सेनाको नयाँ अस्पतालमा सेवा सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सेनाले महांकालस्थित नवनिर्मित भवनमा छाउनी अस्पतालको दन्त र बाल चिकित्सा सेवा सञ्चालनमा ल्याएको छ । 

सेनाको नयाँ अस्पतालमा सेवा सुरु

यससँगै आकस्मिक र बहिरंग सेवा पनि सञ्चालनमा आउने भएको छ । दाँतसम्बन्धी समस्याको सामान्य उपचार छाउनीमा हुने भए पनि उच्चस्तरीय उपचार भने नयाँ भवनमा हुने सेनाले जनाएको छ । उक्त भवन सैनिक कल्याणकारी कोषबाट निर्माण गरिएको हो ।


प्रधानसेनापति राजेन्द्र क्षत्रीले अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै अत्याधुनिक भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन सुरु भएको जनाए । २०७२ को भूकम्पपछि उक्त भवनबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द भएको थियो ।


अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक र बहिरंग सेवा उपलब्ध हुने बताइएको छ । आरम्भमा दन्त चिकित्सा, बाल चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उपलब्ध हुने जनाइएको छ ।


‘छाउनी अस्पतालमा बिरामीको चापलाई यसले घटाउनेछ,’ क्षत्रीले भने । उनले भविष्यमा सर्वसाधारण नागरिकलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिए । भवन जमिनमाथि सात तला र अन्डरग्राउन्ड दुई तला पार्किङ गरी नौ तलाको छ ।’


पहिलो विश्वयुद्धबाट प्रभावित नेपाली सैनिकको उपचार र स्वास्थ्य सेवाका लागि बेलायतले १९८२ सालमा उक्त अस्पताल निर्माण गरिदिएको थियो । महांकालबाट मिलिटरी अस्पतालले दिंँदै आएका धेरै सेवा २०४६ सालपछि छाउनीस्थित वीरेन्द्र सैनिक हस्पिटलमा सारिएको थियो ।

प्रकाशित : श्रावण २०, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?