यसकारण पर्छ पेटमा जुका  

डा. ललित कुमार मिश्र

काठमाडौँ — धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकहिं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् ।

यो रोग लागेमा बिरामीले खाएको खाने कुराको पोषक तत्व जुकाले खाईदिन्छ । व्यक्तिको शरीरमा लाग्दैन र पीडित व्यक्ति जति खाएपनि दुब्लो-पातलो र कमजोर देखिन्छ । लामो समयसम्म यो रोगको उपचार नगरे रोगीलाई एनिमिया, कुपोषण, एलर्जि तथा छारेरोग लाग्ने संभावना बढि हुन्छ ।

जुँका पर्नुका कारणहरु : जुकाहरु सानो आन्द्रामा बस्छन् । फर्टिलाईजेशन (गर्भाधान) गरेपछि पोथीजुकाले लाखौंको संख्यामा फुल पार्छे । जुन फुल मानिसको दिशाबाट बाहिर निस्कन्छन् । अनुकुल वातावरणमा यि फुलहरु रोगजन्य हुन्छन् । यि फुलहरु दुईदेखि तीन सप्ताहमा सक्रिय लार्भा हुन्छन् । मानिसले जुकाको फुल खाएपछि संक्रमण सुरु हुन्छ । जुका पेटभित्र पर्ने होइन, खाएपछि मात्र बाहिरबाट पेटमा पर्ने हो । जुकाका फुलहरु सानो आन्द्रामा विकशित हुन्छन् र गतिशिल लार्भा बन्दछन् । सानो आन्द्राको भित्तालाई छेडेर रगतको नलीमा पस्छन् र दाहिने पट्टी मुटुमा पुग्छन् । त्यसपछि पुन: फोक्सोबाट घाँटीमा आइपुग्छन् । त्यसपछि अन्न नली हुँदै आमाशयमार्फत पुन: सानो आन्द्रामा पुग्छन् । यसप्रकार जुकाको जीवन चक्र चलिरहन्छ ।

कारण: जुका पर्नुको प्रमुख कारणमा नङ् टोक्ने बानी, हात नधोईकन खाने कुरा खानु, भुइमा झरेको खाने कुरा टिपेर खानु, काँचै खाने कुरा सलाद नपखाली खानु । नाक कोट्याउँदै औला मुखमा हाल्नु । माटो खानु । राम्ररी नपाकेको मासु खानु, धेरै गुलियो चिज खानु आदि पर्दछन् ।

लक्षण;- पेट दुख्नु, पखाला लाग्नु, अपच हुनु, वाक–वाक लाग्नु र बान्ता हुनु, ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्ने, वजन घट्नु, रोगी दुब्लोपातलो हुनु, अनुहार पहेलो देखिनु, बारम्बार नाकमा औला हाल्नु, मलद्वार चिलाउनु, आँखाको वरिपरि कालो घेरा पर्नु, धेरै भोक लाग्नु, पेट ठुलो हुनु र कडा हुनु, निन्द्रामा दाँत किटकिटाउनु, निन्द्रा मै औछ्यानमा पिशाब गर्नु, पिशाव सेतो भएर जम्नु, निन्द्रामा बेचैनी हुनु, जिउ भारी हुनु, हात खुट्टा चिसो बनिरहनु, चिडचिडापन आउनु, जिद्दिपना हुनु, सा-सानो कुरामा रुनु/कराउनु, जे गर्दा पनि उसको चित नबुझ्नु ।

रोकथाम : धेरैजसो बालबालिकाहरु फोहर तथा दुषित माटोमा खेल्दा उनीहरुको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औंला हाल्दा जुका सर्ने हुनाले घरमा केटाकेटीहरुलाई सफा सुग्घर गर्ने बानी बसाल्नु पर्छ । खाना खानु अगाडि साबुन पानीले हात राम्ररी धुने । भुईमा झरेको खाना नखाने । हातको नङ काट्ने ताकि फोहर जम्मा नहोस् । जहाँ पायो त्यही दिशापिशाब नगर्ने । खाने पानी उमालेर वा फिल्टर गरेर मात्र खाने । भान्छा कोठाको सफाइमा ध्यान दिने । झिंगाबाट खाद्य तथा पेय पदार्थ बचाउने । परिवारमा कसैलाई जुका परेमा सबैलाई उपचार गराउने । बच्चाको मुखमा औला हाल्ने बानी छुटाउने । पेट सफा राख्ने कब्जियत हुन नदिने । जुका हेर्दा सामान्य भएतापनि कहिलेकाहि यसले नराम्रो परिणाम देखाउने रोग भएको हुनाले सबै जना सजग भइ व्यक्तिगत सरसफाइमा ध्यान दिएर समय–समयमा दिसाको परीक्षण गराई उपचार गरेमा जुकाबाट बच्न सकिन्छ । यो समस्यामा खानपिनमा सुधार गर्दै सरसफाइमा ध्यान पुर्‍याई उपचार गर्न सकिन्छ ।

