सुपारी : खाइरहे हुन सक्छ क्यान्सर

अतुल मिश्र

काठमाडौँ — भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (बीपीकेएमसीएच) को हेड एन्ड नेक युनिटमा उपचारका लागि दिनहुँ पुग्ने बिरामीहरूमध्ये १५ प्रतिशतजति ओरल सबम्युकस फाइब्रोसिस (ओएसएफ) अर्थात् मुख नखुल्ने रोग भएकाहरू छन् ।

सुपारी : खाइरहे हुन सक्छ क्यान्सर

समयमै उपचार भए शतप्रतिशत बाँच्न सकिने यो रोग लिएर आउनेहरूमध्ये करिब ९० प्रतिशतसम्म १६ वर्षदेखि ४५ वर्षसम्म उमेर समूहका छन् । र, उनीहरूमा यो समस्या मुख्य रूपमा सुपारी वा गुटखा, पान मसलाजस्ता सुपारी हालेर बनाइने सामग्रीको निरन्तर उपयोगका कारण निम्तिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमानअनुसार, विश्वव्यापी रूपमा ६० करोड व्यक्ति कुनै न कुनै प्रकारले सुपारी मिसाइएको तर तमाखु (सुर्ती, जर्दा) हालिएको वा नहालिएको पान खाने गर्छन् । हाम्रो मुलुकको तराई क्षेत्रमा सुपारी खाने चलनले गहिरो जरो गाडेको छ । यसको अर्थ हो— यससम्बन्धी समस्या पनि यहाँ कम छैन ।

सुपारी जुनसुकै किसिमले खाइयोस्, खानेहरूको गालाको भित्रपट्टि असर पर्दै जान्छ । त्यो कोमल मासुमा परिवर्तन आएर बिस्तारै दर्दनाक अवस्था निम्तिन्छ । यो रोगको असर गाला, जिब्रो आदिमा हुन्छ । यो मुख्य रूपले सुपारीलाई कुनै पनि रूपले खाँदा हुने रोग हो । यो रोगले मुखमा श्लेष्मा (म्युकस) झिल्लीभन्दा तल भएको तन्तुमा असर पुर्‍याउँछ । कमलो तन्तुको ठाउँमा कडा रेसा भएको तन्तु बन्न थाल्छ ।

हाम्रो समाजमा तमाखुलाई क्यान्सरको मुख्य कारक मान्ने व्यक्तिहरूसमेत सुपारीले पनि नोक्सानी पुर्‍याउँछ भन्ने कुरामा विश्वास गर्दैनन् । यसैले होला, बालबालिकादेखि बूढापाकासम्म, दाँत हुनेहरूलाई, सुपारी खानबाट खासै रोकिँदैन । तर, तमाखुभन्दा बढी समयसम्म मुखमा रहने सुपारीबाट निस्किने विभिन्न रसायनले बिस्तारै हामीलाई ओएसएफको चपेटामा पार्दै छन् ।

‘ओएसएफ क्यान्सर होइन तर क्यान्सर हुनुभन्दा अघिको अवस्था जस्तै हो,’ बीपीकेएमसीएच, हेड एन्ड नेक युनिट प्रमुख डा. डेजकुमार गौतम भन्छन्, ‘यो रोग भएकाहरूमध्ये १७ प्रतिशतसम्ममा एक दशकमा रोग क्यान्सरमा परिवर्तित हुन्छ ।’

ओएसएफबारे हालसम्म हाम्रो मुलुकमा खासै महत्त्वपूर्ण अध्ययन भएको छैन । तर कुनै पनि रूपमा सुपारी सेवन गर्नेहरूमा यो रोग बढी देखिएको छ । ‘काँचो सुपारी खानेहरूमा त यो समस्या झन् बढी देखिएको बिरामीको चिकित्सा इतिहासले औंल्याएको छ,’ डा. गौतम भन्छन् ।

ओएसएफका सिकार भएकाहरूमध्ये १७ प्रतिशतलाई यो समस्याले मुखको क्यान्सरसम्म डोर्‍याउँछ । बाँकी ८३ प्रतिशत पीडितहरू जीवनभरि क्यान्सरभन्दा पनि नराम्रो अवस्थामा बाँच्न विवश हुन्छन् । ‘यो समस्यासँगै बाँचिरहेकाहरू मुख राम्ररी खोल्न सक्दैनन्, राम्ररी बोल्न सक्दैनन्, खाना राम्ररी सक्दैनन्, जीवन अति दु:खदायी हुन्छ,’ डा. गौतम भन्छन् । तर ओएसएफ भयो भने डराउनुको सट्टा जति छिटो उचित उपचार प्रक्रियामा गए पीडालाई कम गर्दै जीवनयापन गर्न सकिन्छ ।

‘मधेसबाट आएकाहरूमा यो समस्या धेरै बढी देखिएको छ,’ धुलिखेल अस्पतालका म्याक्जिलोफेसियल सर्जन डा. चन्दन उपाध्याय भन्छन्, ‘महिनामा करिब १५ जनासम्म धेरै पहिलेदेखि कुनै पनि रूपमा निरन्तर सुपारी सेवन गर्ने बिरामीहरू हामी कहाँ आइपुग्ने गरेका छन् ।’ डा. उपाध्यायका अनुसार ओएसएफ भएकाहरूमध्ये २० प्रतिशतमा यो समस्या मुखको क्यान्सरमा परिवर्तित हुने सम्भावना हुन्छ ।

