कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पाठेघरको संक्रमण खेप्दै महिला

फातिमा बानु

सुन्दरबजार (लमजुङ) — जिल्लाकी ४२ वर्षीया सुनमाया तामाङलाई लामो समयदेखि गुप्तागं चिलाउने, पोल्ने समस्या छ । विशेषगरी महिनावारीको समयमा यस्तो समस्या हुने गरेको उनले बताइन् ।

पाठेघरको संक्रमण खेप्दै महिला

उनले भनिन्, ‘बेस्सरी गन्हाउने पानी बग्छ, ढाड दुख्छ, घरधन्दा गर्न सक्दिनँ ।’ लामो समयसम्म यस्तो समस्या हुँदापनि उनले स्वास्थ्य जाँच गरिनन्, दुखाई कम गर्ने औषधी खाएर बसिरहिन् । घर नजिककै विशेषज्ञ जाँच हुने अस्पताल नहुँदा औषधी खाएर पीडा दबाउनु परेको उनले सुनाइन् ।


शनिबार जिल्लाको सुन्दरबजारमा अल्का अस्पतालद्वारा आयोजित स्वास्थ्य शिविरमा भेटिएकी उनको पाठेघरमा ठूलो घाउ छ । उपचारका लागि काठमाडौं नै धाउनुपर्ने भएपछि उनी चिन्तित देखिइन् । उनले भनिन्, ‘श्रीमान् विदेश छन्, म हिँडेपछि घरमा बच्चा वस्तु हेर्ने कोही हुँदैन ।’


उनी जस्तै लामो समयदेखि पाठेघरमा घाउ लिएर बसेकी पात्र हुन् – विष्णुदेवी परियार । ५२ वर्षीया उनको महिनावारी सुकेपछि शरीर बेसरी तात्ने, स्तनबाट दुध बग्ने समस्या देखियो । गाउँघरमा सबैले यस्तो समस्यालाई सामान्य भनिदिएपछि उनले उपचार गराइन् । जाँचपछि पाठेघरमा घाउ र ट्युमर पलाएको पत्ता लाग्यो । उनी भन्छिन्, ‘काठमाडौंसम्म पुगेर उपचार गर्ने मसँग खर्च छैन, श्रीमान् छैनन्, छोराहरू छुट्टै छन् ।’


शिविर परीक्षणका लागि आएका दुई सय महिलामध्ये ९० प्रतिशतमा पाठेघरको संक्रमण देखिएको स्त्रीरोग विशेषज्ञ डा.नूतन शर्माले बताइन् । उनले भनिन् ‘समयमै उपचार गर्ने हो भने यस्ता संक्रमित घाउ निको हुन सक्छ, ढिलो भए पाठेघर नै निकाल्नुपर्ने स्थिती आउँछ र पाठेघर मुखको क्यान्सर नै हुन सक्छ ।’


विशेषगरी महिनावारीको समय र नियमित गुप्तागंको सरसफाई नगर्नेलाई पाठेघरको संक्रमण हुने उनले बताइन् । असुरक्षित यौन सम्पर्क, कम पोषणयुक्त खानाका कारण पनि महिलामा पाठेघरको सम्बन्धी समस्या देखापर्ने उनले बताइन् ।


अण्डा मासु र हरियो तरकारीको सेवन गरेमा संक्रमणबाट बच्नका बच्न सकिने डा. शर्माको सुझाव छ । यसले क्यान्सर हुनबाट ५० प्रतिशतसम्म जोगाउन सक्ने उनले बताइन् ।


विवाहित महिलाले वर्षमा एकपटक पाठेघरको पानी जचाउँदा पाँच वर्षअघि नै क्यान्सर हुने सम्भावना पत्ता लाग्छ । एकपटक उपचार गरेपछि फलोअप उपचारमा नफर्किने बिरामीको प्रवृत्ति छ ।

उपचार समयमा हुन नसक्दा यसले महिलाहरु पाठेघरको मुखको क्यान्सर भोगिरहेका छन् ।


विश्व स्तरमै महिलाहरुमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हो, ७० प्रतिशत । दोस्रो स्तन क्यान्सर हो ।


नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान छ । विश्व स्वास्थ्य सङ्ठनका अनुसार विश्वभर प्रत्येक वर्ष २ लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुन्छ । जसमध्ये नेपाल लगायत ८५ प्रतिशत मृत्यु विकासोन्मुख मुलुकै महिला छन् ।


विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखको क्यान्सर लगायत विभिन्न रोगका कारण विश्वमा वर्षेनी २ देखि ३ लाख महिलाले ज्यान गुमाइरहेका छन् । यसबाट हुने मृत्युदर नेपाल लगायत विकाशोन्मुख मुलुकका महिला बढी छन् ।


नेपालमा हालै गरिएको एक अध्ययन अनुसार वर्षेनी करिब २ हजार महिलाले पाठेघरको सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन् ।

प्रकाशित : असार ३१, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?