३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बालबालिकालाई हर्निया

बच्चाहरूलाई हर्निया भए जति बेला शल्यक्रिया गरे पनि हुन्छ भन्ने समाजमा भ्रम छ । तर ढिलो शल्यक्रिया गराउनुले जटिलता बढाउँछ ।
अतुल मिश्र

काठमाडौँ — हाम्रो मुलुकमा बालबालिकासम्बन्धी शल्यक्रियामध्ये १५ प्रतिशतजति हर्नियाका कारण हुने गर्छ । हामीलाई पत्याउन गाह्रो भए पनि के सत्य हो भने, यो समस्या बालबालिकामा सामान्य रूपले देखिनेमध्ये एक हो ।

बालबालिकालाई हर्निया

यो समस्या शिशुहरूमा जन्मजात पनि हुन सक्छ । नवजातदेखि १६ वर्षसम्मलाई शल्यक्रिया, पेडियाट्रिक सर्जरी अर्थात् बाल शल्यचिकित्साअन्तर्गत आउँछ ।

चिकित्सा तथ्यपत्रअनुसार, हर्निया १० वर्षमुनिका र ४० वर्षमाथिकामा हुने सम्भावना बढी हुन्छ । सबै उमेर समूहमा हर्निया देखिने भए पनि बालबालिकामा गरिने सबैभन्दा सामान्य शल्यक्रिया हर्नियासम्बन्धी नै हुन्छ ।

हाम्रो शरीरभित्र केही अंगमा खोक्रो ठाउँ हुन्छ । ‘बडी क्याभिटी’ भनिने यो ठाउँ छालाको सूक्ष्म आवरण (मेम्ब्रेन) अर्थात् झिल्लीले ढाकिएको हुन्छ । जतिखेर यो झिल्ली च्यातिन्छ, तब अंगको केही भाग निस्किने समस्या नै हर्निया हो । अझ सामान्य भाषामा, आम रूपले देखिने समस्यालाई इंगित गर्दै भन्ने हो भने, पेटको मांंसपेशी कमजोर भएको ठाउँबाट पेटको खण्ड, आन्द्राबाहिर निस्किने समस्या नै हर्निया हो ।
‘हाम्रो मुलुकमा बालबालिकामा हुने विभिन्न समस्याअन्तर्गतका कुल शल्यक्रियामध्ये करिब १५ प्रतिशत स्थान हर्नियाको अप्रेसनले ओगटेको छ,’ वरिष्ठ बाल शल्यचिकित्सक डा. आरपी चौधरी भन्छन् ।

बालबालिकालाई शल्यक्रिया गराउनुपर्ने नामले नै अभिभावक तर्सने गर्छन् । उनीहरू अन्य वैकल्पिक उपाय रोज्दै जसरी पनि शल्यक्रियाबिना नै स्वास्थ्यस्थिति सामान्य पार्ने प्रयास गर्छन् । तर विज्ञहरूको धारणा फरक छ । हर्निया पहिचान भएपछि जति छिटो शल्यक्रिया गरेर रोगबाट मुक्ति पाउनुपर्छ ।

‘बच्चाहरूलाई हर्निया भए जति बेला शल्यक्रिया गरे पनि हुन्छ भन्ने समाजमा भ्रम छ,’ डा. चौधरी भन्छन्, ‘तर ढिलो शल्यक्रिया गराउनुले जटिलता बढाउँछ ।’

बिरामीको पेटको तल्लो भागमा गाँठो वा सुन्निएको हुनु, रुँदा, चिच्याउँदा वा खोक्दा पेटमा गाँठो देखिनु र सुत्दा त्यो हराउनु भनेको हर्निया हुन सक्ने लक्षण भएको डा. चौधरी औँल्याउँछन् ।

हर्निया खास गरी पाँच प्रकारका हुन्छन् :
१. इंगुइनल हर्निया : यो हर्निया तिघ्राको जोर्नीमा हुन्छ । अण्डकोषमा थैलो झर्छ र यसको आकार बढ्दै जान्छ । यो हर्नियामा बिरामीको उपचार गर्न धेरै ढिलो भए अण्डकोष सानो हुन सक्ने सम्भावना हुन्छ । समस्या देखिएकाहरूमा यो हर्निया इंगुइनल हो कि हाइड्रोसिल भन्नेचाहिँ छुट्टयाउनैपर्छ । ‘किनभने हर्नियाको उपचार तुरुन्त गर्नुपर्छ, हाइड्रोसिलको उपचारका लागि दुई वर्षसम्म कुर्न सकिन्छ,’ डा. चौधरी भन्छन्, ‘हाइड्रोसिलको समस्या भए दुई वर्षसम्ममा आफैँ पनि निको हुन सक्छ ।’

