शरीरमा पसिना किन आउँछ ? 

डा. ललित कुमार मिश्र

काठमाडौँ — शरीरबाट पसिना निस्किनु एक स्वभाबिक प्रक्रिया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्‍याउँछ । पसिनाको माध्यमबाट शरीरभित्र भएको बिकार बाहिर आउँछ । शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छ । 

अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । यसैले मानिस अचेल पसिना आउनेगरी साईक्लिङ, व्यायाम, जगिङ्, मोर्निङवाक या जिममा गएर पसिना निकाल्ने गर्दछन् । तर कहिलेकाहिँ आवश्यकता भन्दा बढीमात्रामा तथा बिनाकारणबस शरीरबाट पसिना आउनथाल्छ । बढी पसिना आउनलाई चिकित्सा विज्ञानमा हाईपरहाईड्रोसिस अर्थात अत्यधिक पसिना आउनु भनिन्छ । एक तथ्याङअनुसार विश्वको कुल जनसंख्याको करिब दुईप्रतिशत मानिसहरुमा हाईपरहाईड्रोसिस भएकोअनुमान गरिएको छ । सामान्यतः महिलाहरुको तुलनामा पुरुषहरुलाई धैरै मात्रामा पसिना आउने गर्दछ ।

Yamaha


पसिना के हो ?
छालाको भित्री सतहमा अवस्थित स्वेट ग्रन्थिबाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्यधिक गर्मीका कारण छालालाई डढ्नबाट जोगाउनुका लागि स्वेट ग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पन्न गर्दछ। जसलाई पसिना भनिएको हो । पसिना आफैंमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।

पसिना कसरी आउँछ ?

शरीरमा पसिना आउनका विभिन्नकारणहरु छन् । वंशानुगत कारणले पनि बढी पसिना आउँछ । गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त मसालादार खाना बराबर खानु, कब्जियत हुँदा पनि पसिना बढी आउँछ । यसबाहेक कुनै शारीरिक रोग भएमा जस्तैः मलेरिया, टाइफाइड, डेंगु, ज्वरो, छातिको टिबी, रगत दुषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, घबराहट, डर, भय, आघात र कडा ज्वरोको कारण पनि बढी पसिना आउँछ । अन्य कारणहरुमा- तातो पेयपदार्थ पिउनु, खैनी, गुट्खा, काँचो सुपाडी तथा नशालु पदार्थको सेवनगर्नु । यसैप्रकार शरीरिक रुपले अत्याधिक मोटोहुनु तथा थाइराइड ग्रन्थि शरीरको ईम्युनो सिस्टमको कारण बढी सक्रिय भयो भने पनि व्यक्तिलाई धैरै पसिना आउने हुन्छ ।

शरीरमा पसिना आउने स्थानहरु

हुन त पसिना शरीरको जुनसुकै ठाँउमा पनि धेरै-थोरै आउनसक्छ । तरपनि पसिना आउने खास ठाँउहरु हाम्रो शरीरमा यसप्रकार छन् । जस्तैः हत्केला, खुट्टाकापैताला, काखी, फिलाको काप यी भागहरुमा प्रायः पसिना बढी नै आउने गर्छ । यसबाहेक टाउको, निधार, माथिल्लो ओठ, पिठ्यु, पेट तिरपनि पसिना आउँछ । कारण के हो भने स्वेटग्रन्थिहरु शरीरको भित्री भागमा-हत्केला र खुट्टाको पैताला तिर बढी मात्रामा हुन्छन । ति स्वेटग्रन्थिहरु अतिसक्रिय भएपछि बढीपसिना आउँछ ।

