कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तपाईंलाई सिकिस्त बनाउन पर्याप्त हुन सक्छ एउटै झिँगा

अतुल मिश्र

काठमाडौँ — मुलुकमा गर्मी र बर्खासँगै झिँगाले सहरबजारका घरभित्र पनि हैकम मचाउन थाल्छ । यो सानो प्राणीले भान्सामा बढी दु:ख दिने गर्छ । एउटा झिँगाले हामीलाई १०० भन्दा बढी रोग सार्ने गर्छ । तर, यसबाट बच्ने उपायबारे चर्चा–परिचर्चा भएको सुन्न पाइँदैन ।

तपाईंलाई सिकिस्त बनाउन पर्याप्त हुन सक्छ एउटै झिँगा

‘हामी केटाकेटी हुँदा झिँगा भन्केका खानेकुरा खानु हुन्न भन्दै यसबाट बचाउको उपायबारे व्यापक चर्चा–परिचर्चा हुन्थ्यो,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘तर अहिले यस्तो पटक्कै छैन । पोलिसी लेभलमा पनि छैन । सरकार खालि हात धुनेबारे मात्रै बढी केन्द्रित देखिएको छ ।’

झिँगाले गर्दा थुप्रै गम्भीर रोग फैलिने खतरा हुन्छ । हाम्रो घरभित्रबाहिर सबैतर्फ देखिने यो सानो जीव हाम्रा लागि खतरनाक रोग फैलाउने जीवाणुहरूको वाहक हो । झिँगाले जीवाणुलाई एक ठाउँबाट अर्को ठाउँमा ल्याउन लैजान महत्त्वपूर्ण भूमिका खेल्छ ।

‘साइन्टिफिक रिपोर्ट’ जर्नलमा प्रकाशित एउटा अध्ययनअनुसार, कुनै पनि रोग वा महामारी भएका बेला झिँगाबाट जीवाणु धेरै छिटो फैलिन्छन् । अनुसन्धानकर्ताहरूले तीन फरकफरक महाद्वीपमा ११६ झिँगाको माइक्रोबायोम परीक्षण गरे । केही मामिलामा उनीहरू के पाए भने, झिँगाले सयौं फरकफरक प्रजातिका जीवाणुको ओसार्ने गर्छ, जुन मानिसका लागि अत्यन्त खतरनाक अवस्था हो ।

‘हेर्नोस्, जीवाणु झिँगाको उपयोग वायुयानजस्तै गर्छन्,’ सरुवा तथा ट्रपिकल रोग विशेषज्ञ डा. वासुदेव पाण्डे भन्छन्, ‘सबैजसो मौसममा फोहोर फैलाउने कारक बन्छ यो, यसको सानो शरीरमा १० लाखभन्दा बढी कीटाणु हुन सक्छन् ।’

झिँगा आफैंमा कीटाणुयुक्त हुँदैन । यसको शरीरमा जीवाणु उत्पन्न हँुदैन । तर यसले फोहोर यताउता सारेर जीवाणु ओसार्छ । कुनै पनि फोहोरबाट आएर झिँगा खाद्य पदार्थमा बस्छ र दूषित बनाइदिन्छ ।

‘सानो देखिए पनि यसले तपाईंमा टीबी, कुष्ठ, टाइफाइड, हेपाटाइटिस ए र ई, झाडापखाला, हैजा, कन्जक्टिबाइटिस, पोलियोमायलेटिस, एन्थ्रेक्सलगायत थुप्रै घातक रोग सार्न सक्छ,’ डा. पाण्डे भन्छन्, ‘यो स्वास्थ्यको मुख्य समस्या नै हो । हिमाल, पहाड, तराई सबैतिर यसले असर पारेको छ ।’

डा. पुन भन्छन्, ‘नबिर्सनुस्, एउटा झिँगाले विभिन्न रोग मात्र सार्दैन, एउटा तपाईंलाइ मार्न पनि सक्छ । झिँगाबाट खाद्य पदार्थलाई प्रदूषित हुन नदिनु एउटा चुनौती नै हो ।’

झिँगा आफू बसेको ठाउँमा हरेक पटक विष्ठ्याउने गर्छ । भनिन्छ, विश्वको कुनै पनि विकसित समाजमा समेत झिँगाको विष्ठालाई भोजनसँगै पेटमा जानबाट रोक्नु जटिल चुनौती नै हो । एउटा दाबीअनुसार, औसत रूपमा सामान्य व्यक्ति जीवनकालमा नचाहँदा–नचाहँदै साढे चार किलोग्राम तौल बराबरको झिँगाको मल खान्छ ।

‘सडकछेउको दिसा, फोहोर, सिनोलगायत फोहोरमा बसेर जीउभरि जीवाणु टाँसेर आई यसले हाम्रो खाद्य पदार्थमा ल्याएर छोडिदिन्छ,’ माइक्रो बायोलजिस्ट ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘राजधानीकै कुलेश्वरमा गन्हाएको फोहोरमा झिँगा बस्छ, त्यही झिँगा फेरि मासु, माछा, मिठाई पसल, खुल्ला खाद्य पदार्थमा बसेर त्यहाँ रोग पुर्‍याउँछ र तिनै कुरा हामी खाँदै छौं ।’

माछामासुलगायत पकाएर खाने कुरामा यसले खासै फरक नपारे पनि मिठाई, चाट, समोसा, पानीपुरी जस्ता पहिलेदेखि नै बनाइएका खाद्य पदार्थ ल्याएर खाँदा बिरामी पर्न सकिन्छ ।

झिँगाबाट रोग सर्ने कुरा खासै थाहा नभएर वा गरिबीका कारण अझै मुलुकमा झिँगा झिकेर खाने गरेका घटनासमेत विज्ञहरू सम्झन्छन् ।

अनौठो जीव
भनिन्छ, झिँगा जति पटक, जहाँ बस्छ त्यहाँ विष्ठासमेत गर्छ । झिँगाले खानालाई सोझै नखाएर चुस्ने गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, खानुअघि झिँगाले आफू बसेको पदार्थमा र्‍याल र पाचक रस छोडेर भोजनलाई घोल्छ । भोजन घुलेपछि त्यसलाई चुस्ने गर्छ । झिँगाले दिनहुँ दुईदेखि तीन पटकसम्म पेट भर्ने गर्छ ।

पानी झिँगाका लागि अत्यावश्यक हुन्छ । पानीबिना यो ४८ घण्टाभन्दा बढी बाँच्न सक्दैन ।

झिँगाको टाउकामा भएका दुइटा ‘एन्टेना’ ले उसलाई हावाको स्थितिबारे अवगत गराउँछन् । एन्टेनाबाट संकेत प्राप्त भएपछि यो अनुकूल दिशातर्फ जान्छन् । यो एन्टेनाले झिँगाका लागि नाकको समेत काम गर्छ । यसले गन्ध थाहा पाएर झिँगा खानाको खोजीमा हिँड्ने गर्छ ।

वातावरणको तापक्रम २० देखि २५ डिग्री सेन्टिग्रेड र यसभन्दा कम भएका बेला झिँगाको साम्राज्य देखिन थाल्छ । ४५ डिग्री सेन्टिग्रेडभन्दा माथिल्लो र १० डिग्री सेन्टिग्रेडभन्दा तल्लो तापक्रममा यो खासै देखिँदैन ।

३५ देखि ४० डिग्री सेन्टिग्रेडको तापक्रम झिँगाका लागि सन्तान उत्पादन, उडान, खानपानका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

जोगिने उपाय
स्वच्छता भए, खानेकुरा सीमित भए झिँगाले आफ्नो संख्या बढाउने सक्दैन । घरमा त्यसै फालिएका खाद्य पदार्थका कणले समेत झिँगालाई निम्तो दिने गर्छन् । त्यसो नहोस् भन्न फोहोर फयाँक्ने बट्टा सफा राख्नुपर्छ, बिर्को राम्ररी लगाउनुपर्छ । फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ ।

घरभित्र पस्न नदिऔं
झयालढोका आदिमा जाली लगाएर झिँगालाई घरबाहिरै राख्न सकिन्छ । यसका लागि ससाना प्वालहरू, भेन्टिलेसन आदिलाई पनि झिँगा पस्न नसक्ने गरी सुरक्षित बनाउन सकिन्छ ।

रसायनमुक्त उपाय : विभिन्न प्रकारका ससाना घरेलु उपकरणका माध्यमले झिँगा समाउन/मार्न सजिलो हुन्छ । अचेल बजारमा अल्ट्राभ्वाइलेट लाइट ट्रयाप, स्टिकी फ्लाई ट्रयाप, फ्लाई स्वाटर्स, वेटेड फ्लाई ट्रयापलगायत थुप्रै ससाना घरेलु उपकरण र उपाय पाइन्छन् ।

रासायनिक उपाय : झिँगा धपाउने विषादीयुक्त स्प्रेको प्रयोग गरेर यसबाट मुक्ति पाउन सकिन्छ । धेरैजसो स्प्रेमा कीटनाशक ‘पिरेथ्रिन’ हालिएको हुन्छ । यसले अस्थायी रूपमा मात्रै काम गर्छ ।

रोचक तथ्य
झिँगाले एक सेकेन्डमा ४ सय पटकसम्म पखेटा फडफडाउँछ ।
७–८ किलोमिटर प्रतिघण्टाको गतिले उड्छ ।
एक पटकमा १०० देखि १५० सम्म फुल पार्छ ।
खाना चपाउँदैन, चुस्छ ।
दुई किलोमिटर टाढाको भोजनलाई समेत सुँघेर पत्ता लगाउँछ ।
आँखामा ४ हजारभन्दा बढी लेन्स हुन्छन् ।
गर्मी ठाउँमा दुई सातादेखि ३ सातासम्म मात्रै बाँच्छ ।
चिसो ठाउँमा भने तीन महिनासम्म बाँच्न सक्छ ।

झिँगा धपाउने घरेलु उपाय
-तुलसीको बोटले झिँगालाई टाढा राख्छ ।
-कपुरको धूवाँले पनि झिँगालाई धपाउँछ ।
-झिँगा फसाउने इलेक्ट्रोनिक उपकरण पाइन्छ ।
-नीलगिरि, पुदिना, लेमनग्रास, ल्याभेन्डर तेल छर्ने गर्दा पनि झिँगा आउँदैन ।
-विद्युतीय पंखा चलाएर झिँगा धपाउन सकिन्छ ।
-फ्लाई स्ट्रिप्सले समेत झिँगालाई समाउँछ ।
-अल्ट्राभ्वाइलेट ट्रयापतर्फ आकर्षित भएर झिँगा त्यहाँ बस्दा मर्छ ।

[email protected]

प्रकाशित : श्रावण ५, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?