१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घामबाट जोगिऔँ

‘सूर्यको प्रकाश हाम्रो शरीरका लागि अत्यावश्यक छ । यसले फाइदा गर्छ । तर, अनियन्त्रित रूपमा कडा घामले छालाको सौन्दर्य ह्रास गर्छ । विभिन्न समस्या उत्पन्न गर्छ । यसैले यी दुवै तथ्यबीच सन्तुलन राख्नुपर्छ ।’
अतुल मिश्र

काठमाडौँ — कतिपय मान्छेलाई उमेरभन्दा बूढो देखिन्छ । यसो हुनुमा गर्मी मौसममा घामबाट छालालाई नबचाउनु मुख्य कारण हुन सक्छ । त्यसैले पनि आफूलाई तन्दुरुस्त र जवान राखिराख्न छालाको स्याहारमा ध्यान दिनुपर्छ ।

घामबाट जोगिऔँ

अझ तीव्र गर्मी र जाडोमा छालाले बढी स्याहार माग्छ । गर्मीयाममा छालालाई उचित हेरविचार नगरे यसले विभिन्न सौन्दर्य/स्वास्थ्य सम्बन्धी समस्यासँगै समय अगावै छाला चाउरी लगायतका समस्यामा पार्छ ।

‘सूर्यको प्रत्यक्ष कडा किरणबाट जोगाउनु छालाको स्याहार गर्ने एउटा सबैभन्दा महत्त्वपूर्ण तरिका हो,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘घामको निरन्तर प्रभावले चाउरी अनुहारमा उमेरले गर्दा हुने दाग/धब्बा, छालाको समस्या उत्पन्न गर्न सक्छ ।’ नेपाल हिमालदेखि तराईसम्मको भूगोल भएको मुलुक भएकाले पनि यहाँ घामबाट सुरक्षित रहनु महत्त्वपूर्ण रहन्छ । बढी समयसम्म घामको प्रत्यक्ष सम्पर्कमा रहनेहरूको छालामा समय अगावै अत्यधिक चाउरी देखिने गरेको अवस्थासमेत कर्ण औंल्याउँछन् ।

यसैले छालालाई सुरक्षित राख्न सकेसम्म प्रत्यक्ष घामको सम्पर्कबाट जोगिनुपर्छ । मुख्य गरी बिहान १० बजेदेखि दिउँसो दुई/तीन बजेसम्म घामको तीव्रता सबैभन्दा बढी हुन्छ । घामबाट बच्न सकेसम्म छालालाई छोप्ने खालको पहिरन लगाउनुपर्छ । लामो बाहुला भएको लुगाफाटो, फुल पाइन्ट, टोपी लगाउनेदेखि छाता ओढ्ने गर्नाले केही हदसम्म घामको प्रत्यक्ष किरणबाट छालालाई जोगाउन सकिन्छ । अझ भ्याएदेखि बोर्ड स्प्रेक्टन सन स्क्रिन अनुहार लगायतका नछोपिएको छालाको भागमा लगाउँदा यसले घामको कडा किरणबाट हुन सक्ने असरलाई जोगाउछ ।

‘सूर्यको प्रकाश हाम्रो शरीरका लागि अत्यावश्यक हो । यसले फाइदा गर्छ,’ यसले छालालाई भिटामिन ‘डी’ बनाउन सघाउने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘तर अनियन्त्रित रूपमा कडा घामले छालाको सौन्दर्य ह्रास गर्छ । विभिन्न समस्या उत्पन्न गर्छ । यसैले यी दुवै तथ्यबीच सन्तुलन राख्नुपर्छ ।’

सूर्यको प्रकाशमा देखिने, नदेखिने किरण, तरंगहरू हुन्छन् । रेडियो तरंगजस्ता ठूला तरंगहरू हामीहरूका लागि हानिकारक हुँदैनन् । तर परावैजनीजस्ता छोटो तरगले समस्या उत्पन्न गर्न सक्छ । पृथ्वीको सतहसम्म पुग्ने परावैजनी किरणको सबैभन्दा लामो तरंग अर्थात् परावैजनी किरण ए (यूभीए) र अर्को सानोलाई परावैजनी किरण बी (यूभीबी) भनिन्छ । ‘परावैजनी किरण ‘बी’ को धेरै समयसम्मको सम्पर्कले छाला डढाउँछ,’ डा. कर्ण भन्छन्, ‘परावैजनी किरण ‘ए’ यूभीवीको दाँजोमा तपाईंको छालामा धेरै भित्रसम्म जान सक्छ । दुवैले छालाको स्वास्थ्यलाई प्रभावित गर्छ ।’

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार, घामले छाला डढ्ने क्रम घामको सम्पर्कमा आएको चार घण्टापछि देखिन थाल्छ र यसको गम्भीर परिणाम २४ घण्टादेखि ३६ घण्टाभित्र देखिन थाल्छ । यो समस्या तीनदेखि पाँच दिनसम्ममा निको हुन्छ । हाम्रो छालामा परावैजनी किरण प्रवेश गरेलगतैदेखि यसले छालाको विकाससम्बन्धी अत्यन्त संवेदनशील प्रकियाहरूलाई विचलित गर्छ ।

यो प्रक्रियाले छालाको तन्काइलाई बिस्तारै कम पार्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘यसले गर्दा छाला चाउरी परेको, बाक्लो, कठोर वा धेरै पातलो हुन्छ ।’

जति बढी समयसम्म हामी घामको सम्पर्कमा रहन्छौं त्यति नै बढी मात्रामा हाम्रो छालामा बुढयौलीका लक्षण देखा पर्छन् । उमेरसँगै छालाले आफूमा भएको क्षतिलाई मर्मत गर्ने गुणसमेत गुमाउँदै जानाले उमेर भएकाहरूमा यसले झन् बढी चाउरी उत्पन्न गर्छ ।

