कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

घामको पोलाइ

घामले तराईमा भन्दा पहाडमा बढी पोल्छ र त्यति नै छिटो छाला डढाइदिन्छ ।
‘समुद्र सतहबाट एक हजार फिटको उचाइमा परावैजनी किरणको तीव्रता ८–१० प्रतिशतसम्म बढ्छ । त्यसैले जति बढी उचाइमा गयो, त्यति नै बढी तपाईंको शरीरको नछोपिएको, सनस्क्रिन आदिको उपयोगले सुरक्षित नतुल्याइएको भाग बढी डढ्ने वा कालो हुने गर्छ ।’
अतुल मिश्र

काठमाडौँ — हिउँदबाहेक अरू बेला तराईतिर केही दिन घुमेर फर्केका काठमाडौंका कुनै पनि व्यक्तिको गर्मीपछि दोस्रो गुनासो हुन्छ- कालो भएर आइयो । साँच्चै, तपाईमा घामको प्रत्यक्षमा एक साता रहेका व्यक्तिहरू पूर्ववत् शारीरिक रोगन लिएरचाहिँ घर फर्कंदैनन् ।

घामको पोलाइ

तर, अर्को भुल्न नहुने सत्य के हो भने, तराई वा समथर भूभागमा भन्दा पहाडमा घामले बढी डढाउँछ वा शरीरको छाला कालो पारिदिन्छ ।


घामको प्रत्यक्ष सम्पर्कमा आएका कारण अनुहार, हात, गर्दन लगायत डढाएका व्यक्तिहरूको संख्या हाम्रो मुलुकमा कम छैन ।


गर्मी याममा समेत अन्य ठाउँको दाँजोमा केही चिसो अनुभव हुने काठमाडौं उपत्यकालगायतका उच्च पहाडी स्थलहरूमा समेत घामले गर्दा छालामा देखिने पोलाइलगायतका समस्याहरूबाट प्रभावित हुनेहरू प्रशस्त छन् ।


हाल महिला मात्र नभई युवा जमातका पुरुषले पनि घामले ल्याउने कालोपनाबारे सचेत हुन थालेका छन् । घामको डढाइ वा यसले ल्याउने अनुहारमा कालोपनाबाट जोसुकै व्यक्ति सामान्य सचेतता अपनाएर जोगिन सक्छन् ।


‘घरबाहिर काम गर्ने, बढी समय बिताउने जोसुकै व्यक्ति सफा आकाश भएको समय मात्र हैन, बादल लाग्दा ताकासमेत सूर्यको परावैजनी किरणको सम्पर्कमा आउँछन्,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘एक हिसाबले भन्ने हो भने प्रत्यक्ष घाम छालाको सौन्दर्यको दुश्मन नै हो ।’


सनस्क्रिन वा लुगाले तपाईंको छाला सुरक्षित नहुँदा कुनै पनि समय तपाईंको छाला बढी घामले डढ्न वा घामले गर्दा कालो हुन सक्छ ।


घामको सम्पर्कमा धेरै समयसम्मको साथले हाम्रो छालाको लचिलोपनामा कमी आउँछ । छाला मोटो, कठोर, च्याउरी परेको, र पातलोसमेत हुन सक्छ ।


‘तपाईंको छाला जति बढी सूर्यको प्रत्यक्ष प्रकाशको सम्पर्कमा आउँछ त्यति छिटो तपाईंको छाला बुढयौलीतिर जान्छ,’ डा. कर्ण भन्छन्, ‘अझ तपाईंको उमेर बढदै जाँदा घामले छालामा पुर्‍याउने क्षतिको न्यूनीकरण हुने शारीरिक प्रक्रियासमेत कम हुँदै जान्छ ।’


घाममा परावैजनी किरण ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन प्रकारको भए पनि परावैजनी किरण ‘ए’ ले जोडने तन्तुलाई नष्ट गर्नुको साथै क्यान्सर हुने जोखिमसमेत बढाउँछ । परावैजनी किरण ‘बी’, छालामा कम भित्रसम्म गए पनि केही प्रकारको क्यान्सरको कारक मानिन्छ भने प्राकृतिक परावैजनी किरण ‘सी’ वातावरणद्वारा नसोसिने भएकाले हाम्रा लागि कुनै जोखिम उत्पन्न गर्दैन ।


डा. कर्णका अनुसार गहिरो रंगको छाला भएकाहरूमा, हलुका रंगको छाला भएकाहरूको दाँजोमा सूर्यसँग सम्बन्धित क्षति र रोग हुने सम्भावना कम भए पनि सबै जातजातिका व्यक्तिमा छालाको क्यान्सर हुन सक्छ ।


मुख्यत: बाल्यकालमा हुने घामको डढाइले तपाईंमा छालाको क्यान्सर (मेलेनोमा) हुने जोखिमसमेत बढाउने डा. कर्ण बताउँछन् ।


जति उचाइ त्यति डढाइ
नयाँ अध्ययनहरूअनुसार जति उचाइ (अल्टिच्युड) बढ्छ, घामले डढाइ वा कालो बनाउने प्रक्रिया त्यति नै छिटो हुने गरेको छ । डढ्ने वा कालो हुने जोखिम धेरै बढ्छ । पहाडमा समथलको दाँजोमा घामको डढाइ वा कालो बनाउने प्रक्रिया छिटो हुन्छ ।