पसिनाको गन्धः शरीरबाट निस्केको पसिना यदि वाष्पिकरण (वाफ) भएर जान सकेन भने पसिना गन्हाउन थाल्छ । शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ, धैरेपसिना आउनाले छालाको पत्रलाई ओसिलो बनाउँछ । ओसिलो ठाउँमा ब्याक्टेरियाहरुले हुर्किने अनुकुल वातावरण पाउने हुँदा त्यहाँ चाँडै दुर्गन्ध उत्पन्न हुन्छ । साथै पसिना सुकेपछि व्यक्तिले लगाएको लुगामा विभिन्न प्रकारका सेतो, पहेलो, रातो, कालो, टाटेपाटे पसिनाका दागहरु बस्न थाल्छ । कतिपय व्यक्तिको पसिनामा दुर्गंन्ध पनि धैरै हुन्छ । मुख गन्हाउने व्यक्ति वा शरीर गन्हाउने व्यक्तिलाई आफैंबाट दुर्गन्ध आउँछ भन्ने थाहा हुँदैन । सँगै बस्ने, सँगै हिँडने सहयात्रीलाई त्यो दुर्गन्ध खपिनसक्नु हुन्छ । जसको कारणले गर्दा व्यक्तिले सार्वजनिकस्थल, सभा-गोष्ठि र साथीभाइ माँझमा बस्दापनि लज्जित हुनुपर्ने अवस्था हुन्छ । यस्तै गर्मीमा अत्यधिक पसिना निस्किने कारणले कतिपयलाई दैनिक कामकाज गर्नको लागि समेत अप्ठ्यारो हुन्छ । यसअर्थ बढी पसिना आउनेले नियमित रुपमा आफ्नो शरिरको सरसफाईमा ध्यान दिएन भने किटाणुहरु हुर्किन पाउँछन् र जीऊ चिलाउनुका साथै घाउखटिरा आउने हुन्छ।

विषेशगरी पैताला, काखी, कास र हत्केलामा बढी पसिना आउने भएकाले शरीरका यी अगंहरुको सरसफाईमा बढी ध्यान दिनुपर्छ । सरसफाइको लागि महँगो साबुनको जरुरत पर्दैन । साधारण खालको नुहाउने साबुन र पानी नै प्रर्याप्त हुन्छ ।

बढी पसिना आउन नदिन के गर्ने ?

शरीरमा बढीपसिना आउन न दिनका लागि सबभन्दा राम्रो उपाय हो शरीरलाई शीतल राख्नु हो । यसको लागि घाम चर्किएको बेला घाममा ननिस्किने, दौडधुप र व्यायम कम गर्ने, शीतलमा बस्ने, नियमित नुहाउने, सरसफाइमा विशेष ध्यान दिने, पानी प्रशस्त मात्रामा खाने, आफ्नो खानामा हरियो साग-सब्जीकासाथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूलहरु तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफि, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धैरे बेर भोको नरहने, बढी मसालादार खाना नखाने, खानामा लसुन, अदुवा , गोलमरीचको प्रयोग कम गर्ने र प्याजको मात्रा बढाउने गरियो भने अत्याधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ ।

केही मानिसहरु बढी पसिना आउने डरले पानी कम पिउने गर्दछन् । यो राम्रो होईन, पानीको मात्रा शरीरमा कम भयो भने डिहाईड्रेसन हुनसक्छ । यी सबै उपायहरुलाई मनन गरी अपनाइयो भने केही हदसम्म बढी पसिना आउने समस्यालाई घटाउन सकिन्छ । उपर्युक्त विधिको पालन गर्दा पनि शरीरमा पसिनाको मात्रा सामान्य भएन भने चिकित्सकको सल्लाहमा औषधिको सेवन गर्नुपर्छ ।

उपचार
होमियोप्याथिक चिकित्सा विधिमा आवश्यकता भन्दा बढीमात्रामा तथा कुनै कारण बिना नै शरीरबाट पसिना आउँछ भने यस अवस्थामा रोगीलाई उसको रोग लक्षण अनुसार प्रयोग गरिने केही होमियोप्याथिक औषधिहरु निम्नलिखित छन्ः

