जीवनशैली नमिल्दा ढाडको समस्या

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ
फातिमा बानु

काठमाडौँ — तपाईंको दैनिकी कस्तो छ ? बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने, सुतिहाल्ने । यदि जीवनशैली यस्तै छ भने तपाईं नजानिँदो ढंगले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार बन्नुहुन्छ ।

बदलिँदो जीवनशैली र नमिल्दो खानपिनका कारण पछिल्लो ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीको समस्या बढ्दै गइरहेको छ । चिकित्सक रुघाखोकीजस्तै उक्त समस्या पनि साझा बनिरहेको बताउँछन् ।

शरीरको हड्डी कमजोर हुने, ढाड तथा जोर्नी दुख्ने सामान्य दुर्घटना हुँदा पनि अगंभंग हुने मोटोपन बढेर घुँडा दुख्ने समस्या आइपर्ने गलत जीवनशैलीका नतिजा हुन् । हाडजोर्नी रोग विशेषज्ञ डा. दीपेन्द्र पाण्डे भन्छन्, ‘सूर्यको किरण शरीरमा पर्न पाउँदैन, सहरमा घाम उदाउनुअघिदेखि नअस्ताएसम्म मानिस व्यस्त हुन्छन्, जसले गर्दा शरीरमा भिटामिन ‘डी’ को कमी भई हाडजोर्नी कमजोर बनाइरहेको छ ।’

Yamaha

कमजोर हाडजोर्नीका कारण पलेटी कसेर बस्न नसक्ने, धेरै काम गर्न नसक्नेजस्ता समस्या निम्त्याइरहेको उनले बताए । उनले थपे, ‘हाड भनेको जति प्रयोग गर्‍यो उति बलियो हुने अगं हो, यसको प्रयोग हुन नसक्दा गुणस्तरीय जीवन घटदै गइरहेको छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तिने गरेको छ । बाँकी २० प्रतिशत अन्य कारण हुन् जुन शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन् ।

८० प्रतिशत समस्या जीवनशैली सुधार गरे मात्रै रोक्न सकिने मेरुदण्ड विशेषज्ञ डा. गौरवराज ढकाल बताउँछन् । उनी भन्छन्, ‘शारिरीक क्रियाकलाप कम हुनु तथा मानसिक तनाव बढी हुनु यसका मुख्य कारण हुन्, जकंफुड र धूम्रपानको पनि उत्तिकै भूमिका खेलिरेहको छ ।’ बढी समय काममा खट्ने तथा स्वास्थ्यलाई ध्यान नदिदाँ सहरी भेगका मानिसमा यस्ता समस्या विकराल हुँदै गइरहेको उनले बताए ।

ढाड दुख्ने समस्या लिएर ट्रमा सेन्टर पुगेका अधिकांश बिरामी धेरै बेर उभिएर काम गर्ने, मोबाइल र कम्प्युटरमा बढी समय बिताउने, अनि नियमित मोटरसाइकल चढ्ने गरेको बताए । समस्याको मुख्य कारण पनि यही रहेको डा. ढकालले बताए । विशेषगरी युवावर्ग यस्ता समस्याको मारमा छन् । बालबालिका पनि यस्ता समस्या लिएर अस्पताल पुगिरहेका छन् ।

पढाइको धेरै मानसिक तनाव, गह्रुंगो झोला र धेरै बेर निहुरिएर मोबाइल चलाउने, सुतेर टीभी हेर्ने, नरम ओछयान र अग्लो सिरानीमा सुत्ने बालबालिका बढी प्रभावित भइरहेका छन् । डा. ढकाल भन्छन्, ‘गाउँघरमा जस्तो बालबालिकाको खेल्ने–कुद्ने बानी छैन, स्कुलमा पनि खेलकुद र व्यायमबारे उनीहरूलाई खासै सिकाइँदैन ।’

ट्रमा सेन्टरको हाडजोर्नी विभागको तथ्यांक हेर्दा खेलकुद, व्यायाम र स्वास्थ्य खानपानबारे हेलचक्रयाइँ गर्दा हरेक १० मध्ये ८ ले यस्ता समस्या भोगिरहेका छन् । गाउँघरमा बस्ने, बिहानै उठ्ने करेसाबारीमा काम गर्ने अनि हिँडिराख्नेहरू हाडजोर्नीसम्बन्धी समस्या लिएर विरलै अस्पताल पुग्छन् । रूखबाट लडेर या चिप्लिएर मात्रै उनीहरूमा यस्ता समस्या देखिने गरेको डा. ढकाल बताउँछन् ।

उनी भन्छन्, ‘जीवनशैलीका कारण देखिएको समस्या जीवनशैली परिवर्तन गरेर मात्रै समाधान हुन्छ, औषधि र उपचार त सेकेन्डरी उपाय मात्रै हो ।’ दिनमा एक घण्टा व्यायाम गर्ने, धेरैबेर कुर्सीमा बसेर काम गर्नेले बेलाबखत उठेर तन्किने अनि खानेकुरामा मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण हुने उनी बताउँछन् ।

यस्ता समस्याबारे समयमा नसुधारेमा दुखाइ शरीरका विभिन्न भागमा फैलिन सक्छ । हातखुट्टा झमझमाउने, लुलो हुने, वजन घटेर कमजोरी हुने हुन सक्छ । कहिलेकाहीँ प्यारालाइसिस भएर जीवनभर ओछयान पर्ने समस्या पनि हुने गरेको छ ।

सहरी जीवनशैली गुणस्तरीय बनाउन सानै उमेरदेखि व्यायाम गर्न बानी बसाल्नुपर्ने चिकित्सक बताउँछन् । यसलाई प्रभावकारी बनाउन विद्यालय तहबाटै अभ्यास सुरु गर्नुपर्छ । व्यायामलाई दैनिक जीवनसँग जोड्न सामुदायिक व्यायाम केन्द्र निर्माण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

द्वन्द्वपीडितले उपचार पाएनन्

फातिमा बानु

काठमाडौँ — ‘गरिबीको अन्त्य हुन्छ, सबैलाई न्याय हुन्छ र समतामूलक समाजको निर्माण हुन्छ ।’ तत्कालीन विद्रोही पक्षका यस्तैयस्तै कुराले उनलाई पनि १३ वर्षको उमेरमै जनयुद्धमा होमिन प्रेरित गर्‍यो ।

बुर्जुवा शिक्षाको अन्त्य गर्ने भन्दै ४ कक्षाको पढाइ पनि बीचमै छाडेर उनी युद्धमा सहभागी भए । राज्यपक्षसँगको दोहोरो लडाइँमा उनी गम्भीर घाइते भए । देब्रे खुट्टामा गोली लाग्यो । जनयुद्धको लडाइँ सकिए पनि छाती र टाउकामा लागेका बमका छर्रासँग भने उनी अझै लडेका छन् ।

१५ वर्षसम्म सरकारको मुख ताक्दा पनि उपचार नभएपछि हालै उनले ऋणको खर्चले छात्तीको शल्यक्रिया गरेका छन् । उनी भन्छन्, ‘अझै टाउकाको अपरेसन गर्न बाँकी छ, खर्च छैन घाउले खुब दिइरहन्छ ।’

उनीजस्तै द्वन्द्वका कारण दुवै आँखा गुमाएका, मानसिक सन्तुलन गुमाएका र शारीरिक रूपमा अंगभंग भएकाले राम्रो उपचार पाएका छैनन् । १२ वर्षअघि विद्रोहीपक्षसँग भिडन्त हुँदा उनी घाइते भएका रणवीर लावती अहिलेसम्म घाइते छन् ।

‘प्रेसरकुकर बम पड्कएर उनको शरीर क्षतविक्षत भयो, एक महिनापछि मात्रै होसमा आए । उनले भने, ‘होसमा त आएँ तर शरीर र मन आजसम्म घाइते छ ।’ सेनाको उपचारका लागि सरकारले छुट्टै अस्पतालको व्यवस्था गरेको छ । तर, अस्पतालभित्र समयमा डाक्टर नभेटिने, औषधि नपाइने हुँदा निजी अस्पतालमा उपचार गर्न बाध्य भएको उनले सुनाए । उनको सातवटा करङले राम्ररी काम गर्दैन, कलेजो मुटु सबै कमजोर छ । ‘म त अपांग भइसकेँ, गाउँको घरबारी बेचेर उपचार गर्दै छु ।’

केही घाइते आजीवन औषधि खानुपर्ने खालका छन् । नि:शुल्क राजधानीबाट जिल्लासम्म समयमा औषधि पुग्दैन जसका कारण कतिपय बिरामी नियमित औषधि र जाँच गर्न नपाउँदा ज्यान गुमाइरहेका छन् । समयमा औषधि सेवन गर्न पाउनुपर्ने, बिरामीले एउटा कुरुवा पाउनुपर्ने र नि:शुल्क रूपमा नियमित स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने पीडितको माग छ ।

माओवादी सेनाका घाइते अपांग लडाकु पुन:स्थापना तथा हेरचाह निर्देशिकामा आवश्यकताअनुसार उनीहरूको पुन:स्थापना केन्द्रमा नि:शुल्क खानबस्न तथा स्वास्थ्य उपचार पाउने भने पनि प्रभावकारी छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन्, ‘ठूला शल्यक्रियाका लागि बजेड छैन, हामीले अस्पताललाई उपचार गरिदेऊ भनेर सिफारिस गर्ने मात्रै हो ।’ सरकारी अस्पताल भने राज्यले यस्ता बिरामीको नि:शुल्क उपचार कोषमा राज्यले रकम नभरेको भन्दै उपचार गर्न मान्दैनन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT