कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबैका लागि योग

अतुल मिश्र

काठमाडौँ — पत्याउनुहुन्छ, मुलुकमा सबैभन्दा बढी योग गर्ने उमेर समूह न एकदमै जवान छ, न त एकदमै वृद्घ नै । यसमा अधवैंशे बढी छन् । यो बाहेक अन्य उमेर समूहमा समेत बिस्तारै योगलाई जीवनको अभिन्न अंग बनाउनेहरूको संख्या बढदो छ । यस्ता समूहमा सहरिया मात्र नभई ग्रामीण क्षेत्रमा रहनेहरूको समेत उल्लेख्य उपस्थिति देखिएको छ ।

सबैका लागि योग

शरीर, मस्तिष्क र आत्माको मिलापलाई योग भनिन्छ । यो जीवनको रूपान्तरण हो । योग गर्दाताका बिस्तारै आफंैले अनुभूति गर्ने सम्पूर्ण मानसिक, शारीरिक, आध्यात्मिक स्वास्थ्यमा सुधारले गर्दा युवा, वयस्कमा मात्र नभई बालबालिकाहरूमा समेत योगप्रति आकर्षण देखिन थालेको छ ।

‘योगको दिनहुँ बिस्तार भइरहेछ, हाम्रो सर्वेक्षणको नतिजामा समेत हाल थप वृद्घि भएको सहजै आकलन गर्न सकिन्छ,’ पतञ्जलि योग समिति, नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र बताउँछन् । मुलुकमा करिब ५० लाख व्यक्तिलाइ योगले छोएको छ भने यसमध्ये १० लाख व्यक्ति नियमित योग गर्ने दाबी उनको छ ।

५ हजार साल पुरानो मानिने योगको नियमित अभ्यास सबै उमेर समूहकाहरूका लागि शारीरिक गतिविधिलाई जीवनको अभिन्न अंग बनाउने र राम्रो स्वास्थ्य प्रवद्र्धनको महत्त्वपूर्ण औजार रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), दक्षिण पूर्व एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह बताउँछिन् । ५ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरूका लागि न्यूनतम एक घन्टाको मध्यम र तीव्र गतिविधि आवश्यक छ । वयस्कहरूका लागि भने सातामा १ सय ५० मिनेटको मध्यम र तीव्र गतिविधि आवश्यक रहेको डा. सिंह औंल्याउँछिन् ।

योगले शरीर बलियो मात्र बनाउँदैन यसले लचिलोपनलाई समेत बढाउँछ । यसले दैनिक गतिविधि सजिलो हुनुको साथै बुढयौली हुने प्रक्रियासमेत मत्थर पार्छ । यति मात्र नभई यसले रोग प्रतिरोधक क्षमतामा समेत वृद्घि गर्ने भएकाले योग अभ्यासीहरू हतपत बिरामी पर्दैनन् ।

तर योग गर्नुभन्दा पहिले रोगी व्यक्तिले डाक्टर, योग प्रशिक्षकको सल्लाह लिएर मात्र आफ्नो अनुकूलको योगा रोज्नुपर्छ । स्वस्थ व्यक्तिले समेत योग्य योग प्रशिक्षकको सल्लाहअनुसार योग गर्नु राम्रो मानिन्छ । मिश्रका अनुसार एक जना स्वस्थ व्यक्ति दिनहुँ एक–डेढ घन्टाको समय योगमा दिए अत्यन्त सकारात्मक परिणाम देखिनेछ ।

यूएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमेन सर्भिस, नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थ (एनआईएच) को तथ्यपत्रमा हालै गरिएको अध्ययनहरूले तल्लो ढाडको दीर्घकालीन दुखाइको समस्या भएकाहरूमा सावधानीपूर्वक योगाको केही आसनहरू अपनाउँदा दुखाइ कम हुनुका साथै अन्य क्रियाकलाप सहज हुने देखिएको उल्लेख छ ।

