१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

डा. ललित कुमार मिश्र

काठमाडौँ — केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?  

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

मैले समय लिएर आउनुस् हेरु ? भने । बच्चालाई परीक्षण गरि हेर्दा, दाँत आउने क्रममा उपरोक्त समस्या देखिएको रहेछ । लक्षण अनुसार केहि औषधि दिएर साता दिनपछि फलोअपमा आउनु होला भनेर पठाए । बच्चा अहिले ठिक छ । यो त एउटा उदाहरण मात्र हो ।


यस किसिमको समस्याबाट धेरै जसो बच्चाहरु आफु त परेशान हुन्छ नै साथै आमाबाबुलाई पनि चिन्तित बनाउछ । आज यसै सन्दर्भमा जानकारी दिने प्रयास गरेको छु । उमेरनुसार बच्चाको दाँत आउनु स्वभाविक र प्राकृतिक प्रकृया हो । यो प्रकृया कष्टरहित हुनपर्ने हो । तर यो त्यसबेला मात्र संभव छ जव तपाईको बच्चा पुर्णतया स्वस्थ्य होस् । धेरै जसो बच्चाहरुलाई दुधको दाँत निस्किने बेलामा धेरै जसो स्वास्थ्य समस्याबाट गुज्रिनु पर्दछ अर्थात सामना गर्नुपर्ने हुन्छ।


दाँतको प्रकार : बच्चाको दाँत दुई प्रकारले आउँछ । दुधे दाँत र अर्को स्थाई दाँत । पहिलो पटक बच्चा लगभग पाँच/सात महिनाको उमेरमा दुधेदाँत निस्किन शुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राईमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आईसकेको हुन्छ। त्यसपछि ६ देखि १२ वर्ष उमेरको बीच दुधेदाँत झर्न शुरु भईहाल्छ र स्थाई दाँत आउने क्रम शुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ । दाँत आउने समयमा धेरै जसो बच्चाहरुलाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ ।


लक्षण : दाँत आउने बेलामा बच्चाहरुमा देखिने प्राय जसो लक्षणहरु निम्न लिखित छन्, * दाँत ढिलो गरी आउनु । * चिडचिडापन, बेचैनी, डर, रुनु र कराउनु । * ज्वरो आउनु, ज्वरोको साथै शरीर कडा हुनु, ऐठन हुनु । * टाउको दुख्नु तथा शीर गर्म हुनु । * पातलो हरियो नपचेको दिसा गर्नु । * आँखा रातो, रसिलो हुनु, चिलाउनु, कचेरा आउनु । * कान दुख्नु , कानबाट पीप आउनु । * मुखबाट अत्यधिक र्‍याल बग्नु । * गिजा सुन्निनु, गिजा समवेदनशिल हुनु । कुनै चिज मुखमा राखेर गिजाले टोक्नु । * पेट फुल्नु, दुख्नु, पातलो दिशा हुनु, कब्जियत हुनु, बान्ता हुनु, पेटमा चुर्ना पर्नु, खानमा रुचि नहुनु । *पिशाब फेर्ने बेला दर्द हुनु । *निद्रा नलाग्नु, निद्रामा तर्सिनु, रुनु, कराउनु । * छाला सम्बन्धि समस्या देखिनु आदि ।

सल्लाह/सुझाव : (क) सामान्यत केहि शारीरिक एवं मानसिक परेसानि जस्तै, हल्का ज्वरो आउनु । तीन चार पटक पातलो दिशा हुनु, बच्चाको दाँत आउने बेला हुने नै कुरा हुन् । यसै दौरान बच्चामा अलिक चिडचिडापन पनि हुन्छ । यी सबै सामान्य कुराहरु हुन् । यसको लागि कुनै औषधिको आवश्यकता पर्दैन । बच्चाको शरीरले आफै म्यानेज गर्छ । (ख) ख्याल गर्नु पर्ने कुरो के हो भने ज्वरो आएको बेला बच्चालाई नुहाउनु हुँदैन । चिसोबाट बचाउनु पर्छ । जबसम्म बालक आमाको दुध खान्छ, तबसम्म बच्चाको स्वास्थ्य आमाको स्वास्थ्यसंग गाँसिएको हुन्छ । यसकारण तनाव, डर, भय, घवराहटबाट आमाले बच्नु पर्दछ । यसको असर पनि बच्चामा देखिन्छ । अत: बच्चा बिरामी भएको बेला आमाले हड्बडाउनु हुँदैन । दुध ख्वाउने आमाले आफ्नो खानपानमा विषेश ध्यान दिनु पर्दछ । आमाले खाने कुरा जे खान्छिन्, त्यसको असर बच्चामा पनि देखिन्छ । अत: भोजन सुपाच्य र पोषिलो हुनु पर्दछ ।


होमियोप्याथिक चिकित्सा : बच्चाको दाँत आउने बेलामा हुने समस्याको लागि होमियोप्याथिकमा बिभिन्न औषधिहरु छन् । जसको प्रयोग लक्षणअनुसार गरेमा रामबाणको काम गर्दछ । होमियोप्याथिक चिकित्साले बच्चाको दाँत सजिलैसित आउनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । दाँत पनि बलियो र मजबुत हुन्छ । कसै-कसैमा दुधेदाँत नझरिकन स्थायी दाँत आउन थाल्छ । यि दाँतहरु बाड्गो-टिड्गो, बिकृत, रुपमा आउछन्, पछि कालो भएर जान्छ । स्थायी दाँत आउनु भन्दा अगाडि या यसको दौरान होमियोप्याथिक उपचार गराउनले यस समस्याबाट सजिलै बच्न सकिन्छ । दाँत उम्रिनसाथै कालो हुने प्रवृति हटेर जानुका साथ आउने स्थायी दाँतहरु स्वस्थ्य र बलियो हुन्छन् ।


औषधिहरु : रोगीको शारीरिक अवस्था एवं मानसिक लक्षणहरुलाई मध्ये नजर राखेर प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन् : केमोमिला, बेलाडोना, पोडोफाईलम, जालपा, क्रियोजोट, फाइटोलेक्का, कल्केरियाफाँस, कल्केरिया फ्लोर, कल्केरिया कार्ब, मर्कसल, साईलिशिया, स्टेफसिग्रिया, सल्फर, थुजा , ईथुजा, टेरिबिन्थ, मेगनेशिया कार्ब, टयुबरकुलिनम आदि ।


औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकसंग परामर्श लिएर सेवन गर्नु लाभदायक हुन्छ ।

अस्तु !


[email protected]



प्रकाशित : वैशाख २१, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?