(१) यदि आँखा बन्द गर्ने बित्तिकै पसिनआउँछ भने ब्रायोनिया, कोनियमको प्रयोग लाभकारी हुन्छ ।
(२) यदि जाडो भएर शरीरमा पसिना आयो भने नक्सभोमिकाको प्रयोग गर्नुपर्छ ।
(३) टाउको बाहेक शरीरको अन्य खुल्ला भएको भागमा पसिना आउनु यस्तो लक्षणमा रोगीलाई थुजा नामक औषधिको सेवन गराउनु पर्छ ।
(४) यदि कुनै कारणबिना नै अनुहारमा पसिना बढी आउछ भने यस्तो अवस्थामा रस टक्स या सिकेलिकोर औषधिको प्रयोग गर्नु लाभदायक हुन्छ ।
(५) यदि रोगीलाई ब्युँझेको अवस्थामा मात्र पसिना आउँछ भने यस्तो लक्षणमा सेम्बुकस नामक औषधिको सेवन हितकारी हुन्छ ।
(६) यदि शरीरमा लुगाले ढाकेको भागमा मात्र पसिना आउँछ भने बिरामीलाई एकोनाईट, बेलाडोना, चायना आदि औषधिको सेवन गर्नुपर्ने हुन्छ ।
(७) यदि पसिना शरीरको देब्रेभागतिर मात्र बढी आउँछ भने पल्साटिला, पेट्रोलियमको प्रयोग गर्दा लाभदायक हुन्छ ।
(८) शरीरको जुन भागपट्टि फर्केर सुत्दा त्यही भागमा बढी पसिना आउँछ भने यस्तो लक्षणमा ब्रायोनिया, नक्सभोमिका, जिकंम आदि औषधिहरुको प्रयोग बढी फाइदाजनक हुन्छ ।
(९) यस्तै जतापट्टि फर्केर रोगी सुत्छ त्यस भागमा पसिना न आउनु, उसको विपरित भागमा पसिना आउनु यस्तो अवस्थामा बेन्जोईक एसिड, थुजा, सेनिकुल्ला नामक औषधिमध्ये लक्षणअनुसार कुनै एकऔषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
(१०) यदि निदाएको बेला मात्र पसिना आउनु र ब्युँझिएपछि हराउनु अर्थात नआउनु । यस प्रकारको लक्षणभएका रोगीलाई कोनियम नामक औषधिको प्रयोग हितकारी हुन्छ ।

उपरोक्त होमियोप्याथिक औषधिहरुको प्रयोग आफ्नो नजदिकको कुनै प्रशिक्षित योग्य तथा अनुभवी चिकित्सकसँग परामर्श लिइ गरेमा लाभदायक हुने छ । अस्तु ।

Esewa Pasal

प्रकाशित : जेष्ठ ३१, २०७५ १४:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पोखरामा विश्वकप फुटबलको रौनक

दीपक परियार

लेखनाथ(कास्की) — रुसमा बिहीबारबाट सुरु हुने विश्वकप हेर्न जहाँ संसारभर खेलप्रेमी तम्तयार छन्, त्यही पर्यटकीय सहर पोखरालाई पनि चटारो छ । जेठको गर्मीसँगै विश्वकप फुटबलको माहोलले यतिबेला पोखरा तातेको छ । 

विश्वकपले पोखराको खेल गतिविधि र आर्थिक कारोबारमा पनि वृद्धि गरेको छ। खेल सामाग्रीका पसलमा मन परेका देशको जर्सी र खेलाडीका पोस्टर किन्नेको भीड छ। नयाँ टीभी किन्न होडबाजी नै चलेको छ।

होटल रेस्टुरेन्टहरूले बडेमानका स्क्रीन राखेर फुटबल हेर्ने व्यवस्था मिलाइरहेका छन्। घरमै ठूलो पर्दामा हेर्न रुचाउनेहरूले प्रोजेक्टर नै राख्न थालेका छन्। पोखराको बजारमा बुधबार साँझ सबै पसलका प्रोजेक्टरहरू बिक्री भइसकेको व्यवसायीले बताएका छन्।

पोखराको रानीपौवा स्पोटर्स सेन्टरले बिहीबार फुटबल फिभर फुटसल टुर्नामेन्ट नै गर्दैछ। सहभागी हुन चाहने टिमले मन परेको देशको जर्सी लगाउनुपर्ने नियम छ। सेन्टरका सञ्चालक जितेश प्रधान २० भन्दा बढी टिमले प्रतियोगितामा सहभागिता जनाउने बताउँछन्।

ब्राजिल कि अर्जेन्टिनाकाः
नेपालमा जस्तै पोखरामा पनि ब्राजिल र अर्जेन्टिनाका फ्यान धेरै छन्। त्यसपछि बेलायत, जर्मनी, स्पेन, फ्रान्स, इटाली लगायत युरोपियन मुलुकका फ्यान छन्। ब्राजिल र अर्जेन्टिनाका फ्यानबीचमा सामाजिक सञ्जालमा जुहारी नै चल्ने गरेको छ। एकअर्कालाई खिस्सी गर्दै ट्रोल बनेका छन्।

सहारा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य नेपालमा कुनै एक आदर्श खेलाडीलाई हेरेर टिमको प्रशंसक बन्ने परिपाटी रहेको बताउँछन्। पोखरेली पनि महान् फुटबलर पेलेलाई हेरेर ब्राजिल र म्याराडोनालाई हेरेर अर्जेन्टिनाको फ्यान बढी भएको उनको अनुभव छ।

