बच्चाको मुखको स्वास्थ्यमा ख्याल राख्नु पर्नेमा जोड

प्रदीप मेन्याङ्बो

धरान — बाल दन्तरोग विशेषज्ञ चिकित्सकहरुले बालबालिकाको मुखको स्वास्थ्यमा अभिभावकले सबैभन्दा पहिले ख्याल गर्नु पर्नेमा जोड दिएका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न दन्त चिकित्सकहरुकाे तीन दिने दोस्रो वार्षिक सम्मेलनले बालबालिकामा दाँत तथा गिजा सम्बन्धीका समस्या भयावह रुपमा देखिएकाले मुखको स्वास्थ्यमा ख्याल गर्न जोड दिएको हो ।

प्रदेश प्रमुख उमाकान्त झा नीति कार्यक्रम प्रस्तुत गर्दै । तस्विर : अमृता अनमोल / कान्तिपुर

नेप्लीज एसोसिएसन अफ पिडियाट्रिक डेन्टिस्ट्रीका संस्थापक केन्द्रीय अध्यक्ष प्रा डा बन्दना कोइरालाका अनुसार नेपालका ९० प्रतिशत बालबालिकाहरुलाई मुख र दाँतमा समस्या देखिएको छ। आर्थिक रुपले सम्पन्न अधिकांश अभिभावकहरुले आफ्ना बालबालिकालाई समय दिन नसक्ने र विपन्न परिवारको उपचारमा साधन स्रोत र पहुँच नपुग्ने भएकाले यो समस्या बढी रहेको उनले बताईन्।

उनले भनिन्, ‘नेपालको पानीमा फ्लोराईड अति कम भएको सर्भेले देखाएको छ। दाँतकालागि चाहिने फ्लोराईड कम हुँदा पनि बालबालिकाहरुमा दाँतमा किरा लाग्ने र गिजामा समस्या देखिन्छ।’ अभिभावकले बालबालिकालाई फकाउँदा र पुरस्कृत गर्ने क्रममा गुलियो चकलेट दिने तर मुखको स्वास्थ्यमा ख्याल नगरिदिने चलन बढेकाले पनि यो समस्या बढेको उनले बताईन्।

अढाइ दशक अघिसम्म ठूला र वृद्धवृद्धालाई मात्र दाँतमा किरा लाग्ने समस्या देखिने गरेको थियो। तर, पछिल्लो समयमा आएर यो समस्याबाट सानै उमेरदेखि बालबालिकाहरु पीडित हुने गरेका छन्।

नेपालको कूल जनसंख्याको ३५ प्रतिशत बालबालिका छन् तर बालदन्त रोगमा स्नातकोत्तर गरेका विशेषज्ञ चिकित्सकहरु भने मुस्किलले १८ जना मात्र छन्। विपी प्रतिष्ठानमा मात्र बालदन्त रोग चिकित्साशास्त्रको स्नातकोत्तर सम्म अध्ययन हुँदैआएको छ। बालदन्त चिकित्सकहरुको सम्मेलनले नेपालमा बालदन्त रोग उपचार गर्ने चिकित्सकहरुको संख्या बढाउनु पर्नेमा पनि जोड दिएको छ। सम्मेलनमा नेपाल, भारत र इटलीका बालदन्तरोग विषेशज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो।

प्रकाशित : चैत्र २५, २०७४ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पोर्चुगलमा नेपाली दम्पती रोगले थलिएपछि बिचल्ली

श्रीमान्लाई पक्षाघात, श्रीमतीको मिर्गौला फेल
भरत प्रधान

लिस्बन (पोर्चुगल) — वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।

फोटो सौजन्य : भरत प्रधान ।

आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गौला बिग्रेपछि दुई महिनादेखि ओछ्यानमै छिन् ।

गत माघ २६ गते बिहान उठ्न खोज्दा देब्रेतर्फको शरीरको एक हर नचल्ने, मुखबाट र्‍याल मात्र बग्ने र बोल्नसमेत नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पुर्‍याएकी थिइन् । उच्च रक्तचापका कारण पक्षाघात भएका चन्द्रकिशोरलाई १० दिनको उपचारपछि घर फर्काइएको भए पनि ओछ्यानमै थलिनुपरेको छ । चिकित्सकको सल्लाहअनुसार चन्द्रकिशोरले दैनिक व्यायाम गर्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । उपचारपछि बोल्न सक्ने भए पनि उठ्न, बस्न र चल्नसक्ने स्थिति भने छैन ।

