१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घुँडाको पीडा: सामान्य शल्यक्रियापछि हराउन सक्छ

अतुल मिश्र

काठमाडौँ — उठ्दा वा बस्दा घुँडा दुख्छ ? हिँडदा पो पीडा हुन्छ कि ? यस्तो हुन्छ भने तपाईंको घुँडाको कार्टिलेज पातलो भएको हो । कार्टिलेज भित्रभित्रै घिसिँदाघिसिँदा पातलो हुँदै जान्छ । अनि खाली ठाउँ (ग्याप) कम भएर खुट्टा बांगोटेढो हुन्छ अनि दुख्छ ।

घुँडाको पीडा: सामान्य शल्यक्रियापछि हराउन सक्छ

यस्तो अवस्थामा सानो शल्यक्रियाले तपाईंलाई भविष्यमा महँगो उपचारबाट जोगाउन सक्छ । घुँडा प्रत्यारोपण जस्तो जटिल र खर्चिलो अवस्थाबाट जोगाउन सक्छ ।

घुँडाको अस्टियो अर्थराइटिसको पीडा निवारण गर्ने नयाँ तरिकाको शल्यक्रिया प्रक्सिमल फिबुलर अस्टियोटोमी (पीएफओ) हो । यसले बिरामीको घुँडाको पीडा कम गर्नुका साथै घुँडाको जोर्नीको कार्यप्रणालीमा सुधारसमेत ल्याउँछ ।
-प्रा.डा. रामकेवल साह
वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक

‘घुँडाको अस्टियो अर्थराइटिसको पीडा निवारण गर्ने नयाँ तरिकाको शल्यक्रिया प्रक्सिमल फिबुलर अस्टियोटोमी (पीएफओ) हो,’ वरिष्ठ हाडजोर्नी शल्य चिकित्सक प्रा.डा. रामकेवल साह भन्छन्, ‘यसले बिरामीको घुँडाको पीडा कम गर्नुका साथै घुँडाको जोर्नीको कार्यप्रणालीमा सुधारसमेत ल्याउँछ ।’देशव्यापी अभियानकै रूपमा यो शल्यक्रियालाई अगाडि बढाउँदा अत्यन्त न्यून खर्चमा धेरै व्यक्तिको जीवनस्तर सुध्रिनुका साथै अपांगताको स्थितिबाट जोगिने उनी बताउँछन् । यो शल्यक्रियाले बिरामीलाई पीडा नदिने र जोर्नी बिग्रनबाट बचाउने भएकाले भविष्यमा जोर्नी प्रत्यारोपण गराउनुपर्ने अवस्था पनि आउँदैन ।

‘जोर्नी प्रत्यारोपणका लागि ५ लाखभन्दा बढी खर्च गर्नु सामान्य नेपालीको पहुँचबाहिरको कुरा हो,’ डा. साह भन्छन् ‘४/५ हजार पर्ने यो अत्यन्त सामान्य शल्यक्रियाले जोर्नी प्रत्यारोपणबाट जोगाएर सामान्य जीवन बिताउन सघाउँछ ।’

हाम्रो मुलुकमा चार दशक नाघेकाहरूमध्ये करिब २० प्रतिशत जतिमा घुँडाको अस्टियोअर्थराइटिसको समस्या देखिने गरिएको औंल्याउँदै डा. साह बढदो उमेर, जीवनशैलीमा परिवर्तन आदिले गर्दा अस्टियोअर्थराइटिसको समस्यामा वृद्घि देखिएको बताउँछन् ।

अस्टियोअर्थराइटिस बूढापाकाहरूमा विकलांगताको सबैभन्दा सामान्य कारक पनि हो । यो अपांगताको कारण भने दुखाइ र घुँडालाई चलाउन असजिलो हुनु हो ।

यो शल्यक्रिया गर्दा घुँडालाई पूरै खोलिँदैन । बिरामीलाई बेहोससम्म गरिँदैन । यो शल्यक्रियामा रगतको आवश्यकतासमेत पर्दैन । शल्यक्रियापछि सानो चिरा लगाइएको ठाउँमा मात्र दुईतीन टाँका लगाए पुग्छ ।

खुट्टालाई सम्बन्धित ठाउँमा लठयाएर घुँडाबाट करिब तीन इन्च तल खुट्टातर्फ एक इन्च चिरेर सानो शल्यक्रिया गरिन्छ । यसअन्तर्गत ‘फिवुला’ को हाडलाई करिब एक सेन्टिमिटरदेखि अढाइ सेन्टिमिटरसम्म काटेर छोडिन्छ । एउटा खुट्टाको शल्यक्रिया मात्र १०(१५ मिनेटमा पूरा हुन्छ ।