अध्ययनहरूले यो पनि सुझाव दिएको छ कि योगाले मुटुको गति र रक्तचाप घटाउनेलगायतका अन्य स्वास्थ्यसम्बन्धी फाइदासमेत देखिन सक्छ । यस्तै व्याकुलता र उदासी रोग हटाउनसमेत योगाले सघाउन सक्ने एचआईएचको तथ्यपत्रमा उल्लेख छ । योगको नकारात्मक प्रभाव र जोखिमबारे एनआईएचको तथ्यपत्रमा उपयुक्त रूपमा पूर्ण दक्ष प्रशिक्षकको देखरेखमा स्वस्थ व्यक्तिले योग गर्दा सामान्यत: सुरक्षित रहेको उल्लेख छ । एनआईएचका अनुसार गर्भवती महिला, उच्च रक्तचाप, ग्लुकोमा (पानी भरिएर आँखा नदेखिने रोग), सियाटिकाजस्ता चिकित्सकीय अवस्था भएकाहरूले आसनमा सुधार वा केही आसन गर्नु हुँदैन ।

स्वस्थ व्यक्तिको योग
स्वस्थ व्यक्तिले नियमित योग प्रक्रिया अपनाउँदा समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थाल्छ । दिनहुँ एकदेखि डेढ घण्टासम्म सूर्य नमस्कार, १२ वटा आसन, ८ वटा प्राणायाम, १२ वटा सूक्ष्म व्यायाम, यौगिक जगिङ गर्नाले स्वस्थ व्यक्तिले थप शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा सकारात्मक परिणाम देख्न पाउनेछन् । मिश्रका अनुसार १२ वटा आसनमा मण्डूक, शशक, बज्रासन, दोमुखासन पेटवरिपरिको भागमा केन्द्रित छ भने मकर, भुजंग, शलभासन, मर्कटासन, ढाडसँग सम्बन्धित छ ।

यस्तै पवन मुक्तासन वायु विकार, अर्ध हलासन, पाद वृत्तासन, द्विचक्रिआसन, तौलको सन्तुलनसँग सम्बन्धित छन् । ८ वटा प्राणायाममा भस्त्रिका, कपालभाती, वाहय प्राणायाम, उज्जायी र अनुलोमविलोम प्राणायाम क्रियात्मक र भ्रामरी, उदगिथ, प्रणव प्राणायाम ध्यानात्मक प्राणायाम हो । प्राणायामले फोक्सोलाई स्वस्थ र बलियो बनाउनुको साथै यसको क्षमतामा समेत वृद्घि गर्ने उनी बताउँछन् ।

यस्तै प्राणायामले रक्तचाप सामान्य गर्नुको साथै मुटुसम्बन्धी रोग हटाउन सघाउँछ, पाचनक्रियालाई बलियो बनाउँछ, रगत र मस्तिष्कको क्रियालाई राम्रो पार्नुको साथै तनाव घटाउन र शरीरको तौललाई समेत नियन्त्रित राख्न सघाउँछ । रोग निवारणका लागि गरिने आसन दुईदेखि ५ मिनेट र स्वस्थ व्यक्तिले गर्ने आसन २ मिनेटसम्म गर्न सकिने औंल्याउँदै मिश्र भन्छन्, ‘प्राणायाम प्राय: ५ मिनेटको हुन्छ ।’ योगको विभिन्न आसनहरूले गर्दा हाम्रा भित्रका ग्रन्थीहरूले राम्ररी काम गर्छन् । यसले बुढयौलीको प्रक्रियालाइ मत्थर गर्छ । योगले मोटोपना कम हुनुको साथै दुब्लो, पातलो व्यक्तिसमेत तन्दुरुस्त हुन्छन् ।

योगले शुक्रकीटको गुणस्तरमा वृद्घि
भारतस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), को एउटा अध्ययनको दाबीअनुसार नियमित योगले गर्दा शुक्रकीटको गुणस्तरमा वृद्घि हुन्छ । अन्तर्राष्ट्रिय मेडिकल जर्नल ‘नेचर रिभ्यु युरोलजी’ मा प्रकाशित उक्त अनुसन्धान ६ महिनासम्म योग गर्ने दुई सय जना पुरुषमा गरिएको थियो ।