अझ पान मसला, गुटखा आदिमा सुपारीसगै राखिएका तमाखु, विभिन्न रसायनहरूले गर्दा त ओएसएफ हुने दरलाई तीव्र रूपमा बढाइरहेको छ । कम उमेरदेखि नै पान मसला, गुटखा खाने बानीले गर्दा युवा, किशोरहरूलाई समेत छिट्टै ओएसएफ विकसित हुन थालेको छ ।

अझै पनि समाजमा सूर्ती नराम्रो हो भन्ने थाहा रहे पनि सुपारीसमेत नराम्रो हो भन्ने जानकारी छैन । उनी सूर्ती र धूमपानका सामग्रीजस्तै सुपारी भएको उत्पादनमा समेत यो स्वास्थ्यका लागि अत्यन्त हानिकारक र यसले क्यान्सर हुन सक्ने चेतावनी लेखिएको हुनुपर्ने बताउँछन् ।

सुपारी एउटा प्राकृतिक पदार्थ हो, जो ‘ऐरिका क्टैचु’ नाम गरेको रूखको फलबाट प्राप्त हुन्छ । सुपारीलाई निकोटिन, मदिरा र कैफिनपछि चौथो स्थानमा प्रयोगमा आउने नसिलो वस्तु मानिन्छ ।

लक्षण
पहिला सुपारी सेवन गर्नेहरूमा गालाको मासुभित्रबाट बाक्लो बन्छ । बाक्लो भएपछि त्यसमा घाउसमेत देखिन्छ । त्यहाँ सामान्य पकाएको खाना खाँदा पोल्ने आदि समस्यासमेत देखिन्छ । यो सबैभन्दा सामान्य लक्षण हो ।

यस्ता बिरामीहरू ‘पहिले मुख यति खुल्थ्यो, अहिले आँ गर्न पनि मिल्दैन’ भन्ने गुनासोसमेत गर्छन् । यो रोगले कडा रूप लिँदै जाँदा मुख खुल्ने दर कम हुँदै जान्छ । दुखाइका कारण मसालेदार तातो खाना बिरामी खान सक्दैनन् ।

धेरैजसो व्यक्तिको सामान्य अवस्थामा चारवटा औंला पस्ने गरी मुख खुल्ने गर्छ । तर अस्पताल पुग्ने धेरैजसो बिरामी मुखमा दुइटा आंैला जान पनि अप्ठयारो हुने अवस्था अर्थात् दोस्रो र तेस्रो अवस्थामा हुने गरेको डा. उपाध्याय बताउँछन् ।

मुख नखुल्दा राम्ररी नखाने पौष्टिक कुरा शरीरमा जान नपाएर यसले विभिन्न अन्य असरसमेत देखा पर्छ ।

उपचार
ओएसएफको पहिलो अवस्थामा विभिन्न औषधिहरूको माध्यमले बिरामीको जीवनलाई सहज बनाउने प्रयास गरिन्छ । यसको दोस्रो अवस्थामा भने मुखको शल्यक्रिया गरेर विभिन्न समस्या समाधान गर्नुको साथै मुख खोल्ने बनाइन्छ । यसमा मुखको फिजियोथेरापीसमेत गर्न सकिन्छ । ओएसएफको उपचार गरेर यो समस्यालाई बढ्न नदिने बनाउन सकिन्छ ।

उपचारले भविष्यमा यो क्यान्सरमा परिवर्तिन नहुने स्थिति ल्याउन सकिन्छ । तर यसका लागि बिरामीले उपचारसँगै निरन्तर फलोअप जारी राख्नुपर्ने डा. गौतम बताउँछन् । यसको उपचारअन्तर्गत तातोपिरो खान नसक्नेलाई तातोपिरो खान र मुख राम्ररी खोल्न सक्ने बनाइन्छ । जतिखेर तपाईंको मुख खाना खाँदा पोल्न सुरु हुन्छ, त्यही अवस्थामा फाइब्रोसिस सुरु भएको हुँदैन ।

यसै समयमा सुपारी खाने बानी त्याग गर्दा बिरामीको अवस्था सामान्यतर्फ फर्कन सक्ने डा. उपाध्याय बताउँछन् । तर रोग सुरु भइसकेपछि यसबाट भएको क्षतिको भर्पाइ गर्न सकिँदैन । अर्थात् यो क्षति सधैंका लागि हुन्छ ।

सुपारी वा सुपारी मिसिएको पदार्थ सेवन नगर्नेमा खासै यो रोग नहुने उल्लेख गर्दै डा. उपाध्याय भन्छन्, ‘सुपारी सेवन नगरे शतप्रतिशत यो रोगबाट बचाउ गर्न सकिन्छ । यो वंशानुगतसमेत होइन, हामीले आफैंले रोजेर ल्याएको समस्या हो ।’

[email protected]

प्रकाशित : चैत्र ३, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?