राजधानी जस्तो चिकित्सकीय सुविधाले परिपूर्ण ठाउँमा मात्र नभएर जिल्ला अस्पतालहरूमा समेत करिब दुई/तीन हजार रुपैयाँ मूल्य पर्ने हाड काटने औजार भए यो शल्यक्रिया सहजै गर्न सकिन्छ ।

‘यहाँ करिब १९ जनाको पीएफओ भइसकेको छ,’ भेरी अञ्चल अस्पताल, हाडजोर्नी विभागका प्रमुख डा. विनोदकुमार थापा भन्छन्, ‘यसका लागि कुनै जटिल उपकरण चाहिँदैन । जिल्ला अस्पतालका हाडजोर्नी विशेषज्ञले यो शल्यक्रिया गर्न सक्छन् ।’

सरकारी संरचनामा ४(५ हजार रुपैयाँमा यो शल्यक्रिया गर्न सकिने औंल्याउँदै डा. थापा भन्छन्, ‘हामीले शल्यक्रिया गरेका सबैलाई फाइदा नै देखिएको छ ।’

अस्टियो अर्थराइटिस सामान्यत: दुवै खुट्टामा हुने गरेकोले दुवै घुँडाको शल्यक्रिया गरिन्छ । तर यो समस्या एउटै घुँडामा समेत देखिन सक्छ ।

उपेक्षित शल्यक्रिया
हाम्रो मुलुकमा यो शल्यक्रियामा प्रवद्र्धनमा खासै ध्यान नदिइएको गुनासोसमेत केही हाडजोर्नी शल्य चिकित्सकको छ । यसमा कमाइ नहुने भएकोले ठूला चिकित्सकहरूले ध्यान नदिएको गुनासो उनीहरूको हो ।

‘यो सामान्य, अत्यन्त सस्तो र प्रभावकारी शल्यक्रिया भएकोले चिकित्सक, सप्लायर्सको व्यापारिक हितको पूर्ति गर्दैन,’ एक हाडजोर्नी शल्यचिकित्सकले भने, ‘यसैले उहाँहरू लाखाैं पर्ने जोर्नी प्रत्यारोपण शल्यक्रियातर्फ बढी रुचि राख्नुहुन्छ ।’

के हो अस्टियो अर्थराइटिस
अर्थराइटिसको एउटा प्रकार अस्टियोअर्थराइटिस हो । यो दीर्घकालसम्म रहिरहने स्थिति हो । यसमा एउटा वा बढी जोर्नीको कार्टिलेज हाडहरू एकअर्कामा नरगडिउन भनी
जोगाउने लचकदार सेतो चिल्लो तन्तु/कमलो हाड–टुट्छन् वा बिस्तारै दलिएर खिइन्छन् ।

कार्टिलेज क्षतिग्रस्त भएपछि हाड आपसमा रगडिएर जोर्नी क्षतिग्रस्त हुन्छ । यो समस्या सामान्यत: घुँडा, हात खुट्टा, नितम्ब आदिमा हुन्छ । यो महिलामा सामान्य समस्या हो ।
यो रोगको लक्षण हरेक व्यक्तिमा फरकफरक हुन सक्छ । सामान्यत: दिनभरको गतिविधिपछि साँझपख जोर्नीमा हुने पीडा बढदै जानुसमेत एउटा लक्षण हो ।

यस्तै, लामो समयसम्म निष्क्रियतापछि हुने पीडा, जुन हामी गतिशील हुनासाथ हराउँछ । लामो समयसम्म उपयोगपछि वा लामो समयसम्म आरामपछि जोर्नीको प्रभावित क्षेत्रमा दुख्नु पनि यसको सामान्य लक्षण हो ।

यति मात्र नभई यसमा हाम्रो मांसपेशीको कमजोरी र जोर्नीलाई घुमाउनसमेत असजिलो हुने गर्छ । यो रोगले प्रभावित जोर्नी सुन्निनु, दुखाइ, जाम हुनु आदिले गर्दा हिँड्न
समस्यासमेत हुन्छ ।

यो रोग हुनुको सबैभन्दा सामान्य कारण मोटोपना हो । यति मात्र नभएर आनुवांशिकता, मांसपेसीमा कमजोरी, बढदो उमेर, चोट र हामीले गर्ने यस्तो काम जसमा हाम्रो शरीरको खास जोर्नीमा निरन्तर दबाव पर्नेले समेत यो रोग हुने सम्भावना हुन्छ ।

यो रोगलाई जीवनशैलीमा सकारात्मक परिवर्तन, जोर्नीको क्षतिबाट बाँचेर सक्रियता र आराममा सन्तुलन कायम गरेर, तनाव र निराशालाई कम गरेर नियन्त्रित गर्न सकिन्छ ।

[email protected]

प्रकाशित : असार १६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?