के खाने : स्वच्छ सफा पौष्टिक खान खाने । तरकारी र फलमा करेला, परवल, लौका, काँचो मेवाको सब्जी, बेथुको साग, पुदिना, प्याज, गोलभेंडा, गाँजर, अमला, स्याउ, पाकेको अम्बा , आलुबखेडा, केरा, भुईकटहर, काँचो नरिबल र नरिवलको पानी खाने ।

के नखाने : तारेको, भुटेको, बासिखाना, बेसनबाट बनेको खानेकुरा नखाने । मिठाई, चकलेट, चिनी नखाँदा राम्रो ।

उपचार : होमियोप्याथीमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर रोगको अवस्था, जुकाको प्रकारसमेतलाई हेरि यस समस्याको लागि प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन । औषधिहरु, सिना, चेलिडोनियम आयल, फिलिक्स मास, सेन्टो नाइन, कुप्रम अक्सिडेटम, नेट्रम फोस, केलिम्युर, टियुक्रियम, कुकरबिटा पेपो, चिलोन-क्यू, स्पाइजेलिया, कल्केरिया कार्ब, सलफर, एब्रोटेनम, टेरिबिन्थ, टेल्युरियम, केलेडियम आदि ।

उल्लेखित औषधिहरुको प्रयोग आफ्नो नजिजकको कुनै प्रशिक्षित चिकित्सकको सल्लाह लिई सेवन गर्नु उपयुक्त हुन्छ ।

अस्तु ।


Mishradr.lk@gmail.com

प्रकाशित : श्रावण २५, २०७५ १५:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्मरण शक्ति कमजोर हुने कारण, लक्षण र रोकथामका उपायहरु

डा. ललित कुमार मिश्र

काठमाडौँ — मेसिनले गाँज्दै लगेको यो युगमा स्मरण शक्ति कमजोर हुनु, एक व्यापक र गम्भिर समस्या बन्दै गईरहेको छ भन्दा अतियुक्ति नहोला । अधिकांश मानिसहरुको स्मरण शक्ति लगभग एकै जस्तो भएको छ भने त्यहि कुनै-कुनै मेधावी व्यक्तिमा कुनैपनि कुरालाई याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन सक्छ ।

त्यसैले यो भन्न सकिन्छ कि स्मरण शक्ति व्यक्तिमा एउटा आर्जित गुण पनि हो । स्मरण शक्तिलाई तेज बनाउनु या कम गर्नु हामीमा नै निर्भर हुन्छ ।

वैज्ञानिकहरुको भनाई अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको ईच्छा, अनिच्छा, चाहना तथा रुचिसँग छ । स्मरण शक्ति तथा एकाग्रतामा कमी भएपछि व्यक्ति कुनैपनि क्रियाकलापहरु राम्ररी गर्न सक्दैनन् । जस्तै, पढ्न, लेख्न, हिसाब-किताब गर्न, कुनै नौलो कुरा सिक्न आदी । व्यक्तिको उमेर ढल्दै जाँदा, पचास वर्षपछि भने स्मरण शक्तिमा ह्रास हुनु स्वभाविक हो । तर कमै उमेरमा यो समस्या हुनु आपत्तिजनक मानिन्छ । यसरी असामान्य रुपले स्मरण शक्तिको कमी हुनुलाई मेडिकल भाषामा अम्नेसिया भनिन्छ ।

यसका कारणहरु : यसका प्रमुख कारणहरुमा व्यक्तिमा रुचिको अभाव हुनु, काम सुनियोजित ढगंले क्रम अनुसार नगर्नु, एकै चोटी धेरै काममा हात हाल्नु, कामप्रति उपेक्षाको भावना राख्नु, कुनै कुरा याद राख्ने ईच्छा नहुनु, बिषयलाई पुरा मनोयोगले बुझ्ने कोशिस नगर्नु, चिन्तामा डुबिरहनु, शारीरिक या मानसिक बिरामी हुनु, धेरै मैथुन गर्नु, मस्तिष्क (ब्रेन) अविकशित हुनु, जन्मजात मस्तिष्कको विकृति हुनु, टाउकोमा कुनै प्रकारको चोटपटक लाग्नु, शारीरिक क्षमता भन्दा बढि काम गर्नु, क्रोध, भय, चिन्ता, अनिद्रा आदि लाई लिन सकिन्छ भने अन्य कारणहरुमा पौष्टिक तत्वको अभाव हुनु, उच्च रक्तचाप, डिप्रेसन तथा पेनकिलर औषधिको अत्याधिक प्रयोगबाट हुने साइडईफेक्ट आदि पनि यसका कारण हुन् । त्यसैगरी मधपान सेवन गर्ने बानी, तनाव, थाईरायड, रगतमा सुगरको मात्र सामान्य भन्दा कम, अटोईम्युन डिजिज आदिले पनि स्मरण शक्ति घटाउँछ ।


