कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एमिवायसिस

कलेजो, मस्तिष्क, फोक्सोलगायत अन्य अंगमा समेत फैलिन सक्ने
अतुल मिश्र

काठमाडौँ — वर्षायाममा हुने विभिन्न स्वास्थ्य समस्यामध्ये एक ‘एमिवायसिस’ यति बेला मुलुकका लागि मुख्य समस्या बनेर देखिएको छ । एमिवायसिस भनेको ‘एन्टामोविया हिस्टोलाइटिका’ नामक अमिबाले गर्दा ठूलो आन्द्राको श्लेष्मिक झिल्लीमा हुने सुन्नाइ हो जसबाट आउँ, मासी, झाडापखाला देखा पर्छ । यसलाई ‘एमेविक डिसेन्ट्री’ समेत भनिन्छ ।

एमिवायसिस

यसबाट पातलो दिसा, दिसा गर्ने समयमा परिवर्तन, केही खाएपछि दिसा लाग्नु, पेट दुख्नु, कब्जियत र पखाला दुवै देखिन थाल्नु, खाना पच्न समस्या हुनु, वायु विकारलगायत समस्या देखिन्छन् । ‘वर्षभरि नै एमिवायसिसको समस्या देखिए पनि वर्षायाममा यसका बिरामीको संख्यामा उल्लेख्य वृद्घि देखिने गर्छ,’ वरिष्ठ पेट रोग विशेषज्ञ डा. प्रदीप यादव भन्छन्, ‘हाम्रो जस्तो मुलुकमा शुद्घ खानेपानीको अभाव, खानपान आदिमा स्वच्छताको कमी, व्यक्तिगत सरसफाइको अभावले गर्दा यो समस्या बढी देखिएको हो ।’ मुलुकमा यसबारे कुनै खास विशेष अध्ययन भएको छैन ।

एन्टामोविया हिस्टोलाइटिकावाट विश्वमा करिब ४८ लाख ग्रस्त भएको अनुमान गरिन्छ । यसमध्ये बर्सेनि करिब ४० हजारदेखि १ लाख १० हजार जनाको मृत्युसमेत हुन्छ । एमिवायसिस आन्द्राको संक्रमण हो । एन्टामोविया हिस्टोलाइटिका नामक अमिबा आन्द्रालाई कुनै क्षति नपुर्‍याई पनि ठूलो आन्द्रामा बाँच्न सक्छ । तर केही अवस्थामा यसले ठूलो आन्द्राको पर्खालमा आक्रमण गर्छ, जसले गर्दा ठूलो आन्द्राको सतह सुन्निनु, रगत र आउँसहित तीव्र पखाला र दीर्घकालीन झाडापखाला हुन सक्छ ।

‘यो संक्रमण रगतको प्रवाहद्वारा कलेजोमा समेत फैलिन सक्छ,’ डा. यादवका अनुसार दुर्लभ अवस्थामा भने यो मस्तिष्क, फोक्सोलगायत अन्य अंगमा फैलिन सक्ने सम्भावना रहन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एन्टामोविया हिस्टोलाइटिकाबाट संक्रमितमध्ये मात्र १० देखि २० प्रतिशत मात्र बिरामी पर्छन् । बिरामी परेका व्यक्तिमा सामान्यत: २ देखि ४ सातामा यसको लक्षण देखिन्छ । कहिलेकाहीं यो समय लामोसमेत हुन सक्छ ।

एमिवायसिसको पहिचान गर्न धेरै कठिनसमेत हुन सक्छ । एउटा समस्या के हो भने अन्य परजीवी र कोष माइक्रोस्कोपबाट हेर्दा एन्टामोविया हिस्टोलाइटिकाजस्तो देखिन सक्छन् । यसैले कहिलेकाहीं एन्टामोविया हिस्टोलाइटिकाबाट प्रभावित भएका भनिएकाहरू यसबाट संक्रमित नभएको हुन सक्छन् । एन्टामोविया हिस्टोलाइटिका र अर्को प्रकारको अमिबा एन्टामोविया डिस्पार जो १० पटक बढी सामान्य छ, माइक्रोस्कोपबाट उस्ताउस्तै देखिन्छ । एन्टामोविया हिस्टोलाइटिकाको संक्रमणले कहिलेकाहीं बिरामी पार्छ तर ‘एन्टामोविया डिस्पार’ व्यक्ति विशेषलाई बिरामी बनाउँदैन । त्यसैले उपचार गर्नु आवश्यक हुँदैन ।

सीडीसीका अनुसार तपाईंलाई एन्टामोविया हिस्टोलाइटिकाबाट संक्रमित भनिए पनि यदि तपाईं आफू स्वस्थ रहेको अनुभव गर्नुहुन्छ भने तपाईं सम्भवत: एन्टामोविया डिस्पारबाट संक्रमित भएको हुन सक्नुहुन्छ । डा.यादवका अनुसार, पेट दुखाइ, दिसामा रगत आउनु, ज्वरो आदि यसको गम्भीर रूप हो । यसको अन्य लक्षणमा शरीरमा पानीको कमी, पेट दुखाइ, ज्वरो, वाकवाकी, वान्ता, पानीजस्तो दिसा जसमा आउँ हुनु र दुखाइयुक्त मलत्याग हो ।

उपचार
यसको उपचारका लागि विभिन्न प्रकारको एन्टिप्रोटोजोवल औषधि उपयोग गरिन्छ । यो संक्रमणले व्यक्ति विशेषलाई बिरामी नपारेको खण्डमा एन्टिप्रोटोजोवल औषधि मात्र दिँदासमेत हुन्छ तर बिरामी पार्दा एन्टिप्रोटोजोवल औषधिसँगै थप संक्रमण हुन नदिन चिकित्सकले एन्टिबायोटिक औषधिसमेत प्रस्तावित गर्न सक्ने डा.यादव बताउँछन् । यसमा पखालाको अवस्था हेरी ओरल रिहाइड्रेसन साल्ट (जीवनजल) र तरल पदार्थ लिनुपर्छ जसले शरीरमा नुन र पानीको सन्तुलन कायम रहोस् ।

कहिलेकाहीं झाडापखाला हुँदा आफैंले औषधि खाने बानीले गर्दा थप जटिलता उत्पन्न भएर बिरामीको मृगौलाले काम गर्न छोडनु, रक्तचाप कम हुनुलगायत मृत्युसमेत हुन सक्ने अवस्था आउन सक्छ । ‘यसैले झाडापखाला सुरु हुनासाथ ओरल रिहाइड्रेसन सल्ट (जीवनजल) खान सुरु गरेर तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्छ,’ डा.यादव भन्छन्, ‘बालबालिका, बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएका र दीर्घरोगीहरूलाई समयमा स्याहार नपाउँदा ज्यान जाने गरेको घटना राजधानीमा समेत देखिने गरिएको छ ।’

यो संक्रमण कति खेर हुन्छ ?

एन्टामोविया हिस्टोलाइटिकाबाट संक्रमित व्यक्तिको दिसाबाट छोइएको कुनै पनि पदार्थ मुखमा राख्दा यो संक्रमण हुन सक्छ । एन्टामोविया हिस्टोलाइटिकाबाट संक्रमित पानी र खाद्यपदार्थजस्ता कुनै पनि वस्तु निल्दासमेत यो संक्रमण हुन्छ । यस्तै एन्टामोविया हिस्टोलाइटिकाको फूल (सिस्ट) कुनै पनि माध्यमबाट निल्दा यसबाट हामी संक्रमित हुन्छौं । रोग लागेको व्यक्तिबाट मुख र मलद्वार क्षेत्रको सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । मानव दिसाले बनेको मललाई कृषिमा उपयोग गर्दासमेत यो परजीवी बढी मात्रामा फैलिन्छ । डा. यादवका अनुसार उपत्यकालगायत केही ठाउँमा यसको प्रकोप बढ्नु पछाडि समेत मानव मलको कृषिमा प्रयोग रहेको हो ।

लक्षण
-पेट दुखाइ
-थकाइ
-पातलो दिसा
-पखाला
-रगत देखिएको पातलो दिसा
-वान्ता हुनु
-ग्यास
-तौल कम हुनु
-रिंगटा लाग्नु
-कमजोरी हुनु

बचाउ
-सधैं सुरक्षित शुद्घ पानी सेवन गरौं ।
-सडक छेउमा पाइने खाद्यपदार्थ उपयोग नगरौं ।
-यात्रामा सकेसम्म घरमा बनाइएको वा पूर्ण रूपमा सुरक्षित उचित प्रकारले उम्लेको र पकाएको खाना सेवन गरौं ।
-खानुअघि र दिसा गएपछि हातलाई साबुनपानीले राम्ररी धोऔं ।
-दिसाको नमुनालाई दुई घण्टाभित्रै परीक्षण प्रयोगशालामा पठाऔं ।

[email protected]

प्रकाशित : असार ३०, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?