रक्तचाप

सामान्य देखिए पनि औषधि सेवन आवश्यक हुन सक्छ ।
अतुल मिश्र

काठमाडौँ — तपाईंको उमेरअनुसार रक्तचाप ठीक छ ? सधैंभरि तपाईंको रक्तचाप (ब्लड प्रेसर) १२०/८० एमएमएचजी (मिलिमिटर्स अफ मर्करी) हुँदैन । उमेर लगायत विभिन्न शारीरिक, मानसिक, भौगोलिक स्थितिले तपाईंको रक्तचापलाई निर्धारित गर्छ । हालका दिनमा १२०/८० भन्दा कम रक्तचापलाई सामान्य मानिन्छ ।

रक्तचाप

यसैले आफूलाई कति रक्तचाप हुनु सामान्य हो, त्यो जान्न अंकमा भर नपरेर मुटु रोग विशेषज्ञको सल्लाह मान्नुपर्छ । तपाईंले आफ्नो रक्तचापलाई सामान्य ठाने पनि चिकित्सकले तपाईंको अवस्थालाई विश्लेषण गरेर औषधि प्रस्तावित गर्न सक्छन् ।

‘विभिन्न अनुसन्धानमा सामान्य व्यक्तिको औसत रक्तचाप देखाइने गरिए पनि कतिलाई सामान्य र कतिमा औषधि सुरु गर्ने भन्नेबारे निर्णय आफूले नगर्नुस्,’ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘कुनै व्यक्तिलाई माथिल्लो रक्तचाप १३० भए पनि असर गर्न सक्छ भने कुनै व्यक्तिलाई माथिल्लो रक्तचाप १३५ भए पनि उच्च रक्तचापले असर नगर्न सक्छ ।’

औषधि खान १४०/९० बीपी कुर्नु आवश्यक नरहेको औंल्याउँदै डा. ओममूर्ति थप्छन्, ‘उमेरअनुसार बीपी बढ्छ, तर बीपीले तपाईंलाई दूरगामी असर गर्छ वा गर्दैन भन्ने निक्र्योल गरेर चिकित्सकले सामान्य बीपी देखिए पनि तपाईंलाई औषधि लिन भन्न सक्छन् ।’

१३०/८८ रक्तचाप देखिएको ४० वर्षे व्यक्तिमा समेत रक्तचापको औषधि प्रस्तावित गर्ने अवस्था आउन सक्ने जनाउँदै उनी भन्छन्, ‘केही व्यक्तिलाई कम बीपीमा पनि मृगौला लगायतका अंगमा असर पर्न सक्छ, यसैले बीपीले दूरगामी असर गर्छ वा गर्दैन भन्ने निक्र्योल चिकित्सकलाई गर्न दिनुस् ।’

उमेर बढदा बीपी पनि बढछ । बूढापाकाहरूमा माथिको बीपी बढछ तर तलको घट्ने गरेको छ । ७० वर्षको उमेरमा बीपी १५०/८० हुन सक्छ । माथिको बीपी बढ्दासमेत औषधि सेवन गर्नुपर्ने आवश्यकता रहेको डा. ओममूर्ति सुझाउँछन् ।

विभिन्न अध्ययनअनुसार रक्तचाप ११५/७५ एमएमभन्दा बढी हुँदा विभिन्न असर पर्ने देखिएको छ । ११५/७५ भन्दा माथि हरेक २० एमएम सिस्टोलिक रक्तचाप बढनाले र हरेक १० एमएम डायस्टालिक रक्तचाप बढ्नाले मुटु र रक्तवाहिनीसम्बन्धी रोगको जोखिम दोब्बर हुने डा. ओममूर्ति बताउँछन् ।

के हो रक्तचाप ?
जब मुटु खुम्चिन्छ भने मुटुबाट रगत पम्प भएर रगत पुर्‍याउने नलीको माध्यमले बाँकी शरीरमा पुग्छ । यो रगतले रक्तवाहिनी नलीको भित्तामा दबाब उत्पन्न गर्छ । यो दबाब सिस्टोलिक रक्तचाप हो ।

पुन: खुम्चिनुअघि जब मुटु आराम गरिरहेको हुन्छ अनि रक्तवाहिनीमा भएको दबाबलाई डायस्टोलिक रक्तचाप भनिन्छ । तपाईंको रक्तचाप यही दबाबको परिणाम (रिडिङ) हुन्छ । जब यो रिडिङ एउटा स्तरभन्दा माथि पुग्छ भने यसलाई उच्च रक्तचाप वा हाइपरटेन्सन भन्छौं ।

रक्तचाप हुने सामान्य कारण हो— तपार्इंको रक्तवाहिनी साँगुरिएको छ र शरीरमा रक्तसञ्चारका लागि मुटुले बढी मिहिनेत गर्नुपरिरहेको छ । यो प्रक्रियामा रगतले रक्तनलीको भित्तामा निकै दबाब दिने गर्छ ।