उनी स्वयं भने बेलायतको फ्यान हुन्। ‘मलाई डेभिड बेकह्याम मन पर्ने भएकोले बेलायत मन परेको हो,’ उनले भने। यद्यपि अहिलेको विश्व कपमा ब्राजिल र अर्जेन्टिना फाइनलमा भिड्ने उनको अनुमान छ। ‘दुवैतर्फ उत्कृष्ट खेलाडी छन्,’ उनी भन्छन्, ‘दुवैलाई जित्नुपर्ने दबाब पनि छ।’

पोखरामा जर्मनी र फ्रान्सका प्रशंसक पनि उत्तिकै छन्। ब्राजिल र अर्जेन्टिनाका प्रशंसक अघि उनीहरुको स्वर भने मसिनो छ। पोखरा न्युरोडका फुटबलप्रेमी अमर गिरी कुनै एक खेलाडी हेरेर भन्दा पनि टिमको खेल हेरेर प्रशंसक हुनुपर्ने बताउँछन्।

‘मैले क्वालिफायर खेलहरु हेरेपछि मात्रै आफ्नो धारणा बनाउँछु,’ उनी भन्छन्, ‘ब्राजिल र अर्जेन्टिना बलिया टिम हुन् तर पोर्चुगल र स्पेनको सम्भावनालाई पनि नकार्न सकिन्नँ।’

बढ्यो जर्सीको व्यापारः
पृथ्वीचोकको सहारा स्पोटर्स कर्नरमा विश्वकपको माहोल तात्नु अघि दैनिक २-३ वटा मात्रै जर्सी बिक्री हुन्थ्यो। कर्नरका सञ्चालक वीरभद्र आचार्य विगत एक महिनायता दैनिक १५ देखि २० वटासम्म जर्सी बेचेको बताउँछन्।

उनको पसलमा ब्राजिलको जर्सी बढी बिक्री भएको छ। त्यसपछि धेरै जर्सी बिक्री भएको अर्जेन्टिनाको हो। जर्मनी, पोर्चुगल र स्पेनका जर्सी दैनिकजसो बिक्री भइरहेको उनले सुनाए। ‘विश्वकप चार वर्षमा आउने चाड हो,’ उनले भने, ‘यतिबेला जर्सी मात्रै बेचेर पनि राम्रो आम्दानी हुन्छ।’

कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्र गुरुङ महेन्द्रपुलमा डिलाइट स्पोटर्स पसल सञ्चालन गर्छन्। एक महिनायता उनको पसलमा पनि जर्सीको व्यापार ह्वात्तै बढेको छ। दैनिक औसत् १५ वटा जर्सी बिक्री भइरहेको उनले बताए।

उनले १ हजार देखि ५ हजार रुपैयाँ सम्मका जर्सी बेच्छन्। उनले अर्जेन्टिनाको बढी बिक्ने अनुमान गरेर धेरै जर्सी ल्याएपनि ब्राजिलको बढी बिक्री भइरहेको सुनाए। उनको पसलमा चर्चित खेलाडीको नाम भएको र आफ्नै नाम प्रिन्ट गर्न मिल्ने जर्सी खोज्दै आउने ग्राहक पनि टन्नै छन्। यतिखेर फुटबलको व्यापार पनि उत्तिकै बढेको छ। विश्वकप सम्बन्धी झण्डा, कि–रिङ, स्टीकर, घडी, सोभेनरको व्यापार पनि बढेको गुरुङले बताए।

टीभी बेच्न भ्याइनभ्याइः
पोखरा गैह्रापाटनका राजकुमार श्रेष्ठ बुधबार चिप्लेढुंगाको एक टीभी पसलमा भेटिए। उनले ३२ इन्चको एलईडी टीभी खरिद गरे। ‘घरको टीभी पुरानो पनि भएको थियो,’ उनले भने, ‘विश्व कपकै मेसोमा अलि ठूलो र नयाँ किने।’ साथीसँगी जम्मा पारेर घरमै विश्वकप हेर्ने योजना रहेको उनले सुनाए।

पस्र्याङका नवीन कोइरालाले ४३ इन्चको टीभीसँगै होम थ्रिएटर खरिद गरे। ‘ठूलो स्क्रिन र साउन्डमा फुटबल हेर्नुको मज्जा छुट्टै हुन्छ,’ उनले भने। फाइनल भने हल हेर्ने योजना बनाएको उनले बताए। विश्वकपलाई मध्यनजर गदै नयाँ टीभी खरिद गर्नेको संख्या पनि बढेको छ।

