३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

थारु समुदायको दु:ख : सिक्कल सेल एनिमिया

अतुल मिश्र

काठमाडौँ — पीडा नै यति बेला उनको साथी बनेको छ । उनको शरीरको कुनै पनि भागमा कुनै पनि बेला दुख्न थाल्छ । सबैभन्दा बढी छाती, पेट र हातखुट्टामा पीडा हुने गर्छ । यो सब उनकै कारण भएको भने होइन । उनले बाजेबराजु हुँदै बुवाआमाबाट वंशानुगत रूपमा पाएको रोग सिक्कल सेल एनिमियाले गर्दा यो कष्ट भोग्नुपरिरहेको हो ।

थारु समुदायको दु:ख : सिक्कल सेल एनिमिया

‘यसको पीडा शब्दमा वर्णन गर्न सकिन्न,’ बर्दियास्थित बार बर्दिया २ का वडाध्यक्ष खुसीराम थारू आफ्नी २९ वर्षीया छोरीको दु:ख सुनाउँछन्, ‘यो पीडा मरेर बाँच्नुजतिकै हुन्छ । यसले गर्दा सम्पूर्ण परिवार प्रभावित हुन्छ ।’

हाम्रो मुलुकमा यो रोग सबैजसो समुदायका मानिसलाई फाट्टफुट्ट हुने गरे पनि पश्चिमको थारू समुदायमा भने उल्लेख्य भेटिने गरेको छ । ‘सिक्कल सेल पश्चिम नेपालको थारू समुदायमा करिब १२ प्रतिशत रहेको एउटा अनुसन्धानले देखाएको छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की अध्यक्ष डा. अञ्जनी झा भन्छिन् ।

सिक्कल सेलको जिन औलोग्रस्त क्षेत्रमा पाइने भेरी अञ्चल अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे बताउँछन् । यो रोग पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारू समुदायमा बढी देखिएको छ ।

सिक्कल सेलग्रस्त करिब ६ प्रतिशत बालबालिकाको ६ महिनाभित्रै मृत्यु हुने गरेका छन् भने एउटा ठूलो हिस्सा २०/२१ वर्षमै मृत्युवरण गर्न बाध्य छ । उक्त रोगले प्रभावितहरू पनि जीवनको कुनै समयमा गएर गम्भीर रूपमा बिरामी पर्छन् । पश्चिम नेपालमा सिक्कल सेल रोगका कारण चिकित्सककहाँ पुग्नेहरूमध्ये ७० प्रतिशतजति १५–३० वर्ष उमेर समूहका रहेको तथ्यांक दिँदै डा. पाण्डे भन्छन्, ‘सिक्कल सेल भएका ४० वर्षमाथिका बिरामी थोरै छन् । अहिलेसम्म दुई जना ६० वर्षमाथिका बिरामीको उपचार गरेको छु ।’

पुस्तौंपुस्ता चल्ने सिक्कल सेल रोग हाम्रो रगतमा भएको रातो रक्तकणिकाभित्रको हेमोग्लोबिनलाई प्रभावित गर्ने रोग हो । यो रोगको सबैभन्दा पहिलो वर्णन जेम्स हैरिक नामक चिकित्सकले सन् १९१० मा ग्रेनाडाका चिकित्सा विज्ञानका छात्रमा हँसिया आकारको रातो रक्तकोष भेटेपछि गरेका थिए ।

हेमोग्लोबिनले हाम्रो शरीरको प्रत्येक खण्डमा अक्सिजन पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छ । सिक्कल सेलका रोगीमा फरक प्रकारको हेमोग्लोबिन पाइन्छ । यसमा रातो रक्तकोषिका गोलो हुनुको सट्टा आकार परिवर्तित भई हसिया आकारको हुन जान्छ । यसको आकार मात्र परिवर्तन हुँदैन, सिक्कलग्रस्त रातो रक्तकोषिका लेसाइलो एवं कडासमेत हुने भएकोले यो साँघुरो रगतको नलीमा सजिलै प्रवाहित हुन पाउँदैन । कति पटक त यो रगतको नलीमा अवरोधसमेत उत्पन्न गर्छ ।

‘यसले रगतको माध्यमले तन्तुमा हुने अक्सिजनको आपूर्तिमा बन्द भएर त्यहाँ दुख्न थाल्छ र तन्तु नष्ट हुन थाल्छन्,’ वीर अस्पतालकी मेडिकल जेनेटिक्स युनिटकी प्रमुख डा. निलम ठाकुर भन्छिन्, ‘सिक्कलको कुनै खास उपचार उपलब्ध छैन । बोनम्यारो र स्टेम सेल प्रत्यारोपणबाट सीमित व्यक्तिको उपचार गर्न सकिन्छ ।’

यो रोगको उपचारको मुख्य लक्ष्य रोगीलाई पीडा नहोस् भनेर कुनै उपाय गर्नु, स्ट्रोक एवं अन्य लक्षण र जटिलता रोक्नु र आँखालाई नोक्सान हुन नदिनु नै हो । यसको कुनै एउटा खास उपचार नभएकोले प्रत्येक रोगीमा देखिएको लक्षणका आधारमा उपचार गर्ने प्रक्रिया फरक हुने डा. ठाकुर बताउँछिन् । ‘उपचारको मुख्य उपायअन्तर्गत रगत चढाउनु, नसाको माध्यमले औषधि दिनुको साथै औषधिहरूको माध्यमले दुखाइ कम गर्नु हो,’ उनले भनिन् ।

सिक्कल सेलका दुई थरी बिरामी हुन्छन्— बाहक र रोगी । यो रोगको बाहकमा सामान्य रूपमा रोगको लक्षण प्रकट हुँदैन । नेपालगन्ज मेडिकल कलेजका डा. श्याम विश्वकर्मा भन्छन्, ‘यसलाई समाप्त गर्न नसकिए पनि आधुनिक चिकित्सा विज्ञानको समुचित प्रयोग गरेर यसको दुष्प्रभाव घटाउने सकिन्छ ।’ सामान्यत: रगत कोषको आयु १ सय २० दिन भए पनि सिक्कल सेलमा रातो रक्तकोष निर्माण भएको १० देखि २० दिनभित्र मर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सिक्कल सेलमा रातो रक्तकोष छिटो प्रतिस्थापन नहुने भएकोले रगतमा रातो रक्तकोषको कमी आएर प्रभावित व्यक्तिलाई रक्तअल्पता हुने गर्छ ।

[email protected]

प्रकाशित : जेष्ठ १९, २०७५ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?