कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मस्तिष्क मृत्युः दुई वर्षमा दुई जनाको अंग प्रत्यारोपण

अतुल मिश्र

काठमाडौँ — मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण सम्बन्धी कानुन बनेको दुई वर्षमा दुई जनामा मात्रै त्यस्तो अंग प्रत्यारोपण गरिएको छ । 

मस्तिष्क मृत्युः दुई वर्षमा दुई जनाको अंग प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक मृत व्यक्तिको दुईवटा मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो । जबकी राजधानीमा बर्सेनि एक हजारभन्दा बढी व्यक्तिको मस्तिष्क मृत्यु हुने गरेको तथ्यांक छ ।


तिनै व्यक्तिबाट लिइएको कलेजोलाई भने उपयोग गर्न नसकिएको केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए ।

‘हामीकहाँ कलेजो प्रत्यारोपणका लागि लाइनमा रहेका व्यक्तिले मरेको व्यक्तिको कलेजो लिन नमान्दा प्रत्यारोपण गर्न सकिएन,’ केन्द्रद्वारा आयोजित मस्तिष्क मृत्यु र अंगदानसम्बन्धी अन्तरक्रियामा डा. श्रेष्ठले भने ।


केन्द्रले मस्तिष्क मृत्यु भएको जानकारीबारे १६ वटा टेलिफोन कल आए पनि एक जनाका आफन्त मात्रै अंग दान गर्न तयार भएका थिए । गत वैशाख ३० गते तिनै व्यक्तिको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो ।


राजधानीका अस्पतालमा मस्तिष्क मृत्यु भएकाको मिर्गौला, कलेजोलगायत अंग आवश्यकता भएकामा प्रत्यारोपण गर्न २४ घण्टा तम्तयार रहे पनि जनचेतना अभावमा सफलता प्राप्त नभएको गुनासो विशेषज्ञले गरेका छन् ।

जीवित १० हजार व्यक्तिबाट प्रत्यारोपणका लागि मिर्गाैला लिँदा एक जनाको ज्यान जान सक्ने जोखिम हुन्छ । यस्तै जीवित व्यक्तिबाट कलेजो लिँदा दातालाई समेत बढी जोखिम हुन्छ ।


एक जना मस्तिष्क मृत्यु भएका दाताबाट अंग लिएर आठ जनाको ज्यान जोगाउन सकिने डा. श्रेष्ठले बताए । ‘मस्तिष्क मृत्यु भएकाहरूबाट अंग दानमा लिएर आवश्यक भएकामा प्रत्यारोपण गर्न हामी २४ सै घण्टा तम्तयार छौं,’ उनले भने ।

त्यस्ता व्यक्तिबाट निकालिएको मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याङक्रियाज ८ देखि १० घण्टाभित्र र मुटु/फोक्सो ४ देखि ६ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने उनले जानकारी दिए ।


‘समाजमा अंग दान दिने भावना जाग्नुपर्छ,’ वरिष्ठ स्नायु शल्य चिकित्सक डा.वसन्त पन्तले भने, ‘मस्तिष्क मृत्यु भएका व्यक्तिमा पुन: ज्यान कहिल्यै पनि फर्कंदैन ।’

मुटु नरोकिएसम्म जीवित मानिने अवस्था भएको हाम्रोजस्तो मुलुकमा पढेलेखेका वर्गमा समेत मस्तिष्क मृत्युपछि अंग दान गर्नेबारे नकारात्मक धारणा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाश रेग्मीले बताए ।

प्रकाशित : भाद्र ६, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?