पोखराका विभिन्न टीभी पसलमा ग्राहकको घुँइचो लागेको छ। सर्वसाधारण, व्यावसायिक प्रतिष्ठान, रेस्टुरेन्ट, विभिन्न कार्यालयले धमाधम नयाँ टीभी खरिद गरिरहेका छन्।

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघका सचिव नारायण सुवेदी अरु बेलामा तुलनामा यतिखेर टीभीको व्यापार बढेको बताउँछन्। ‘पहिले दिनमा १–२ वटा मात्रै बिक्री हुन्थ्यो,’ उनले भने, ‘अहिले दैनिक ५ वटासम्म बेचेका छौँ।’

अहिले ३२ इन्चदेखि ६४ इन्चसम्मका टीभी ग्राहकले बढी खोज्छन्। ती टीभीको बजार मूल्य २४ हजार देखि २ लाख ५० हजार रुपैयाँसम्मका छन्। स्मार्ट, एलईडी, एमोलेड प्रकारका टीभी ग्राहकको रोजाइँमा पर्छन्।

रेस्टुरेन्टको आफ्नै तयारीः
पोखरा महेन्द्रपुलको स्माइल क्याफेका सञ्चालक सनम बानिया नयाँ टीभी खरिद गर्ने योजनामा छन्। उनले विश्वकपलाई लक्ष्य गरेर रेस्टुरेन्टमा प्रोजेक्टर राख्दै छन्। ‘रेस्टुरेन्टमा आउने ग्राहकलाई सुविधा पुर्‍याउन र नयाँ ग्राहक आकर्षित गर्न पनि प्रोजेक्टर राख्नैपर्छ,’ उनले भने। तल्लो तलामा टीभी राख्ने र उपल्लो तलामा प्रोजेक्टर मार्फत् फुटबल देखाउने उनको योजना छ।

लेकसाइडका रेस्टुरेन्टमा विश्वकप देखाउने भव्य तयारी छ। प्याराडिसो, ओपन हाउस, आइरिस पब, बिजी बी, दरबार, कोइला, मन्डला लगायतका रेस्टुरेन्टले प्रोजेक्टरमार्फत विश्वकप दैखाउँदै छन्। विश्वकपमा यूरोकप जस्ता ठूला प्रतियोगितामा लेकसाइडका रेस्टुरेन्टले प्रोजेक्टरबाट फुटबल देखाउँदै आएका छन्। पोखरामा रेस्टुरेन्ट गएर खाना र मदिराको स्वाद लिँदै फुटबल हेर्नेको जमात ठूलो छ।

र, प्रशासनको कडाइः
आइतबार वडा प्रहरी कार्यालय बैदामले लेकसाइडका रेस्टुरेन्ट व्यवसायीलाई पत्र काट्यो। रेवान पोखराका सदस्य रेस्टुरेन्टलाई काटिएको पत्रमा राति ११ बजे सांगीतिक प्रस्तुति बन्द गर्न, साढे ११ बजे रेस्टुरेन्ट बन्द गर्न र १२ बजे स्टाफ निकालिसक्नुपर्ने ब्यहोरा उल्लेख थियो। विश्वकपको मुखैमा प्रहरीले त्यस्तो पत्र पठाएपछि रेस्टुरेन्ट व्यवसायी निराश भएका छन्।

रेवान सचिव गणेश थापाले २४ घण्टा रेस्टुरेन्ट खोल्न पाउनुपर्ने माग गरिरहँदा त्यस्तो निर्देशन आउनु खेदजनक भएको बताए। उनले भने, ‘राज्यले व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उल्टै जबरजस्ती गलत नियम लाँदिदै छ।’

जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी विश्वकप प्रदर्शनमा कडाइ गरेको छ। कार्यालयले विभिन्न क्लब, संघरसंस्था, निजी व्यवसायीले आफ्नो परिसरमा मात्रै गर्न पाउने सूचना जारी गरेको हो।

प्रदर्शनस्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाउन, खेलको हाररजितमा सट्टेबाजी गर्न नपाउने, असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति र सीसीटीभी निगरानीको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ। प्रदर्शन स्थलको ट्राफिक, फोहोर व्यवस्थापन, हानी नोक्सानीको जिम्मेवारी आयोजकले लिनुपर्ने कार्यालयले जनाएको छ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT