फ्लाइटको क्रु मेम्बरलाई क्यान्सर हुने आशंका बढी
काठमाडौँ — हालैको एउटा अध्ययनमा दाबी गरिएअनुसार, फ्लाइटमा क्रु मेम्बरलाई क्यान्सर हुने खतरा औसतभन्दा धेरै बढी हुन्छ ।
५ हजार ३ सय ६६ क्रु मेम्बरमा गरिएको यो अध्ययन ‘इन्भायरन्मेन्ट हेल्थ’ जर्नलमा प्रकाशित छ । त्यस अनुसार फ्लाइटका क्रु मेम्बरमा जीवनभर स्तन क्यान्सर, मेलानोमा क्यान्सर र नन–मेलानोमा छालाको क्यान्सर हुने खतरा आमव्यक्तिको दाँजोमा धेरै बढी हुन्छ ।
अध्ययनमा सामेल क्रु मेम्बरमध्ये १५ प्रतिशतमा क्यान्सर पहिचान गरियो । यस्तै, अध्ययनमा सामेल महिला फ्लाइट क्रु मेम्बर मध्ये ३.४ प्रतिशतमा स्तन क्यान्सर देखियो । आम व्यक्तिमध्ये २.३ प्रतिशतमा स्तन क्यान्सर पाइन्छ ।
यस्तै, युट्रिनन क्यान्सरको दर आमव्यक्तिमा ०.१३ प्रतिशत थियो भने क्रु मेम्बरमा ०.१५ प्रतिशत, सर्भाइकल क्यान्सर आम व्यक्तिमा ०.७० र क्रु मेम्बरमा १ प्रतिशत, कोलोन क्यान्सर आमव्यक्तिमा ०.२७ प्रतिशत फ्लाइट क्रु मेम्बरमा ०.४७ प्रतिशत तथा थाइराइड क्यान्सर आमव्यक्तिमा ०.५६ प्रतिशत देखिए पनि क्रु मेम्बरमा ०.६७ प्रतिशत पाइयो ।
अध्ययनअनुसार, स्तन क्यान्सरको खतरा ती महिलामा बढी थियो जो कहिल्यै आमा बनेनन् । अर्कातिर, तीन वा योभन्दा बढी सन्तान जन्माउने महिलामा पनि स्तन क्यान्सरको जोखिम देखियो । बच्चा नहुनु स्तन क्यान्सरको सबैभन्दा ठूलो जोखिमको कारक हो ।
क्रु मेम्बर नियमित रूपमा क्यान्सर उत्पन्न गर्ने तत्वको सम्पर्कमा रहने हुनाले उनीहरूमा यो रोगको जोखिम पनि बढी हुन्छ । अन्तरिक्षको कस्मिक रेडिएसनमा परिरहनु, शरीरको आन्तरिक घडीमा हरेक समय अवरोध आउनु, निद्रा पुरा नहुनु र कार्यस्थलसँगै घरमा समेत अनियमित दिनचर्या हुनु यसको कारक हो ।
प्रकाशित : असार १६, २०७५ ०८:२३