रक्तचापको अवस्था
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार दक्षिण–पूर्व एसिया क्षेत्रमा बर्सेनि १५ लाख व्यक्तिको उच्च रक्तचापसम्बन्धी जटिलताका कारण मृत्यु हुन्छ । यो क्षेत्रका २५ वर्षभन्दा माथिका ३६ प्रतिशत युवालाई सन् २००८ मा उच्च रक्तचाप देखिएको आकलन गरिएको छ ।

अझ मुलुकमा १५ वर्षमाथिको १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या पाइएको पछिल्लो अध्ययनले देखाएको छ ।

‘२०१६ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण’ अनुसार २४ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषमा सम्भावित उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) को समस्यासमेत पाइएको छ ।

डा. ओममूर्तिद्वारा सन् २०१४ मा काठमाडौं उपत्यकाका ५,४४३ व्यक्तिमा गरिएको एउटा अध्ययनमा यहाँ २८ प्रतिशतलाई सामान्य रक्तचाप (१२०/८०), ४४ प्रतिशतलाई प्रि–हाइपरटेन्सन (१२०–१३९/८०–८९) र २८ प्रतिशतलाई उच्च रक्तचाप (१४०/९० भन्दा माथि) को समस्या देखिएको थियो ।


कति रक्तचाप ?
सामान्य रूपमा भन्ने हो भने, १२०/८० भन्दा कम रक्तचापलाई नै राम्रो मानिन्छ । यस्तै प्रि–हाइपरटेन्सन भने १२०–१३९ एमएम मर्करी सिस्टोलिक र ८०–८९ एमएम मर्करी डायस्टोलिकभन्दा
कमलाई मानिन्छ ।

उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको पहिलो चरण १४०–१५९ एमएम मर्करी सिस्टोलिक र ९०–९९ एमएम मर्करी डायस्टालिकलाई मानिन्छ । यस्तै, हाइपरटेन्सनको दोस्रो चरण १६० एमएम मर्करी सिस्टोलिक र १०० एमएम मर्करी डायस्टोलिकभन्दा बढीलाई मानिन्छ ।

डा. ओममूर्तिका अनुसार मधुमेह, मृगौला र मुटु रोग भएकाहरूलाई भने रक्तचाप धेरै कम हुनुपर्छ । उनीहरूमा १३०/८० भन्दा तलै रक्तचाप राख्ने सिफारिस गरिन्छ ।

उच्च रक्तचापबारे अमेरिकन हार्ट एसोसिएसनको नयाँ दिशा निर्देश गत वर्ष अमेरिकन हार्ट एसोसिएसन र अमेरिकना कलेज अफ कार्डियोलजीसँगै अन्य ९ वटा स्वास्थ्य संस्थाहरूले उच्च रक्तचापको अवस्थालाई पुन: परिभाषित गर्दै १३०/८० को स्थितिलाई उच्च रक्तचापको रूपमा परिभाषित गरेका थिए । यसअघि ६५ वर्षभन्दा तलका लागि १४०/९० र ६५ वर्षभन्दा माथिका लागि १५०/८० लाई उच्च रक्तचापको रूपमा जनाइएको थियो ।

अमेरिकन हार्ट एसोसिएसनले उच्च रक्तचापको परिभाषालाई हालै पहिलेको दाँजोमा अलि कडा पारेको छ । यसअन्तर्गत सामान्य रक्तचापका लागि १२०/८० भन्दा तल अर्थात् माथिल्लो रक्तचाप १२० भन्दा कम र तल्लो रक्तचाप ८० भन्दा कम हुनुपर्छ । माथिल्लो १२०–१२९ र तल्लो रक्तचाप ८० भन्दा कमलाई समेत बढेको रक्तचापका रूपमा परिभाषित गरेको छ । उच्च रक्तचापको पहिलो अवस्थालाई माथिल्लो रक्तचाप १३० देखि १३९ र तल्लो रक्तचापलाई ८० देखि ८९ का रूपमा देखाएको छ ।

उच्च रक्तचापको दोस्रो अवस्थालाई माथिल्लो रक्तचाप १४० वा योभन्दा माथि एवं तल्लो रक्तचाप ९० वा योभन्दा माथि हुने उल्लेख गरेको छ ।

हार्ट एसोसिएसनले उच्च रक्तचापको संकटग्रस्त अवस्था अर्थात् तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्ने स्थितिका रूपमा माथिल्लो रक्तचाप १८० भन्दा माथि र तल्लो रक्तचाप १२० भन्दा माथि हुनुलाई मानेको छ ।

[email protected]

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?