जोखिममा सबै व्यक्ति छन् ।

‘गलत खानपान, प्रदूषित वातावरण, नराम्रो जीवनशैलीबीच हामी रोग लाग्ने वातावरणमै हुर्किरहेका छौँ,’ डा. काफ्ले भन्छन्, ‘यही शैलीमा बाँचिरहेका हाम्रा सन्ततिहरू कति स्वस्थ होलान्, सहजै अनुमान गर्न सकिन्छ ।’

मृगौला रोगबाट बाँच्न स्वस्थकर जीवनशैली अपनाउनुको विकल्प छैन । धूमपान नगर्ने, मांसाहार बढी नगर्ने, निरन्तर व्यायाम गर्ने, स्वस्थकर खानपान गर्ने गरे अवस्था बदलिन सक्छ ।

चिकित्सकीय पुर्जाबिना औषधि पसलबाट आफैँले किनेर वा सोधेर लामो समयसम्म पेनकिलर खाने चलनले समेत मृगौला बिगार्नमा प्रभावकारी भूमिका खेलिरहेको छ । यति मात्र नभएर, आफूखुसी कडा एन्टिबायोटिक खाने बानीले समेत मृगौला बिगारिरहेको डा. काफ्ले औँल्याउँछन् ।


उच्च रक्तचाप र मधुमेहले बिगार्दै छ मृगौला

आम नेपालीबीच आफूलाई भएको उच्च रक्तचाप, मधुमेहको समस्याले भविष्यमा मृगौला बिगार्छ भनेर जानकारी छैन । यी दुइटै रोग मृगौला फेल हुने सबैभन्दा ठूलो कारण हो । वर्षौंसम्म यी दुइटै समस्यालाई बेवास्ता गर्दै उच्च रक्तचाप र मधुमेह नियन्त्रण गर्ने प्रयास गरे पनि उनीहरू मृगौला स्वास्थ्यबारे खासै ध्यान दिँदैनन् । उच्च रक्तचाप र मधुमेहलाई खानपान, चिकित्सकीय सहयोगले ठीक अवस्थामा राख्दा यसले मृगौला बिग्रने सम्भावनालाई कम गर्छ ।

‘उच्च रक्तचाप र मधुमेहको उपचार गराउँदा मृगौलाको अवस्था कस्तो छ भन्नेबारे जान्ने प्रयाससमेत गरिँदैन,’ डा. काफ्ले भन्छन्, ‘मृगौला रोगका कारणले आएको उच्च रक्तचापमा समेत वास्तविक रोगको उपचार नगरी उच्च रक्तचापलाई कम गर्ने प्रयास मात्र गरिन्छ ।’


उच्च रक्तचाप र मधुमेहका बिरामीले उचित खानपान, औषधोपचारद्वारा रोग नियन्त्रणमा राख्नुका साथै नियमित रूपमा मृगौलाको अवस्थाबारे विभिन्न परीक्षणका माध्यमले जान्नुपर्छ । यसो गर्दा यस्ता समस्या भएकाहरूमा मृगौला बिग्रेर थप समस्या उत्पन्न हुनबाट जोगिन्छ ।


अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ डाइबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिज (एनआईडीडीके) का अनुसार यदि तपाईंको परिवारमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग र मृगौला फेल हुने इतिहास छ भने तपाईंलाई मृगौला रोग हुने सम्भावना छ ।

यसैले मृगौला रोगबाट बाँच्न उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्नुका साथै स्वस्थकर खानपानसँगै दिनहुँ उपयोग गरिने चिनी र नुनको मात्रामा कमी ल्याउनुपर्छ । शारीरिक सक्रियतालाई आफ्नो दैनिकी बनाउनुपर्छ भने दिनहुँ न्यूनतम आधा घण्टा वा योभन्दा बढी समय शारीरिक रूपले सक्रिय रहनुपर्छ ।

यति मात्र नभई मृगौला रोग नलागोस् भन्नका लागि आफ्नो शरीरको तौललाई नियन्त्रित र सन्तुलित राख्नुसमेत आवश्यक हुन्छ । दिनहुँ सात–आठ घण्टा गरी सुत्नुपर्छ, तनाव लिनु हुन्न । मृगौला स्वस्थ राख्नु छ भने धूमपान तुरुन्त रोक्नुपर्छ भने मदिराको उपयोगसमेत कम गर्नुपर्छ ।


