ओखर

काठमाडौँ — ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम (१० प्रतिशत डीबी) हुन्छ ।

ओखर

भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टा पछिदेखि नै पाउन थालिन्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले तपाईंको रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । अनि शरीरमा रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब पर्दैन ।

ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्छ, जसले गर्दा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर बिस्तारैबिस्तारै समाप्त हुन्छ । यसरी हाम्रो मुटुले शरीरमा रक्त सञ्चारको लागि बढी मिहिनेत गर्नुपर्दैन । ओखर खानाले अस्थमा, अर्थराइटिस, छालाका समस्याहरू, एक्जिमा र सोराइसिसजस्ता रोगबाट जोगिन सकिन्छ ।

ओखर खाँदा मस्तिष्क चुस्त हुन्छ, स्मरणशक्ति तीक्ष्ण हुन्छ । पोषक तत्त्वले परिपूर्ण, प्रोटिनको राम्रो स्रोत हुने भएकाले ओखर वर्षभरि नै खान सकिन्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययन अनुसार एक दानो ओखरमा (२८.३५ ग्राम) मा १४६ क्यालोरी हुन्छ । ओखर खानाले मुटु रोग, क्यान्सर लगायत अन्य रोगको जोखिम कम हुन्छ ।

पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्त्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा ओखरले सकारात्मक प्रभाव पार्छ । एउटा अध्ययनअनुसार, दिनहुँ ७५ ग्राम ओखर खाए २१ देखि ३५ वर्षसम्मका स्वस्थ पुरुषको समूहमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार हुँदै जान्छ ।

ओखर खानाले पाचन क्रिया राम्रो हुन्छ, पेटसम्बन्धी समस्याबाट छुटकारा पाइन्छ । यो खानाले पेटका कीराहरूसमेत मर्छन् । ओखरले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ । यसले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । खोकीले सताउँदा ओखर भुटेर खाने गरे आराम पाइने कुरो आयुर्वेदमा उल्लेख छ । घुँडा दुखे ओखरको तेलले मालिस गर्दा निको हुन्छ ।ओखर खाइरहने गरे निद्रा नलाग्ने समस्या पर भाग्छ । ओखर सेवनले शरीरमा मेलाटोनिन हार्मोन बढी निस्किन थाल्छ । मेलाटोनिन निद्रासँग सम्बन्धित हार्मोन हो । यसले नर्भस सिस्टमको सन्देसलाई मस्तिष्कमा पठाउन र निद्रासँग जोडिएका सबै गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्छ । मेलाटोनिनको बढी मात्राले गर्दा निद्रा राम्ररी लाग्छ ।

प्रकाशित : वैशाख २९, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?