सनस्क्रिन
परावैजनी किरण ‘ए’ र परावैजनी किरण ‘बी’ दुवैबाट जोगाउन बोर्ड स्प्रेक्टम, सनस्क्रिन उपयोग गरिन्छ । छाता, छाला ढाक्ने लुगा, सकेसम्म छायामा बस्ने, हिँड्ने आदि प्रक्रिया अपनाएर सनस्क्रिन उपयोग नगर्नेहरूसमेत घामको दुष्प्रभावबाट जोगिन सक्छन् ।

परावैजनी किरण ‘ए’ ले चाउरी, दाग, धब्बा उत्पन्न गरेर छालामा बुढयौलीको चिनो थप्छ भने परावैजनी किरण ‘बी’ ले छालालाई डढाउने भएकोले दुवै किरणबाट छालालाई रक्षा गर्नु नै आवश्यक हुन्छ । ‘सनस्क्रिनमा भएको फिल्टरले परावैजनी किरणलाई अवशोषित वा परावर्तित गरेर हाम्रो छालालाई यसबाट पर्ने कुप्रभावबाट जोगाउँछ,’ डा. कर्ण थप्छन्, ‘सुक्खा छाला भए मुख्यत: अनुहारमा सनस्क्रिन क्रिम लगाउनुस् र शरीरका धेरै भागका लागि लोसन लगाउनु उपयुक्त हुन्छ ।’

घरबाहिर निस्कनुभन्दा कम्तीमा १५ मिनेट अगावै अनुहार लगायत नछोपिएको भागमा सनक्रिम लगाउनुपर्छ । एक पटक सनस्क्रिन लगाएपछि यसले करिब दुई घण्टासम्म छालालाई सुरक्षा प्रदान गर्छ । यसैले बढी समय घरबाहिर रहँदा यसैअनुसार पुन: क्रिम लगाउनुपर्छ ।

‘घाम नलाग्दा, बादल लागेको समय हामी घरबाहिर निस्किँदा सनस्क्रिन लगाउन उचित ठान्दैनौं,’ डा. कर्ण भन्छन्, ‘तर यो गलत हो । परावैजनी किरणले बादललाई छेडेर हामीसम्म पुग्ने भएकाले बादल लागेको बेलामा समेत यसको उपयोग गर्नुपर्छ ।’ सनस्क्रिन उपयोग गर्ने बेलामा हामीहरू कन्जुस्याइँ गर्ने गरेको औंल्याउँदै उनी थप्छन्, ‘एक चौथाइ चम्चा सनस्क्रिन अनुहार र घाँटीसम्म लगाउन पुग्छ । पूरा शरीरमा लगाउँदा करिब दुई चम्चा सनस्क्रिन चाहिन्छ । छालामा सनस्क्रिनको बाक्लो तह नभएसम्म यसले हामीले आशा गरे जस्तो सुरक्षा कवच प्रदान गर्दैन ।’

सनस्क्रिनको साइड इफेक्ट
सनस्क्रिनमा भएका रसायनहरूले गर्दा कहिलेकाहीँ एलर्जी, चिलाउने समस्या, रातोपना लगायतका समस्यासमेत देखिन्छ । यस्तो स्थितिमा जिंकअक्साइड भएको सनस्क्रिन उपयोग गर्दा एलर्जीबाट बच्न सकिन्छ । अनुहारमा डन्डीफोर भएकाहरूले सनस्क्रिन उपयोग गर्दा समस्या झन बढन सक्छ ।

यस्तोमा तेलरहित लोसन उपयोग गर्नु फाइदाजनक हुन सक्छ । डा. कर्णका अनुसार सनस्क्रिन उपयोग गर्दा कुनै पनि अस्वाभाविक अवस्था, समस्या देखिए तुरुन्त छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ । आफू खुसी सनस्क्रिन उपयोग गर्नुभन्दा पनि आफ्नो छाला आदिको अवस्थाअनुसार छाला रोग विशेषज्ञको सल्लाहमा उपयोग गर्नु नै फाइदाजनक हुन्छ ।

पश्चिमाभन्दा पृथक वर्ण भएका हामीहरूले ३० एसपीएफ (सन प्रोटेक्सन फयाक्टर) वा योभन्दा बढी भएको सनस्क्रिन लोसन लगाउनु उपयुक्त हुन्छ । आफू जाने स्थल, त्यहाँको परावैजनी किरणको अवस्था, आफ्नो वर्ण लगायतका कुरामा विचार गरी चिकित्सकीय सल्लाहमा एसपीएफ निर्धारण गर्नु उपयुक्त हुने डा. कर्ण बताउँछन् ।

शरीरमा पर्याप्त पानी
गर्मीयाममा घामबाट छालालाई मात्र जोगाएर हुन्न । आफ्नो शरीरमा उपयुक्त स्तरमा पानीको मात्रा कायम गरेर राख्नुसमेत महत्त्वपूर्ण मानिन्छ । यसैले आफूलाई उपयुक्त हुने गरी पानी, पौष्टिक तरल र झोल पदार्थ सेवन गर्दै राख्नुपर्छ । हरियो सागसब्जी, फलफूल आदिको सेवनसँगै, वैज्ञानिक मसाज आदिका माध्यमबाट समेत छालाको स्वास्थ्यलाई सबल बनाउन सकिने डा. कर्ण आैंल्याउँछन् ।

[email protected]

प्रकाशित : भाद्र ९, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?