२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रजोनिवृत्तिपछि क्यान्सरको जोखिम घटाउन भिटामिन ‘डी’

काठमाडौँ — खानपान वा अन्य उपायले भिटामिन ‘डी’ को मात्रा बढाउँदा रजोनिवृत्तिपछि हुने स्तन क्यान्सरको जोखिम कम हुन सक्छ ।

रजोनिवृत्तिपछि क्यान्सरको जोखिम घटाउन भिटामिन ‘डी’

स्यान डिएगोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूले यस्तै दाबी गरेका छन् । यो निष्कर्षमा पुग्न उनीहरूले दुइटा फरकफरक क्लिनिकल ट्रायलका तथ्यांकलाई विश्लेषण गरे । यो अध्ययनमा ३ हजार ३ सय २५ महिला सहभागी थिए । ती महिलाको आयु ५५ वर्ष वा योभन्दा बढी थियो । औसत आयुचाहिँ ६३ वर्ष थियो ।

ती सहभागीहरूको तथ्यांक सन् २००२–१७ का बीचमा एकत्रित गरिएको थियो । अध्ययन सुरु गर्दाताका कुनै पनि सहभागीलाई क्यान्सर थिएन । यी सबैको परीक्षण प्रत्येक चार वर्षमा एक पटक गरियो । यो दौरान उनीहरूको रगतमा भिटामिन ‘डी’ को मात्रा जाँचियो ।

यो संयुक्त अध्ययनताका ७७ सहभागीमा स्तन क्यान्सरको समस्या देखियो । आयुअनुसार हेर्दा प्रत्येक १ लाख महिलामध्ये ५ सय १२ लाई यो रोग भयो ।

अमेरिकाका स्वास्थ्य सल्लाहकारहरूको समूह अनुसार, रगतमा भिटामिन ‘डी’ को स्वस्थ मात्रा ६० न्यानो ग्राम प्रतिमिलिलिटर हुनुपर्ने अनुसन्धाताहरूले बताएका छन् । त्यहाँको नेसनल एकेडमी अफ मेडिसनका तर्फबाट २०१० मा दिइएको सल्लाहअनुसार सामान्यत: रगतमा भिटामिन ‘डी’ को मात्रा न्यूनतम २० न्यानोग्राम प्रतिमिलिलिटर हुनुपर्छ ।

अनुसन्धातामध्येका प्रा. सेड्रिक एफ. गार्लेडका अनुसार, जसको रगतमा भिटामिन ‘डी’को मात्रा ६० न्यानोग्राम प्रतिमिलिलिटरभन्दा बढी थियो, उनीहरूलाइ अन्यको दाजोमा स्तन क्यान्सरको जोखिम २० प्रतिशत मात्र थियो । तर, रगतमा भिटामिन ‘डी’ को स्तरको प्रभाव रजोनिवृत्ति नभइसकेका महिलामा पर्छ वा पर्दैन भन्नेबारे अध्ययन हुन बाँकी छ ।

प्रकाशित : असार १६, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?