यता श्रीमान्को औषधोपचार, रेखदेख र स्याहार गरिरहेकी शर्मिलाको श्रीमान्लाई अस्पतालबाट ल्याएको केही दिनमै एक्कासि खुट्टा सुनियो । स्वयं ओछ्यानमै थला परेका चन्द्रकिशोरले श्रीमतीको उपचारका लागि अस्पताल पुर्‍याए । सामान्य खुट्टा सुन्निएकी शर्मिलाको उपचार गर्न अस्पताल लैजाँदा दुवै मिर्गौला बिग्रिएको चिकित्सकले बताए ।

शर्मिलाले भनिन्, “दुवै मिर्गौला फेल भइसकेको कुरा सुन्दा बूढाबूढी नै रोइकराइ गर्यौँ तर हाम्रो रोइकराइ सुनिदिने कसले ? दुवै जना थलिएपछि हाम्रा दिन रोएर नै बित्ने गरेका छन्”, गहभरी आँशु निकाल्दै शर्मिलाले आफ्नो पीडा रासससँग सुनाइन्, “हामी त बेसहारा भयौं, सहारा दिने कोही छैन । जीवन र मृत्युको दोसाँधमा छौं हजुर । परदेशको बसाइ, त्यसमाथि श्रीमान् श्रीमती दुवै जना ओछ्यानमा थलिनुपर्दा हाम्रो त बिजोक नै भएको छ ।” कागजपत्र मिलाएर दुई वर्ष अगाडि मात्र पोर्चुगल आएकी शर्मिलाले छ महिनादेखि सानोतिनो कामसमेत गर्दै आएकी थिइन् ।

अहिले शर्मिलाको दुवै मिर्गौलाको डायलासिस भइरहेको छ भने चन्द्रकिशोरको पनि उपचार भइरहेको छ । चन्द्रकिशोर दम्पती ओछ्यानमै थला परे पनि पानीसम्म दिने मान्छे साथमा छैनन् । बिरामीको रेखदेख र स्याहार त कता हो कता, बिहान बेलुकीको खानाको जोहोसम्म गरिदिने कोही छैनन् । पराजुली दम्पती राजधानी लिस्बनस्थित आरोइसको एउटा घरको सानो कोठा भाडामा लिएर बस्दै आएका छन् ।

दुई छुट्टाछुट्टै ओछ्यानमा थलिएका दम्पतीको दैनिकी एकार्कालाई टुलुटुलु हेरेर बित्ने गरेको छ । आफूहरु दुवै थला परेपछि औषधोपचार र दैनिक छाक टार्न समेत धौधौ भएको चन्द्रकिशोरले बताए । मृत्युसँग लडिरहेको चन्द्रकिशोर दम्पतीले सहयोगका लागि याचना गरेका छन् । युरोप आउँदा लिएको ऋण चुक्ता गरी धनसम्पत्ति जोड्ने सुनौलो सपना बुनेको दम्पत्तीका एक छोरा छन् ।

बिरामी भई थला परेपछि काममा जान सकिएन, पैसा आउने बाटो छैन, घरभाडा, बिजुली पानी, बिहान बेलुकीको छाक टार्न समेत समस्या भएको उनले सुनाए । “खाना पकाइदिने मान्छे छैन, पानी दिने कोही छैन”, भक्कानिँदै चन्द्रकिशोरले भने, शौचालय जान पनि सक्दिन, दुवै जना थलिएका छौं, यस्तो वज्रपात त कसैलाई पनि नपरोस् ।”
“के गर्नू हजुर हाम्रो त रोएर नै दिन बित्ने गरेको छ, न उपचार गर्न पैसा छ, न त छाक टार्न नै ” चन्द्रकिशोर दम्पतीले बिलौना गर्दै भने, “लौ न हजुर हाम्रो समस्याका विषयमा समाचार लेखिदिनुपर्‍यो । विश्वभर रहेका नेपाली दाजुभाइको सानो सानो सहयोग पाइयो भने पनि बाँच्न सकिन्छ कि भन्ने आशा छ ।”

मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन सकियो भने श्रीमतीलाई बचाउन सकिन्छ भन्ने आशा व्यक्त गर्दै चन्द्रकिशोरले भने । श्रीमान्श्रीमती दुवै थलिएपछि औषधोपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको चितवन समाज पोर्चुगलका अध्यक्ष तुलसीराम थपलियाले राससलाई जानकारी दिए ।

चन्द्रकिशोर दम्पतीको जीवनरक्षाका लागि विश्वभर रहेका सबै नेपालीलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको थपलियाले बताए । उनीहरुको औषधोपचार र सहयोगका लागि आफूहरु संस्थागत रुपमा लागिपरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताए । यहाँको सरकारीस्तरबाट पाउनसक्ने सेवा सुविधा र औषधि उपचारका लागि पनि पहल भइरहेको उनले बताए ।
–रासस

प्रकाशित : चैत्र २५, २०७४ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT