१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तलब नपाएपछि जाजरकोट अस्पतालका स्वास्थ्यकर्मी अान्दोलनमा

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीहरुले तलबभत्ता नपाएको भन्दै अस्पतालको सेवा बाहिष्कार गरेका छन् ।

तलब नपाएपछि जाजरकोट अस्पतालका स्वास्थ्यकर्मी अान्दोलनमा

७ महिनादेखि तलब भत्ता नपाएको विरोधमा उनीहरुले अस्पतालको सेवा ठप्प पारेका हुन् । उनीहरुले अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।


उनीहरुले अस्पतालमा कालो पट्टी बाँधेर तलबभत्ता नपाएको भन्दै विरोध गरेका छन् । सम्बन्धित निकायसँग तत्काल तलब तथा भत्ता खुवाउन माग राखेका छन् । अस्पतालको सेवा अवरुद्ध भएपछि बिरामी मर्कामा परेका छन् । आन्दोलनका कारण अस्पतालमा ओपीडी, एक्सरे, ल्याब, खोप लगायतका सेवा अवरुद्ध भएका छन् ।


अस्पतालको सेवा ठप्प भएपछि बुधबार यहाँका १ सय बिरामी उपचार सेवा पाउनबाट वञ्चित भएका छन् । भाँचिएको हातको ड्रेसिङ्ग गर्न आउँदा उपचार सेवा नपाएर रित्तो हात फर्कन बाध्य भएको भेरी नगरपालिका–२ कालेगाउँका सरोजकुमार बटालाले बताए । डाक्टरहरुको हटतालका कारण उपचार नपाएको उनले बताए ।


अस्पतालमा उपचार नपाएका बिरामी निजी मेडिकल र रुकुमको चौजहारी अस्पतालतर्फ जान बाध्य भएको बटालाले बताए ।


अस्पतालका स्वास्थ्यकर्मीले गत पौष/माघ देखिको तलब तथा अतिरिक्त सेवा भत्ता पाउन नसकेको निमित्त मेडिकल सुपरीटेन्डेण्ट डा राजेन्द्र लामाले बताए । अस्पताल मात्र हैन, भेरी नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि तलब खान नपाएको उनले बताए ।


भेरी नगरपालिकाको कार्यालयमा पटक पटक तलब बापतको रकम माग गर्दा पनि कुनै सुनवाई नभएको डा लामाले बताए । तलब भत्ता नपाउँदा अस्पताल लगायत स्वास्थ्य संस्थाका १ सय स्वास्थ्यकर्मी बेखर्ची भएको उनले बताए ।


लामो समयसम्म तलब नपाएपछि बाध्य भएर हट्तालमा उत्रेको लामाको भनाई छ । सम्बन्धित निकायले समयमा तलब भत्ता नखुवाए अस्पतालको आकस्मिक सेवा समेत बन्द गरेर कडा आन्दोलनमा उत्रने निर्णय भएको उनले बताए ।


गत साउनदेखि स्थानीय तहबाट तलब भत्ता लगायतको निकासा हुने निर्णय भएपछि पटक पटक तलब भत्ता खान समस्या भएको डा लामाले बताए ।


जाजरकोट अस्पतालका ५७ जना र भेरी नगरपालिका अन्र्तगतका ५ स्वास्थ्य संस्थाका ३५ स्वास्थ्यकर्मीले तलब भत्ता पाएका छैनन् । अर्थ मन्त्रालयले सशर्त अनुदानको बजेट रकम निकासा नदिँदा अस्पतालका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको भेरी नगरपालिकाका लेखापाल डम्बर बहादुर विष्टले बताए ।


अस्पताल लगायत स्वास्थ्य संस्थाका कर्मचारीका लागि गत चैत ५ गते नै नपुग तलब भत्ता रकमको कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत माग गरेको तर निकासा नआएको लेखापाल विष्टले बताए ।


चिकित्सक लगायत स्वास्थ्यकर्मीको तलब, अतिरिक्त सेवा भत्ता, बिरामी सिधा खर्च लगायत शीर्षकका लागि २ करोड १६ लाख नपुग भएको उनले बताए । उक्त बजेट निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोट र स्वास्थ्य सेवा विभागले ४ महिनाअघि नै अर्थ मन्त्रालयमा सिफारिस गरी सकेको विष्ट बताउँछन् ।

प्रकाशित : असार १३, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?