अनुसन्धानअनुसार २१ दिनमै ‘सेमिनल अक्सिडेटिभ स्ट्रेस’ मा कमी र डीएमए गुणस्तरमा सुधार देखिएको थियो । वीर्यको डीएनएमा क्षतिले सन्तानमा आनुवांशिक र इपिजेनेटिक विकारको जोखिम बढाउँछ । सकारात्मक जीवनशैलीले डीएनएको गुणस्तरमा सुधार ल्याउँछ र यसले पुरुष बन्ध्यतामा कमी ल्याउन सकिन्छ ।

नियमित योगले अक्सिडेटिभ स्ट्रेसलाई कम गर्छ, डीएनएको क्षतिमा कमी ल्याउँछ र टेलोमेरको लम्बाइलाई नियमित राख्छ । यति मात्र नभई हाल एम्समा जारी हर्ट फेलियरका बिरामीहरूमाथि गरीएको अर्को एक अध्ययनले औषधिसँगै योगको उपयोग गर्दा हर्ट फङग्सनमा १० प्रतिशतसम्म सुधार पाइएको देखिएको छ ।

एम्सका कार्डियोलजी विभागका डा. संदिप सेठले बताएअनुसार त्यहाँ हर्ट फेलियर बिरामीहरूका लागि एउटा योगको सेसन तयार गरिएको छ । यसलाई क्रयोग अर्थात् कार्डिएक (मुटुसम्बन्धी) र योग भनियो । यसमा औषधिसँगै बिरामीलाई योगसमेत गराइन्छ ।

योग गर्नुअघि के गर्ने ?
योग विज्ञान भएकाले यो प्रक्रिया सुरु गर्दा विशेष दिशानिर्देश, सिद्घान्तको पालन गर्नु आवश्यक मानिन्छ । मुलुकको सरकारी स्वास्थ्य निकायले हालसम्म आमव्यक्तिका लागि योगबारे कुनै प्रोटोकल निर्माण गरेको छैन ।

भारत सरकारको आयुष (आयुर्वेद) मन्त्रालयले योगसम्बन्धी निर्माण गरेको सामान्य प्रोटोकोलअनुसार योगाभ्यास गर्नुअघि समेत केही विशेष प्रक्रिया अपनाउनु आवश्यक हुन्छ ।

योग अभ्यास गर्नुभन्दा अघि नै शौच गरेको हुनुपर्छ । यसको अर्थ शोधन भएकोले यो योग अभ्यासका लागि महत्त्वपूर्ण र अपेक्षित क्रियाकलाप मानिन्छ ।

यस्तै योग अभ्यास शान्त वातावरणमा आरामले शरीर र मनलाई शिथिल गर्दै गर्नुपर्छ । योग अभ्यास अल्पाहार लिएर वा खाली पेटमा गर्नु उपयुक्त मानिन्छ । अभ्यासको समय कमजोरी अनुभव भए मन तातो पानीमा अलिकति मह मिलाएर लिन सकिने आयुष मन्त्रालयको प्रोटोकलमा प्रस्तावित छ । अभ्यास गर्दाताका सुतीको हलुको र आरामदायी लुगा लगाउनु उपयुक्त हुन्छ ।

रोग, थकाइ वा हडबडीको अवस्थामा योग गर्नु हुँदैन । पुरानो रोग, दुखाइ एवं मुटुसम्बन्धी समस्या भएको अवस्थामा योग सुरु गर्नुभन्दा अघि चिकित्सक वा योग विशेषज्ञको सल्लाह लिनु आवश्यक मानिन्छ । गर्भावस्थासँगै महिनावारीको अवस्थामा समेत योग गर्नुअघि विशेषज्ञसँग परामर्श लिनुपर्ने प्रोटोकलमा उल्लेख छ ।

योग अभ्यासको प्रारम्भ प्रार्थना वा स्तुतिबाट गर्नुपर्ने बताइएको छ । यसले मस्तिष्क शान्त अवस्थामा ल्याउने अवस्था सृजना गर्छ । योग अभ्यास आरामदायी स्थितिमा शरीर एवं श्वासप्रश्वासको सजगताका साथ बिस्तारै बिस्तारै सुरु गर्नुपर्छ ।

तपाईंलाई प्रशिक्षकले नभनेसम्म अभ्यासको समय श्वासप्रश्वासको गति रोक्नु हुँदैन । श्वास लिँदा पनि प्रशिक्षकले अन्य विधिले नभनेसम्म सधैं नाकबाटै श्वास लिनुपर्छ । योगको अभ्यास गर्दाताका शरीरमा विशेष ध्यान दिनुपर्छ । शरीरलाई कडा राख्नु हुँदैन, शिथिल राख्नुको साथै कुनै पनि प्रकारको झड्काबाट जोगाउनुपर्छ ।

योग गर्दा आफ्नो शारीरिक एवं मानसिक क्षमताअनुसार नै गर्नुपर्छ । राम्रो परिणाम आउन केही समय लाग्ने भएकोले निरन्तर अभ्यास आवश्यक मानिन्छ ।

प्रत्येक योग अभ्यासका लागि हुने गरेको निर्देशन, सावधानी र सीमालाई पालना गर्नुपर्छ । योगसत्र समाप्त सधैं ध्यान र मौनबाट गर्नुपर्छ । आयुष मन्त्रालयको प्रोटोकलअनुसार योगाभ्यास गरेको २० मिनेटदेखि आधा घण्टापछि नुहाउनुपर्छ भने अभ्यासको २० मिनेटदेखि ३० मिनेटपछि नै खाना खानुपर्छ ।

योग गर्दाताका आयुषको प्रोटोकलअनुसार योग अभ्यासको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ । यसले मस्तिष्कलाई शिथिल गर्न शान्त वातावरण तयार पार्छ । योग अभ्यासलाई आरामदायक स्थितिमा शरीर एवं श्वासप्रश्वासको सजगताका साथ बिस्तारै बिस्तारै सुरु गर्नुपर्छ । योग अभ्यासको विशेष रूपमा नभनिएसम्म समय श्वासप्रश्वासको गति भने रोक्नु हुँदैन । अन्य विधिले श्वास लिन नभनिएसम्म योग गर्दाताका नाकले मात्र सास फेर्नुपर्छ । योग अभ्यास गर्दा शरीरलाई शिथिल राख्नुपर्छ कुनै प्रकारको झड्का दिनु हुँदैन ।

योग अभ्यास आफनो मानसिक र शारीरिक क्षमताअनुसार नै गर्नुपर्छ । योग अभ्यासबाट देखिने राम्रो परिणामका लागि केही समय लाग्न सक्ने भएकोले नियमित र निरन्तर अभ्यास धेरै आवश्यक छ । प्रत्येक योग अभ्यासका लागि हुने निर्देशन, सावधानी एवं सीमालाई पालना गर्नुपर्छ । योग अभ्यास सत्रको समाप्ति सधैं ध्यान गहन मौन र शान्ति पाठबाट गर्नुपर्ने आयुषको प्रोटोकलमा उल्लेख छ ।

मुटु रोग रोक्नमा योग लाभदायक
एउटा अध्ययनअनुसार एरोबिक अभ्यास र घुम्ने जतिकै योग पनि मुटु रोग रोक्नमा प्रभावकारी छ । युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलजीमा प्रकाशित यो अध्ययनअन्तर्गत निदरल्यान्ड र अमेरिकाका अनुसन्धानकर्ताहरूले २७६८ व्यक्तिसँग ३७ विभिन्न समयबद्घ प्रयोग गरेका थिए । अनुसन्धान अनुसार मुटुसम्बन्धी रोगको खतरा कम गर्न र यसको राम्रो प्रबन्धन (मेनेजमेन्ट) गर्न योग सफल छ । मुटु स्वास्थ्यका लागि योग एउटा प्रभावकारी पद्घति रहेको समेत अध्ययनले देखाएको छ ।

[email protected]

प्रकाशित : असार ९, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?