‘एउटा अध्ययनअनुसार हरेक एक हजार फिटको उचाइमा करिब ८ देखि १० प्रतिशतसम्म परावैजनी किरणको तीव्रतामा वृद्घि हुन्छ,’ डा. कर्ण भन्छन्, ‘जति बढी उचाइ हुन्छ, त्यति बढी तपाईंको शरीरको नछोपिएको, सुरक्षित (सनस्क्रिम आदिको उपयोगले) नपारिएको छालामा डढाइ, कालोपनालगायत अन्य नकारात्मक प्रभाव पर्छ ।’


हिमाली क्षेत्रमा उचाइ मात्र नभई हिउँले समेत ९० प्रतिशतसम्म परावैजनी प्रकाशलाई तपाईंतर्फ परावर्तित गर्ने भएकाले त्यहाँ नाटकीय रूपमा जोखिम बढाउने जनाउँदै उनी भन्छन्, ‘हेर्नोस् घाँस आदिले मात्र करिब ३ प्रतिशत जति सूर्यको प्रकाशलाई परावर्तित गर्ने गर्छ ।’


यति मात्र नभई ताल, तलैया, पोखरी पानीले समेत करिब शतप्रतिशतसम्म परावैजनी किरणलाई परावर्तित गर्न सक्छ । डा. कर्णका अनुसार मधेस मात्र नभई पहाडी क्षेत्रमा बस्नेहरूले झन बढी घामको डढाइबाट बँच्नुपर्ने आवश्यकता छ ।


के गर्छ घामले ?
अमेरिकन एकेडेमी अफ डर्मेटोलजी (एएडी) का अनुसार हाम्रो छालालाई रंग प्रदान गर्ने मेलानिल गाढा रंग भएकाहरूमा बढी र फिक्का रंग भएकाहरूमा कम हुन्छ । हाम्रो शरीरले छालाको भित्री तहलाई सुरक्षित राख्न सामान्य रूपमा मेलानिल बनाइराखेको हुन्छ ।


जतिखेर हाम्रो छाला चर्को घामले गर्दा क्षतिग्रस्त हुन्छ, त्यतिखेर छालालाई सुरक्षित राख्न बढी मात्रामा मेलानिल बन्न थाल्छ । यसले गर्दा छालाको रंग परिवर्तन हुन्छ ।
यसअन्तर्गत कालो रंग भएका व्यक्तिको छाला सामान्यत: खैरो रंगमा परिवर्तित हुन्छ भने सेतो छाला बढी रातो हुँदै जान्छ । प्राकृतिक रूपमै कालो वर्ण भएका व्यक्तिको छाला चर्को घाममा डढेन भने यसको अर्थ हो— तपाईंको छालामा क्षति पुगिरहेको छ ।


घाममा डढे
घामले पोले/डढाए अनुहारसहित शरीरका अन्य केही भागको छाला कालो हुन्छ । त्यस्तो अनुभव भए घाममा निस्किन बन्द गरिहाल्नुपर्छ । घामले डढाएको छालामा प्रत्येक दस–पन्ध्र मिनेटको अन्तरमा तौलिया भिजाउँदै राख्दै गर्नुपर्छ । नुहाउँदा पनि हुन्छ । यसो गर्दा छालाको केही ताप बाहिर निस्किन्छ, पोलाइ कम हुँदै जान्छ । पीडा बढी भए चिकित्सकको सल्लाह बमोजिम पीडानाशक औषधि (पेनकिलर) खान सकिन्छ । तौलियाले पुछदासमेत शरीरमा केही मात्रामा पानी रहेकै बेला मोइस्चराइजर लगाउनुपर्छ । यसले गर्दा छालामा आद्र्रता रहिरहन्छ र सुक्खा हुन पाउँदैन ।


घामले डढेका बेला शरीरमा पानीको कमी हुँदै जान्छ । यसैले पानी सक्दो खानुपर्छ । यदि घामले डढेर छालामा फोका आएको छ भने त्यसलाई फोर्न हुन्न । यस्तो फोकाले डढेको भाग निको हुन र त्यहाँ संक्रमण हुन नदिन सघाउँछ ।

घामले नपोलोस् भन्न
-घरबाहिर निस्कनुपरे उपयुक्त टोपी र जीउ छोपिने गरी सुतीको हल्का रंगका उपयुक्त लुगा लगाउने ।
-घरबाट निस्किनुभन्दा आधा घण्टाअघि सन प्रोटेक्सन फयाक्टर (एसपीएफ) १५ वा अझ बढी भएको सनस्क्रिन लोसन लगाउने ।
-उच्च पहाडी भूभागमा जानुपर्दा ३० एसपीपफभन्दा बढीको सनस्क्रिन लगाउने ।
-घाममा बस्नपरेका बेला प्रत्येक दुई घण्टामा सनस्क्रिम लगाउने ।
-बिहान नौ बजेदेखि अपराह्न चार बजेसम्म सकेसम्म छायामा बस्ने ।
-पानी प्रशस्त पिउने ।

डढाइको लक्षण
-छालामा रातोपन देखिनु
-छाला छुँदा तातो अनुभव हुनु
-छाला सुन्निनु
-छाला चिलाउनुु
-पानी भरिएका फोका निस्किनु
-टाउको दुख्नु

[email protected]

प्रकाशित : जेष्ठ २६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?