लक्षणहरु : यस रोगको लक्षणमा कसैको नाम ठेगाना बिर्सिनु । केहि दिन अगाडि भएका गरेका कुराहरु बिर्सिनु । पढेका, देखेका सुनेका कुराहरु याद नआउनु । कुनै ठाउँमा सामान राखेर बिर्सिनु । नयाँ कुराहरु जस्तै भाषा, संगीत, गायन, नृत्य, अभिनय कला आदि सिक्न गाह्रो हुनु । पढेर याद राख्ने ईच्छा नहुनु । कुनैपनि कुरा एकपटक भन्दा नबुझ्नु, अरुचि, आलस्य, चिडचिडापन, निराशाको भाव, घबराहट आदि हुन्छ ।

सल्लाह : आफ्नो समय अनुसार बिहान बेलुकी घुम्ने । याद राख्ने कुरामा गहिरो रुचि लिएर एकाग्रता एवं पुरै मनोयोगले याद गर्ने । निद्रा भरपुर लिने । कुनै कुरालाई क्रम अनुसार याद गर्ने र त्यसलाई प्रत्येक साता फेरि दोहर्‍याउने । योगाभ्यास मेडिटेसन (ध्यान) अनुलोम बिलोम, कपलाभाति गर्ने ।

के नगर्ने : एकैपटक धेरै कुरा याद गर्ने प्रयास नगर्ने । आफ्नो स्मरण शक्तिको बिषयलाई लिएर सधै चिन्तित नहुने । रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा मेमोरिपावर बढाउने औषधिको विज्ञापनको चक्करमा नफस्ने । सकारात्मक सोच राख्ने । मानसिक तनावको संवेगलाई आफुमा हाबी हुन नदिने । राती धेरै बेर जागेर नपढने ।

खानपान : सुपाच्य, हल्का, सन्तुलित, पौष्टिक खाना नियमित समयमा खाने । सिजनअनुसारको हरियो सागपात, सलाद, बन्दा, फुलकोभी, ब्रोकाउली, गान्टेमुला, गाजर, गोलभेंडा, चुकुन्दर, पालुंगो, अन्डा, माछा, दुध, दहि, महि, चिज, मख्खन खाने । दैनिक शुद्ध तीन लिटर पानी पिउने । फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्राबेरी, जामुन, भुईकटहर, केरा, खाने ।

निषेध : तारेको, भुटेको, पिरो, मसालेदार खाना नखाने । चिया, कफि तथा धुम्रपानबाट टाडा नै बस्नु राम्रो । तम्बाखु, गुट्खा, नसालु पदार्थ गाँजा, भाँग आदि नखाने । मधपानको सेवन नगर्ने ।

उपचार : असामान्य रुपले स्मरण शक्ति ह्रास भएमा यसले व्यक्तिको दैनिक व्यवहारमा समेत नराम्रो असर पर्न जान्छ । त्यसर्थ बेलामै यसको उपचार गराई हाल्नु पर्छ । होमियोप्याथिकमा यस समस्याको लागि अत्यन्तै राम्रो प्रभावकारी औषधिहरु छन् । जसको प्रयोग बिरामी को मानसिक एवं शारीरिक लक्षणहरुलाई ध्यानमा राखेर गरिन्छ । स्मरण शक्ति कमजोर भएको समस्या हेतु सफलता पुर्वक प्रयोग हुने औषधिहरु निम्न लिखित छन् ।

औषधि : एनाकार्डियम, लाइको पोडियम, एगरिकस मसकेरियस, हेलोबोरस नाईगर, हायोसायमस, मर्कसल, नक्स भोमिका, फासफोरस, सल्फर, जिकंम मेटालिकम, नेट्रम सल्फ, लेक केनम, ग्लोनाईन, केनाबिस ईन्डिका, ईथुजा आदि ।

उपरोक्त औषधिहरुको सेवन आफ्नो नजिकको कुनै प्रशिक्षित होमियोप्याथिक चिकित्सकको सल्लाह लिई लिनु उचित हुनेछ ।

अस्तु ।

Mishradr.lk@gmail.com

प्रकाशित : श्रावण ११, २०७५ १२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT