१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जनावरले टोकेपछि दिइने इम्युनोग्लोबिन सुई अभाव

अतुल मिश्र

काठमाडौँ — जनावरले टोकेका बिरामीलाई ‘एन्टिरेबिज’ सँगै लगाइने ‘इम्युनोग्लोबिन’ सुईको अभाव देखिएको छ । टोकाइ बढी भएको, घाँटीभन्दा माथि तथा हातका औंलामा टोकेको अवस्थामा ‘इम्युनोग्लोबिन’ सुई लगाउनुपर्ने विशेषज्ञहरू बताउँछन् । 

जनावरले टोकेपछि दिइने इम्युनोग्लोबिन सुई अभाव

एन्टिरेबिज खोप प्रक्रियामा १५ दिनजति लाग्ने भएकाले टाउको छेउछाउको तथा गहिरो घाउमा संक्रमण जोखिम हुन सक्ने उनीहरूको भनाइ छ । यस्तो अवस्थामा पहिलेदेखि नै तयार रहेको एन्टिबडी अर्थात् रेबिज इम्युनोग्लोबिन सुईसमेत लगाइन्छ ।


शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आउनेबिरामी सस्तो ‘इम्युनोग्लोबिन’ सुई नपाइँदा बाध्य भएर अत्यन्त महँगो ‘ह्युमेन रेविज इम्युनोग्लोबिन’ लगाइरहेका छन् ।


सरकारले एन्टिरेबिज सुई नि:शुल्क दिए पनि इम्युनोग्लोबिन किन्नुपर्छ । यो सुई व्यक्तिको शारीरिक तौलअनुसार लगाइन्छ । महँगो औषधि प्रतिकिलोग्राम एक हजार रुपैयाँ बराबरको हुन आउँछ ।


‘भालुले टोकेको उपचारका लागि सस्तो सुई नपाइएपछि ७० हजार तिर्नुपर्ने भनियो,’ सासूको उपचार गराइरहेका कुमार श्रेष्ठले भने, ‘बल्लबल्ल खोजेर सस्तो (इक्विन रेबिज इम्युनोग्लोबिन) दुई मात्रा तीन हजारमा ल्याइयो ।’


टेकु अस्पतालका डा. शेरबहादुर पुन सस्तो मूल्यको सुई केही दिनयता पाउन नसकिएको बिरामीको गुनासो रहेको बताउँछन् । घोडाको एन्डिबडीले बनाइने यो औषधि कहिलेकाहीँ मानव शरीरसँग नमिलेर जोखिमपूर्ण पनि हुन सक्छ ।


यो सुई लगाउने हजारौंमा कसैलाई ‘इनाफेलेटिक सक’ देखिन सक्ने पुनले बताए । ‘यस्तो स्थितिमा तुरुन्त उपचार नभए ज्यान जोखिममा पर्न सक्छ,’ उनले भने ।


मान्छेको एन्टिबडीबाट बनाइएको ह्युमेन रेबिज इम्युनोग्लोबिनमा यस्तो समस्या हुँदैन । तर, यो निकै महँगो पर्छ । सामान्य वयस्क व्यक्तिले यो सुई लगाउनुपर्दा ६०/७० हजार रुपैयाँ लाग्ने पुन बताउँछन् । ‘एन्टिरेबिज भ्याक्सिनजस्तै सरकारले इम्युनोग्लोबिन सुई पनि नि:शुल्क उपलब्ध गराए जनताले राहत पाउनेछन्,’ उनले भने ।


टेकु अस्पतालमा दैनिक डेढ सय जनासम्म कुकुरलगायत जनावरको टोकाइमा परेर उपचारका लागि आउँछन् । यीमध्ये ६ जनाजति ‘इम्युनोग्लोबिन’ दिनुपर्ने अवस्थाका हुन्छन् ।


‘इम्युनोग्लोबिनको खपत थोरै हुने भएकाले बजारमा कमै पाइन्छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘अभाव देखिँदा आयातकर्तालाई गुणस्तरीय कम्पनीबाट ल्याउन विशेष अनुमतिसमेत दिने गरेका छौं ।’


नियन्त्रित तापक्रममा राख्नुपर्ने यो औषधिको म्याद छिटो सकिने, निश्चित कम्पनीले मात्र बनाउने, उपयोग नभए व्यवसायीले फिर्ता पठाउन नमिल्ने भएकाले थोरैमात्र ल्याइने गरेको उनले बताए ।


‘इम्युनोग्लोबिनजस्ता औषधि सरकारले नै व्यवस्था गर्नुपर्छ,’ ढकाल भन्छन्, ‘सरकारले केन्द्रीय स्टोरमा राखेर चाहिएका बेला तुरुन्त पुर्‍याउने व्यवस्था भए निकै सजिलो हुन्थ्यो ।’


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि ५९ हजार मानिसको मृत्यु रेबिजले हुन्छ । मानिसमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । शंकास्पद बौलाहा जनावरको टोकाइबाट प्रभावित हुनेमा ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् ।


नेपालमा बर्सेनि सयभन्दा बढी व्यक्तिको रेबिजले मृत्यु हुन्छ । ५० हजारभन्दा बढी व्यक्ति कुकुर र अन्य जनावरको टोकाइमा पर्ने गरेका छन् ।

प्रकाशित : भाद्र १३, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?