३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मखाना

काठमाडौँ — परबाट हेर्दा फूल उठेको मकैजस्तो देखिन्छ मखाना । यसलाई हिन्दू धर्मशास्त्रमा देवताको खाना भनिएको छ । हाम्रो स्वास्थ्यमा यसको महत्त्व यही कुराबाट पनि अड्कल्न सकिन्छ । मखाना स्वादिष्ट हुन्छ । यो नियमित रूपमा खाने गरे मुटु र मृगौला स्वस्थ भइरहन्छन् ।

मखाना

मखाना पोखरी वा तालको शान्त पानीमा उम्रने गर्छ । पोषकतत्त्वले भरिपूर्ण यो जिनिस हाम्रो मुलुकमा तराई मधेसतिर बढी पाइन्छ । यसमा प्रोटिन, भिटामिन, फाइबर, म्याग्नेसियम, फोस्फोरस, आइरन, जिंकजस्ता खनिज र पोषक पदार्थ हुन्छन् । मखानामा ९.७ प्रतिशत सजिलै पच्ने प्रोटिन, ७६ प्रतिशत कार्बोहाइड्रेट, १२.८ प्रतिशत मोइस्चर, ०.१ प्रतिशत बोसो, ०.५ प्रतिशत खनिज, लवण, ०.९ प्रतिशत फोस्फोरस र प्रति १०० ग्राम १.४ मिलिग्राम आइरन हुन्छ ।

मखानालाई ‘अर्गानिक हर्बल’ भने पनि हुन्छ किनभने यसलाई रासायनिक मल वा कीटनाशकको उपयोगबिनै उमारिन्छ । यसलाई आफ्नो आहारामा नियमित रूपमा सामेल गर्न सके स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा पाउन सकिन्छ । रक्तचापको समस्या भएकाहरूका लागि मखानाले औषधिको अर्थ राख्ने गर्छ । मखानको निरन्तर सेवनबाट रक्तचाप नियन्त्रणमा रहन्छ । शरीरमा कोलेस्ट्रोलको स्तरसमेत बढ्न पाउँदैन ।

आयुर्वेदका अनुसार मखानाको सधैंजसो खाने गर्दा वीर्यको गुणस्तर र मात्रा बढ्दै जान्छ, शीघ्रपतनलाई रोक्छ । कामेच्छा बढाउँछ । महिलाको बाँझोपन हटाउन पनि यो सहयोगी मानिन्छ । मखानामा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ । यसैले यो खाने गरे जोर्नीको दुखाइ, गठियाजस्ता बिमारले त्यति पिरोल्न पाउँदैन । यसमा प्रशस्त एन्टिअक्सिडेन्ट हुन्छ, जुन सबै उमेर समूहका लागि सजिलै पच्ने खालको हुन्छ । यसको सेवनले पाचन प्रणालीसमेत सुध्रिँदै जान्छ ।

मखानाले हाम्रो फियोलाई डिटक्सिफाई (विषाक्तता घटाउने काम) गर्छ । यसमा गुलियोपना निकै कम हुन्छ । यसले मृगौलालाई बलियो बनाउँछ । रगतलाई सफा पार्न सघाउँछ । मखाना खाइरहे तनावको समस्या पनि हुन पाउँदैन । निद्रा राम्ररी लाग्छ । यसले कपाललाई समेत बाक्लो र कालो राख्न सघाउँछ ।

प्रकाशित : श्रावण ५, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?