कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुपस

पुरुषलाई भन्दा महिलालाई बढी हुन्छ यो रोग
अतुल मिश्र

काठमाडौँ — लुपस यस्तो रोग हो, जुन महिलालाई पुरुषका तुलनामा नौ गुना बढी हुने गर्छ । कतिसम्म भने, सेलेना गोमेजलगायत कैयौँ कलाकार कुनै न कुनै बेला यो रोगबाट पीडित भएका छन् । हाम्रोमा चाहिँ विडम्बना, यो रोगका बिरामी कति छन् भन्नेबारे कुनै वैज्ञानिक तथ्यांक छैन ।सिस्टेमिक लुपस इरिथेमाटोसस अर्थात् लुपस एउटा अटो इम्युन रोग हो । यसले शरीरका विभिन्न अंग (जस्तै : छाला, जोर्नी, मृगौला, मस्तिष्कलगायत) लाई प्रभावित गर्छ ।

लुपस

नेसनल इन्स्टिच्युट अफ अर्थराइटिस एन्ड मस्कुलोस्केलेटल एन्ड स्किन डिजिज (एनआईएएमएस) का अनुसार, सामान्य रूपमा मानिसको रोगप्रतिरोधी क्षमताले संक्रमणवाट जोगाउँछ, तर लुपसजस्तो रोगले चाहिँ शरीरका स्वस्थ कोशिका र तन्तुहरूमै असर गर्छ । यसले शरीरको जोर्नी, छाला, मृगौला, मुटु, फोक्सो, रक्तनली, मस्तिष्क लगायतका थुप्रै अंगलाई नष्ट गर्न सक्छ ।

‘यो रोग हाम्रो मुलुकको १ लाख जनसंख्यामा १ देखि २० जनासम्मलाई हुन सक्ने अनुमान गर्न सकिन्छ,’ रुमेटालजिस्ट डा. विनीत वैद्य भन्छन्, ‘हालै यो रोगबारे सर्वेक्षण गर्न लागिएको छ । एक वर्षपछि कुनै आधिकारिक तथ्यांक दिन सकिने अवस्था हुन सक्छ ।’यो रोग हुने कारणबारे हालसम्म थाहा पाउन सकिएको छैन । हाम्रो रोगनिरोधी क्षमता लुपस भएका बेला असामान्य हुन पुग्छ र आफ्नै तन्तुलाई चिन्न नसकेर आक्रमण गर्न थाल्छ । यसो हुनुमा हार्मोन, पर्यावरण, जिनको मिलिजुली कारक हुने जनाउँदै डा. वैद्य थप्छन्, ‘यो सरुवा रोग हैन र प्रत्यक्ष रूपले वंशानुगत रोग पनि होइन, तर हामीले पुर्खाबाट पाएका केही जिनले यो रोग हुनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।’

हाम्रो मुलुकमा लुपस रोगको पहिचान गर्ने स्थिति अत्यन्त कमजोर छ । यो रोग एउटै लक्षण लिएर नआउने भएकोले रोग प्रभावितहरू पहिले अन्य विशेषज्ञकहा उपचारको लागि पुग्दै अन्तमा रुमेटालजिस्टकहाँ आउने डा. वैद्यको अनुभव छ । अर्कातिर कतिपय बिरामीमा रोग राम्रो भए पनि वा नराम्रो भए पनि एक्कासि बीचमा औषधि खान छोड्ने प्रवृत्तिसमेत धेरै बढी छ । १५–४५ वर्ष उमेर समूहका महिलाले लुपस भएका बेला औषधि उपयोग नगर्दा गर्भावस्थामा समस्या आउँछ । हाम्रो मुलुकमा युवा महिलाको मृगौला प्रत्यारोपण गराउनुपर्ने कारणको खोजी गर्ने हो भने तीमध्ये आधामा लुपस नै कारक रहेको डा. वैद्यको दाबी छ ।

यो रोगको लक्षणका आधारमा शारीरिक परीक्षण र रगत जाँच गरेर पहिचान गरिन्छ । प्रारम्भिक अवस्थामै रोग पहिचान गरेर बचाउको लागि जीवनभर लुपसको औषधि खाँदासमेत खास कुनै साइड इफेक्ट हुँदैन । डा. वैद्य भन्छन्, ‘समय मै रोग पहिचान गरेर नियमित औषधि सेवन गरे लुपसका बिरामीहरूसमेत अन्य सामान्य व्यक्तिजस्तै सामान्य जीवनयापन गर्न सक्छन् ।’ लुपस हाल उपचारले पूर्ण निको हुने नभए पनि लक्षणका आधारमा विभिन्न औषधि दिएर यसलाई नियन्त्रण गर्न सकिन्छ । तर जटिल अवस्थामा ढिलो गरी रोग पहिचान हुँदा उपचार प्रक्रियासमेत जटिल हुने गरेको छ । लुपसले गर्दा मस्तिष्क, मृगौला, मुटु आदि महत्त्वपूर्ण अंगमा घातक असर हुन सक्छ । आधुनिक चिकित्सा अपनाएर निरन्तर उपचार प्रक्रियासँग जोडिएर धेरैजसो स्थितिमा लुपसलाई नियन्त्रित गर्न सकिन्छ ।

नियमित उपचारमा नबसे लुपसका बिरामीको औसत आयु १० वर्ष कम हुने औल्याउँदै डा. वैद्य थप्छन्, ‘जटिल अवस्थाका रोगीहरूको मृगौला र मुटु संक्रमणजस्तो स्थितिले मृत्यु हुने जोखिम बढी हुन्छ ।’लुपसले शरीरका विभिन्न अंगमा असर पार्ने हुनाले यसको उपचारमा विभिन्न क्षेत्रका चिकित्सकहरूको सहयोगसमेत लिने गरिन्छ । लुपसका बिरामीको लागि खानपानमा कुनै छेकबार छैन । खाना स्वस्थकरचाहिँ हुुनुपर्छ ।

लक्षण
लुपको सामान्य लक्षण जोर्नी दुख्नु, जीउमा डाबर हुनु । घामको सम्पर्कमा आउने छालाको भागमा बिमिरा निस्किन्छ । गालामा पुतली आकारका डाबर देखिनु र नाक रातो हुनु सामान्य लक्षण हो ।

लुपसले शरीरका विभिन्न अंगमा असर गरे पनि जतिखेर हाम्रो आन्तरिक अवयवमा प्रभाव पार्न थाल्छ अनि लक्षण बढी गम्भीर हुन्छ । पिसाबमा प्रोटिन, उच्च रक्तचाप आदि देखिन थाल्छ ।

यसबाहेक घाममा पर्दा छालामा खटिरा आउने, थकाइ लाग्ने, कारण थाहा नभएको निरन्तर हल्का ज्वरो आउने, कपाल झर्ने, घाँटीमा घाउ हुने, तौल बढने वा घटने, आँखा सुक्खा हुने, छाती दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, पिसाबमा रगत देखिनेजस्ता लक्षण पनि देखिन सक्छन् ।

लुपसका बिरामीले कसरी जोगिने ?
लुपसका बिरामीहरूलाई घामबाट बँच्ने सल्लाह विशेषज्ञहरूले दिन्छन् । घाममा निस्किनै परे चिकित्सकीय सल्लाहमा घामबाट जोगाउने क्रिम (सन स्क्रिन लोसन) उपयोग गर्नुपर्छ । लुपसका महिला रोगीले गर्भनिरोधका लागि चक्की वा सुईको प्रयोग गर्नु हुँदैन । कन्डोम वा सुरक्षित प्रक्रिया अपनाउनुपर्छ ।

गर्भधारण गर्दा
लुपसका बिरामी महिलाले गर्भधारण गर्नुभन्दा ६ महिना अघिदेखि नै योजना बनाएर चिकित्सकीय सल्लाहमा औषधि उपचार सुरु गर्नुपर्छ । गर्भावस्थामा निरन्तर औषधि उपचारमा बस्दा ९० प्रतिशत केसमा सफलता प्राप्त हुन्छ ।

[email protected]

प्रकाशित : वैशाख २९, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?