२. अम्भिलिकल हर्निया : यो हर्नियामा पेटको सबैभन्दा कमजोर मांसपेशी, हर्नियाको थैलो नाइटोबाट बाहिर निस्किन्छ । यो हर्निया कमजोर मांसपेशी भएकाहरूमा हुन्छ । यो हर्नियामा आन्द्रा अड्किने सम्भावना पनि हुन्छ । सानो अम्भिलिकल हर्निया भए दुई वर्षसम्मको उमेरमा आफंै पनि निको हुन सक्छ । तर ठूलो हर्निया भए छिटो शल्यक्रिया गर्नु आवश्यक हुन्छ । जटिल स्थितिमा आन्द्रा अड्केर बालबालिकालाई असाध्य पेट दुख्ने, वान्ता हुने र बाहिर निस्किएको आन्द्रामा उचित रक्तसञ्चार नहुँदा कुहिनसमेत सक्छ ।

३. कन्जेनाइटल डाइफ्राग्मेनिटक हर्निया : यस्तो हुँदा आन्द्रा, पेट र छातीबीच भएको झिल्लीमा प्वाल भएर छातीमा पुग्छ । यो समस्या शिशु गर्भमा रहँदासमेत अल्ट्रासाउन्डका माध्यमले थाहा पाउन सकिन्छ । करिब २० साताको गर्भ परीक्षण गर्दा यो समस्याबारे थाहा पाउन सकिन्छ । यस्तो जानकारी भए राम्रो स्वास्थ्य केन्द्रमा गएर उपचार गराउनुपर्छ । गर्भावस्थामा यो समस्याबारे थाहा नपाइए, जन्मपछि शिशुमा छिटछिटो सास फेर्ने लक्षण देखिए यो रोग भएको हुन सक्ने भन्दै डा. चौधरी थप्छन्, ‘जन्मपछि छाती र पेटको साधारण एक्स–रेबाट पनि यो रोगबारे थाहा पाउन सकिन्छ ।’ अल्ट्रासाउन्ड र सिटी स्क्यानले यो समस्या भए/नभएको किटान गर्न सकिन्छ । रोगबारे थाहा पाएपछि शिशुको श्वास–प्रश्वासको अवस्था सही पारेर शल्यक्रिया गरिन्छ । यस्तो शल्यक्रिया सानो प्वाल पारेरसमेत गर्न सकिन्छ ।

४. फेमोरल हर्निया : यस्तो हुँदा पेटको अंग, खुट्टातिर तिघ्राको नसाको मुखबाहिर निस्किन्छ । यो नसाले खुट्टामा रगतको आपूर्ति गर्ने काम गर्छ । यस्तो हर्निया पुरुषको दाँजोमा महिलालाई बढी हुन्छ ।

५. इनसिजनल हर्निया : यसमा पुरानो शल्यक्रिया भएको ठाउँबाट अंगविशेष बाहिर निस्किन्छ ।

लक्षण
- पेटको बोसो वा आन्द्रा बाहिरतर्फ निस्किनु ।
- छालामुनि डल्लो वा गाँठो निस्किनु ।
- गाँठोमा गाह्रोपना र दुखाइ हुनु ।
- उभिँदा, मलमूत्र त्याग्दा समस्या हुनु ।

उपचार
विशेषज्ञहरू भन्छन्– हर्नियाको सफल र प्रभावकारी उपचार शल्यक्रिया नै हो । थुप्रै विधिले यसको शल्यक्रिया गरिन्छ । बालबालिकाको क्षतिग्रस्त भागलाई शल्यक्रियाबाट चिकित्सकले मर्मत गर्छन् । अचेल दूरबिन पद्घतिले समेत शल्यक्रिया गरिन्छ । जुन ठाउँमा शरीरभित्रको अंग बाहिर आउँछ त्यो ठाउँलाई बलियो बनाउन विभिन्न चिकित्सकीय प्रक्रिया अपनाइन्छ । यसअन्तर्गत कहिलेकाहीँ ‘म्यास’ (जाली) को समेत प्रयोग गरिन्छ । यसरी त्यहाँबाट पुन: अंग निस्किने सम्भावना निकै कम हुन्छ ।

[email protected]

प्रकाशित : चैत्र २४, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?