मधुमेह, उच्च रक्तचाप, मुटुको रोगलाई राम्ररी प्रबन्धन गरेर कोलेस्ट्रोलको सही स्तर राखेर तपाईंले मृगौलालाई रोगी हुनबाट जोगाउन सक्नुहुन्छ ।


बर्सेनि मृगौला परीक्षण गराऔँ

उमेरको तीन दशक नाघेका सबै स्वस्थ व्यक्तिले वर्षमा एक पटक रक्तचाप, सुगर र पिसाबको परीक्षण गराउनुपर्छ । रगतमा क्रिएटिनिनको पनि परीक्षण गराउन सकिन्छ तर यो देखिन थाल्दा मृगौला धेरै बिग्रिसकेको हुन्छ ।

यी सामान्य परीक्षण गराउँदा नै सरदर करिब ९५ प्रतिशत रोग पत्ता लगाउन सकिने उल्लेख गर्दै डा. शाह भन्छिन्, ‘सुरुकै अवस्थामा रोग पत्ता लगाउँदा मृगौला फेल हुने सम्भावनाबाट बाँच्न सकिन्छ ।’


के गर्छ मृगौलाले ?

मृगौला सिमीका दाना आकारको हुन्छ । मुठीजत्रो यो अंग हाम्रो करङको हाडको ठीक तल हुन्छ । मृगौला लाखौं रगत सफा गर्ने इकाइ (जसलाई हामी ‘नेफ्रोन्स’ भन्छौं) को सहयोगले बनेको हुन्छ । प्रत्येक नेफ्रोनले सानो परिणाममा रगतलाई सफा गर्छ ।

मृगौलाले रगतमा भएका नोक्सान पुर्‍याउने पदार्थहरूलाई बाहिर निकाल्न महत्त्वपूर्ण भूमिका खेल्छ । भनिन्छ, यसले दिनहुँ ११३ देखि १४२ लिटरसम्म रगतलाई छानेर साढे ९ सय मिलिलिटरदेखि १ लिटर ८ सय मिलिलिटरसम्म पिसाब बनाउँछ ।

मृगौलाले शरीरमा अतिरिक्त काम नलाग्ने पदार्थ र तरल पदार्थको निर्माण हुन दिँदैन । मृगौलाले सोडियम, पोटेसियम, फोस्फेट जस्ता इलेक्टोलाइटको स्तर स्थिर राख्छ ।

यति मात्र नभएर मृगौलाले यस्तो हार्मोन निर्माण गर्छ जसले रक्तचापलाई नियन्त्रित राख्नुको साथै रातो रक्त कोषको निर्माणका साथै हाडलाई बलियो बनाउनसमेत सघाउँछ । हाम्रो शरीरको फोहोर पदार्थ शुद्घ गर्न अक्षम हुने स्थिति नै मृगौला फेल हुनु हो । बोलचालको भाषामा ‘किड्नी फेल हुनु’ भन्नुको अर्थ दुवै मृगौलाको कार्यक्षमतामा कमी आउनु हो । रगतमा क्रिएटिनिन र युरियाको बढी मात्रा देखिनुले नै मृगौला फेल हुनुलाई दर्साउँछ ।


लक्षण

-अनुहार सुन्निनु ।

-आँखाको चारैतर्फ सुन्निनु, जुन प्राय: बिहान हुने गर्छ ।

-मृगौला फेल भएका अधिकांश रोगीमा सुन्निने लक्षण देखिए पनि केहीमा नदेखिन सक्छ ।

-वाकवाकी लाग्नु ।

-भोक कम लाग्नु ।

-कमजोरी अनुभव भइरहनु ।

-शरीरमा रगतको कमी हुनु ।

-कम उमेरमै उच्च रक्तचाप वा अनियन्त्रित रक्तचाप हुनु ।

-कम्मरनिर, मृगौला भएको ठाउँ दुख्नु ।

-खुट्टा सुन्निनु ।

-बारम्बार पिसाब लाग्नु, खास गरी राति ।

[email protected]

प्रकाशित : फाल्गुन १९, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?